फागुन ७, राष्ट्रिय प्रजातन्त्र दिवस ! - रुपान्तरण
 २०८१ चैत्र ६, बुधबार    

फागुन ७, राष्ट्रिय प्रजातन्त्र दिवस !


- किशोर नेपाल  

विहानैदेखि नेपाल टेलिकमले आफ्नो रिंगटोनमा ‘सभ्य, सुसंस्कृत र समुन्नत’ नेपालको निर्माणको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस भब्यताका साथ मनाउन आह्वान गरेर आफ्नो कर्तब्य र दायित्व दुबै पूरा गरेकोछ ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भइ सकेको नेपालमा राष्ट्रिय प्रजातन्त्र दिवसको महिमा गाउनु अस्वाभाविक होइन । राम र रावण, जो आएपनि स्वस्तिगर्नु हाम्रो राजनीतिक संस्कार बनी सकेकोछ । वर्तमान सरकारले जनतालाई अलिकति सुविधा र अलिकति सहुलियत दिन नसकेपनि प्रजातन्त्र दिवस मनाउने सन्देश दिएकोछ ।

प्रजातन्त्र दिवस मनाउन सरकार भन्दा एकपाइला अघि सरेर एउटा सुपरिचित टेलिभिजन च्यानल मार्फत ‘पूर्व–राजा’ ज्ञानेन्द्र शाहले ‘प्रजातन्त्रले नागरिकको बिश्वास जित्न नसकेको’ भन्दै आफ्नो पुनस्र्थापनाका लागि ‘हार–गुहार’ गरेका छन ।

ज्ञानेन्द्र स्वयं अभिशप्त पात्र हुन । दाजुको बंश बिनासपछि अपुतालीमा राजपाट सम्हालेका ज्ञानेन्द्र शाहलाई राणाहरुले बाल्यकालमा नै राजगद्दीमा राखेर श्रीपेच लगाइ दिइसकेका थिए । उनी आफ्ना बुवाको अगुवाईमा आएको प्रजातन्त्र बिनासका मुख्य कारक बने । कसरी र किन ?

यो बिश्लेषण अर्को पटक गरौंला ।

अहिलेका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको बिशाल झण्डामुनी राष्ट्रिय प्रजातन्त्र दिवस जिन्दावाद !

दुइहजार सातसालमा राजा त्रिभुवन र नेपाली प्रजा मिलेर नेपालमा प्रजातन्त्रको स्थापना गरेका थिए । सातसाल ल्याउन नेपाली कांग्रेसले क्रान्ति गरेको थियो । भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुका प्रियपात्र थिए – राजा त्रिभुवन । सातसालको क्रान्तिले प्रजातन्त्रमात्रै ल्याएन, राणातन्त्रको कैदीका रुपमा रहेका राजाहरुलाई स्वतन्त्र बनायो । तर, त्यो प्रजातन्त्रमा जनता ‘सार्वभौम’ रहेनन ।

राजा त्रिभुवन बिरामी परेपछि राजपाट युवराज महेन्द्रको हातमा गयो । उनले नेपालका राजनेताहरुलाई खुब खेलाए । बल्लतल्ल २०१५ को चुनावपछि आएको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर उनले निर्दलीय पन्चायतको नाममा शासन चलाए ।

२०२८ मा उनको निधनपछि ‘सुशिक्षित र भलाद्मी’ भनेर चिनिएका राजा बीरेन्द्रले आफ्ना पिताको एकतन्त्रीय शासनलाई अझै कसेर निरन्तरता दिए । २०३६ को बिद्यार्थी आन्दोलनपछि भएको जनमत संग्रहमा परिवर्तनका पक्षधरहरु पराजित भए । तर, जनमत संग्रहपछि भएको सत्याग्रह र २०४६ को जन–आन्दोलनले राजाको प्रत्यक्ष शासनलाई बिस्थापित गर्यो ।

त्यसपछि भएको माओवादी बिद्रोह र त्यसको निरुपणका लागि भएको २०६२–६३ को जन–आन्दोलनले बडा–महाराजा पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाल अधिराज्यलाई संघीय गणतन्त्रमा रुपान्तरित गरिदियो ।

