चित्र एक, विम्ब अनेक - रुपान्तरण
 २०८२ बैशाख ११, बिहीबार    

चित्र एक, विम्ब अनेक

कुमरीको शहीद पार्कमा शहीदका प्रियजन :


– नारायण नेपाल
नेपाली समाजमा ‘आमूल’ परिवर्तन ल्याउन लडिएको जनयुद्धको महत्वपूर्ण योगदान रहेकोछ । न्याय पध्दतिमा आमूल परिवर्तन, समतामूलक समाजको निर्माण मार्फत समाजवाद उन्मुख संविधान त्यो उपलब्धिको आधारको रूपमा रहेकोछ ।

राजनीतिक पर्यवेक्षणको सिलसिलामा बेलकोट गढी नगरपालिकाको वडा नम्बर ३ कुमरीमा पुग्दा त्यहाँ शहीद स्मृति पार्कको निर्माण जारी थियो । हाम्रो अभियानजस्तै लामोसमयदेखि सुस्त गतिमा अघि बढ्दैछ यो पार्क निर्माणको योजना ।

फागुन २१ गते सुखानीको जङ्गलमा मारिएका महान शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठको स्मृति दिवस हो । सभामुख देवराज घिमिरेले जुनदिन सुखानीका शहीदको तस्बीर अङ्कित हुलाक टिकटमा पहिलो टाँचा लगाएका थिए, त्यहीदिन ‘अदालतको आदेश विपरीत स्थानीय तहले जनयुद्ध दिवसको बिदा दिएको’ भन्दै अदालतको अवहेलना मुद्दा दर्ता भएको समाचार आयो ।

सुखानीका शहीदहरूको रगत पूर्व-कोशी तिर धोइपखाली शहर पसेका झापा समूहले जनयुद्धलाई हिंसा भन्दै वानेश्वरतिर बर्बराउँदा तिनको थुतुनोमा मैले धर्मप्रसाद ढकालका रगतको छिर्काहरूको प्रतिबिम्ब देखेको थिएँ । मैल यो सुखानीको बलिदानका बारेमा लेखिएको मार्मिक गीत सुनेको थिएँ –

सुखानीको रगतले के भन्छ हामीलाई
सही बाटो हिँड्दै छौ कि भुल्यौ दाजुभाई ?...

अहिले मलाइ यो मार्मिक गीत राजधानीको शहीद मञ्चहुँदै वानेश्वर, सिंहदरबार र बालुवाटारमा सुनाउने मन छ । जे होस्, हामीले चाहे खोकु छिन्तांगका हुन् कि सुखानीका वा जनयुद्ध र जनआन्दोलनका नै किन नहून् जनप्रतिरोधका सबै आन्दोलनको स्वामित्व लिएर यो परिवर्तनलाई संस्थागतगर्न सक्छौँ ।

शहीदहरूको सम्झनामा हरेक वर्ष फाल्गुन (१४–२१) मनाइने शहीद सप्ताह नेपाली राजनीतिमा वामपन्थी विद्रोहको विम्ब र आदर्शलाई स्थापितगर्ने महाअभियान हो । जनयुद्ध महासमरको यात्रा थियो भन्ने वहसलाई प्रतिगमनका मतियारहरूले उखेल्न खोजेका छन । यसको प्रतिवादगर्नु आबश्यक छ ।

२०४६ को परिवर्तनपछि जनमोर्चातिर लाग्ने वामपन्थीहरुको लामो लहर थियो । जनमोर्चाका उम्मेदवारहरू जनताको मतबाट अनुमोदित भएका थिए । २०५२ सालपछि चलेको जनयुद्धमा कुमरी क्षेत्र नुवाकोटमा युध्दको आधारभूमि थियो । कुमरी जनयुद्धका नायकहरू उत्पादनको केन्द्र थियो । दोजिया कुमारी मगरको शहादत भूमि हो कुमरी ।

कुमरीको शहीद पार्कमा बसेर शहीद परिवारका धारणा सुनिरहँदा हिउँदे झरी र हिमपातपछि मौसम खुलेको थियो । घाम जति मलिनो थियो, त्योभन्दा मलिन शहीदका प्रियजनहरूको अनुहार । उहाँहरू भन्दै हुनुहुन्थ्यो ‘बोलेर के हुन्छ ? किन फाल्नु यो मुखको तितो । कस्ले सुन्छ हाम्रो कुरा ?’ मन खुलेको छैन । दिल दुखेको छ । यस्तो बेला गुनासोको बिस्कुन लगाउनुभन्दा मौन विद्रोह नै ठिक भनेझैँ झल्किन्थ्यो ती अनुहारमा ।

