- रुपान्तरण बिशेष
काठमाडौँ । पछिल्लो समय नेपाली तथा विदेशी बजारमा सिमेन्टको माग बढी रहेको छ । निर्माण कार्यमा अति आवश्यक वस्तुका रूपमा स्थापित सिमेन्टको उत्पादनगर्न चुनढुङ्गालाई प्रशोधन गरिन्छ । अहिले नेपालमा भौतिक निर्माणका कार्यहरू बढिरहेकोले सिमेन्टको खपत बढ्दो छ । सिमेन्ट बजारमा नेपाली उद्योगद्वारा उत्पादित सिमेन्टले स्वदेशमा मात्रै होइन, भारतमा समेत बजार पाउन थालेको छ । पछिल्ला केही समयदेखि नेपालबाट भारतमा सिमेन्ट र क्लिंकर निर्यात हुन थालेको छ ।
नेपालका सिमेन्ट उद्योगहरुले प्रति वर्ष बीस करोड बोरा सिमेन्ट उत्पादन गरिरहेका छन् । नेपाली सिमेन्ट उद्योगको उत्पादनकै कारण छिमेकका देशहरु सिमेन्टका लागि नेपालतर्फ आकर्षित भएका देखिन्छन् ।
नेपाल सरकारको स्वामित्वमा रहेका उदयपुर सिमेन्ट तथा हेटौँडा सिमेन्ट उद्योगसहित हाल साठीवटा भन्दा बढी उद्योग सञ्चालित छन् भने निजी क्षेत्रबाट एघारवटा रोटरी प्लान्ट सहितका उद्योग सञ्चालनमा रहेका छन् । रोटरी प्लान्ट र भी.एस.के. प्रविधिमा सञ्चालित उद्योगले क्लिङ्कर समेत उत्पादन गर्ने गर्दछन् ।
अहिले देशभर एकचालीस वटा ग्रान्डिङ सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । हाल चिनिया लगानीमा खुलेको होङ्गसी शिवम् सिमेन्टले करिब छ हजार मेट्रिक टन, शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट तथा घोराही सिमेन्टले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेका छन भने रिद्धिसिद्धि, सौर्य र ह्वासिन सिमेन्ट उद्योग बजारमा नयाँ दावेदारका रुपमा देखा परेका छन् ।
सिमेन्टको खपत माघदेखि असार महिनासम्म बढी हुने गर्दछ । यी महिनामा सरकारी ठेक्का अनुसारका आयोजना–परियोजनाले मात्रै सिमेन्टको खपतगर्ने नभएर निजी तथा आवासीय प्रयोजनका लागि बन्ने घर तथा कम्प्लेक्सहरुमा पनि सिमेन्टको खपत बढ्ने गर्दछ ।
तर हाल देखा परेको आर्थिक मन्दीका कारण एकातिर निर्माण कार्य सुस्ताएको छ भने अर्कातिर सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । ठूला आयोजना निर्माणको खर्च धान्न नसक्ने सरकारी परियोजनाहरुको निर्माणमा ढिलासुस्ती तथा भएका कामहरुको समेत समयमा भुक्तानी नभएको कारण सिमेन्ट उद्योगका लागि अपठ्यारो परिस्थिति सिर्जना भएको ब्यवसायीहरु बताउछन् ।
सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने ठूलो रकम बक्यौतामा रहँदा सिमेन्ट उद्योग धराशायी बन्ने अवस्थामा पुग्न लागेकोछ ।
नेपालका केही सिमेन्ट उद्योगहरु प्राईभेटबाट पब्लिक कम्पनी भईसकेका छन् । नेपालमा पहिलो आई.पि.ओ. निकाल्ने सिमेन्ट उद्योग शिवम् सिमेन्ट ले आई.पि.ओ. निस्काशन गरी सर्बसाधारणमा शेयर वितरण गरेको थियो । घोराही सिमेन्ट, सोना सिमेन्ट तथा सर्वोत्तम सिमेन्टले समेत आई.पि.ओ. निस्काशन गरी सकेका छन् । यी कम्पनीहरुका पछिल्लो क्वाटरहरुको वार्षिक आय ब्यय विबरण हेर्ने हो भने पछिल्ला बर्षहरुमा नाफामा निकै गिरावट आएको देखिन्छ । शिवम् सिमेन्ट केही फाईदामा रहे पनि अन्य सिमेन्टहरु घाटामा रहेका देखिन्छन ।
नेपाली सिमेन्टको गुणस्तर नेपाल सरकारको नेपाल गुणस्तर तथा नापतौल विभागले निर्धारण गर्ने गर्दछ ।
नेपालमा मुख्यत ओ.पि.सि., पि.पि.सी र पि.एस.सी. सिमेन्टहरु उत्पादन हुदै आईरहेका छन् । नेपाली सिमेन्ट उद्योगहरुले विशेषतः ४३ ग्रेड र ५३ ग्रेडका ओ.पि.सि. सिमेन्टहरु उत्पादन गर्दै आईरहेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले उत्पादित सिमेन्टहरुको निरन्तर गुणस्तर चेक जाँच तथा परिक्षण गर्दै आईरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरीय उत्पादनकोे लागि बेलाबेलामा NS Quality Award 2019 मार्क रहेका ब्राण्डहरुबाट गुणस्तरीय उत्पादनहरुको सम्मानगर्ने गरेको छ । सिमेन्ट उद्योगहरु मध्ये हालसम्म शिवम् सिमेन्ट मात्र नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रथमद्वारा सम्मानित भएको छ ।
