-रुचि श्रेष्ठ
अमेरिकाको हलिउडले लोकप्रिय बनाएको ‘सुपर–हिरो’ को अवधारणा बेचेर बलिउडले पनि निकै ब्यापार गर्यो । नेपाल, पाकिस्तान र बंगलादेश जस्ता बिकासोन्मुख देशहरुमा सुपर–हिरोले अभिनय गरेको सिनेमा बन्न त सकेको छैन ।
तर, ‘सुपर–हिरो’ प्रति यताका दर्शकहरुको आकर्षण बढी नै छ, कम छैन ।
हिरोमा सामान्य मानिस सरह कमी र कमजोरी हुन्छन नै । उसमा सामान्य मानिसमा हुने सामथ्र्य र सम्भावना पनि उत्तिकै हुन्छ । आफ्ना कमी र कमजोरीका बावजूद हिरो आफ्नो सामथ्र्यलाइ प्रमाणितगर्न समाज, परिवार र आफैसंग जुझिरहेको हुन्छ : संघर्ष गरिरहेको हुन्छ ।
कुनै मोडमा गएर घटनाक्रम र आत्मज्ञानबाट प्रेरित भएर उसको अन्तर–चेतनाले एउटा छलागं लगाउँछ र उसको सामान्य क्षमताले असामान्य रुप लिन्छ, असामान्य निर्णय लिन्छ, र, उसले असामान्य सफलता हात पार्छ ।
तर, सुपर–हिरोमा असामान्य क्षमता हुन्छ, अझ भनौ, अलौकिक क्षमता हुन्छ । अलौकिक क्षमता अतार्किक पनि हुन्छ । तार्किक क्षमताबाट समस्याको समाधान पाउन नसकेपछि मानिस अलौकिक शक्तिको खोजीमा निस्किन्छ ।
विकासको अवधारणाको शुरुवात भएकै बेलादेखि हाम्रो यो भेगमा ‘बिकासोन्मुख राष्ट्र’को परिचय बोक्दै आएका मुलुकहरुमा अब बास्तविक जीवनको दिनचर्याका क्रममा आएका आर्थिक, सामाजिक र राजनीतिक बिसंगतिहरु चिर्नको लागि त्यस्तै सुपर–हिरोको खोजी हुन थालेकोछ ।
त्यस्तो सुपर–हिरो जसले राज्यले नसुनेका अथवा सुन्न नचाहेका निमुखा, पीडित र असहायका बेदनालाइ सुन्न सकोस् । साहु र सहकारीको भण्डारमा थन्किएका आफ्नो घर–जग्गाको तमसुक चटकेले जस्तो एक इशारामा गायब गरिदेओस ।
पटक–पटक दोहोरिएको जनक्रान्ति, राजनीतिक परिवर्तन र बिदेशीको सहयोगले सामान्य मानिसको जीवनस्तरमा ल्याउन नसकेको परिवर्तन सुपर–हिरोले कुनै करामत गरेर ल्याइदेओस ।
दैवी शक्तिको आस गर्न थालेका मानिसहरुले आफ्नो सामथ्र्य र शक्ति बिर्सिइ सकेकाछन । सामान्य जनताले सुपर–हिरोको खोजी गर्नथाले पछि आफू भित्रको ‘हिरो हुने संभावना’ देख्न छाडेकाछन । उनीहरुको कल्पनाशक्ति गुम्दै गएकोछ । तर्कहरुको बहस आफैंमा अतार्किक हुदै गएकोछ, अनि, मानिसको स्वतन्त्र चेतनापनि असान्दर्भिक बन्दैछ ।
जब नागरिक उनीहरुको हरेक समस्याको समाधान एउटै ‘मूल मन्त्र’ ले गरिदेओस र आफ्नो अस्तित्व अरु कसैले जोगाइदेओस भन्ने मनस्थितिमा पुग्दछ, त्यहाँ सबै तन्त्र, ज्ञान र साधनाले कामगर्न छोडेको हुन्छ । उनीहरु गणतन्त्र, लोकतन्त्र र राजतन्त्र बीचको फरक छुट्याउन छाड्दछन । राजनीतिका ‘बाद’ र संवादहरुका बीच कुनै भेद रहदैन ।
