-किशोर नेपाल
शुक्रवार विहान मैले सामाजिक संजाल ‘एक्स’ (पहिलेको ट्विटर) मा गरेको एउटा पोष्टले संघीय गणतन्त्र नेपालको राजधानी काठमाडौंलाई तताएछ । मेरो पोष्टमा साताको कुनैदिन पूर्वराजा ज्ञानेन्द्रसंग जनयुध्दका सर्वोच्च कमाण्डर प्रचण्डको ‘दर्शन–भेट’ को प्रसंग थियो । ‘दर्शन–भेट’ अस्वाभाविक थिएन । प्रचण्डका ‘आफन्त’ यस भेटका बारे अनभिज्ञ थिएनन । र पनि, यसलाई अत्यन्त ‘गोपनीय’ बनाइएको थियो । तर, सूचनाको चरित्र जस्तोसुकै अवस्थामा पनि र जुनसुकै बेलामा पनि चुहिने खालको हुन्छ । जति गोपनीय राखेपनि कतै न कतैबाट त्यसको गन्ध बाहिर आइ हाल्दछ । घ्राण शक्ति भएका मानिसले त्यो गन्ध सुँघी हाल्दछन । भेटघाट आफैमा त्यति अस्वाभाविक बिषय थिएन । तर, जनयुध्दका कमाण्डर प्रचण्डले पूर्वराजालाई सुटुक्क भेट्नु सोचेजति स्वाभाविक पनि थिएन । प्रचण्डको सचिवालयले पूर्वराजासंग भेटघाट नभएको सूचना टाँस गरेर ‘पतिया’ लिन खोज्यो । यो औपचारिक सूचना पछि कुरा सकिनुपर्ने थियो । तर, भेटघाटको चर्चा झन् संग्रालियो ।
हो, कुरा यत्तिकैमा सकिएन । तीन–तीन पटक राष्ट्रको कार्यकारी प्रमुखहुने सौभाग्य पाइसक्नु भएका प्रचण्डको चित्त सत्ताको राप र ताप नभइ अडिन सक्ने अवस्थामा नै रहेको छैन । संविधान सभाका लागि भएको पहिलो चुनावदेखि नै बरालिन थालेको उहाँको मन संविधानको निर्माण र दुइ–दुइ पटक भएको चुनावपछि पनि बरालिन छाडेन । देश संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि जनयुध्दको राप र तापले प्रचण्ड नेतृत्वको पार्टी आफ्नै बलबूतामा सरकार बनाउने अवस्थामा पुग्यो । तर, पछिल्लो समयमा भने आफ्नै भरमा उभिनसक्ने स्थितिमा रहन सकेन । विद्रोह सफल भएपनि आपूmले खोजेको र रोजेको उपलब्धिबाट बन्चित गरिएका बिद्रोहीहरु कोही बिदेशिए र कति विग्रहको बाटोमा लागे । सर्वोच्च नेतृत्वसंग कलह गरेर भएपनि डा.बाबुराम भट्टराई मात्र जसोतसो एकपटक देशको प्रधानमन्त्रीसम्म बन्न सफल हुनुभयो ।
यसमा कुनै सन्देह छैन– बेला–बेलामा नेपालको राजनीतिमा प्रचण्डले निकै सन्तुलन मिलाउन खोज्नु भएकोछ । नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालासंग प्रचण्डको त्यति आत्मीय भाव थिएन । तर, राजनीतिक सम्बन्धमा तिक्तता थिएन । जनयुध्दका समयमा माओवादी बिद्रोहीहरुले सुदूर पश्चिममा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा चढेको गाडीमा बम प्रहार गरेका थिए । तै पनि, देउवासंग उहाँको ‘केमेष्ट्री’ अहिले पनि बिग्रिएको छैन । तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालसंग प्रचण्डको सम्बन्ध सत्तामा रहँदा पनि र नरहँदा पनि अन्तरंग रहेकोछ । तर, ‘गोरुगाडा चढेर अमेरिका पुगिदैन’ भन्दै गणतन्त्रवादीलाई खिस्याउने हाल एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उहाँका बीच ‘फिजिक्स’ र ‘केमेष्ट्री’ दुबै मिलेन । दुबै नेतामा समान रुपमा रहेको सत्ताको राप र तापको कडा चाहना प्रकटमा नै देखिन्छ ।
