-युवराज गौतम
प्राकृतिक र जैविक आधारमा मानिसको यौनिक तथा लैङ्गिक पहिचान स्थापित छ । ऐतिहासिक तथ्याङ्क, विश्वव्यापी अध्ययन वा धार्मिक प्रमाणका आधारमा समाजमा बिपरित लिङ्गी वा महिला–पुरुष भन्दा फरक यौनिकता भएको मानिसले पनि जन्म लिएको छ भन्ने पुष्टि गर्छ ।
जन्मदा वालक वा वालिका जेसुकै भएपनि उमेर बढ्दै गएपछि उनीहरुमा आउने शारीरिक वा मानसिक परिवर्तनले समलिङ्गी महिला, समलिङ्गी पुरुष, द्धिलिङ्गी, ट्रान्सजेन्डर महिला, ट्रान्सजेन्डर पुरुष, अन्र्तलिङ्गी, तेस्रोलिङ्गी आदीका रुपमा पहिचान गरिदिएको छ । जसलाई नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय(एलजीविटिआइक्यू)का रुपमा परिभाषित गरिदियो । लैङ्गिक पहिचानको कुरा विश्वव्यापी रुपमा स्वास्थ्य संगठनले समेत पुष्टी गरिसकेको छ । तर अब लैङ्गिक पहिचान नेपालको पर्यटनसँग गासिन पुगेको छ ।
दक्षिण एसियामै नेपालको संविधान उदार मात्र बनेन लैङ्गिकताका आधारमा विभेद गर्न नपाउने आधार खडा भएको छ । जसका कारण नेपाल विस्तारै ‘पिंक टुरिज्म’, ‘रेन्बो टुरिज्म’ अर्थात इन्द्रेणी पर्यटनको हब बन्ने तरखरमा छ । गुलावी वा इन्द्रेणी रंगलाई साझा रंगका रुपमा स्वीकारिएका कारण पिंक टुरिज्मको अवधारणा विश्वव्यापी रुपैमै फस्टाउँदो छ । पछिल्ला बर्षहरु नेपालमा पिंक टुरिष्टका लागि सहज गन्तब्य बनेको भन्दै प्रवद्र्धन शुरु गरिएको छ । व्यवसायी र सरकारले समेत पिंक टुरिज्मलाई प्राथमिकता दिएका छन् । समूदायका युवाहरु पिंक टुरिज्ममा भविष्य देख्न थालेका छन् ।
प्रगतिशील कानुन र उदार मनोवृत्ति भएका देशहरु यौनिक तथा लैङ्गिक अल्पसंख्यक यात्रुहरुको लागि आश्रयस्थान बनिरहेका बेला नेपाल पनि प्रतिनिधि पात्रका रुपमा परिभाषित गरिएको छ । जसका कारण नेपालले स्पेन, थाइल्याण्ड, ताइवान, भियतनाम, इन्डोनेसिया, अष्ट्रेलियामा जस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई पर्यटकका रुपमा भित्र्याएर अर्थतन्त्रमा नयाँ इँटा थप्ने अभ्यास शुरु गरेको छ ।
नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने यौनिक तथा लैङ्गिक अल्पसंख्यक पर्यटकहरु नेपालका पर्यटकीय गन्तब्यहरुलाई सुरक्षित र स्वागतयोग्य रहेको बताउँछन् । उनीहरु समावेशितालाई ध्यान दिन्छन् र आफ्नोपनको भावना व्यक्त गर्छन् । त्यसैले नेपालले विश्वव्यापी रुपमा फस्टाउँदै गएको पिंक टुरिज्मको अवधारणामा काम गर्न सक्नुपर्छ ।
‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु संस्कृति, कला र समाजमा रमाउने भएकाले पर्यटनको माध्यमबाट स्थानीय अर्थतन्त्रलाई बढवा दिन, स्थानीय प्रतिष्ठानहरुको लागि व्यापार बढाउन र रोजगारी सिर्जना गर्न मद्दत गर्दै ‘पिंक मनी’ भित्र्याउन सहयोगी बन्न सक्छन्,उनले भने । त्यसैले नेपालका हरेक तहले यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई केन्द्रीत पर्यटकीय गतिविधि, मेला, महोत्सव आयोजना गर्दै समावेशिता र विविधतालाई बढवा दिनसक्नुपर्ने पन्तको सुझाव छ ।
‘नेपालमा २३ वर्ष लगाएर यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकार प्राप्त भएको छ । छिमेकी देशहरु भारत र चीनमा अधिकार नपाएको समलिङ्गी विवाह दर्ताका कारण दक्षिण एसियामा पहिलो देश बनेको छ । विश्वभर नेपालको सकरात्मक सन्देश फैलिएको छ । अब आर्थिक र पर्यटकीय रुपमा अघि बढ्न हामी सबैले भूमिका खेल्नुपर्छ,’ उनले भने ।
युवाको आकर्षण
