कांग्रेस सभापति ‘पनि’ संगै - रुपान्तरण
 २०८२ जेठ ७, मंगलबार    

कांग्रेस सभापति ‘पनि’ संगै


- किशोर नेपाल

नेपाली कांग्रेसका उप–सभापति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख, कांग्रेसका ‘तेजस्वी’ नेता पूर्णबहादुर खडकालाई सभापतिको कार्यभार सुम्पिएर शेरबहादुर ‘दाइ’ स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नु भएकोछ । स्वास्थ्य परीक्षणबाट दाइको गाथ सकुशल रहेको प्रमाणित होस । दाइको सुस्वास्थ्यको कामनागर्नु नेपाली कांग्रेससंग आवध्द रहेका र बिछोडिएका सबै ‘भाइ’ र बन्धुहरुको कर्तब्य हो ।

बी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता स्वनामधन्य ब्यक्तित्वहरुको ‘विरासत’ सम्हाल्ने मौका पाउनु भएका दाइको छत्रछायाँमा नेपाली कांग्रेस मौलाइ रहोस, फूली रहोस र फक्रिइ रहोस । 

आज बिहान प्रकाशित ‘सरकारको मुखपत्र’ भनिने समाचारपत्र पढदा जानकारी पाइयो : दाइकी धर्मपत्नी तथा नेपाल सरकारका परराष्ट्रमन्त्री डा.आरजु ‘राणा’ देउवा आजैदेखि थाइल्याण्डको राजधानी बैंककमा आयोजनाहुने ‘युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसल कमिशन फर एशिया एण्ड दि प्यासिफिक’ को ८१ औं सत्रमा सहभागीहुन त्यसतर्फ जानु भएकोछ ।

यो समाचारपछिको परिच्छेदमा ‘कांग्रेस सभापति पनि संगै’ उप शीर्षकमा लेखिएकोछ : ‘सभापति देउवा श्रीमती एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहित सपरिवार आइतवार थाइल्याण्ड जानु भएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार : सभापति देउवा एकसाताका लागि थाइल्याण्ड जानु भयो । उहाँ आफनो स्वास्थ्य जाँचका लागि मात्रै जानु भएको हो । कुनै राजनीतिक भेटघाट र कार्यक्रम छैन ।’

नेपाली कांग्रेस कार्यालयका मुख्य सचिव पौडेलको कथनका विपरित, निजी क्षेत्रको अर्को दैनिक समाचारपत्रले लेखेकोछ : ‘देउवाले बैंककमा स्वास्थ्य परीक्षणसंगै राजनीतिक भेटघाटपनि गर्ने निकट स्रोतको दावी छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारप्रति मुलुकभित्र मात्र होइन, मित्र राष्ट्रहरु समेत सन्तुष्ट नरहेको बिश्लेषण गरिएकोछ ।’

यस अघि, ‘दाइ’को नियमित स्वास्थ्य परीक्षण सिंगापुरमा हुने गरेको थियो । तर, सिंगापुरको स्वास्थ्य परीक्षण शुल्क ‘महंगो’ भएकोले यो पटक बैंककमा नै सस्तो मूल्यमा स्वास्थ्य परीक्षणगर्न लागिएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रको एकाधिकारलाई प्रभावकारी बनाउन लिनुभएको नीतिले ‘भुईंचालो’ ल्याएपछि सानो, तर अत्यन्त समृध्द, देश सिंगापुरका प्रभावशाली प्रधानमन्त्री ‘ट्रम्प’ नीतिका बिपक्षमा उभिनु भएकोछ ।

दुइ हजार सातसालमा राणातन्त्रका बिरुध्द जनक्रान्तिको नेतृत्वगर्ने नेपाली कांग्रेस पार्टी २०१५ सालमा भएको संसदीय चुनावमा अत्यधिक बहुमतले बिजयी भएको थियो । २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय ब्यबस्थाको अपहरण गरेर कांग्रेसका प्रमुख नेताहरुलाई बन्दी बनाएका थिए । प्रजातान्त्रिक ब्यबस्थाको पुनर्स्थापनाका लागि २०४६ सालमा भएको बृहत संयुक्त जन–आन्दोलनले निर्दलीय पन्चायत ब्यबस्थाको अन्त्य गरेको थियो । यो युगान्तकारी परिवर्तनपछि नेपाली कांग्रेस लगातार सत्ताको केन्द्रमा रहेकोछ ।

पछिल्लो समयका नेताहरुले नेपाली कांग्रेस पार्टीको लोकतान्त्रिक समाजवादी आर्थिक नीतिलाई तिलान्जली दिएर बजार अर्थतन्त्रलाई गुरुमन्त्रका रुपमा ग्रहण गरेका हुन । दाइलाई कांग्रेसमा बजार अर्थतन्त्रका मानस–पुत्र पनि भनिन्छ । सत्ता–राजनीति र सत्ता–समीकरणको मामिलामा दाइ सर्वाधिक तेज सावित हुनु भएकोछ ।

२०४७ सालमा निर्वाचित संसदको असफलतापछि भएको पहिलो मध्यावधि निर्वाचनमा पन्चायत ब्यबस्थाका ‘हस्ती’ मानिएका ब्यक्तिहरु संसदमा निर्वाचित भएर आएका थिए । ती पन्च नेताहरुलाई मिलाएर दाइले सरकारको नेतृत्वगर्नु भएको थियो । यसपछिको समयमा उहाँले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाका निर्देशनहरुका बिरुध्द बिद्रोह गर्नुभयो । नेपाली कांग्रेस (प्रजातान्त्रिक) को गठन गर्नुभयो । राजा ज्ञानेन्द्रबाट अपमानित हुनुभयो ।

कांग्रेसमा दाइका समकालीन मित्र र सहकर्मीहरु कति लाखापाखा लागे, कति काल–कवलित भए । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल देशको राष्ट्रपति हुनुहुन्छ ।

दाइ छैठौं पटक प्रधानमन्त्री बन्न प्रतीक्षारत हुनुहुन्छ ।