देशभर कहाँ कहाँ छ निषेधाज्ञा ? - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

देशभर कहाँ कहाँ छ निषेधाज्ञा ?


काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा विहीबार विहानदेखि निषेधाज्ञा लागू भएको छ ।

यस्तै देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधको आदेश जारी गरेको छ । उक्त आदेश २० गतेसम्म जारी रहने छ । सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो । आदेश यही वैशाख २१ गते राति १२ बजेसम्म जारी रहने छ ।

काठमाडौँ उपत्यकालगायतका ११ जिल्लाले बिहिवार बिहानदेखि लागू हुनेगरी आदेश जारी गरेको छ । कुनै जिल्लाले बिहान ६ बजेदेखि नै लागू गरेका छ भने कुनै जिल्लाले राति १२ बजे (भोलि बिहान) बाट आदेश कार्यान्वयनमा लैजाँदै छ ।

गृह मन्त्रालयबाट प्राप्त विवरणअनुसार बिहिवार काठमाडौंका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर) ले बिहान ६ बजेदेखि नै निषेधाज्ञा जारी गरेको छ । उक्त आदेश यही वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउछन् ।

यसरी आदेश जारी गर्ने अन्य जिल्लामा कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी रहेका छन् । त्यसमध्य पाल्पा र चितवनमा बिहिवार राति १२ बजेबाट र सल्यानमा १९ गते बिहान ६ बजेबाट आदेश कार्यान्वयनमा जाँदैछ । अन्य जिल्लामा भने बिहिवार बिहानैदेखि लागू भएको छ ।

यस्तै तीन जिल्लामा आंशिक निषेधाज्ञ जारी गरिएको गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए । उनका अनुसार कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक आदेश जारी भएको छ । कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाटै लागू गरिएको हो ।

बाग्लुङको बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा लागू गरिएको छ । उक्त क्षेत्रमा यसअघि नै लागू गरिएको थियो । त्यस्तै कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा लागू गरिएको छ ।

बर्दियाको गुलरिया नगरपालिका(५ र ६ को सम्पूर्ण क्षेत्र, बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर, कतर्निया बजार, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरी गाउँ र ठाकुरद्वारा बजार, राजपुर नगरपालिकाको बजार क्षेत्र, बढैयाताल गाउँपालिकाका बजार क्षेत्र तथा गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञ जारी गरिएको मन्त्रालयले जनाएको छ ।