गत वैशाख २३ गतेदेखि जेठ २६ गतेसम्म नेपाल पर्यटन बोर्डले सस्टेनेबल टुरिज्म फर लाइभलीहुड रिकभरी परियोजना (एसटिएलआरपी) अन्तर्गत युएनडिपी नेपालको सहयोग तथा नेपाल माउन्टेन एकेडेमीसँगको सहकार्यमा नेपालको इतिहासमै ३५ दिने ट्रेकिङ गाइड कक्षा संचालन गर्यो । जसमा ब्लु डाइमन्ड सोसाइटीका २५ जना यौनिक तथा अल्पसंख्यक समुदाय(एलजीबीटीआइक्यू)का व्यक्तिहरु सहभागी भए । तालिमको उद्देश्य समुदायका व्यक्तिलाई आत्मनिर्भर बनाउने, विश्वबाट आएका एलजीबीटीआइक्यू पर्यटकलाई समुदायकै गाइडबाट सेवा दिने थियो ।
‘धेरैजसो एजेन्सी, पर्यटन व्यवसायी र सरकारका प्रतिनिधिहरुले समेत नेपालमा भिन्न यौन झुकाव तथा लैंगिक पहिचान भएका पर्यटक आउने गरेको र उनीहरुले भिन्न पहिचानकै गाइडहरु खोज्ने गरेको सुनाउनुहुन्थ्यो । अब तालिम लिइसकेपछि त्यस्ता पर्यटकहरुका लागि आफ्नै समुदायका व्यक्ति गाइड भए यात्रा सहज हुने अपेक्षा गरेका छौं, सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले भनिन् ।
नेपालमा पछिल्ला बर्षहरु पर्यटकीय दृष्टिकोणले फलदायी बन्न थालेपछि ट्रेकिङ, टुर एवम ट्राभल एजेन्सीहरुले एलजीविटीआइक्यू मैत्री सेवा पनि शुरु गरेका छन् । आफ्नो प्याकेजमा एलजीविटीआइक्यू गाइट समावेश गर्ने र विदेशीहरुलाई नेपाल घुम्न आउन प्रेरित गरिरहेका छन् । नेपालका व्यवसायिक एजेन्सीमार्फत अग्ला हिमाल र सगरमाथा आरोहण गरेका कतिपय आरोहीहरुले एलजीविटीआइक्यूको साझा इन्द्रेणी झन्डा चुचुरोमा फहराएर नेपाल एलजीविटिआइक्यू मैत्री घुम्न लायक देश भनेर सार्वजनिक रुपमै सन्देश प्रवाह गरिरहेका छन् ।
सन् २०१३ मा अमेरिकी समलिङ्गी नागरिक केसन क्रेनले सगरमाथा आरोहण गरेर इन्द्रेणी झन्डा फहराएर विश्वमा नौलो सन्देश फैलाउनुभएको थियो । सन् २०१० मा शुरु भएको समलिङ्गी ट्राभल एजेन्सी ‘पिंक माउन्टेन’ले पिंक टुरिज्मलाई प्रवद्र्धन गर्ने प्रयास गरिरहेको छ ।
‘यात्रा टु ह्यापिनेस’ भन्ने नाराका साथ यौनिक तथा लैङ्गिक अल्पसंख्यक अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन सम्पन्न समेत भइसकेको छ । पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी थापा भन्छिन्, ‘विश्वको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटने गरेको पिंक टुरिज्मका लागि वा समुदायका व्यक्तिहरुका लागि नेपाल उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न विभिन्न कार्यक्रमहरु अघि सारिने छ,भनिन् । आर्थिक बर्ष २०८१।०८२ मा पनि समूदाय केन्द्रीत सीपमूलक तालिम संचालन गर्ने बोर्डको लक्ष्य छ ।
नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की सचिब युविका भण्डारी पिंक टुरिज्मका लागि दक्षिण एसियामै नेपाल अब्बल गन्तब्य बन्न सक्ने बताउँछिन । उनी भन्छिन,‘कानुनी रुपमा नेपाल बढी स्वतन्त्र छ । एलजीविटिआइ पर्यटकहरु हाम्रो देशलाई बढी सुविधायुक्त मान्छन । अब निजी क्षेत्रका व्यवसायीहरुले छिटपुट रुपमा सोही अनुसारका प्याकेजहरु बनाउन थालेका छन् । विस्तारै यो अवधारणामा सबैले काम गर्नुपर्छ ।’
पिंक टुरिज्म अर्थात एलजिवीटीआइक्यूमैत्री पर्यटन भनेको नेपालको संविधानले परिभाषित गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायभित्रका व्यक्तिहरुलाई घुम्न वा यात्रा गर्न सहज बनाउनु हो । कतिपय देशमा समान लिंग भएका व्यक्तिहरु वा समलिङ्ग/तेस्रोलिङ्गीहरुलाई हिडडुल गर्न, सँगै बस्न र विवाह गर्न बन्देज गरिएको छ । तर नेपालमा कानूनी र सामाजिक रुपमै यस्ता व्यक्तिहरुका लागि स्वतन्त्रता प्रदान गरिएको छ ।
