सपना र बाध्यता बीच हराएको उत्सव: त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल - रुपान्तरण
 २०८१ मंसिर २५, मंगलबार    

सपना र बाध्यता बीच हराएको उत्सव: त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल


-सुजन तिमल्सिना

काठमाडौँ । देश चाडपर्वमय बनेकोछ, चारैतिर खुशियाली छ । उमंग छ । तर, यो उमंगमा गति छैन । बाध्यताले देश छोडेर विदेशिने नेपालीका आँखामा आँशु डबडबाएका छन । विदेशिनेको अनुहारमा देखिने हताशा स्पष्ट देखिन्छ । देश विपदमा छ र पीडामा छ । नेपाली दुःखी छन । बाढी र पहिरोको चापमा नेपाली चेपिएका छन । तै पनि नेपालीले दुःख धान्न जानेकाछन । चाडपर्वमा अनुहारमा उत्साह छाएको देखाउँछन । आफु भित्रको दुःख र पीडा लुकाउने, आफ्नो अनुहारमा नदेखाउने र परिस्थितिले डोहोर्याएको बाटो पछ्याउने बानी परिसकेको छ ।

दैनिक विदेशिने नेपाली तथा केही न्यून संख्यामा रहेका विदेशी यात्रुहरूले खचाखच भरिएको देशको त्रिभुवन विमानस्थल परिसरमा यस्ता दृश्य सँधै देखिन्छन । विदेशिनेको मनमा केही आशा, केही भरोसा र केही विश्वासको छाट देखिएपनि तिनका अभिभावक र परिजनहरुको मनमा गुम्सिएको पीडा आँखाभरी छचल्किइ रहेका हुन्छन ।

IMG_0335

ती विदेशिनेका गला खादा र फूलमालाले थिचिएका हुन्छन । अचेल कतिको गलामा त चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा पनि बेरिएको देखिन्छ । धेरैको अभिब्यक्ति हुनेगर्दछ, पढे–लेखेर पनि केही गर्न सकिएन । आखिर रोजगारीको अन्तिम गन्तव्य परदेश नै रह्यो ।

नेपाली जनता रोजगारीको खोजीमा विदेश भासिने चलन नयाँ होइन । २०२५ सालसम्म पनि देशको जनसंख्या लगभग ८० लाख थियो । जनसंख्या कम भएका बेलामा पनि देशबाट थुप्रै युवक ‘लाहूर’ भासिन्थे । पचास साठी बर्षको अवधिमा देशको जनसंख्या व्हात्तै बढेर तीन करोड नाघी सकेको छ । अहिले रोजगारीका गन्तब्य बदलिएका छन । देशको शासन सत्तामा जो आएपनि अवस्था नबदलिने निष्कर्ष निकालेका छन धेरैले । देशमा अहिलेकै अवस्था रहेमा युवापुस्ता ढिलो चाडो सबै विदेशिने बाध्यात्मक अवस्था सिर्जनाहुने बताउँछन् बिदेशिनेहरु ।
सिराहबाट काठमाडौँको बाटो रोमानिया जान लागेका रामनन्दन शाह देशमै पढे, हुर्किए र बढे । स्नातकोत्तरसम्म पढे पनि आफ्नो भविष्यको बाटो खोज्न सकेनन देशमा । बिदेशिने बाहेक कुनै विकल्प रहेन उनीसंग ।

IMG_0341

चाडपर्वको मुखमा जन्मभूमि छाडेर परदेश जाने आफ्नो पनि ईच्छा नभएको बताउछन उनी । मधेशको प्रमुख चाड छठ पर्व नजिकिँदै गर्दा परदेशिनुको पीडा उनले आफनो मनमा दवाएर राखेका छन ।

अर्का यात्री छविलाल विकको आर्थिक र पारिवारिक पृष्ठभूमि कमजोर छ । उनी लमजुङबाट साउदी अरबतिर हिंडेका छन । आफ्नो परिवारको 'सुखको सपना' पूरा गरेर देशमै बाच्ने अवस्था सिर्जनागर्न विदेशिन लागेको बताउछन उनी । विदाइका लागि विमानस्थलमा आएकी श्रीमती र छोरीको गहभरि आँशुछ । त्यो आँशु देखपछि छविलालको आँ खामा पनि आँशु डबडबाउँछ ।

