कर्मचारी प्रशासनमा लिलादेवीले रचिन इतिहास - रुपान्तरण
 २०८२ बैशाख ११, बिहीबार    

कर्मचारी प्रशासनमा लिलादेवीले रचिन इतिहास


काठमाडौं । सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

कर्मचारी प्रशासनको प्रमुखको नेतृत्व गर्ने अवसर पहिलो पटक महिलाको रुपमा गडतौलाले पाएकी हुन् । यसअघि उनी कायमुकायम मुख्य सचिव थिइन् ।

तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा तानेपछि वरिष्ठताका आधारमा उनी कामु मुख्यसचिव बनेकी थिइन् । उनी सचिव पदमा २०७७ साल कात्तिक २७ गते बढुवा भएकी थिइन् ।

५८ वर्षे उमेरहदले उनी यही भदौ १५ सेवानिवृत्त हुनेछिन् । २०२३ साल भदौ १५ गते तेह्रथुमको पिप्लेमा जन्मनुभएकी गड्तौला सरकारी सेवामा २०५२ पुसमा कानुन सेवाको शाखा अधिकृत हुँदै प्रवेश गरेकी हुन् । गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछिन् । उनले उमेर हदका कारण अवकाश लिँदैछिन् ।

आफू छोटो अवधिका लागि मुख्यसचिव हुने भएपनि विवादरहित रूपमा काम गर्ने वाचा गरिन् । उनले आफ्नो कार्यकालमा कर्मचारी प्रशासनलाई चुस्त बनाउनुका साथै सबै कर्मचारीलाई हौसला प्रदान गरेर काम गराउने बताइन् । कर्मचारीहरूको मनोबल बढाउँदै सरकारलाई सहयोग गर्ने उनले बताइन् ।

तेह्रथुमको पिप्ले ९हाल म्याङ्लुङ–४० मा २०२३ भदौ १५ गते जन्मेकी गड्तौला मध्यमस्तरीय परिवारकी सदस्य हुन् । उनी २०५२ पुसमा शाखा अधिकृतबाट कानुन सेवामा प्रवेश गरेकी थिइन् । सिंह वाहिनी माध्यमिक विद्यालयमा विद्यालय तहको अध्ययन पुरा गरेकी उनले त्यसपछि नेपाल ल क्याम्पसबाट आइएल र बीएल उत्तीर्ण गरिन् । उनले थप अध्ययनका लागि काठमाडौँ स्कुल अफ ल पुगिन् । उनले त्यहाँबाट ह्यूमन राइट्स एन्ड जेन्डर जष्टिस (मानव अधिकार र लैगिक न्याय) मा स्नातकोत्तर (एलएलएम) गरिन् । उनले कानुनमा मात्र चित्त बुझाइनन् । अध्ययनमा मेधावी गड्तौलालाई राजनीतिशास्त्र पढ्ने रहर लाग्यो । रहर पुरा गरेरै छाड्ने हठी स्वभावकी गड्तौलाले राजनीतिशास्त्रमा समेत एमए पास गरिन् ।

२०६३ कात्तिकमा उपसचिव हुँदै २०७० माघमा सहसचिव बनिन् । त्यसको सात वर्षपछि २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी ९सचिव० मा बढुवा भइन् । २०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्यसचिव र असार ३१ गतेदेखि कायममुकायम मुख्य सचिव बनेकी गड्तौला बिहीबारबाट मुख्यसचिव भएकी छन् । उनले देवानी संहिता मस्यौदा कार्यदल सदस्य रहेर काम गरेकी थिइन् । हाल लागू भएको देवानी संहिता निर्माणका क्रममा उनले आफ्नो क्षमता प्रदर्शन गरेकी थिइन् ।

करिब १७ वर्ष कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा काम गरेकी उनले विशेषतः विधेयक मस्यौदामा दक्खल राख्छिन् । उनीसँग गृह मन्त्रालय, जलस्रोत मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव रहेको छ। उनले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचन अधिकृत भएर काम गरेकी थिइन् ।