भाषाको रहस्यमय यात्रा - रुपान्तरण
 २०८१ माघ ८, मंगलबार    

भाषाको रहस्यमय यात्रा


पत्रकार लीला खतिवडा अनेक अवतारमा देखिएका छन । ‘सिजोफ्रेनिक’ खतिवडाले आफ्नो चेतनाचाहीं गुमाएका छैनन । उनी पागलजस्तो देखिन्छन । तर, पागल होइनन ।
प्रस्तुत छ : हालै उनले रुपान्तरणलाई पठाएको लघु रचना :

'अन्दर’ नै अंग्रेजीको 'अण्डर’ हो । अन्दर, अण्डर, भित्र वा अन्तस् एकै हुन् ।
अब एउटा प्रश्न सोध्छु–
अंग्रेजी शब्द 'अण्डर’को हिज्जे यु एन डि इ आर हो भने, सिकन्दर को थिए ?

प्रश्नमा तालमेल मिलेन ?

तपाईंलाई हाँसो उठ्यो ?

कि अचम्म लाग्यो ?

हतार नगर्नुहोस् ।

म बताउँदैछु ।
सिक् अन्दर - सिकन्दर !
माने, अक्षरेपी: सिक् प्लस् अन्दर बराबर सिकन्दर !
हो ?
पक्कै हो ।
भित्र सिक्: लर्न इन्साइड !

अर्थात्, सिक्– अन्दर’ भन्नाले, बाहिर सिकेर साध्य हुँदैन । सम्भव पनि छैन । तसर्थ कुनै हालतमा पनि भित्रै सिक् । अर्थात्, सिक्–अन्दर । अनि बन्न सक्छस् तँ पनि सिकन्दर !
पुरानो जमानामा यस्ता भनाइहरु निकै प्रख्यात थिए ।

अलेक्ज्याण्डर जब पर्सिया आए, तब त्यहाँका मानिसहरु देखेर ऊ छक्क परे । त्यहाँ सबै अन्तर्मुखी थिए । अर्थात्, त्यहाँ मानिसहरु ज्ञान हासिल गर्न बाहिर भट्किँदैन थिए । आँखा बन्द गर्थे र मानिलिउँ बुद्धले जसरी ध्यान गर्दथे । यस कुराबाट अलेक्ज्याण्डर निकै प्रभावित भए र उनले आफ्नो नामलाई सिकन्दरमा परिणत गरे । सिकन्दर शब्द पर्सियन हो । जसको अर्थ योद्धा हुन्छ । पर्सियनहरुले उनलाई सिकन्दर लोधी भन्न थाले । जसको अर्थ महान योद्धा वा मानवताको रक्षक हुन आउँछ । ग्रीक भाषामा भने सिकन्दरको अर्थ देवताहरुको रक्षक हुन आउँछ । सिकन्दरको अर्थ जता जे बताइए पनि यो 'सिक्–अन्दर’ अर्थात् : भित्रै सिक् ! भनिएको हो ।

गुरु नानकले पनि यही सूत्र अपनाएका थिए । उनले स्थापित गरेको पन्थ – 'सिक्’ नै आज शिख कहलिन पुग्यो । तथापि गुरु नानकको सूत्र अलिक भिन्न थियो । उनी बाहिर र भित्र बराबर हेर्नु पर्दछ भन्थे । उनका अर्धमूदित आँखाहरुले पनि सोही कुरा बताउँछन् । मतलब, बाहिर मात्रै खोजेर पूर्ण ज्ञान असम्भव हुने भएकाले भित्र बाहिर बराबर खोज्नु जरुरी हुने कुरामा बुद्ध र गुरु नानकले जोड दिए ।

