एट्लान्टिस फाउन्ड : नाजी शक्ति पुनरुत्थानको डरलाग्दो दृश्य - रुपान्तरण
 २०८२ बैशाख ११, बिहीबार    

एट्लान्टिस फाउन्ड : नाजी शक्ति पुनरुत्थानको डरलाग्दो दृश्य


- लीलाराज खतिवडा

एक्सन–एडभेन्चर थ्रिलरका बादशाह क्लाइभ कसलर आफ्नो सर्वाधिक बिक्रि भएको कृति एट्लान्टिस फाउन्ड मार्फत पाठकहरूलाई फेरि एकपटक रोमाञ्चक यात्रामा लैजान्छन् । यो उपन्यास ऐतिहासिक रहस्य, पानीमुनिको अन्वेषण र विश्वव्यापी षड्यन्त्रको एक आकर्षक मिश्रण हो । पुस्तकले पाठकलाई प्रारम्भदेखि अन्त्यसम्म एकाग्र राख्छ ।

कथाको केन्द्रमा छन् डर्क पिट र उनको नुमा (नेशनल अन्डरवाटर एण्ड मरीन एजेन्सी) टोली । यो टोली समुद्रको सतहमा भएको एक रहस्यमय घटनाको अनुसन्धानमा संलग्न हुन्छन् । यो अनुसन्धानले उनीहरूलाई र हराएको पौराणिक शहर एट्लान्टिसका बारेमा अचम्मलाग्दा कुुराहरुको खोजीगर्न बल पु¥याउँछ । तर उनीहरूलाई यो थाहा हुँदैन कि उनीहरूको खोजले लामो समयदेखि सुषुप्त रहेको खतरनाक नाजी षड्यन्त्रलाई पुनर्जीवित गर्न प्रेरित गरिरहेको हुन्छ । उपन्यासको मध्यभागमा, पिट र उनका सहकर्मीहरूले– नाजी विचारधाराको पुनरुत्थानका लागि गठन भएको एक छायाँ संगठनको पर्दाफास गर्छन । विश्वमाथि प्रभुत्व जमाउनका लागि एट्लान्टियन प्रविधिको उपयोग गर्न दृढ संकल्पित छन् नाजी । पढ्दै जाँदा पाठकहरूले नव–नाजी समूहको डरलाग्दो योजना, शक्तिशाली एट्लान्टियन कलाकृतिहरूको अथक खोजी र पिटको मार्गमा उनीहरूले खडा गरेका घातक अवरोधहरूको बारेमा थाहा पाउँदै जान्छन् । कथाको चरमोत्कर्षमा पिट र नुमाले नाजीहरूलाई अकल्पनीय शक्तिको उपकरण सक्रिय गर्नबाट रोक्नको लागि घोर प्रतिस्पर्धा गर्छन् । परिणाम त विश्वव्यापी अराजकता नै हो । पानीमुनिका तीव्र लडाईं, साहसी घुसपैठ र सास रोक्ने र भाग्ने क्रमहरूले कथालाई रोमाञ्चक बनाउँछन् । यहाँ अब मौजूदा विश्व व्यवस्था निकै नीरिह र कमजोर लाग्न सक्छ ।

उपन्यासले प्रस्तुत गरेको नाजी षड्यन्त्र विशेष रूपमा डरलाग्दो छ । यो आकर्षक पनि छ । शक्ति र विकृत ऐतिहासिक भाग्यवादको भावनाले प्रेरित यो आधुनिक नाजी गुट, एट्लान्टिस सम्पदाले उन्नत प्रविधिको कुञ्जी संरक्षण गरेर राखेको विश्वास गर्दछ जसले उनीहरूको विश्वव्यापी सर्वोच्चता सुनिश्चित गर्न सक्ने सम्भावना तिब्र रुपमा झल्काउँछ । उनीहरूको विद्रोह ऐतिहासिक पराजयको गहिरो रिस र तिनीहरूको जन्मजात श्रेष्ठतामा कट्टर विश्वासबाट उत्पन्न भएको हुन्छ । खासगरी प्रथम र दोस्रो विश्वयुद्धमा पराजयका घाउहरुले उनीहरुलाई अत्यधिक चह¥याइ रहेको महसुस हुन्छ । उनीहरूको सबैभन्दा डरलाग्दो षड्यन्त्र एट्लान्टियन ऊर्जा स्रोतहरू प्रयोग गरेर वर्तमान क्षमताभन्दा धेरै बढी क्षमताका हातहतियार र प्रविधिहरू विकास गर्ने अभ्यास वरिपरि घुम्छ । यसको अन्तिम लक्ष्य विश्वमाथि शासन गर्ने ‘फोर्थ रिख’ स्थापना गर्नु हो ।

पाठकहरुलाई यो पुस्तक आजको विश्व वातावणसँग डरलाग्दो रूपमा सान्दर्भिक लाग्न सक्दछ । यसले चरमपन्थी विचारधारा र अतिशक्तिको आकर्षणको अनन्त अन्वेषण गर्दछ । उपन्यासले छायामा सञ्चालन भइरहेको एक गोप्य समूह तथा दुष्ट उद्देश्यका लागि प्राचीन ज्ञानको शोषण गर्न खोज्ने विचारले चरमपन्थी समूहहरूको उदयका खतराहरूबारे समकालीन चिन्तालाई समेत झल्काउँछ । कसलरको यो काल्पनिक तर, यथार्थवादी अवधारणाले खतरनाक विचारधाराहरूको पुनरुत्थान हुने र विश्वव्यापी स्थिरताको रक्षा गर्न निरन्तर सतर्कता आवश्यक रहेको स्मरण गराउँछ ।