रोमानियाको यात्रा तय गरेर दशैं मनाउन घर आएका सल्यानका चित्रबहादुर केसीलाइ चाडपर्वको मुखमा विदेशिने रहर त पक्कै थिएन । तर, टिकट पछिल्लो मितिका लागि सार्न मिलेन । उनले तिहार मनाउन पाएनन । चाडपर्व त बर्षेनी आउँछ । त्यो संगै परिवारको सम्झना मुटुमा रही रहन्छ भन्छन उनी । अहिले रोजगारीका लागि विदेशिनु हरेक नेपाली नागरिकको बाध्यता नै बनिसकेको छ । जान्न जान्न भन्दा भन्दै पनि परिस्थितिले विदेशतिरै घचेटछ । उनी भन्दछन: धनी देशका मानिसहरु घुम्ने र रमाइलोगर्ने भावना बोकेर यता आउँछन । हामी रोजगारीका लागि उता धाउन बाध्य छौं ।

IMG_0310

स्याङ्जाका संयोग चापागाईं हाल अष्ट्रेलियामा छन । आफुहरू काममा जानुपर्ने बाध्यताका कारण चाडपर्व नसकिदै उड्नुपर्दा उनलाई नरमाइलो लाग्ने नै भयो ।
कोरियामा करिव ५ बर्ष बसेर नेपाल फर्केका नुवाकोटका दिपक सुवेदी चाडपर्व मनाउन नेपाल आएका हुन । पाँच वर्षपछि घर आएका सुवेदीलाई देश छाड्नुपर्दा न्यास्रो लाग्नु स्वाभाविक हो ।

अधिकांश नेपालीहरूको भनाइ एउटै छ: देशमा बाच्ने र भविष्य निर्माण गर्ने परिस्थिति नै बनेन । पुरानो जमानाका मानिसले सोचे भन्दा अहिलेको देश, समाज र परिस्थिति फरक भईसकेको छ । वैदेशिक रोजगारीमा गएका अधिकांश मानिस केही समय परिवारसंग बिताएर पुनः विदेशिदैछन । कमाएर ल्याएको पैसा खर्च गरेपछि यहाँ के गरेर बस्ने ? केही गर्न सकिने अवस्था नै रहँदैन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता तेज बहादुर पौडेलका अनुसार, अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बाटो दैनिक विदेशिने नेपालीहरूको संख्या करिब ८५०० को हाराहारीमा रहेकोछ । पछिल्लो आकडा हेर्दा नेपालबाट विदेशिने र नेपाल भित्रिने यात्रुको संख्या समान जस्तै रहेको देखिन्छ । गत मंगलबारको आकडा हेर्दा ५५ वटा इन्टरनेशनल उडान मार्फत् ८४५६ जना यात्रु नेपाल आएका छन भने ८१८५ जना विदेशिएका छन ।

चाडपर्वको मुखमा, गत सोमबार ७९५७ जना स्वदेश फर्किएका छन भने विदेशिएका नेपालीहरूको संख्या ८०३३ रहेको छ ।
त्यस्तै, आइतबार ८४९३ जना नेपाल भित्रिएका थिए भने, ८४७३ जना नेपाली विदेशिएका थिए ।

यो आकडाका आधारमा दशैको फुलपातीको दिन ९३८१ जना नेपाल भित्रिएका छन भने विदेशिने यात्रुहरूको संख्या ७१२८ छ । चाडवाडको मुखमा यसरी यात्रुहरू विदेशिनुले देशको वास्तविक परिस्थिति छर्लङ्ग देखाएको छ ।

फुलपातीको अघिल्लो दिनको तथ्यांकअनुसार दशै लक्षित स्वदेश फर्कने यात्रुहरू ९२३० छन भने ८१५७ विदेशिएका छन ।

त्यस्तै, तिहारको अघिल्लो दिन २२ गतेको तथ्यांक अनुसार देश आउने यात्रु ९९०७ रहेकाछन । विदेशिने यात्रुहरू ७८१९ रहेकाछन । तीन दिनको आकडा हेर्दा चाडपर्वमा देश भित्रिने यात्रुको संख्या उच्च रहेको देखिन्छ । अहिले दशै यता दैनिक एक हजारको हाराहारीमा नेपालीहरू स्वदेश फर्किएको देखिन्छ ।
प्रवक्ता पौडेलका अनुसार विदेशिने र नेपाल भित्रिने यात्रुहरूमा काम र पढाई दुवैका लागि विदेशिएका यात्रुहरू रहेकाछन ।