आत्महत्या होइन, हाराकिरी । आत्महत्या सोझो र सपाट हुन्छ । एक दुई तिखा शब्द मनको भित्री तहमा गडेपछि मानिस असह्य वेदनाले छटपटाउन थाल्छ, त्यसबेला भावनाको अतिरेकमा आफ्नो घाटीमा आफैँ सुर्किने कस्न थाल्छ । हिजो बिहान मात्रै, एका बिहानै, घाम भुल्किनसम्म पनि नपाउँदै, भर्खरै जवानीको सीमाना छुन लागेकी शहरकी एउटी केटीले आफ्नै कोठाको दलिनमा घाटीमा पासो लगाएर आत्महत्याको प्रयास गरी । काठमाडौँमा अब दलिन राखेर बनाइएका आवासीय घरमा रमाउनेहरू बाँकी नै कति छन् र ? पूर्वको इच्छुमती र पश्चिमको विष्णुमतीलाई काठमाडौँ शहरको साँध सीमाना मान्नेहरूको पुस्ता टुङ्गिइसकेको छ । घरको मूल ढोकाको दायाँबायाँ खोपामा राखिएका गणेश र भीमसेनलाई अक्षता चढाएर भर्याङ उक्लिदै गरेकी केटीकी आमाको आँखामा पासोको त्यो भयानक दृश्य नपरेको भए त्यो एउटा यौवन अकस्मात आएको आँधी अचानक रोकिएजस्तै गरी रोकिन्थ्यो । भर्याङ उक्लिँदै गरेकी आमा त्यो दृश्य देखेर आत्तिएकी थिई । उसको हातबाट खोपाको भीमसेनलाई नित्यजल चढाउने करुवा खसेर भरेङमा गुडेको थियो...टन, टन, टन । आवाजले ऊ झन् आत्तिएकी थिई । त्यो तीन पुस्ता पुरानो करुवाको टुटी फुस्कियो कि के हो ?
‘कुन्या सु हँ?’ माथि बुइँगलवाट आवाज आएपछि जवाफमा ऊ चिच्याएकी थिई, ‘याकन, क्वहां झाँस...।’ आवाजसँगै भर्याङबाट आधा दर्जन पाइला तल ओर्लिएका थिए । काठमाडौँ एउटा हाराकिरीबाट जोगिएको थियो ।
अहिले शहरमा घरका मूल ढोकामा बस्ने गणेश र भीमसेनहरू विस्थापित हुँदै गएका छन् । उसै पनि शहर भित्रको आधाभन्दा बढी घना बस्ती शहर बाहिर सरिसकेको छ । बस्तीहरूसँगै स्थानीय अरनिकोहरू पनि विस्थापित भएका छन् । पगोडा वास्तु शैली खर्चिलो मात्रै होइन, झन्झटिलो पनि छ । त्यसैले मानिसहरूले वास्तुकलाको ‘आलु’ शैली अपनाएका छन् । नयाँ बस्तीका यस्ता घरका ढोकामा गणेश र भीमसेनको आवश्यकता नै पर्दैन । धर्म निरपेक्ष समाजमा देवताहरूप्रति जनताको निरपेक्ष भाव अस्वाभाविक होइन । तताजुले रक्सी बनाउने पुराना घरका बुइँगलहरू इनर्जी ड्रिङ्क्सका गोदाम बनेका छन् भने घरका दोस्रा र तेस्रा तल्लाब्राज र लन्जरीका शोरुम बनेका छन् । स्थानीय भाषा र संस्कृतिका अभियान निरन्तर चलेका छन् । चर्को ध्वनि प्रदूषणले गर्दा यस्ता भाषा र तिनका मौलिक शब्द स्पष्ट सुनिन छाडेका छन् । अङ्ग्रेजी भाषामा अर्थ नखुलाई बोलिएको एक्लो ‘भिन्तुना’शब्दले समेत शुभकामनाको भाव प्रकट गर्न छाडिसकेको छ ।
नरदेवी निरको त्यो एउटा देशेमरु झ्याँ कसोकसो सुरक्षित राखिएको छ, फलामे ग्रीलका कुरूप पिंजडा भित्र । काठमाडौँको पूरै संस्कृति हनुमान ढोकाको एउटै आँगनमा गज्याङगुजुङ थुप्रिएको छ । तान्त्रिक परम्पराका शक्तिशाली देवता कालभैरवको अवस्था शहरको ट्राफिक व्यवस्थापनमा लागेका प्रहरी जवानहरूको भन्दापनि दयनीय छ । तैपनि, हामी दन्त्य कथा बनिसकेका गौरवपूर्ण इतिहासमा रमाउन छाडेका छैनौँ । अबको केही समयपछि त यो संस्कृतिले नै पनिआफ्नो गौरवशाली समयको वर्णन सुन्न केही शताब्दी पछिको सम्भावित पुरातात्विक उत्खननलाई पर्खिनुपर्ला जस्तो छ । कति शताब्दी ? संस्कृति र पुरातत्वका ज्ञाताहरूसँग पनि आगामी त्यो समयको पहिचान गर्ने शक्ति छैन होला ।
