पत्रकार लीला खतिवडा अनेक अवतारमा देखिएका छन । ‘सिजोफ्रेनिक’ खतिवडाले आफ्नो चेतनाचाहीं गुमाएका छैनन । उनी पागलजस्तो देखिन्छन । तर, पागल होइनन । छाडा पक्कै हुन ।
प्रस्तुत छ : हालै उनले रुपान्तरणलाई पठाएको लघु रचना :
तपाईं प्रधानमन्त्री भए के गर्नु हुन्छ ?
साप्ताहिकका शुरुका दिनमा एउटा स्तम्भ थियो – तपाईं प्रधानमन्त्री भए के गर्नुहुन्छ ?
त्यसको जवाफ चाहिँ मैले हिजोसम्म सोचेको थिइन । तर यदि हजुरले मलाई सोध्नु भयो भने, मैले यस्तो भन्ने छु –
दलका नेताहरुले ३४ वर्ष लगाएर बनाउन नसकेको र पुरै बिगारेको यो मुलुकलाई म ३४ हप्तामा करेक्सन गरिदिन सक्छु ।
मलाई धेरै केही चाहिँदैन, केवल ७ हजार दुब्ला–पातला अलिक ठिकसँग खान नपाएका युवा चाहिन्छ । दुर्गा प्रसाईंले आफ्नो घरमा अगरबत्ती बालेर र सजाएर राखेका हतियार पनि धेरै हुन्छ, मलाई ! हतियारले देश बन्दैन भन्ने अब प्रमाणित भइसक्यो । हतियारको भर पर्दा केवल लठेतको जनसंख्या बढ्दछ । इन्टेलिजेन्ट अर्थात् खुफिया दिमाग तयार गर्न हतियारले काम दिँदैन । त्यहाँ चाहिन्छ – कलम !
कलम नै अन्तिम मलम !
दले वा नदले सरकारले जसरी पनि शासन चलाउने कुरा अब यहाँ कहिल्यै कसैले नसोच्दा पनि हुन्छ । अब कुनै दरवारबाट नभएर सडकबाट चल्नेछ सत्ता । न कुनै सरकारी क्वार्टर, न कुनै तामझाम, न कुनै कारगेट न त कुनै स्कर्टिङ । देश बनाउन अहिले ’केटा’ वा ’केटी’हरु मन्त्री बनेजस्तो जोकर–ताल किन चाहिन्छ ? यति स्यानो देशमा मन्त्रीको कारगेट चाहिँ किन भीमकाय ? शासकलाई सुस्सु गर्न जान पनि एक हूल बडिगार्ड किन ? नपुंशकहरुलाई सत्ता सुम्पिएको कि बहादुरलाई ?
रोगी, पिलन्धरे, नाक र चाक कोट्याइरहने शासक कि शिरमा विश्व जित्ने ’तरंग–पगरी’ लगाएको बौद्धिक र बहादुर सैनिक ?
सत्तामा पुगेर देश चलाउने वा बनाउने भनेको रिबन काट्ने, कमिशन खाने, भ्रष्टाचार गर्ने, सिंहदरवार र बालुवाटारमा कुकुर र बिराला भेला गर्ने त पक्कै होइन । यस्ता कुरा कुनै राजनीतिक सिद्धान्तमा फेला पर्दैनन् । हामी जोन स्टुअर्ट मिल पढेर आएका मान्छे हौँ । मजाक किन ज्यादा ?
स्मरण रहोस् – एउटा राजनीतिक दल खोल्न यहाँ दस हजार नागरिकको नागरिकता र हस्ताक्षर आवश्यक पर्दछ । मैले त सात हजार युवा मागेको हुँ । ती पनि दुब्लापातला र राम्ररी खान नपाएका । ओभरफेड अर्थात् धेरै खाएर सुन्निएका मान्छे जो सुकै भए पनि मलाई काम छैन ।
अहिलेको लागि निर्णायक वाक्य :
यो मजाक होइन !
लाइटर ? एक काँटी सलाईले संसार जलाउन सक्छ । चाइनाले बनाएको रु १५ पर्ने यो लाइटर त मेरा लागि एक खतरनाक 'डाइनामाइट’ नै हो !
नि झाओसाङ् हाओ !