-रुपान्तरण संवाददाता
काठमाडौंँ । पशुपतिनाथको उपवन भण्डारखालमा पशुपति क्षेत्र विकास कोषले तालाबन्दी गरेकोछ । कोष सञ्चालक परिषद्को २०८१ असोज ११ गते बसेको बैठकले सर्वसाधारणलाई भण्डारखाल प्रवेशमा अनिश्चितकालीन समयको लागि प्रवेशमा रोक लगाएको हो ।
भण्डारखाल उपवनमा अनधिकृत रूपमा प्रवेश गरेको पाईएमा कानून बमोजिम कारवाही गरिने उल्लेख छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक तथा महानगरपालिका ८ नम्बर वडाका अध्यक्ष आशामान संगतले पशुपति क्षेत्र विकास कोषले भण्डारखाल क्षेत्र बन्द गरेको जानकारी दिनु भएकोछ । भण्डारखाल क्षेत्रको जंगल विनास भएकोले केही समयको लागि बन्द गरिएको भनाइ छ अध्यक्ष संगतको । संगतले वृक्षारोपणपछि पूर्ववत् रूपमा क्षेत्र खुला गरिने बताउनुभयो । भण्डारखाल क्षेत्रमा कति बाँदरहरु छन ? कति बूढा रुखहरु छन ? उपवनका बाँदरहरुले नजीकका बस्तीमा छिरेर वडा नंम्बर ७, ८ र ९ का बासिन्दालाई के कस्तो दुःख दिएकाछन ? यी कुराहरुको कही, केही लेखाजोखा देखिदैन । पशुपतिनाथको दर्शनका लागि आउने दर्शनार्थीहरूलाई दुःख दिएकाले बाँदरलाई जंगलमै बस्ने वातावरण सिर्जना गर्ने हास्यास्पद तर्क अघि सारेर अहिले भण्डारखाल क्षेत्रमा तालावन्दी गरिएको हो ।
भण्डारखाल उपवनको संरक्षण र हेरचाह समरजङ कम्पनीले गर्ने गरेको थियो । दैनिक ३२ वटा फुलमाला तयार पारेर पशुपतिनाथ, गुह्येश्वरी, राजराजेश्वरी लगायतका मठमन्दिरहरूमा चढाउन पठाइन्थ्यो । स्थानीय वासिन्दाका अनुसार, पशुपति क्षेत्र विकास कोषको स्थापना पछि भण्डारखालको सुरक्षाबाट समरजङ कम्पनीलाई हटाइयो । यसपछि नै भण्डारखालको विनास शुरु भएको हो ।
विकास कोषका पछिल्ला दिनहरूकोे दिनचर्याले मारवाडी सेवा समिति र स्थानीयहरू आक्रोशित देखिन्छन । हालसम्मको परिस्थिति नियाल्ने हो भने, पशुपति क्षेत्र विकास कोष र स्थानीय सरकार एवं स्थानीय ब्यक्तिहरूसँगको सम्बन्ध कहिले पनि सुमधुर हुन सकेको देखिदैन ।
पुरानो समयमा पशुपतिनाथका उपासकहरु भण्डारखालमा ध्यान साधना र शारीरिक ब्यायामगर्न जाने गरेका थिए । समरजंग कम्पनीले भण्डारखाल उपवनको रेखदेख गरून्जेल यहाँको बगौँचाहरूको संरक्षण राम्रोसँग भएको थियो । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको इतिहासको सही आंकलनगर्न सकेको छैन । यसअघि भण्डारखाल क्षेत्रमा पुरातत्व विभागले दुई दुई पटक उत्खनन गरेको थियो । पहिलोपटक बि.सं. १९८०/८१ मा आर्कियोलोजिकल सर्वे अफ इन्डियाले पुरातत्वविद् एस वी गेबीको नेतृत्वमा भण्डारखाल क्षेत्रको उत्खनन गर्दा लिच्छविकालिन पोखरी तथा पर्खालहरू भेटिएको थियो ।
दोस्रोपटक ईस्वी संवत् २०१८ (२०७५) सालमा बेलायतका दुर्लाम युनिभर्सिटीका प्रोफेसर रविन कनिघमको नेतृत्वमा गरिएको उत्खननमा कुषाणकालीन मुद्राहरू फेला परेको थियो । यसका आधारमा २१ सय वर्षभन्दा अगाडिदेखि यस क्षेत्रमा मानवबस्ती रहेको अनुमान गर्न सकिन्छ ।
लामो इतिहास बोकेको यस क्षेत्रको महत्व नबुझेर पशुपति क्षेत्र विकास कोष बरालिएकोछ । पशुपति क्षेत्रको ऐतिहासिक महत्व बुझेका मानिस कोषको नेतृत्वमा पुग्न पाएका छैनन ।
दैनिक रूपमा भण्डारखालमा शारीरिक ब्यायाम गर्दै आईरहेका स्थानीय जनता भण्डारखालको ढोकामा ताल्चा मारेर यसलाई राजनीतिको अखडा बनाउन खोजिएकोमा आक्रोशित छन ।
दैनिक रूपमा हिडडुलगर्ने सर्वसाधारणले भण्डारखालका बन्यजन्तुहरूलाई खानेकुरा उपलब्ध गराउँदै आएका थिए । आगामी दिनमा बन्यजन्तुको आहाराको ब्यवस्थापन कसरी हुन्छ भन्ने विषयमा कोषले कुनै ध्यान दिएको छैन ।
सबै क्षेत्रमा राजनीतिमात्रै मौलाउने हो भने जनताले उपयोग गर्न पाउने बस्तु केही पनि रहने अवस्था देखिदैन । आफ्नै इतिहासमा रमाई रहेको भण्डारखाल जस्तो ऐतिहासिक उपवन क्षेत्रलाई विकास कोषले अनावश्यक रूपमा चलाएको देखिन्छ । । के सरकारको अहिलेको नेतृत्व पशुपति क्षेत्रका बारे संवेदनशील हुन सक्ला ?