प्रचण्ड अहिले बिभिन्न नामधारी दलले चलाएका आन्दोलनहरुसंग जोडिनु भएको छ । उहाँ ‘सहकारी ठग’ को उपाधि पाएका नेताहरुसंग पनि जोडिनु भएकोछ र सहकारी ठगहरुबाट ठगिएका पीडित जनताको आन्दोलनको समर्थनमा पनि उभिनु भएकोछ । उहाँ देशको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेस र सबैभन्दा बलियो मानिने कम्युनिष्ट पार्टी एमालेका छिद्रहरु खोतलेर राजनीतिमा आफ्नो पकड बलियो बनाउन चाहनुहुन्छ भने यो अस्वाभाविक होइन । कांग्रेस सँधै बृहत्त शान्ति सम्झौताको प्रवध्र्दकका रुपमा स्थापित हुन चाहने, एमाले पन्चायतकालीन बिकासका गाउँफर्क सूत्र समातेर गाउँगाउँमा भ्यू–टावर बनाउने । अजब काश्मिर, गजब नेपाल ।
यस्तोमा ‘पूर्वराजा’ का रुपमा ‘सम्मानित’ ज्ञानेन्द्र शाहले सर्बोच्च शासकका रुपमा पाएको आन, शान र मान बिर्सिने कुरा भएन । उहाँको मनको कुनै कुनामा लोकतान्त्रिक राजनीतिका बिरुध्द प्रतिशोधको राजनीति गुम्सिएर रहेकैछ । नेपालका इतिहासकारहरुले नेपाली राजतन्त्रलाई जतिसुकै महिमा मण्डित गरेपनि पृथ्वीनारायण शाहपछिका शाहवंशीय राजाहरु आफ्नो शक्ति राणाहरुको हातमा बुझाएर आफू राणाहरुको कठपुतली बनेकै थिए । राजा त्रिभुवनले देशमा प्रजातान्त्रिक शासन ब्यबस्थाको स्थिति बसाले । राजा महेन्द्रले प्रजातान्त्रिक शासन ब्यबस्थाको जरो उखेलेर आफै शासन गरे । राजा बीरेन्द्र न सफल भए, न बिफल मानिने अवस्थामा रहे । काकताली परेर राजा बनेका ज्ञानेन्द्र शाह शाहबंशको अन्तिम राजा बन्न पुगे ।
आफ्नो शासनकालमा आफूले हेपेर–पेलेर राखेका राजनीतिक दलका नेताहरुका बीच बेमेल बढाउने चाहना शाहबंशका अन्तिम राजा ज्ञानेन्द्र शाहमा हुनै पर्दछ । अहिले ‘पूर्वराजा’ ज्ञानेन्द्र शाह सत्ताको रिंगमा प्रवेशगर्न छटपटाइ रहनु भएको छ भने यो अस्वाभाविक होइन । सानै उमेरमा नेपालको राजा भइसक्नु भएका उहाँको ब्यक्तित्वको अनुकरण गर्दैछन लोकतान्त्रिक राजनीतिमा लागेका अहिलेका नेताहरु । त्यसैले पनि, यो अवस्था उहाँको राजनीतिक चलखेलका लागि अनुकूल रहने नै भयो ।
पूर्वराजा ज्ञानेन्द्र र जनयुध्दका कमाण्डर प्रचण्ड अहिले फूर्सदमा हुनुहुन्छ । फूर्सदमा रहेका दुबै ब्यक्तिका बीच आपसी सम्बन्ध बिकसित हुनु नराम्रो व्यसन होइन । उहाँहरुका बीच भेट भयो त भयो । भेटमा उहाँहरुले पानीमात्रै त पक्कै पिउनु भएन ।