चौरासीको निर्वाचनका लागि उन्माद बनेको स्थानीय उप निर्वाचन - रुपान्तरण
 २०८१ माघ ८, मंगलबार    

चौरासीको निर्वाचनका लागि उन्माद बनेको स्थानीय उप निर्वाचन


-रुपान्तरण बिश्लेषण

उपनिर्वाचन सम्पन्न भएका चौवालिस स्थानमध्ये नेपाली कांग्रेसले विगतमा जितेका सत्ताइस स्थानमा दुइ जिल्लामा समन्वय प्रमुख, तीनवटा पालिका प्रमुख, तीनवटा पालिका उपप्रमुख र बाँकी वडाध्यक्ष बिजयी भए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आठ स्थानमा दुइ उपाध्यक्ष र वडाध्यक्ष जितेको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सात वडाध्यक्षमा विजय प्राप्त गरेको थियो । यो निर्वाचन परिणाम पछि राजनीतिक दलका नेताहरुले विभिन्न धारणा ब्यक्त गरेका छन । उपनिर्वाचन २०८१ को परिणामले माओवादीको हौसला बढाएकोछ ।

स्थानीय सापेक्षता
स्थानीय निर्वाचनको मुख्य प्रश्न हो ः स्थानीय सापेक्षता । प्रत्येक स्थानीय तहमा स्थानीय सापेक्षता हाबी रहन्छ नै । समुदाय, संस्कृति, भुगोलका जटिलता र विविधता स्थानीय निर्वाचनलाई प्रभावित तुल्याउने पहिलो महत्वपूर्ण पक्ष हो । स्थानीय तहमा यस अघि कसको नेतृत्व थियो ? जनमत कति थियो ? अहिले कति छ ? यी मानकका आधारमा विश्लेषण गर्दा फरक तथ्य फेला पर्दछन ।
कतिपय क्षेत्रमा पहिले जितेको दलले आफूले जितेको स्थान जोगाउन सकेनन । कतिपय स्थानमा जन–प्रतिनिधिको कामगर्ने शैली जनताले मन पराएको देखिएन । यी ठाउँमा मतदाताले मत परिवर्तन गरेको देखिन्छ । यस अर्थमा जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएकोछ ।

शहरी जनमत
शहरी क्षेत्रहरूमा मूलधारका मानिने पुराना राजनीतिक दलहरूप्रति जनतामा असन्तुष्टिको मात्रा अधिक रहेको पाइन्छ । काठमाडौ महानगरमा राष्ट्रिय स्वतन्त्र पार्टीको बिजयले एकहदसम्म पुराना दलहरूप्रति शहरी मतदाताको धारणा सकारात्मक नरहेको देखाउछ । यसले शहरी क्षेत्रमा ठूला र प्रभावशाली मानिएका दलहरु कांग्रेस, एमाले र माओवादीप्रति असन्तुष्टिको मात्रा बढेको संकेत गरेकोछ ।

साइकल भन्दा ठूलो घन्टी
पुराना दलले केही गर्न सकेनन भन्दै उदाएको दल राष्टिय स्वतन्त्र पार्टीले निर्वाचनमा काठमाडौको एउटा वडामा मात्रै जितेको छ । देशभरका धेरै स्थानमा जनताको असन्तुष्टि पोख्नका लागि मात्रै नयाँ दलको उपयोग भएको देखिन्छ । नयाँ र स्वतन्त्रको अर्को मोडल बन्दै गरेका धरानका मेयर हर्क साङपाङ धरानबाट स्वतन्त्रका उम्मेदवारलाई मतमाग्न र्कीिर्तपुरसम्म धाएका थिए । तर फेसवुकमा उनले हल्लागरे जस्तो समर्थन उम्मेदवारले पाएनन । पुराना दलका नेतासँग, तिनको शासन शैली र परिणामसँग चित्त नबुझाउँदा नबुझाउँदै पनि विकल्प झन् कमजोर र अविश्वसनीय भएको निष्कर्षमा मतदाता पुगेको देखियो ।

