मित्रराज घिमिरे एक शिक्षासेवी हुन् । तर उनी लोककाब्यबारे जानकार छन् । लमजुङ, गोर्खा, तनहुँ र गोर्खा जिल्लाका मौलिकतासँग परिचित उनी लोकगीत, लोकसंस्कृति र लोकभाकामा रमाउँदै वाल्यकाल छिचोलेका हुन् । लमजुङमा जन्मिएकाले मित्रराज पूर्वीय संस्कृतसँग बढी सामीप्यता पनि राख्छन् । किनकी उनका सिर्जनामा पूर्वीय काब्यसौन्दर्यको छनक पाउन सकिन्छ । रामयणको लयका कविता भन्न होस या त श्लोक गाउन पनि उनी माहिर छन् । स्नाकोत्तर अध्ययन गरेका मित्र शिक्षा क्षेत्रका सुपरिचित व्यक्ति त हुँदै हुन त्यो भन्दा पनि उनको अर्को परिचय पनि छ–साहित्यकार एवम कवि । ‘मनको डालीमा’ कविता संग्रहले उनको साहित्यिक परिचयलाई पूर्णता दिन्छ ।
मनको डालीमाको जन्म विवाव, ब्रतबन्ध, चैते दशैं, शिवरात्रिलगायतका पर्व, ग्रामिण परिवेशको मौलिकतामा रमेको पाइन्छ । सरल भाषा र छन्दमा कविता रचना गर्नसक्ने कविको परिचय बनाइसक्नुभएका मित्रराजले सरल भावमा गेयात्मक र हृदयस्पर्शी तरिकाले कविता प्रश्तुत गरेका छन् । पंचायती दबदबा र नियन्त्रणबाट क्रान्तिको भाव जन्मिएको अनुभुत गरेका कविले ८० वटा कविता संग्रहमा समावेश गरेका छन् । चितवन साहित्य परिषद्ले प्रकाशन गरेको कृति छन्दोबद्ध रुपमा प्रकाशित छ । २०७३ सालमै प्रकाशित संग्रह ८१ पेजमा समेटिएको छ । कवितालाई जीवन ठान्ने मित्रराजले कवितामा रस र रंग दुवै भरेका छन् ।
जीवनको भोगाइसँगै कविताको जीवन सुरु भएकाले समय, परिस्थिति, भोगाइ र चाहनाको मिश्रण भएको संग्रहमा छन्दका कठिन नियमका घेरा तोडेर कवि आफूले अन्याय, अत्याचार, सामाजिक, राजनीतिक, सांस्कृतिक विसंगति विकृतिप्रति व्यङ्य र विद्रोहको स्वर झल्किन्छ । यसअघि ‘करापुटारका सुशेली’ संग्रह प्रकाशित गरिसकेका कविले आफ्नो संग्रहमा विविध छन्द र विविध विषयमा आफ्ना चोखा भावनाहरु प्रश्तुत गरेका छन् । उनले हाम्रै समाज, संस्कृति, प्रकृति र वर्तमानका नियति वा परिणतिलाईलाई पनि पहिल्याउने प्रयास गरेका छन् । ३२ बर्षे शिक्षाको क्षेत्रमा समय विताएका उनले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको भान हुन्छ ।