पीएल दाइ हाम्रा बीच रहनु भएन । हिजो सोमवार बिहान उहाँको निधन भयो । काठमाडौका जनताले निडर र जागरुक नेता गुमाए ।
निर्दलीय पन्चायत ब्यबस्थाको उत्कर्षको समयमा निरंकुश राजतन्त्रका बिरुध्द पीएल सिंहको सक्रिय गतिविधि पत्ता लगाउन काठमाडौं शहरमा छ्यापछ्याप्ती घुम्ने सरकारका खुँखार गुप्तचरहरु असफल हुन्थे । पीएलका लागि शहरका हरेक घर अभेद्य किल्ला सरह थिए । पीएललाई गिरप्mतारीबाट जोगाउन काठमाडौवासी सँधै सतर्क रहन्थे । बिचित्रको थियो पीएलको इमेज ।
हामी उहाँलाई पीएलदाइ भन्थ्यौं । पीएलदाइ अर्थात् नेपाली राजनीतिका लौहपुरुष गणेशमान सिंहको ‘सिपसालार’ । बीपी र गणेशमान सिंह सुन्दरीजल जेलमा बन्दी जीवन बिताइ रहेका बेला सिंह परिवारका सहायक । पीएलको त्याग र तपस्या अजीवको थियो । २०१७ पुस १ गतेको दुर्घटनाको समयमा उहाँ तरुण दलको अध्यक्षका हैसियतले पेरिसमा आयोजित युवा सम्मेलनमा नेपाली युवाको प्रतिनिधित्वगर्दै हुनुहुन्थ्यो ।
बीपी र गणेशमान सिंंह नजरबन्दीबाट रिहा हुनु भएपछि पीएल सिंह गणेशमान सिंहको जन–सम्पर्कको प्रमुख सूत्रका रुपमा अवतरित हुनुभयो । उहाँ नेपालको राजनीतिक समाजमा त सुपरिचित हुुनु हुन्थ्यो नै, काठमाडौंको अभिजात्य वर्ग, सत्ताका दलाल र प्रजातन्त्र बिरुध्द षडयन्त्रमा लागेका प्रमुख पात्रहरुको गतिविधिलाई पनि बडो तीक्ष्णताका साथ नियाल्न पोख्त हुनुहुन्थ्यो । बिरोधीहरुसंग सम्बन्धित कुन मानिससंग सम्पर्कराख्दा सूचनाको जरो समात्न सकिन्छ ? त्यसको आंकलनगर्न उहाँजति समर्थ त्यतिबेला कोही थिएन । पीएलदाइ जन–सम्पर्कका मामिलामा अव्दितिय र अदभूत हुनुहुन्थ्यो ।
पत्रकारितामा प्रवेशसंगै पीएलदाईसंगको मेरो सम्बन्ध बाक्लिदै गयो । उहाँसंग प्रायः दिल्लीमा भेट हुन्थ्यो मेरो । सन १९६७ तिर हिन्दूस्तान टाइम्सका सम्पादक हिरण्मय कार्लेकरसंग मेरो परिचय गराउने उहाँ नै हुनुहुन्थ्यो । त्यसपछि उहाँले कति पत्रकारसंग मेरो भेट गराउनु भयो त्यसको गणनागर्न गार्हो छ ।
२०४२ सालमा देशमा पन्चायती सत्ताका बिरुध्द सत्याग्रह आन्दोलन ब्यापक रुपमा फैलिएको थियो । सत्याग्रहलाई बिथोल्ने नियतले काठमाडौका ठाउँठाउँमा बम पडकाइएका थिए । शहरमा हिंसाले उग्र रुपलिने आभाश पाएपछि पीएलले सत्याग्रह रोक्ने बक्तब्य दिनु भयो । कांग्रेस पार्टीका सबै आधिकारिक ब्यक्तिहरु गिरफ्तार भएको समयमा आधिकारिक बक्तब्य मार्फत सत्याग्रह रोक्न पीएल बाहेक अरु ब्यक्ति कोही थिएनन ।
प्रजातन्त्रको पुनस्र्थापनापछि पीएललाई काठमाडौका मतदाताहरुले मेयरको पदमा चुने । काठमाडौे महानगरको हैसियतमा उक्लिएपछिको पहिलो मेयर उहाँ नै हुनुभयो । मेयरका रुपमा उहाँले धेरै रचनात्मक काम गर्नुभयो । उपत्यकाका नदीहरुको छेउमा करिडोरको निर्माण पीएलकै परिकल्पना थियो ।
लोकतन्त्रमा आस्था राख्ने सबैले पीएल दाइलाईको जागरुकतालाई सँधै सम्झिइ रहनेछन ।