कोही बोल्न तयार थिएनन् । हामी सुन्न खोजिरहेका थियौँ । शहीद परिवारका प्रियजनले जे जति बोले ती सबैको सार थियो : आदर्शको विचलन र विम्बहरुको विद्रुपीकरणका कारण चरम निराशाको शिकार बनेका छन शहीदका प्रियजन ।

शहीद देवीबहादुर तामाङ ‘उर्गेन’ का छोरा प्रवीण गुरुङ हाप्किडो प्रशिक्षक हुन् । युवा विद्यार्थीमाझ लोकप्रिय खेल र खेलाडीका भरोसा बनेर उदाएका उनी युवा पुस्तामा परिवर्तनको सन्देश पुग्न नसकेकोमा चिन्तित छन् । उनको प्रश्न थियो : राजनीतिक दलले शहीदहुने लडाकुको सम्मान ‘दर्जा र हैसियत’ नापेर किन विभेद गरेको ? प्रवीणको प्रश्न थियो । हाम्रो विचार र बलिदान जोगाउने दीर्घकालीन योजना खै ?

उनको प्रश्न वर्तमानको ज्वालामुखी हो । 

पञ्चायतकालमा कुमरी गाउँ शारदाप्रसाद मुडभरीको एउटा सामाजिक राजनीतिक साम्राज्य थियो । उनका बाबु भुवनेश्वर मुडभरी गौर भन्सारका हाकिम थिए । २००७ सालको क्रान्तिमा नेपाली कांग्रेसका लडाकुदल मुक्तिसेनाका कार्यकर्ताले उनको हत्या गरेर साथमा भएको नगद कब्जा गरेका थिए । तर, हामीले कांग्रेसलाई लुटेरा र हत्यारा भन्ने गरका छैनौँ । यो देशमा पञ्चायतले उनैका छोरा शारदाप्रसादलाई ल्याएर कुमरी गाउँ पञ्चायतको नेतृत्व सुम्पियो ।

माओवादी केन्द्रले तेस्रो बनेपा नगर सम्मेलन एउटा कुखुरा पाल्ने टहरोमा सम्पन्न गरेका थियौँ । त्यो बेला अखिल क्रान्तिकारीका विद्यार्थी योद्धाले टिप्पणी गरेका थिए, ‘यो टहरो पनि धेरै सुविधा–सम्पन्न भयो कमरेड ।’ मैले उनको कटाक्षलाई बुझेँ । कुमरी एकताका नुवाकोटको कर्णालीझैँ थियो ।

हिजो आन्दोलनको रापतापको समयमा तपाईँका छोरा छोरी शहीद भए । त्यतिबेला शहीद परिवारलाई हामी छौँ भनेर ढाडसदिने नेताहरूलाई आज त्यो घरको सम्झना छैन ।

समाजवादको बाटो हुदै साम्यवादमा पुग्ने ती रुमानी सपना बिलाइ सकेका छन ।

जनयुद्धले विश्राम लिएको १८ वर्ष भयो । हामी युद्धपछिको व्यवस्थापनमा धेरै चुकेका छौँ । त्यसैले धेरै अलपत्र परेका नतिजा भोग्दैछौँ ।

हिजो हाम्रो दुःख र संघर्षलाई जनताले आफनो दुःख ठानेको थियो । आज जनताको दुःख हाम्रो दुःख हुन सकेको छैन ।

माओवादी नेतृत्वमा रहेको बेनपा ३ का जननिर्वाचित वडाअध्यक्ष कौशिला पुडासैनीले कांग्रेस नेता एवं समाजसेवी रामबहादुर तामाङको तस्बीरसहित सबै शहीदहरूको तस्बीर वडा कार्यालयमा राखेर शहीदको सम्मानगर्ने प्रयास गरेकी छन् । बलिदानको सम्मान कुर्सीभन्दा पहिलो प्राथमिकतामा पर्नुपर्छ ।