खासमा पिंक पर्यटकहरुका लागि बोलिने भाषा, शब्द र सम्बोधन, गरिने व्यवहारले ठूलो अर्थ राख्छ । किनकी सामान्य महिला र पुरुषलाई सम्बोधन गर्दा प्रयोग हुने शब्द र यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई गरिने सम्बोधन फरक हुने भएकाले सोही अनुसारका गाइड आवश्यक ठानिन्छ । यस्ता पर्यटकहरु आफ्नै समुदायका व्यक्तिहरु गाइड भएको खण्डमा यात्रा गर्न, होटलमा बास बस्न सहज मान्छन र खर्च गर्न अफ्ठयारो मान्दैनन् ।
विश्वका विभिन्न देशबाट नेपाल घुम्न आएका एलजीविटीआइक्यू समुदायका पर्यटकहरुलाई पथ प्रदर्शक वा गाइडका रुपमा काम गरिरहनुभएका आयाम पौडेल नेपाल सरकारले पिंक टुरिज्मलाई प्रवद्र्धन गर्न सके ठूलो सफलता हासिल गर्नसक्ने प्रवक्ता लामिछानेको बुझाइ छ । उनले समूदाय लक्षित कार्यक्रमहरु अघि सारिएको र गाइड तालिम लिएकाहरुले व्यवसाय पनि सुरु गरेको उनले जानकारी दिए ।
स्वदेशकै नागरिक र विदेशबाट आएका पर्यटकहरुलाई गरिएको व्यवहारले एलजीबीटीआईक्यू समुदायका व्यक्तिहरुले विभेदविरुद्ध विद्रोह गरेर विश्वमा भिन्न आन्दोलनको शुरुआत नै गरेको उदाहरणहरु छन् । त्यस्ता विद्रोहले समाज मात्र होइन विदेशी पर्यटकलाई पनि घुम्न सहज बनाइदिएको दृष्टान्तहरु पाइन्छ ।
प्रत्येक बर्षको जुन २८ तारिखलाई युरोपलगायत विश्वभर विशेष दिन मान्ने गरिएको छ । युरोपमा क्रिस्टोफर स्ट्रिट लिबरेसन डे (सीडीएस) विशेष दिनका रुपमा विभेद विरुद्धको विद्रोह भएको दिन मान्ने गरिन्छ । उक्त दिनलाई जर्मनी र स्वीट्जरल्यान्डमा ‘गे परेड’ भनिन्छ भने अष्ट्रियामा ‘रेन्बो परेड’ भन्ने गरिन्छ । १९६९ जुन २८ मा स्टोनवेल रायट्सले अमेरिकाको स्टोनवेल वारबाट शुरु गरेको विद्रोह पुलिस आक्रमणविरुद्ध एलजीबीटीआइक्यू व्यक्तिहरुको ठूलो विद्रोह थियो । यस्ता विद्रोहहरुले युरोप, अमेरिका, अष्ट्रेलियामा पर्यटन क्षेत्रलाई थप बढावा दिएको अध्ययनहरुले देखाएको छ । मे १७ मा विश्वव्यापी रुपमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाको अन्तर्राष्ट्रिय दिवसका रुपमा मान्ने गरियो जसलाई पर्यटन प्रवद्र्धनको अवसरका रुपमा सदुपयोग गर्ने गरिन्छ । नेपालमा गाइजात्रा पर्वका दिन समुदायले मनाउने ‘अन्तर्राष्ट्रिय गाइजात्रा महोत्सव’ वा ‘प्राइड परेड’लाई स्वतन्त्रता र पर्यटन प्रवद्र्धनका रुपमा स्वकारिने गरिन्छ ।
अष्ट्रेलियामा जनवरी वा फेब्रुअरी महिनामा संसारकै ठूलो प्राइड फेस्टिबल आयोजना गरिन्छ र पिंक टुरिज्मलाई प्रवद्र्धन गर्ने चलन छ । स्पेनमा बेग्लै फेस्टिबलसँगै भिन्नै होटल, रेष्टुरेन्ट, बार खुलेका छन् । समुदायका लागि मात्रै भनेर टुर, ट्राभल, ट्रेकिङ एजेन्सीहरु संचालित छन् जसले ति मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याइरहेका छन् । थाइल्याण्ड र अष्ट्रेलिया पिंक टुरिज्मको हबका रुपमा विकसित हुँदै गइरहेको छ र त्यहाँको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटिरहेको छ ।
अब नेपालमा विश्वका एलजीबीटीआईक्यू पर्यटकलाई लक्षित गरी कार्यक्रम गर्न, विश्वका पर्यटन व्यवसायीहरुलाई नेपालमा बोलाएर नेपालको पर्यटन प्रवद्र्धनमा सघाउन साथै नेपाल एलजीबीटीआईक्यू मैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्न प्याकेजका कार्यक्रमहरु तयार गर्न नेपाल पर्यटन बोर्डले नै चासो देखाइरहेको छ ।