अमेरिकी राष्ट्रपति ट्रम्पका अपमानजनक अभिब्यक्तिबारे के प्रतिक्रिया छ परराष्ट्र मन्त्रीको ? - रुपान्तरण
 २०८१ चैत्र ६, बुधबार    

अमेरिकी राष्ट्रपति ट्रम्पका अपमानजनक अभिब्यक्तिबारे के प्रतिक्रिया छ परराष्ट्र मन्त्रीको ?


- रुपान्तरण संवाददाता

अमेरिकाका नव–निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुले यतिबेला साना र निर्धन देशका पाइलाहरु डगमगाइ रहेको यो समयमा नेपालका परराष्ट्र मन्त्री श्रीमती आरजु राणा देउवा के सोचीरहनु भएको होला ? यो जनताको तत्कालको चासोको बिषय हो ।

राष्ट्रपति ट्रम्पले नेपाललाई ‘ठग’ सम्मको ‘आरोप’ लगाउनु भएको कुरा समाचारपत्र र सामाजिक सन्जालमा छ्याप्छ्याप्ती भै सक्दा पनि नेपालले कुनै प्रतिक्रिया ब्यक्त गरेको छैन ।

नेपालीले आफूलाई सँधै स्वाभिमानी देशका रुपमा प्रस्तुत गर्दै आएकोछ । तर, परराष्ट्र मन्त्री डा. आरजुराणा देउवाले अहिलेसम्म ट्रम्पका अभिब्यक्तिमा प्रतिक्रिया दिनु भएको छैन । उहाँको मौनता अचम्म लाग्दोछ ।

परराष्ट्रमन्त्रीका रुपमा उहाँको सक्षम नेतृत्वको आशा सबैले गरेका छन । श्रीमती आरजु राणा उच्च शिक्षित ब्यक्तित्व हुनुहुन्छ । सुबिख्यात समाजसेवी हुनुहुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर–सरकारी संगठनहरुमा उहाँको पहुँच र परिचय बिस्तृत र ब्यापक छ । उहाँ मनोबैज्ञानिक हुनुहुन्छ । सर्वाधिक महत्वपूर्ण, उहाँ ‘प्रतीक्षारत’ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नी हुनुहुन्छ ।

यतिबेला परराष्ट्र मन्त्री आरजु राणा देउवा के सोचीरहनु भएको होला ? जनतामा प्रसस्त उत्सुकता छ । किनभने, उहाँ सामान्य नेपाली नारी होइन, बिश्वलाई चिनेकी र बिश्वले चिनेको, अन्तर्राष्ट्रिय परिघटनाहरुलाई नजीकबाट नियालेकी विदूषी हुनुहुन्छ ।

२०२४ को १५ जुलाइमा परराष्ट्र मन्त्री नियुक्त भएदेखि यता लगभग आठ महिनाको अवधिमा उहाँले अहिलेसम्म भारत (दुइ पटक), कतार, क्यानाडा, अमेरिका (न्यूयोर्क), जेनेभा (स्वीट्जरल्याण्ड), ओमान, हेग (नेदरल्याण्ड), चीन (दुइपटक) लगायतका थुप्रै मित्रराष्ट्रहरुको भ्रमण गरी सक्नु भएकोछ ।

उहाँको यो धुवाँधार दौडधूपको उपलब्धि के रह्यो ? त्यो त कसैले थाह पाएन । तर, उहाँको भ्रमणले पन्चायतकालको सम्झना दिलायो – जब राजाको निगाहमा परराष्ट्रमन्त्रीहरु संसारको चक्कर लगाउँथे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सिलसिलामा डा. राणा दुइपटक चीन भ्रमणमा जानु भयो । पहिलोपल्ट भ्रमणको चाँजो-पाँजो मिलाउन र दोस्रोपटक प्रतिनिधि मण्डलको सदस्यका रुपमा ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण कति उपलब्धिपूर्ण रह्यो वा कति औपचारिक तहमा टुंगियो ? यो परराष्ट्र मामिलाका जानकारहरुले जान्ने कुरा हो । तर, प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन कम्मर कसेर लाग्नु भएकी परराष्ट्रमन्त्री राणाले पहिलो पटक निकै मान मनितो पाउनु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंपनि प्रधानमन्त्री डा.आरजु देउवाको सम्मानमा उपस्थित हुनुभयो ।

दोस्रोपटक डा. आरजु देउवा खाली हात र खाली खुट्टा फर्किनु भयो । भारतीय जनता पार्टीका नेता तथा डा. देउवाका ‘राखी भाइ’ विजय चौथाइवाला समेत काममा आउन सकेनन ।

तेस्रोपटक, देउवा दम्पतिले भारतको राजधानी दिल्ली भ्रमणका लागि ‘कुम्भ कुटनीति’ बनाउनु भयो । उहाँहरु महाकुम्भ स्नानका लागि दिल्ली हुँदै अलाहवाद जान चाहनु हुन्थ्यो । तर, भारतीय प्रोटोकलले सभापति देउवा र परराष्ट्रमन्त्री आरजु देउवाको ‘भी.आइ.पी.’ स्वागतगर्न असमर्थता जनायो ।

पशुपतिको जात्रा, सिद्राको ब्यापार भने झैं महाकुम्भको जात्रामा राजनीतिको कारोवारगर्ने देउवा दम्पत्तिको चतुर्याईं तुहियो ।

डा. आरजु राणा देउवा नेपालको परराष्ट्र मन्त्री हुनु खुशीको कुरा हो । यो पदका लागि उहाँ भन्दा योग्य महिला राष्ट्रिय सभामा छैनन होला ।

सन १९९६ मा नेपाली कांग्रेसको सदस्यता लिनु भएकी आरजु राणा देउवा सन २०२१ मा नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्य बन्नु भयो । कैलालीबाट प्रतिनिधि सभाको सदस्यको निर्वाचनमा पराजयपछि उहाँको निरन्तर स्तरोन्नति भइ रहेकोछ । निकटवर्ती सूत्रहरुका अनुसार, कांग्रेस–एमालेका बीच अहिलेको गठबन्धन निर्माणमा डा. आरजु देउवाको निकै ठूलो प्रयत्न थियो ।