नेपालमा सिमेन्टको समग्र मागको तुलनामा उत्पादन बढी रहेको छ । त्यसैले नेपालमा उत्पादित सिमेन्टलाई अन्तराष्ट्रीय बजारीकरण गर्ने उद्देश्यले नेपाल सरकारले सिमेन्ट निर्यातमा अनुदान (Export Incentive) को नीति अवलम्बन गरे तापनि सोचे अनुरुप छिमेकी राष्ट्र भारतमा सिमेन्टको निर्यात हुन सकेको छैन ।
केही सिमेन्ट उद्योगहरुले उत्पादनको निर्यात सुरु गरेतापनि कार्यान्वयन हुन गाह्रो रहेको उद्योगीहरु बताउँछन् । भारतमा सिमेन्ट निर्यातको अनुमति पाउने पहिलो उद्योग शिवम सिमेन्ट नै हो । शिवम्ले ओ.पि.सि. मात्र उत्पादन गर्ने र सीमा क्षेत्रहरुमा पि.पि.सी. र पि.एस.सी.को मात्र बजार रहेकोले निर्यातगर्न नसकेको कम्पनी प्रतिनिधि बताँउछन् ।
सिमेन्टको मुल्य भाडादरले समेत फरक पर्न जाने हुनाले उद्योग स्थलबाट टाढा ढुवानी गर्दा सिमेन्टको मुल्य बढ्न जाने उद्योगीहरु बताउछन् ।
हाल पाल्पा, अर्घाखाँची लगायतका सिमेन्ट कम्पनीहरुले छिमेकी राष्ट्र भारतमा सिमेन्टहरु निर्यातगर्दै आईरहेका छन् ।
भारत निर्यात गर्दा भारतीय व्युरो स्टान्डर (BIS) मान्यता प्राप्त गर्नु पर्ने हुन्छ । कतिपय सिमेन्टहरुले (BIS) मान्यता प्राप्त गर्न नसकेको कारण भारतले सिमेन्ट निर्यातमा अघोषित रोक समेत लगाएको छ । भारतमा सिमेन्टको आफ्नै बजार छ भने उसको नीति पनि समान रहेको छ । त्यसैले भारतका बजारमा नेपाली सिमेन्टको बजारीकरण गर्न समेत कठिन रहेको उद्योगीहरुको भनाई रहेको छ ।
भूकम्प पछि पुननिर्माणको समयमा सिमेन्टको ब्यापार केही फस्टाएको थियो । तर, कोरोना महामारीको समयमा उत्पादन अत्यन्तै खस्कियो । पछि केही हदसम्म सिमेन्ट उद्योगमा सुधार देखिए पनि यो उद्योग पूर्ण रुपले सवल भै सकेको छैन ।
बेला बेलामा सिमेन्ट उद्योगमा कल्पना समेत नगरिएका समस्याहरु आउने गरेका छन् । सिमेन्ट उद्योगहरुमा विद्युत प्राधिकरणले हाल गर्ने गरेको घोषित तथा अघोषित लोडसेडिङले गर्दा थप समस्या पर्न गएको छ । उद्योग स्थलमा नियमित बिद्युत आपूर्ति नहुदा जेनेरेटर को भर पर्नु पर्ने हुन्छ जसले गर्दा उत्पादन खर्चमा थप भार परिरहेको छ ।
त्यसो त सिमेन्टको मूल्यमा आएको ह्रासको कारण घाटाले थलिएर कोशी प्रदेशमा रहेका अधिकांश सिमेन्ट उद्योग बन्द भएका छन् । प्रदेशमा रहेका पन्ध्रवटा सिमेन्ट उद्योग मध्ये नौवटा सिमेन्ट उद्योग बन्द रहेका छन् । बाँकी रहेका उद्योगहरू पनि लगभग आधा भन्दा कम क्षमतामा चलेका छन् ।
सिमेन्ट उत्पादनमा आएको यो संकटले गर्दा सिमेन्ट उद्योगमा लगानी भएका अरबौँ रुपैयाँ डुब्ने अवस्थामा रहेका छन् । नीजि क्षेत्रमा मात्र नभएर सरकारी सिमेन्ट उद्योगको अवस्था समेत नाजुक रहेको परिस्थितिमा निजि तहको स्वामित्वमा रहेका उद्योगहरूको भविष्य राम्रो हुने ब्याख्या गर्न मिल्दैन ।
सरकारी लगानीका हेटौँडा र उदयपुर सिमेन्ट उद्योगमा सरकारले तत्काल दुइ अर्ब रुपैयाँ लगानी नगरे उद्योग बन्द हुने अवस्था रहेको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर सिमेन्टका अध्यक्ष र हेटौँडा सिमेन्टका महाप्रबन्धकले यस्तो अबस्थाबारे सरकारलाई अवगत गराएका थिए ।
त्यसो त नेपालको सिमेन्ट उद्योगमा चीनियाँ लगानी पनि नरहेको होइन । करिब ३६ अर्बको लगानीमा खुलेको कम्पनीले नवलपरासीमा चिनियाँ लगानीमा आधुनिक होङ्गसी–शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । तर लगानी जहाँको भएपनि उद्योगले प्रतिफल दिन सक्नुपर्दछ । उदार आर्थिक नीतिको अवलम्वन गर्ने सरकारले उद्योग ब्यबसायहरुका समस्या समाधान नगरे अर्थतन्त्र धरापमा पर्दछ ।