वागमतीको पानीमा सवैको वुध्दि भ्रष्टगर्ने ताकत छ बाबू ! - रुपान्तरण
 २०८१ चैत्र ६, बुधबार    

वागमतीको पानीमा सवैको वुध्दि भ्रष्टगर्ने ताकत छ बाबू !


- किशोर नेपाल  

‘किशुनजी’ मात्रै भने पुग्दछ ।

वृहत्तर नेपाली समाजमा उहाँ यही नामले परिचित रहनु भयो । आत्माको पवित्रता र उल्लासमय चरित्र उहाँको व्यक्तित्वको विशिष्ट पहिचान रह्योे । उहाँ पार्थिव रुपले नरहनु भएपनि उहाँको पहिचान मेटिन सक्दैन । आज उहाँको चौधौं स्मृति दिवस हो ।

उहाँको अनुपस्थितिको यो अवधिमा नेपाली समाजमा उथल–पुथल भइ सकेको छ । वितेका दुइ दशक यता देश द्रूततर गतिमा ओरालो लाग्दै गरेको अनूभूति भएकोछ ।

देशप्रति समर्पित सामान्य नेपाली जनताको मनमा किशुनजीको अभाव खट्किन थालेको छ । उहाँ नेपाली जनताका लागि ‘आफ्नो मानिस’ हुनुहुन्थ्यो । देशभर छरिएका उहाँका मित्र र अनुयायीहरु देशमा लोकतान्त्रिक शासन स्थापनाका लागि उहाँले गर्नु भएको लामो र कष्टपूर्ण संघर्षका लागि आफ्नो कृतज्ञता अर्पणगर्दै होलान ।

यो निश्चित हो, राजनीतिक वृत्तमा उहाँको अनुपस्थिति कसैलाई खटकिएको छैन । नेपाली कांग्रेसभित्र र संसारभर, गणतन्त्र नेपालका पिता मानिनुहुने गिरिजाप्रसाद कोइराला नै विस्मृतिको गर्भमा धकेलिइ सक्नु भएको अहिलेको समयमा व्यवसायिक राजनीतिकहरुले किशुनजीलाई किन सम्झिनु र ?

किशुनजी जीवनको अन्तिम कालखण्डतिर पनि आफू एकपटक फेरी प्रधानमन्त्री वन्ने ठट्टागर्नु हुन्थ्यो । ठट्टा उहाँको जीवन्त स्वभाव थियो । उहाँले गर्नुहुने ठट्टाका विरुध्द छापागिरी हुने गर्दथ्यो । उहाँका राजनीतिक बिरोधीहरु उहाँको व्यक्तित्वको सान्दर्भिकता समाप्त भइ सकेको हल्ला गर्दथे र रमाउँथे ।

जीवनको पछिल्लो समयमा नेपालको आत्मकेन्द्रित र संवेदनहीन राजनीतिक समाजबाट स्वेच्छाले पन्छिएर वस्नु भएको थियो किसुनजी । तै पनि, उहाँको दौराको फेर समातेर सत्ताको भरेङ चढन खोज्नेहरु उहाँको वरपर झुुम्मिइ रहन्थे । निस्पृह भावले उहाँ ती सवैलाई सान्त्वना दिनुहुन्थ्यो । त्यतिसम्म हो ।

आफ्ना लागि र अरु कसैका लागि पनि कहिल्यै कुनै आग्रह गर्नुभएन उहाँले । उहाँ जे हुनुहुन्थ्यो त्यही देखिनु हुन्थ्यो । उहाँले आफ्नो नैतिक चरित्र र निर्णायक क्षमतामा कहिल्यै कुनै चूक आउन दिनु भएन ।

वर्तमान राजनीतिका मानदण्डहरु वदलिएकाछन । किशुनजीले मानवीय स्वतन्त्रताका लागि, नेपाली जनताको अधिकार र आत्मसम्मानका लागि सतत संघर्षगर्नु भएको थियो ।

नेपाली जनताले स्वतन्त्रताको सीमा नाघेर स्वच्छन्दताको हदैसम्म आफ्ना अधिकारहरुको उपभोगगर्न पाउनु पर्दछ भन्ने मान्यतामा उहाँ जीवनभरि दृढ रहनु भयो ।

आफ्नै कथित अनुयायीहरुले समेत राजनीतिलाई भोग–विलाश र सुख–सुविधाको माध्यम वनाएर मूल्य पध्दतिको धज्जी उडाउन थालेपछि उहाँलाई असहनीय पीडावोध हुनु अस्वाभाविक थिएन ।