उत्साहको स्थितिमा माओवादी
उप निर्वाचनमा माओवादीले पाएको मतले उसका समर्थक फुरुंगपर्नु अस्वाभाविक होइन । तर, यसैका भरमा पार्टीका शीर्षस्थ नेतृत्व उत्साही देखिनु शोभनीय होइन । संविधान सभाका लागि भएको दोस्रो निर्वाचनदेखि नै चुनावको मामिलामा माओवादी ओरालो यात्रामा लागेको हो । सत्तामा अविराम रहेका पार्टी चुनावमा ठन्डाराम हुनु अस्वाभाविक थिएन, आश्चर्यजनक थियो । परिवर्तित समयमा माओवादी नेतृत्वले छरिएका मट्यांग्रा एकत्रितगर्नु, घुयँत्रो चलाउनु, अन्तिमसम्म लड्नु आगामी निर्वाचनमा बिजय प्राप्तिका लागि प्रयत्नका खुडकिलामात्रै हुन । उप–चुनावमा विजयको कारण उम्मेदवारको व्यक्तित्व हो कि पार्टीको जनाधार बढेकोले हो ? विश्लेषण आबश्यक हुन्छ । त्यसो नगरी, उप–चुनावमा आधा दर्जन स्थानमा बिजय प्राप्त भएकै कारण हौसिने हो भने माओवादीले आगामी निर्वाचनमा फेरी पनि कमजोर प्रदर्शन गर्न सक्दछ । तै पनि, माओवादी उत्साही भएको छ भने यसलाई राम्रो संकेत मान्नु पर्दछ । यसलाई माओवादीमा आएको जागरणको रुपमा लिन सकिन्छ ।

जहाँ ठूलो नेता त्यही पार्टी शून्य
स्थानीय निर्वाचनमा जहाँ ठूला नेता सक्रिय हुन्छन् त्यहाँ पार्टी किन हार्छ ? यो अहिलेको महत्वपूर्ण प्रश्न हो । नुवाकोटमा कांग्रेसका डा.केदारनर्सिंह केसी ककनी –२ का मतदाता हुन् । अर्का महत्वपूर्ण नेता तथा काग्रेसका प्रवक्ता डा प्रकाशशरण महत त्यहींबाट क्रियाशील सदस्य बनेका छन । तर, त्यहाँ अत्याधिक मतले माओवादीले जितेको छ । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहले भोट हाल्ने कामनपा –१६ मा रास्वपाले जितेको छ । बर्षमान पुनको क्षेत्र रोल्पा रुन्टीढी –४, जनार्दन शर्माको क्षेत्र रुकुम सानी भेरी – ५ र शक्ति बस्नेतको क्षेत्र जाजरकोट कुशे –७ मा कांग्रेसले जितेको छ । जनार्दन शर्माको जिल्लामा माओवादी विरुद्ध एमाले–काङ्ग्रेसको मोर्चा माओवादीका लागि खलनायक सावित भयो । एमाले नेतृ तथा अनेमसंघको केन्द्रीय नेतृ केशकुमारी तुलाचनलाई निर्वाचन आयोगले नेपाली काँग्रेसको बिल्ला भिराइदियो । तर, मतदाताहरुले पत्याएन । महागठबन्धन भारी मतान्तरले पराजित भयो ।

ओरालो यात्रामा एमाले
यो उपनिर्वाचनमा माधव नेपालको समाजवादी कलमले एमाले ओरालो लागेको लक्षण देखाइ दियो । कुनै समय एमालेको गढ भनेर चिनिएको काठमाण्डौ १६ र कीर्तिपुरमा एमालेले पाएको मत दयनीय थियो ।
एमाले महासचिव शंकर पोखरेलले आफ्नो सामाजिक सञ्जालमा यो बास्तबिकतालाई स्वीकार्दै लेखेका छन् – नेकपा (एमाले)का स्थानिय कमिटीको योजना र अपेक्षा अनुरुप चुनावी परिणाम आउन सकेन । विशेषगरी राजधानी काठमाडौको निर्वाचन परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो । त्यो पुरा हुन सकेन । अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मुलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिदैन । त्यसमाथि पछिल्लो समयमा सामाजिक संजालमा भएको नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धको प्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।

असन्तुष्ट जनमत
हरेक पटकको निर्वाचन परिणामले नेपाली जनमत निरन्तर अस्थिर हुदैगएको देखाउँछ । यसबाट दलका नेता र जनप्रतिनिधिको भूमिकाप्रति जनता सन्तुष्ट नभएको स्पष्ट हुन्छ । दलहरु बीचको गठबन्धनप्रति जनता विश्वस्त देखिदैनन । उपनिर्वाचनले नेपालमा अहिले पनि निर्णायक शक्ति भनेको कांग्रेस, एमाले र माओवादी नै हुन् भन्ने पुष्टि गरेकोछ । तर, जनता यी तीनवटै दलप्रति बिश्वस्त हुन सकेका छैनन ।