हाराकिरी आत्महत्याको एउटा विभत्स रूप हो । बादशाहको सेवा गर्दागर्दै पराजित भएका जापानी सामुराइले पराजय र त्यसबाट उत्पन्न भएको अपमान र ग्लानीविरुद्ध हाराकिरी गरेर ज्यान फालेजस्तै काठमाडौंले आफ्नो पेटमा आफैँ खन्जर प्रयोग गरेर छताछुल्ल आन्द्राभँुडी निकालिसकेको छ । काठमाडौँ अब त्यो काठमाडौँ छैन, जहाँका साहुनीहरूले तीन तला माथिको बुइँगलबाट तल सडकमा कोपरा घोप्ट्याउँदा आफ्नै तालमा हिँडिरहेको कुनै ग्रामीण बटुवाको टाउकोको टोपीभिज्ने गथ्र्यो । टोपी फुकालेर बटुवा केही बेर सडकमा ठिङ्ङ उभिन्थ्योे र तीनतला माथि आँखा तान्दै गुहार लगाउँथ्यो, ‘चोखो हो ?’ माथिबाट कुनै अदृश्य अनुहारले जवाफ दिन्थ्यो, ‘च्वखः ।’ जवाफले सन्तुष्ट बटुवा टोपी टक्टक्याउँदै आफ्नो बाटो लाग्थ्यो । विश्वास र सद्भावको त्यस समयमा उसलाई ‘चोखो’ अर्थात् पवित्र र ‘च्व’अर्थात् पिसाब बीचको अन्तर जानिरहनुपर्ने आवश्यकता नै थिएन ।
अहिले पनि विलुप्त भएको छैन, काठमाडौँको त्यो कोपरा–सभ्यता । कोपरा शहरको सबभन्दा सुविधाजनक पोर्टेबल ट्वाइलेट हो । अहिले शहर त्यसैमा रमाइरहेको छ ।‘चोखो हो’ र ‘च्वखः’बीच अलिकति पनि दूरी बाँकी रहेको छैन । किचन र ट्वाइलेट बीचको आधा मिटरभन्दाकम दूरीमा हाँसिरहेको भेटिन्छ, नाचिरहेको देखिन्छ यो शहर।
धेरैपछि, मरु गणेशबाट छिरेर काठमाडौँ शहरको पश्चिमी भागलाई नियाल्दा लागेको थियो, काठमाडौँका केही चरित्र ज्यान जोगाउने उद्देश्यले भएपनि त्यतातिर लुकेर बसेका होलान् । त्यहाँ त्यस्तो केही थिएन । शहरका नामुद छोयलाबजी पसलहरूमध्ये केही ‘नेवारी खाजा घर’कानामले चिनिन थालेका थिए । अरू केही साइबर क्याफे र केही ‘यहाँ रंगीन प्रिन्ट हुन्छ’ पसलमा रूपान्तरित थिए । महानगरपालिकाको टिपर बिग्रिएको कारणले मात्रै एक सातादेखि थुप्रिएको फोहोरको थुप्रो नजिक एक हुल केटाकेटी झालमुरीको स्वाद लिँदै ‘शीलाकीजवानी’मा रमाइरहेका थिए । शहरको सरसफाईको अनुगमन गर्न कहिल्यै कुनै सरकारी अनुगमन टोली नआएको यो बस्तीमा महानगरपालिकाले एउटा बोर्ड झुन्ड्याइ दिएको थियो, ‘बासी, सडेगलेका र झिङ्गा भन्किएका खानेकुरा नखाऔँ ।’ वर्षाँैदेखि टोलमा तीन कबलको पसल थापेर रफ्फु र रंगाइको कामगर्दै आएको रहिमबक्सको छोरो पुस्तैनी पेसा त्यागेर झालमुरीको व्यापारमा लागेको थियो । झालमुरीको उसको पोर्टेबल पसल त्यही बोर्डको मुनि थियो । रहिमबक्सले आफ्नो पसलको दुईवटा कबल भाडामा लगाएको थियो । किनभने, रहिमको रफ्फु र रंगाइकोे बिजनेसका लागि एउटा कबल नै पर्याप्त थियो । उसको छेउको पसल खुबचलेको थियो । किनभने, छेउछाउमा सबै खालका रक्सी पाइने यो बाहेक अर्को कुनै कोल्ड स्टोर थिएन ।
