बत्तीसपुतलीदेखि द्यौ पाटनसम्म - रुपान्तरण
 २०८१ फाल्गुन २, शुक्रबार    

बत्तीसपुतलीदेखि द्यौ पाटनसम्म

पशुपतिक्षेत्रको बिकास–कथा


- सुजन तिमल्सिना

देवपत्तन, द्यौपाटन र देउपाटन पशुपति क्षेत्रका यी तीन प्रचलित नाम थिए । बत्तीसपुतली र चावहिल देउपाटनका छिमेकी गाउँमात्र थिए । बत्तीसपुतलीको राम मन्दिर र चावहिलको गणेशस्थान कुन्नि कसरी हो, पशुपतिनाथको मन्दिरसंगै जोडिन्थे । काठमाडौँ शहर वरिपरि रहेका ‘काँठ’ क्षेत्रमा गनिन्थे यी गाउँहरु । शिवरात्रिका बेला नेपालका मधेश र भारतका बिभिन्न शहरहरुबाट पशुपति दर्शनका लागि तीर्थयात्रीहरुको ओइरो लाग्दथ्यो । पाटी, पौवा र सत्तलहरुमा नअटाएका तीर्थयात्रीहरु बत्तीसपुतलीका घरहरुमा सशुल्क पाहूना लाग्दथे । शिवरात्रि पर्व स्थानीय निवासीका लागि दुइ–चार रुपियाँ कमाउने बाटो हुन्थ्यो ।

IMG-20250125-WA0005

अहिले पशुपति आउने यात्रुहरुले गाँस–वासको समस्या भोग्नु पर्दैन । खल्तीमा पैसा छ भने बिलाशपूर्ण आवास उपलव्ध छ । अन्तर्राष्ट्रिय प्रतिष्ठा कमाएको व्दारिका होटल बत्तीसपुतलीको शान मानिन्छ । यसैको पश्चिमतिर मारवाडी सेवा समितिको एघारतले भवन निर्माणाधीन छ । काठमाडौ महानगरपालिकाको वडा आठ र नौमा एकसय दश होटल संचालनमा छन । पछिल्ला केही दशक यता यो क्षेत्रको कायाकल्प भएकोछ । भौतिक हिसावले यस क्षेत्रको बिकास सन्तोषजनक रहेकोछ । पशुपति दर्शनका लागि आउने पर्यटकहरुलाई आकर्षितगर्ने ठूलो बजार, ठूलो बसस्टप, नाचघर र भान्साघरको विगविगी छ ।

बाजेको सेकुवादेखि सिध्दार्थ कटेजसम्म, ठूला पार्टी प्यालेस, ठूला–साना नाच्ने गाउने बार, ठूला रेष्टुराँहरु । बत्तीसपुतली र आसपासका क्षेत्रको कायापलट भएकोछ । एकातिर, यसको आर्थिक महत्व बढेको छ भने अर्कोतिर ऐतिहासिक महत्व हराउने अवस्थामा छ । दशक फेरियो । शहर, बस्ती र परिवेश पनि फेरियो । इतिहास पुरिदै गयो । वर्तमानले आफ्नो पहिचान स्थापितगर्न सकेन । पशुपतिनाथको महत्व बढ्यो । त्यो महत्वलाई स्थायित्वदिने आबश्यकताले बस्ती आधुनिक बन्यो । यता आएर, ताडपत्रमा कोरेर सुरक्षित राख्नुपर्ने इतिहास मेटिदै गएको आभास हुन थालेकोे छ ।

पछिल्ला केही दशकदेखि काठमाडौँ शहर आर्थिक, सामाजिक एवं ऐतिहासिक परिवर्तनको संक्रमणमा छ । समाजको अनुहार बदलिँदै गएको छ । तर, सामाजिक संस्कार र स्वभावमा खासै परिवर्तन देखिएको छैन । पशुपति क्षेत्रको एउटा मुख्य पाटो बनेकोछ बत्तीसपुतली । यो क्षेत्रमा पछिल्लो डेड दशकयता निकै ठूला परिवर्तन भएको पाइन्छ । यी क्षेत्रहरूको बदलिँदो स्वरूपले रैथानेहरुलाई समृद्ध बनाएकोछ ।

अहिले पशुपति क्षेत्र आवागमनको केन्द्रविन्दू बनेको गौशाला एक पाटो चौर मात्रै थियो । २०३१ सालमा चक्रपथ बनेपछि यो क्षेत्रकोे रूपरेखा बदलिन थाल्यो । बत्तिसपुतली र पिंगलास्थानले तीब्र शहरीकरणको अनुभव गरेका छन् ।