जब बिचार र बिवेकले ठाउँ छोड्न थाल्दछ, त्यो ठाउँ डर र त्रासले ओगट्न थाल्दछ । त्यसपछि असुरक्षा र त्राशलाइ झेल्न अदृश्य शक्तिको खोजी हुन थाल्छ । माक्र्सको कम्युनिष्ट मेनिफेस्टो पढेपनि, माओको रेडबुक घोकेपनि केही परिवर्तन ल्याउन नसकिने देखेपछि सामान्य मानिसलाई हतासाले थिच्न थाल्दछ ।
उसका लागि शिवलिंगको परिक्रमागर्नु र मक्का–मदिनाको फेरो लगाउनुको अर्को बिकल्प प्रच्छन्न हुँदैन । तीन पटक शिवलिगंको परिक्रमा गर्नेले १०८ पटक शिवलिगंको चक्कर लगाउन थाल्दछन । पशुपतिनाथको दर्शन गरेर खुशी हुनेहरु कैलाशनाथको यात्रामा ‘सुकुन’ खोज्न पुग्दछन ।
त्यसो त बिचारको खडेरी बिश्वब्यापी नै छ । बिश्वब्यापिकरणले बजारलाइ ब्यापक बनाएपछि बजार सँगसँगै देशका आधारभूत र मौलिक समस्याहरुको पनि बिश्वब्यापिकरण भएकोछ । तर, ती सबै समस्याहरुको बिश्वब्यापी समाधान उपलब्ध छैन भन्ने बिचारले चाहीं बिश्वब्यापी आकारलिन सकेको छैन ।
सभ्यता र संस्कृतिको सामिप्यले दक्षिण एशियाली मुलुकहरु बीच धेरै चारित्रिक र राजनीतिक समानता पाइन्छ । यहाँका समस्या र बिसंगतिहरुको ‘प्याटर्न’ मिल्दा–जुल्दा छन । बिशेष गरी नेपाल, पाकिस्तान र बंगलादेश जस्ता देशमा समस्या यति गुजुल्टिइ सकेकोछ, मानिस यो गुजुल्टो फुकाउनेतिर अलिकति पनि ध्यानैदिन चाहँदैन ।
उसलाई यो गुत्थी सुल्झाउन झर्को लाग्न थालिसकेकोछ । आर्थिक, राजनीतिक र सामाजिक अस्थिरताका कारण यी मुलुकहरुमा दुइथरि ‘क्लास’ का बीच ‘अछूत’ संस्कृतिको चरम बिस्तारहुन थालेकोछ । एउटा ‘क्लास’ यस्तो छ जसले असमानताको गुजुल्टो बनाउँछ र खेल्छ ।
अर्को ‘क्लास’ यति असमान छ : जसले यो गुजुल्टोलाई निरन्तर झेल्नु परेकोछ । अचम्मको कुरो, यी दुइ ‘क्लास’ का बीच संघर्ष मात्र होइन, सम्पर्क नै छैन ।
‘झेल्ने’ क्लासका नागरिकले आफु भित्रको ‘हिरोइज्म’लाई बिर्सिदै गएकाछन र सुपर–हिरोको खोजीमा लागेका छन । ‘खेल्ने’ क्लासका जानिफकारहरु सुपर–हिरो तयारपार्ने ध्याउन्नमा देखिन्छन । ‘खेल्ने’ हरुलाइ हिरो भन्दा सुपर–हिरो बनाउनुमा फाइदा छ ।
हिरोले त बिचारको कुरा गर्दछ र तर्क खोज्दछ । सुपर–हिरोले जे पनि गर्न सक्दछ । तर, सुपर–हिरो हुन त दैवी शक्ति हुनु पर्यो नि । दैवी शक्ति कहाँ बाट पाउनु र देखाउनु ? उनीहरु मानिसलाइ आकर्षितगर्न बेला–बखत स्टण्ट मार्छन ।
नयाँ–पुराना नेताहरु, जो कसैमा पनि ‘मसँग बिशेष किसिमको शक्ति छ’ भन्ने भान मात्र पारिदिनु पर्दछ ‘हो न हो यो त हाम्रो तारणहार नै हुनुपदर्छ’ भनि मानिसहरु उसैंसंग आशागर्न थाल्दछन ।
तिनका बिचार के छन ? लक्ष्य के हो ? रणनीति कस्तो छ ? यी त तर्कका कुरा हुन । तर्कका कुरा हिरोले गर्दछ । यहाँ त ‘सुपर–हिरो’ चाहिएकोछ ।