बिव्दान, बुध्दिजीवी र बुज्रुकहरु रमाए । उनीहरुले भने – अब देश बन्छ । आशाको बिपरित, गणतन्त्रका नेताहरुले देश बनाउने खाका नै तयारपार्न सकेनन । माओवादी नेताहरुले आफ्नो शक्तिको आंकलन बढी नै गरे । संविधान सभाको पहिलो चुनावमा ठूलो शक्तिका रुपमा उनीहरु स्थापित भए । तर, गणतान्त्रिक समाजका नायकका रुपमा रहनु भएका गिरिजाप्रसाद कोइरालाको गणतन्त्रवादीहरुले नै उपेक्षा गरे ।

राजा ज्ञानेन्द्रको कठोर शासनकालमा अनेकन नमूना पात्रहरु देशमा देखापरेका थिए । ती नमूना मध्ये एकथिए रसेन्द्र भट्टराई । प्राज्ञ चूडानाथ भट्टरायका पुत्र रसेन्द्र बिदेशिएका थिए र अकूत सम्पत्ति कमाएको सावित गर्न र देश बिकासको हुटहुटी मेटाउन उनी नेपाल आइपुगे । उनी पूर्वराजा ज्ञानेन्द्र र शाही परिवारको स्वामित्वमा रहेको सोल्टी होटलको तत्कालीन मूल्यमा प्रतिदिन करीब ७०,००० रुपैयाँपर्ने गोसाईंकुण्ड सुइटमा बसेर देश बिकासको गफ हाँक्न थाले ।

उनको कुरा सुनेर देशका बरिष्ठ नेताहरु उनका वरिपरि झुम्मिन थाले । पत्रकारहरु र ब्यापारीहरु चहकिन र बहकिन थाले । नेपालका ठूला–साना सबै सन्चार माध्यमहरुले उनको ब्यक्तित्वको प्रशंशा गरे ।

अहिले त नेपालमा रसेन्द्रजस्ता ‘महत्वाकांक्षी’ ठगहरुको बिगबिगी छ । देशका हरेक महत्वपूर्ण दलका महत्वपूर्ण नेताहरु सम्पत्तिको भूलभूलैयामा बाँचेका छन । नेताहरुको चरित्र संघीय गणतन्त्रको संस्कृति र संस्कार सापेक्ष छैन ।

जंगबहादुर बन्ने अभिलाषा छ सबैमा । रसेन्द्र भट्टराईको गफाडी चरित्रसंग मिल्दोजुल्दो छ समकालीन नेताहरुको चरित्र । संघीय गणतन्त्रमा के के न गरौंला भनेर जोडिन आएका नयाँ ब्यक्तित्वहरु पनि ‘अनुभवी’ नेतागणको पदचाप पछ्याउँदैछन ।

जनताको ‘औकात’ नेताहरुको अनर्गल नारामा सीमित भएकोछ । न आर्थिक उन्नति भएको छ, न मानसिक सन्तुष्टि ।

सातसालदेखि अहिलेसम्मका साना–ठूला परिवर्तनलाई नेपाली जनताले बिनम्रतापूर्वक शिरोधार्य गरेका छन । तर, अहिलेसम्म जनताको पक्षमा कुनै उल्लेख्य काम भएको छैन ।

देशका तन्नेरीहरु देशमा रमाउनसक्ने अवस्था छैन । सरकारी आंकडामा देखाइने देश बिकासको मूल स्रोत वैदेशिक रोजगारी बनेकोछ ।

जनताका हितमा सार्थक बिकास के भएको छ त ? टुकी बालेर खोज्नुपर्ने अवस्था छ ।

यस्तो अवस्थामा पनि, हामी क्रान्ति दिवस, प्रजातन्त्र दिवस, सत्याग्रह दिवस, जन–आन्दोलन दिवस, गणतन्त्र दिवस, शहीद स्मृति दिवस लगायतका थुप्रै दिवस मनाउन अभिशप्त छौं ।

यसै मेसोमा राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना सबैलाई ।