बत्तीसपुतली क्षेत्रका ‘आदिवासी’हरु जगन्नाथ उपाध्याय, केदारनाथ ढुंगाना, शंकरप्रसाद पौडेल, रूप विक्रम शाह, टेक बहादुर रायमाझी, थीर बहादुर रायमाझीहरुले आफ्नो ब्यक्तित्व सँगसँगै यस क्षेत्रलाई सामाजिक केन्द्रका रुपमा अगाडि बढाएको पाइन्छ । सीमित बस्ती र औँँलामा गन्न सकिने ठूला घरहरू रहेको यो सानो बस्ती अहिले कंक्रिटको सन्जाल बनेको छ ।

बत्तीसपुतली क्षेत्रका ‘आदिवासी’ प्रमोद पौडेल भन्नुहुन्छ : आवासीय बस्तीको मध्यभागमा रहेको राम मन्दिरमा उतिबेला अहिलेको जस्तो चहलपहल थिएन । मन्दिरको आध्यात्मिक महत्व भएपनि मन्दिर क्षेत्रमा जँड्याहाहरुको झै–झगडा बढी हुन्थ्यो । गौशाला क्षेत्रको बिकाससंगै ‘ध्वज’ राणाहरुको निजी गुठीका रूपमा रहेकोे राममन्दिरको विकासक्रम अगाडि बढेको पाइन्छ ।

देशमा राजाको नेतृत्वमा चलेको निर्दलीय राजनीतिक ब्यबस्थाको अन्त्यपछि स्थानीय भलाद्मीहरु, विशेषगरी डा. गोविन्द टन्डन, को अग्रसरतामा राममन्दिरको अस्तित्व जोगाउन पुनः निर्माण तर्फ अग्रसर भएको पाइन्छ ।

त्यसै क्रममा अन्तर्राष्ट्रिय स्तरको होटल द्वारिकाजको स्वत्वाधिकारी स्व.अम्बिका श्रेष्ठको सहयोगमा राममन्दिर जिर्णोद्वार विकास समितिको गठन भएको थियो । यसपछि बढ्न थालेको थियो यो मन्दिरको महत्व । अम्बिका श्रेष्ठका पति द्वारिकादास श्रेष्ठले कला कृति र इतिहास झल्काउने गरि नेवारी शैलीमा द्वारिकाज होटलको परिकल्पना गरेका थिए । आफ्नी श्रीमती अम्बिका श्रेष्ठको सहयोगमा उनले पर्यटन क्षेत्रमा टेवा पु–याउने हेतुले मन्दिर जिर्णोध्दारको काम शुरु गराएका थिए । १९६९ मा द्वारिकादासले नै नेपालमा पहिलो ट्राभल एजेन्सी काठमाडौँ ट्राभल्स एण्ड टुर्सको स्थापना गरे । स्थापना पछि १९७७ मा द्वारिकाज होटल दर्ता सहित सञ्चालन आएको थियो । द्वारिका दास श्रेष्ठको सन् १९९२ फेब्रुअरी १० मा निधन भयो । त्यसपछि उनैको परिवारले यसलाई अगाडि बढाउदै गएको पाइन्छ ।

‘शैव भूमि’ का रुपमा चर्चित यो क्षेत्रमा बैष्णव धर्मावलम्बीहरुको ‘वेंकटेश’ मन्दिर पनि उत्तिकै प्रसिध्द छ । ‘आपूm आमा’ले स्थापनागर्नु भएको वेंकटेश मन्दिरको लोकप्रियता पनि बढदै गएकोछ ।

देवपाटन क्षेत्र डाँडामा रहेको र त्यहाँ सधै खानेपानीको अभाव हुने गरेको बताउनुहुन्छ स्थानीय देवेन्द्र श्रेष्ठ । तर, त्यतिबेला बागमतीको पानी पिउन योग्य रहेकाले समस्या ठूलो थिएन । क्षेत्रमा रहेका विभिन्न दुङ्गेधाराको सदुपयोगले खानेपानीको समस्या समाधान भएको थियो ।

देवपाटन क्षेत्रमा नौवटा ढोका, धारा, इनारको भग्नावशेषले यसको विकसित रूप देखिएको थियो ।

