भ्यागुतोको धार्नी र राप्रपाको बहुमत ! - रुपान्तरण
 २०८२ बैशाख ११, बिहीबार    

भ्यागुतोको धार्नी र राप्रपाको बहुमत !


- नारायण नेपाल

दोस्रो जनआन्दोलन ताका एउटा नारा घन्किएको थियो :

उदाउँदो गणतन्त्रलाई रातो सलामी,
सामन्ती राजतन्त्रको हामी मलामी !!

यस्तो नारा लगाउने एउटा युवा विद्यार्थी नेता हिजो ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्दै कुदिरहेको देखियो । मेरो मनमा प्रश्नको लहर उठ्यो – हाम्रो देशका राजावादीले परिकल्पना गरेको मार्गको गन्तव्य के होला ?

अहिले हामी लोकतान्त्रिक गणतन्त्र नेपालमा छौं । यहाँ चुनाव जितेर नेपालको संविधान संशोधन गर्न पाइन्छ । त्यसका लागि ज्ञानेन्द्र शाहले पार्टी खोल्नुपर्छ । पार्टी खोल्दा कानूनबमोजिम राजगद्दी फिर्ता पाउन निर्वाचनमा दुई तिहाई जनताको मत लिएर संविधान संशोधनगर्न गणतन्त्रवादी दल नै खोल्नुपर्छ ।

अब दल नै चाहिएको भए राप्रपा छँदैछ । त्यो दल कहिले गाई देखाएर यो गणतन्त्रको वैतरणीतर्न खोज्छ भने कहिले सूर्य सापटी लिएर चुनाव लड्छ । त्यति गर्दा पनि हातलाग्ने जम्मा २/४ सिट हो । भ्यागुतोको धार्नी र राप्रपाको बहुमत कहिले पुग्ने ? त्यताबाट राजगद्दी हात लाग्दैन ।

अर्को तर्क छ : राजालाई हिन्दु सम्राट बनाउने हो ।

योगी आदित्यनाथ र ज्ञानेन्द्रको भेटघाट, पोखराबाट फर्किदा राजाको स्वागतमा देखाइएको उत्तर प्रदेश, भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोले आरएसएसको एजेन्डा प्रकट भएको देखिन्छ । यता, राजावादीले पुच्छर डोलाएर आरएसएसको एजेन्डा पूरागरे हिमवत्खण्डका रुपमा रहेको यो देशको अस्तित्व गुमनाम हुनेछ ।

गद्दीच्यूत भएका शासकलाई दुनियाँको कुनैपनि देशले शरण दिदैन । नेपाली राजाहरुनै भागेर भारत पुग्ने गरेको इतिहास छ । तर ज्ञानेन्द्र शाह नेपालमै राजनीतिक खेलकूदमा सक्रिय छन । के जनताको मायाले राजाले गद्दी छाडेर हिडेका हुन ?

तीनकुनेको वितन्डा

चैत १५ को ‘नयाँ’ मण्डले बितण्डा पछि राजाको बिगतको बारेमा एउटा बहस चलेको देखिन्छ । ज्ञानेन्द्रले रचेको एउटा गीत थियो : बाँच्नु नै छ यदि भने, बाँच नेपाली भै । ज्ञानेन्द्रले अब कसरी बाँच्ने ? त्यो आफै सोच्नु पर्ने अवस्था आएकोछ । बिभिन्न देशमा राजा छन्, राजकुमार पनि छन्, तर ती नेपाली जस्तो अर्वपति छैनन् । कतैका पनि राजाले मूर्ति चोरी र तस्करीको आरोप खेप्नु परेको छैन । नेपाली समाजमा ‘अपराध र अपराधीको अखडा’ राजाको दरबार हो भन्ने तथ्य थुप्रिएका छन । हाम्रो देशमा राजतन्त्र सफल भएन ।

राजावादी गणतान्त्रिक शासनका बिरुध्द उत्साही भै सकेपछि उनलाई गाली गरेर मात्रै पुग्दैन । लोकतान्त्रिक गणतन्त्रको सोर्‍ह वर्षपछि पनि नागरिकमा यति धेरै मात्रामा बढेको बेचैनीको आर्थिक–राजनीतिक कारण के होला ? दलका नेता र विद्वानहरुले चिन्तन–मन्थन गर्न ढिलो भयो । अहिलेको अवस्थामा गणतन्त्रवादीले पहिलेको ‘पञ्चर्‍याली’ जस्तो आन्दोलनगर्ने होइन । शासकीय सत्ता आफनो हातमा लिएको सरकारले शासकीय सुधार र सुशासन कायम गर्ने हो । संबिधानमा उल्लेखित “समाजबाद उन्मुख” शब्द संघीय गणतान्त्रिक ब्यबस्थाका तीन तहको सरकारको काम र परिणाममा देखिने गरि लागू गर्नुपर्ने कुरा हो ।

राजावादी आन्दोलनपछि सामाजिक संजालमा एक युवती भाइरल भएकी छिन । उनको धारणा सचेत युवापुस्ताको धारणा हो । के गर्णतन्त्र राजाले सिधै दिएको हो र फिर्ता लिने ? यसका लागि हजारौंले बलिदान दिएका होइनन ?

ज्ञानेन्द्र शाह नेपालको सर्वाधिक धनी ब्यक्ति हुन् । उनी अझैपनि राज्यकोषबाट सेवा सुबिधा लिएर उग्राउँदै हिँडेका छन् । यो चरम निराशामा रहेको समाजमा सामाजिक मिडिया मार्फत राजनीतिको ‘इमोसनल’ व्यापार हुन्छ कि भन्दै हिँडेका छन् उनका समर्थकहरु । यो लोकतान्त्रिक गणतन्त्रको तावामा पिल्छिएका माछाहरुले सामन्ती राजतन्त्रको तातो भुंग्रोमा किन हाम फाल्ने ?