राजनीतिक ध्रुवमा कहिल्यै दक्षिणपन्थी रुझानराख्नु भएन किशुनजीले । उहाँ न कसैसंग दच्किनु भयो, न डराउनु भयो । २०४७ सालको संविधानमा जनताको सर्वोपरिता कायम राख्न किशुनजीले कति ठूलो संघर्ष गर्नु परेको थियो त्यो कुरा अहिले गणतान्त्रिक संविधान कार्यान्वयनमा लागेका नेताहरुले वुझेका होलान ।

राजतन्त्र समाप्त भै सकेको अवस्थामा समेत नेपाली सेनासंग विसंगत सम्वन्धमा फँसेका राजनीतिक दलहरुका लागि किशुनजीको सम्झना सान्दर्भिक हुनेछ ।

राजनीति खुला छ, समाज स्वतन्त्र छ, व्यक्तिको सर्वोपरिता स्थापित भै सकेको छ र पनि संविधानको सर्वोपरिता स्थापित हुन सकेको छैन । राजनीतिक दलहरुमा विचार र चिन्तनको खडेरी लागेकोछ । रित्तो गाग्रो धेरै छचल्किन्छ भन्ने उखानलाई सावित गरी सकेका छन नेताहरुले । उनीहरुले न इतिहासबाट सिक्न सकेका छन, न वर्तमानलाई वुझन सकेका छन ।

राज्य शक्तिको अतिरन्जित र अपरिमित लोभले विगार्न थालेको छ देशलाई । चप्पल लाउनेले जुत्ता लाउन पाउनु पर्दछ । तर, एउटै गोडामा तीन जोर जुत्ता लाउनु अस्वाभाविक आचरण हो ।

किशुनजीका जीवनका उपलव्धिहरु के थिए ? उहाँको जीवनको कुन पक्षको अनुशरण गर्नु पर्दछ अहिलेका राजनीतिज्ञहरुले ?

सन्चार माध्यमले धेरै कोट्याए यो प्रश्न ।

यो कुनै उद्भट खालको प्रश्न होइन । समयलाई कसैले पछ्याउन र अनुशरणगर्न सक्दैन । दुइवटा मात्र विकल्प छन, या त समयको प्रवाहसंगै वग्नु पर्दछ या समयको प्रवाहका विपरित चल्न सक्नु पर्दछ ।

किशुनजी नेपाली समयको सतत चेतना हुनुहुन्थ्यो । समयको प्रवाहका विपरित चलेर समयमाथि नियन्त्रण जमाउनु भएको थियो उहाँले । अनुभव र अध्ययनले खारिएको मानिसले मात्र विवेकसम्मत कामगर्न सक्दछ । यस्ता मानिसले नै समयलाई आफ्नो नियन्त्रणमा राख्न सक्दछन ।

राजनीतिक हिसावले किशुनजी सफल असफल के हुनु भयो ? यसको चिन्ता गरी रहनु पर्दैन । राजनीतिमा असफल भएको भए किशुनजी तमाम षडयन्त्रहरुलाई चिरेर दुइ पटक प्रधानमन्त्री हुनुहुने थिएन ।

प्रधानमन्त्री वन्दा पनि त्यो पदमा उहाँ निस्पृह रहनु भयो । त्यसैले किशुनजीलाई किशुनजी वनायो । आफ्नो आत्मसम्मान वन्धक राखेर पदमा रहने लिप्सा थिएन उहाँमा । त्यस्तो लिप्सा भएको भए उहाँलाई नेपाली जगतले सम्झिरहनु पर्ने थिएन ।

किशुनजीको कुल थिएन । एउटा सामान्य परिवारका मानिस, सही अर्थमा सर्वहाराको जीवन जिउनु भयो उहाँले । कुलीन मिथ्याका विरुध्द सामान्य नेपालीको आत्मसम्मानका लागि निरन्तर संघर्षको जीवन रह्यो उहाँको । उहाँको नामको अगाडि सन्त शव्द खूव खुलेको थियो । आज सन्त नेताको सम्झना मात्रैले मेरो मन पुलकित भएकोछ । यस्तो लाग्दैछ, अहिले पनि उहाँ म संग ठट्टा गरी रहनु भएको छ – वागमतीको पानीमा सवैको वुध्दि भ्रष्टगर्ने ताकत छ बाबू ।