गौतम बुद्ध जङ्गलमा भट्किए । सर्वप्रथम उनले बाहिर खोजे । अनि बिस्तारै उनी अन्तर्मुखी भए । यति धेरै भित्र छिरे कि उनी प्रकाशित नै हुन पुगे जसको ताप विश्वभर अझै कायम छ । सिद्धार्थ भन्दा अगाडिका कैयौं बुद्धले यसको अभ्यास गरेका थिए । सिद्धार्थ जन्मिनु भन्दा अघि नै धर्तिमा कति हो कति मानिसहरु 'सिकन्दर’ कहलिएका थिए । याने जसले भित्रैबाट सिक्यो, उही सिकन्दर । जसले आफैँमाथि विजय हासिल गर्यो, उही सिकन्दर । तर बुद्ध र गुरु नानक आध्यात्मिक राजमार्गमा थिए भने, सिकन्दर चाहिँ राजनीतिक सडकमा भट्किरहेको थियो ।
तसर्थ, सिकन्दर आधा सिक्का मात्रै हो । उसले भारत घुमेपछि आफ्नो औकात थाहा पाए । ऊ अतृप्त नै मरे ।

माथिको कुराको निचोड के हो भने, ज्ञानको यात्रा हाम्रै स्थानबाट विश्वभर फैलिएको हो । तर भाषा वा ज्ञान जब यात्रामा निस्किन्छ – सुरु हुने बिन्दु र यात्राभर वा गन्तव्यमा पुगिसक्दा अर्कै भइसकेको हुनसक्छ । यद्यपि कहिँ न कहिँ सुरुवाती बिन्दुसँग अन्त्यबिन्दुको गहिरो नाता हुने गर्दछ ।

१३, तेरा र सिकन्दर
बेलायतमा १३औं शताब्दिदेखि प्रचलित एक अति नै महत्त्वपूर्ण प्रचलन, 'बेकर्स डजन’ प्रथालाई नेपालमा फेरि एकपटक परिचित गराउनु निकै सान्दर्भिक देखिन्छ । फेरि यसकारण कि, यो कुनैवेला नेपालबाटै बेलायत पुगेको थियो । यस्तो हिसाबमा कहिलेकाहिँ १२ नै १३ हुने गर्दछ । यसै पनि हाम्रातिर ८ र १२ फाप्दैन भन्छन् । नेपालको राजनीतिमा २० वर्षअघि १२ अंकलाई आज्माएर हेरिएकै हो । तर यो फापेन । त्यसैले अब नेपालमा 'बेकर्स डजन' प्रथा कडाइसाथ लागू हुने म देख्दछु । किनभने, 'बेकर्स डजन' भनेकै १३ हो र जहाँ पनि १२ गनेपछि १३ त गन्नै पर्दछ । माने,
सब तेरा । मेरा तो यहाँ कूछ भी नहीं है ।
यहाँ जे छ सब तेरै छ । जेछ सब १३ छ ।

नेपाल र बेलायतका धेरै काइदा, कानुन र प्रथाहरु मिल्थे । कतिपय अझै मिल्छन् । नेपालमा पनि पहिलेपहिले 'बेकर्स डजन’को कडाइसाथ अभ्यास गरिन्थ्यो । यहाँ हामीले थाहा पाउँदा लापर्वाही, भ्रष्टाचार वा अकर्मन्यता चाहिँ २०४६ सालपछि नै बढेको हो भन्दा अत्युक्ति नहोला । त्यसो त नेपालमा कताकता अझै यसको अभ्यास गरिन्छ र यस्तो अभ्यास गर्नेहरु यहाँका सबैभन्दा गतिला नागरिक हुन् । नेपालमा अब 'बेकर्स डजन’लाई पुनर्परिभाषित गर्नुपर्ने बेला आएको छ । खासमा यो महान प्रथा नेपालबाटै बेलायत लगिएको थियो । 'बेकर्स’बाट सुरु भए तापनि बेलायतमा धेरै खाले लेनदेन वा क्रयविक्रयमा अझै यसको अभ्यास गरिन्छ ।
तर यहाँ ?