बाङ्गेमुढाको छेउतिर पनि अलिकति काठमाडौँ बाँकी थियो । तर, सडकको मोडमा रहेको चन्द्रमान साहुको त्यो पुरानो किराना पसलको अस्तित्व मेटिइसकेको थियो । जाइफल र जीराका लागि प्रसिद्ध त्यस पसलमा कोला र आइसक्रिमहरूले घेरिएर बसेकी साहुनी चन्द्रमानकी छोरी नै थिइन्– चन्द्रमाया साहुनीकी ठ्याक्कै डुप्लिकेट । चन्द्रमाया कपाल कोरेपछि गुनकेशरीको एक थुङ्गा पूmलआफ्नो जुरोमा सिउरिन्थिन् र त्यसलाई काँटाले च्याप्थिन् । तर, उनकी छोरीलाई शहरको प्रतीकका रूपमा रहेको गुनकेशरी पूmलको पहिचान नै छैन ।
चन्द्रमाया किराना पसलको पहिलो तलामा ठूलो र गोलो चकटी ओछ्याएर बस्ने गर्थिन् । शहरको एउटा एक्सक्ल्युसिभ बारजस्तै थियोे, चन्द्रमायाको यो ‘गुप्ती’पसल गुप्ती किनभने यो पूरै सार्वजनिक थिएन । लिमिटेड एडिसनका नामले उत्पादन गरिने ह्विस्कीको बोतलजस्तो थोरै मानिसको मात्र पहुँच थियो, त्यो तुच्चा छेंमा । हाकु छोयला र वँ बनाउन उस्ताद थिइन्, चन्द्रमाया साहुनी । गुप्ती पसलमा पाब्लो नेरुदादेखि निर्मल बर्मासम्म– सयौँ कवि र लेखकहरूको चर्चा हुन्थ्यो प्रत्येक साँझ । हाकु छोयलाको पीरो स्वाद सँगतीखो कविता । नयाँ नयाँ विम्ब र प्रतीकको खजाना खुल्थ्यो । रात शुरु भैसकेपछि कविता र कथाका परिकल्पना र ‘थीम’को कुम्लो बोकेर लठारिँदै निस्किन्थे साहित्यकारहरू ।
चन्द्रमायाको घरसँगै जोडिएको अर्को एउटा घरमा तमाखु पसल थियो, चन्द्रमायाको भाइको । उनकी भाइ बुहारी राममाया तमाखु बेच्नमा भन्दा कतिबेला को आउला र पानी माग्ला भन्ने ध्याउन्नमा हुन्थिन् । ‘पानीखाउँ न साहुनी’, मुखबाट आवाज झर्न पनि नपाउँदै उनी ढलोटको चम्किलो करुवामा पानी लिएर मानिसका अगाडि उभिइ हाल्थिन् । तिर्खाएका मानिसलाई पानी पिलाउँदा धर्म हुने मान्यता बाँकी रहे पनि त्यो मान्यताको स्मृति भ्रमित भैसकेको छ । शहर पानीको अभाव र सप्लाईको चाप बढेपछि राममायाकी बुहारी सत्यप्रियाले पानीको व्यापार शुरु गरेकी छिन् : एक लिटरको २० रुपैयाँ, एक जारको दुई सय २० रुपैयाँ।
यो त हाराकिरी नै हो काठमाडौँको । काठमाडौँले धेरैलाई उदारतापूर्वक जीवनको वरदानदियो । आफू अपमानित भएर पनि सबैको सम्मान गर्यो । दुनियाँका सारा उँचनीच ‘सभ्यता’लाई समेट्दा–समेट्दै कतिखेर यो आफै हाराकिरीको अवस्थामा पुग्यो ? कसैले पनि थाहा पाएन । शहरहरूको विस्तार हुँदा कतै पनि सभ्यता मासिँदैन । काठमाडौँको हकमा भने यसको उल्टो भएको छ । शहरका प्रसिद्ध जात्रा हेर्न कुनै रेस्टुरेन्ट धाउनुपर्ने, काष्ठकलाका प्रसिद्ध नमुना हेर्न कुनै डिलक्स होटलको आँगनमा पुग्नुपर्ने र चौरमा पलेटी मारेर रमाउने ‘लप्ते भाेंय्’का लागि पार्टी प्यालेस खोज्नुपर्ने जस्ता विसंगतिले काठमाडौँको व्यक्तित्व ताछेको छ । काठमाडौँ एउटा ठूलो दहबाट ठूलो शहर र ठूलो शहरबाट हाराकिरी टापु साबित हुनथालेको छ । कुनै मूर्ति नभएको काष्ठमण्डपमा पहिचान बिनाका अनेकन मूर्ति थुपारिएका छन् । समावेशी शब्द जतिसुकै फैलिए पनि शहर घोर सङ्कुचनको जालोमा जेलिँदै गएको छ ।
