पूर्वका धार्मिक स्थलहरु सर्वसाधारणका लागि बन्द - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

पूर्वका धार्मिक स्थलहरु सर्वसाधारणका लागि बन्द


धरान । कोभिड–१९ दोस्रो लहरको संक्रमण प्रदेश–१ मा पनि बढेपछि पूर्वका प्रमुख धार्मिक स्थलहरुमा तिर्थयात्रीहरुले गर्दै आएका पूजा अर्चना बन्द भएका छन् । खोटाङको हलेसी महादेव, बराहक्षेत्रको बराह मन्दिरसहितका तिर्थस्थलहरुमा आउने श्रद्धालुहरुलाई प्रवेश निषेध गरिएको हो ।

धरानको विजयपुर स्थित प्रसिद्ध धार्मिक स्थलहरुको मुल गेट आइतवार विहान देखि बन्द गरिएको छ । दन्तकाली शक्ती पीठ, बुढा सुब्बा मन्दिर परिसर, पिण्डेश्वर महादेव बाबाधामका मुलव्दारहरु सर्वसाधारण श्रद्धालुका लागि बन्द गरिएका हुन् । कोरोना महामारीका कारण संघीय सरकारले धार्मिक स्थलहरुमा आन्तरिक नृत्य पूजालाई निरन्तरता दिएपनि सर्वसाधारण लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले आइतवार सार्वजनिक सूचना जारी गर्दै धरानस्थित मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजा बाहेक सर्वसाधारणले गर्ने पूजा अर्चनामा रोक लगाएको हो ।

रोक लगाइएसंगै मुलद्धारमा ताला लगाइएपनि प्रातःकालदेखी नै चहल पहल हुने विजयपुरका मुख्य धार्मीक स्थलहरु आइतवार सुनसान थिए । मन्दिर छेउछाउका पूजा सामाग्रीका पसलहरु बन्द छन् । पूजा–अर्चना बन्द गरिएको थाहा नपाएका कतिपय श्रद्धालुहरु मुलव्दारबाटै प्रार्थना गरेर फर्किएका देखिए । स्थानिय विश्वराज उपाध्यायले भने ‘मन्दिरको गेट बन्द भएकाले श्रद्धालुहरु बाहिरैबाट दर्शन गरी फर्कने गरेका छन् ।’

धरानमा कोरोना संक्रमण रोकथामका लागि सतर्कता स्वारुप भिडभाड, जमघटहुने स्थलहरुलाई बन्द गराइएको मेयर तिलक राईले बताए । परिस्थितिको जटिलताप्रति केन्द्रित भई उपमहानगरपालिकाले तत्काल रोकथामका उपाहरु कार्यान्वय गर्न निर्णयहरु गर्ने उनको भनाई छ । यसअघि स्थानिय विद्यालयहरुको परिक्षा सञ्चालन गर्न दिने निर्णय गरेको ६ दिनपछि उपमहानगरपालिकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रदेश १ मा सक्रिय संक्रमितको सख्या सोमवार सम्म १ हजार २०५ पुगेको छ । धरान स्थित वीपी प्रतिष्ठान कोभिड अस्पतालमा बाहिरबाट उपचारका लागि ल्याइएका ५ जना कोरोना संक्रमितको मृत्यु भएपनि धरानकै संक्रमितको मृत्यु भने भएको छैन् । धरानमा संक्रमितको संख्या १३ जना पुगेको छ ।