कालोपुलबाट चावहिल, गणेशस्थान, गौशाला क्षेत्र र देवपाटन एउटै डाँडामा विकसित भएको श्रेष्ठले बताउनुभयो । देवपाटनको जयवागेश्वरीदेखि नवाली टोल सेतो ढोकासम्म, संगत टोल सहित, सूर्यमान श्रेष्ठको ’द्वन्छे’, नन्दराज बैद्यको ’ड्याकु छे’, देवेन्द्र श्रेष्ठहरूको ’पिन्छे’, र हाल विवेक संंगतहरूको घर रहेको बताउनुहुन्छ । हालको नवाली टोल संगत टोलका रूपमा विकसित रहेको र त्यहाँबाट नै पाशुपत क्षेत्रको जात्रा पर्वको संरक्षणमा संगतहरुले भूमिका खेलेको बुझिन्छ ।

प्रमोद पौडेलको सम्झना अनुसार, जयवागेश्वरीदेखि बानेश्वरसम्मको क्षेत्र भिरालोमा रहेको र यस स्थानमा बाल्यकालमा चिप्लेटी खेल्ने गरेको, चौरका रूपमा विकसित रहेको गौशाला र हालको पशुपति क्षेत्र विकासकोष रहेको परिसर एकै ढिक्का थिए ।

IMG-20250125-WA0000

सागुरो गल्ली र सीमित श्रोत साधनमा आश्रित यस क्षेत्रमा चक्रपथ बाटो विस्तारपछि यसले आफ्नो स्वरूप परिवर्तन गरेको किंवदन्ती होइन, वास्तविकता हो । गोरेटो र झाडी जस्ता बाटोहरू २५ फिट र ६ फिट बाटोे ग्रिन बेल्टका रूपमा विस्तारपछि शहरको रूपरङ्ग फेरिएको हो । त्यतिबेला यो ठाउँमा ढुङ्गा, माटो र टायल–झिंगटीका छाना भएका घरहरू थिए । यहाँ १९९० साल र २०७२ सालको भूकम्पपछि मात्रै घरको छानो ढलानगर्ने चलन चलेको हो ।

२००७ सालमा भारतबाट राजा त्रिभुवनलाई लिन पठाइएको पहिलो डकोटा प्लेन ‘ल्याण्ड’ गरेको भैमाल क्षेत्र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकसित भएकोे छ ।

यो क्षेत्रले आफ्नो विकसित अनुहार प्रस्तुतगर्दै गएको पाइन्छ । हाल वागमती नदीको पश्चिम किनारमा पशुपति भिजन नाम गरेको व्यवसायिक भवन छ भने पूर्वी किनारमा तीलगंगा आँखा अस्पताल रहेकोछ । आँखा अस्पतालसंगै भारत सरकारले बनाइदिएको धर्मशालामा बतास समूहले होटल चलाएका छन । यी खेतहरुमा प्रसस्त धानको उब्जनी हुन्थ्यो । पछि ‘सेवा सुविधा विकास’ का नाममा यहाँका खेतहरू मासिएको स्थानीयहरू बताउँछन् ।

पशुपतिनाथ क्षेत्रको बृहत्त विकासका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना विं.सं २०४३ सालमा भएको थियो । पशुपतिनाथ क्षेत्रमा तेत्तीसकोटी देवी देवता सहित बृद्धाश्रम, आर्यघाट, क्रियापुत्री सेवा लगायतका अन्य सेवाहरू रहेका छन् ।

परापूर्वकाल देखि नै गौशाला गौ पालन क्षेत्र रहेको र यसैबाट यस क्षेत्रको नाम गौशाला रहन पुगेको किंवदन्ती रहेको छ । गौशाला क्षेत्रमा ब्यापारिक हिसाबले स्थापित पहिलो पसल रत्न साहूको खुद्रा पसल थियो । त्यसपछि ब्यापारगर्न आए श्याम घिमिरे । ‘राम प्यारीको चिया पसल’ स्थानीय बुध्दिजीवीहरुको प्रातःकालीन अखडा थियो ।

त्यतिबेला गौशालाबाट ज्ञानेश्वर जाने बाटोमा लहरी चल्ने गोरेटो थियो । काठमाडौंमा मोटरको संख्या बढ्न थालेपछि केही एम्बेसेडर कारहरु रानी पोखरीबाट पशुपति दर्शनका लागि बिहानै आउने शहरी दर्शनार्थी बोकेर ल्याउथे । पशुपति क्षेत्रबाट आर्यघाटमा अग्निदाहगर्न लाशहरु ल्याउने मूल बाटो पनि यही थियो ।