निष्कर्षमा, क्लाइभ कसलरको एट्लान्टिस फाउन्ड एक उत्कृष्ट थ्रिलर हो जसले ऐतिहासिक रहस्य, तीव्र एक्शन र डरलाग्दो षड्यन्त्रको कुशल संयोजन गर्दछ । डर्क पिटको विश्वलाई खतराबाट बचाउने साहसिक कार्यले पाठकहरूलाई अन्तिम पृष्ठसम्म मोहित बनाउँछ । यो केवल एक मनोरञ्जनात्मक उपन्यास मात्र नभएर यसले वर्तमान विश्वका जटिल मुद्दाहरूका बारेमा सोच्न बाध्य पार्छ ।

यो उपन्यास क्लाइभ कसलरको डर्क पिट श्रृंखलाको १५औं उपन्यास हो, जसको पहिलो संस्करण सन् १९९९ मा प्रकाशित भएको थियो । क्लाइभ कसलर (१९३१–२०२०) एक अमेरिकी साहसिक उपन्यासकार र समुद्री गहिराइका अन्वेषक थिए । उनले सन् १९६५ मा लेखन शुरु गरेका थिए । उनको पहिलो डर्क पिट श्रृंखलाको उपन्यास द मेडिटेरेनियन केपर सन् १९७३ मा प्रकाशित भएको थियो ।

कसलरका डर्क पिट श्रृंखलाका उपन्यासहरू जटिल षड्यन्त्र र हास्यरसको स्पर्शका लागि परिचित छन् । एट्लान्टिस फाउन्ड यो परम्परालाई कायम राख्न सफल देखिन्छ । यस उपन्यासमा, कसलरले पौराणिक एट्लान्टिस सभ्यताको रहस्यलाई आधुनिक समयको नाजी षड्यन्त्रसँग जोडेका छन्, जसले विश्वलाई नै खतरामा पार्छ र त्यो ठाडै तेस्रो विश्वयुद्ध हो ।

कसलरले यस्ता विशाल र हास्यपूर्ण महाकाव्यहरू कसरी लेख्न सके भन्ने प्रश्नको जवाफ उनको पृष्ठभूमि र लेखन शैलीमा खोज्न सकिन्छ । उनी आफैं एक उत्साही समुद्रको गहिराइकोे अन्वेषक थिए । उनले नेशनल अन्डरवाटर एण्ड मरीन एजेन्सीको स्थापना गरेका थिए । यो उनका उपन्यासहरूमा चित्रित काल्पनिक एजेन्सीको नाममा राखिएको एक गैर–लाभकारी संस्था हो । पानीमुनिको इतिहास र जहाजका भग्नावशेषहरू उपर उनको गहिरो ज्ञानले उनका कथाहरूलाई प्रामाणिकता र विस्तृत विवरण प्रदान गरेको अनुभूत गर्न सकिन्छ ।

कसलरको लेखन शैली द्रुत गतिको, एक्सन र मनोरञ्जनात्मक घटनाक्रमहरूले भरिएको र प्रायः अविश्वसनीय लाग्ने किसिमको छ । उनका नायक डर्क पिट एक आकर्षक र निडर पात्र हुन् । हास्य र बुद्धिको मिश्रणले उनी खतरनाक परिस्थितिहरूको सामना गर्छन् । प्रायः आफ्ना उपन्यासहरूको शुरुमा एउटा ऐतिहासिक पृष्ठभूमि राख्ने लेखकको बानीले कथाको मुख्य भाग तत्काल अप्रासांगिक लागे तापनि पानाहरु छिचोल्दै जाँदा रहस्य र षड्यन्त्रको पर्दाफास हुन थाल्दछ । पाठकको मुटुको धड्कन तेज हुनु सामान्य भयो । एट्लान्टिस फाउन्डमा पनि यस्तै संरचना देख्न सकिन्छ, जहाँ १८५८ को अन्टार्कटिक घटनाले आधुनिक समयको षड्यन्त्रको लागि आधार निर्माण गरिरहेको हुन्छ ।
कसलरको हास्यरस उनको लेखनको महत्वपूर्ण भाग हो । उनका पात्रहरू बीचको संवादमा प्रायः हल्का र व्यङ्ग्यात्मक टिप्पणीहरू पाइन्छन् । जसले कथाको अति गम्भीरतालाई कमगर्न मद्दत गर्दछ । कसलर आफैं पनि आफ्ना उपन्यासहरूमा सानो भूमिकामा देखा पर्ने गर्दछन् । पाठकहरूमा यो तरिकाले अनपेक्षित रुपमा आश्चर्य र उदेक निम्त्याउन सक्छ ।

क्लाइभ कसलर आफ्नो विशिष्ट शैली र रुचिका कारण यस्तो विशाल र हास्यपूर्ण महाकाव्यहरू लेख्न सफल भए । उनका कृति पढ्दा एउटा सामान्य पाठकले पनि आफू भित्रको सुषुप्त आविष्कारक तत्वलाई पहिचानगर्न र ब्युँताउन सक्छ ।