कुनै समय यस्तो पनि थियो जहाँ चटकेहरु औषधिको प्रचार गर्थे, ‘गानो गोलामा, धातु बगेकोमा, अमिलो पानी आएकोमा, बात र पित्तमा–ल आयो, महाऋषि धन्वन्तरीको अचुक फर्मुलामा हाम्रो आफ्नै कारखानामा शुद्ध हिमाली जडिबुटीबाट तयार पारिएको यो औषधि तातो पानी वा मन तातो दूधसँग राती सुत्ने बेलामा पिउनुहोस् र खटिया तोड शक्ति आर्जन गर्नुहोस ।’ तासका आधा दर्जन चटक देखाइसकेपछि औषधिको चटके प्रचारक डमरु बजाउँथ्यो । टुँडिखेल तालीको गडगडाहटमा डुब्थ्यो । अहिले प्रचारबाट डमरु हटेको छ र पनि शैलीउस्तै छ । मानिसहरूको उर्लिँदो भीडमा चटक, बिक्रेता र ग्राहकको बढी छन् ? संख्याको ठेगान लाग्नसक्ने त अवस्था नै छैन । हाराकिरीपछि पनि काठमाडौँ टुक्रा–टुक्रा अस्तित्वमा जसोतसो बाँचेकै छ, निस्सासिँदै । हृदयहीन मानिसका कृतघ्नताले पटक–पटक घाइते भएर पनिउसलाई कुनै असर पारेको छैन । उसले त हाराकिरी गरिसकेको छ ।
के हुन्थ्यो काठमाडौँ शहरमात्रै भएर नेपालको राजधानी नभै दिएको भए ? यो खाल्डोबाट राजधानी अन्यत्र कतै सरेको भए सम्भवतः राजनीतिक नेताहरूले यसलाई मृत शहर घोषित गर्ने थिए होलान् । घोषणा गर्दैमा कुनै पनि जीवित संस्कृति र सभ्यता मर्ने भए संसारका धेरै शहर खण्डहरमा परिणत भैसकेका हुन्थे । राजनीतिको पनि केन्द्र नभइदिएको भए निरन्तरका प्रतिघातबाट जोगिन्थ्यो काठमाडौँ संस्कृति । केन्द्रीय राजनीति र राजधानीको अतिरिक्त भारी बोकेकै कारण काठमाडौले अपयशहरूको भारी बोक्नु पर्दैनथ्यो होला। सारा देशको शोषण गरेर आफूलाई मात्र सिँगारेको र सजाएको दोष खेप्नु पर्दैनथ्यो । नेपाल जित्न बित्तिकै पृथ्वीनारायण शाहले राजधानी बोकेर गोर्खा नै लगेको भएपनि के बिग्रिने थियो र काठमाडौँ शहरको ? कहाँनिर जोडिएको छ र काठमाडौं राजधानीसँग ? राजधानीको ढल र फोहोर, कुण्ठा र निराशा, घात र अन्तर्घात बेहोर्दा बेहोर्दै हाराकिरी गरेको छ काठमाडौँ शहरले । राजधानीका झुटा र फोस्रा आश्वासनहरूले निस्लोट परेको काठमाडौँ आफैँले गरेको हाराकिरीपछि छताछुल्ल भएका आन्द्राभुँडी कुहिएर फैलिएको बीष लागेर मरेका मानिसहरूको असंख्य लाश सकीनसकी घिसार्दैछ । राजधानीमा प्रति महिना कति मानिस ट्राफिक दुर्घटनामा परेर मर्ने गर्छन् ?त्यसको सही तथ्यांक कसैसंग छैन ।
काठमाडौँ आफ्ना सम्पूर्ण सभ्यता र संस्कृतिसहित छरछिमेकका गाउँसँग आवधिक हिसाबले भाडामा लिइएका विभिन्न डम्पिङ साइटमा गाडिएको छ । त्यो हिसी परेको समुद्रजस्तै लाग्ने काठमाडौँ अब कतै बाँकी छैन ।