नयाँ संसद भवन निर्माण : सिंहदरबारभित्रै चरम ढिलासुस्ती - रुपान्तरण
 २०८१ कार्तिक २५, आईतबार    

नयाँ संसद भवन निर्माण : सिंहदरबारभित्रै चरम ढिलासुस्ती


काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

२०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० बैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकदार कम्पनीले काममा गति दिएको नदेखिएको उपप्रधानमन्त्री सिंहले बताए । उनले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए ।

यसअघि सभामुख देवराज घिमिरे, प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिका पदाधिकारी र मन्त्रीहरुले यसअघि काममा तीव्रता दिन निर्देशन दिए पनि ठेकेदार कम्पनीले चासो नलिएको देखिएको छ ।

भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने विषय अनिश्चित बन्दै गइरहेको छ । सिंहदरबारस्थित कुल १५६.७७ रोपनी जग्गामा ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ (भ्याटसहित) मा बन्न लागेको संसद भवन तीन वर्षमा निर्माण सम्पन्न गरिसक्ने भनी २०७६ साल असोज १६ गते सम्झौता भएको थियो । सम्झौताअनुरुप २०७९ असोज १६ गते निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि निर्माण सम्पन्न हुन नसक्दा २०८० साल चैत १९ गतेसम्मका लागि म्याद थप गरिएको थियो । सो मिति पनि नाघिसकेको अवस्था छ । हाल भवन निर्माणका लागि पुनः म्याद थप्नुपर्ने बाध्यता आइपरेको छ ।

राजनीतिक तहबाट पटक–पटक छिटो निर्माण सम्पन्न गर्न आग्रह गरिए पनि हालसम्म बैठक सञ्चालन नै गर्नेगरी परिणाम आइसकेको छैन । तर कहिलेसम्म सो स्थानबाट बैठक सञ्चालन हुनेछ भन्ने ठोस जवाफ न सम्बन्धित सरकारी निकायसँग छ । न त निर्माण व्यवसायीसँग नै छ । संघीय संसद सचिवालयसँग पनि यसको ठोस जवाफ छैन । यद्यपि भवन निर्माणको काम भने आफ्नै गतिमा अगाडि बढिरहेकै छ ।

संघीय संसद भवन परिसरभित्र १२ वटा भवनहरू निर्माणाधीन अवस्थामा रहेका छन् । प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लवी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस भवन, सवारीसाधन पार्किङ भवन र सुरक्षाकर्मी भवन निर्माणाधीन अवस्थामा छन् ।