'बेकर्स डजन’ भन्नाले खासमा १३ अङ्क बुझिन्छ ।
पुरानो जमानामा अहिलेको अवस्थाभन्दा ठ्याक्कै बिपरित दुनियाँमा इमान्दार मानिसहरुको बाहुल्यता हुने गर्दथ्यो । व्यापार–व्यवसाय र लेनदेन गर्दा धेरै सतर्कता अपनाउनु पर्दथ्यो । उदाहरणका लागि यदि तपाईं बिस्कुट, केक वा डुनोट बिक्रेता हो भने, कुनै पनि सामानलाई एक दर्जन वटा बेच्नु पर्दा तपाईंले ग्राहकलाई १३ वटा दिनुपर्ने हुन्थ्यो ।
कारण, बेकरी आइटमको आकार एकनासे नहुने हुँदा ग्राहकलाई कम नपरोस भन्ने हेतुले उक्त चलन चलेको हो ।

पहिले–पहिले जताततै कानुन कडा हुने हुँदा, बिक्री गरिएको सामान निर्धारित तौल भन्दा कम फेला परे वा सडेगलेको वा अखाद्य वस्तु मिसाइएको पाइएको खण्डमा व्यापारीले दण्डित हुनु पर्दथ्यो । फलस्वरूप अनावश्यक झमेलाबाट बच्नका लागि व्यापारीहरुले एक दर्जन सामान बेच्दा एउटा थपिदिन थाले । अब यसो गर्दा उनीहरु सम्भावित खतरा र अनावश्यक झमेलाहरुबाट सहजै बच्न सक्थे । केक वा बेकरी आइटमबाट सुरु भएको यो चलन अन्य सामग्रीहरुको किनबेचमा पनि लोकप्रिय हुँदै गएको पाइन्छ ।

अर्थात्, एक दर्जन सामान किन्दा एउटा सित्तैमा ! यस्तो चलन सर्वप्रथम नेपालमा थियो । नेपालबाटै यो चलन बेलायत पुगेको हो । जहाँ कतिपय ठाउँमा एक दर्जन सामान प्याक गर्दा १२ वटा नभएर अझै १३ वटा हाल्ने गरिन्छ । कतिपय सामग्रीहरुका हकमा बेलायतमा यो अनिवार्य छ ।

नेपालका गाउँघर तिर अझै यो चलन छ । 'बेकर्स डजन’लाई हामी चलनचल्तीको नेपाली भाषामा 'थपनी’ भनेर भावानुवाद गर्न सक्छौँ । नेपालका सन्दर्भमा एउटा उदाहरणले कुरा बुझाउँछु । मेरो आफ्नै अनुभव के छ भने, २०४६ सालतिर काठमाण्डौमा एक मुठा सागको एक सुका अर्थात् २५ पैसा पर्दथ्यो । साग पनि अहिलेको जस्तो कुपोषणग्रस्त हो र ? गाढा हरियो, नाङ्लापाते रायो ! अहिलेका दुई मुठा बराबर त्यतिबेला एउटै मुठो साग पाइन्थ्यो । अनि दाम चाहिं, पच्चीस पैसा प्रतिमुठा !
एक रुपैँयाको रायो किन्दा चार वटा आउनु पर्नेमा बिक्रेताले स्वतः एउटा थपिदिन्थे । धेरै सामान किन्दा, बोल्दै नबोली थपनी पनि पाइने ! ४-५ जना साथीभाइ मिलेर हामी एक रुपैयाँको साग किन्थ्यौँ, एउटा सित्तैमा पाउने आशमा । आलु मिसेर पकाएपछि उक्त रायोले त्यतिबेला कुखुरो बिर्साउने !
अर्कातिर चामल, मकै, कोदो लगायत अन्य खाद्य सामग्री खरिद गर्दा अझै पनि अलिकति बढी नै दिने हाम्रो चलन छ । अझै पनि गाउँघर तिर यस्ता इमान्दार व्यक्तिहरु पाइन्छन् जो ग्राहकलाई अलिक बढी नै दिन रुचाउँछन् । काँटा हान्दैनन् ।