काठमाडौँ महानगरमा अन्योल - रुपान्तरण
 २०८२ जेठ ७, मंगलबार    

काठमाडौँ महानगरमा अन्योल

कहिले बस्छ कार्यपालिका बैठक ?


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका निर्वाचित पदाधिकारीहरू बीचको द्वेष र द्वन्दले महानगर प्रशासन अन्योलमा परेकोछ । विधि, विधान र नियम सम्मत तवरले अगाडि बढ्नुपर्ने निकायलाई पदाधिकारीहरुले आफु अनुकुल संचालन गर्नखोज्दा यस्तो परिस्थिति सिर्जना भएको हो ।

काठमाडौँ महानगरको प्रमुखमा बालेन्द्र शाह ’बालेन’ निर्वाचित भएपछि महानगरमा राम्रा–नराम्रा दुबैथरि काम भएका छन् । शहरमा महानगरले गरेका राम्रा कामको चर्चा भईरहेको छ ।

काठमाडौँ महानगरमा बालेन शाह स्वतन्त्र मेयरका रूपमा निर्वाचित भएर आएका भएपनि उनका पदीय सहयात्री उपप्रमुख सुनिता डंगोल नेकपा एमालेको उम्मेदवारको रुपमा निर्वाचित भएकी हुन् । महानगरको कार्यपालिका सदस्यमा नेपाली कांग्रेसको बाहुल्यता रहेको छ भने नेकपा एमाले दोस्रो वरियतामा छ ।

पछिल्लो केही समयदेखि महानगरपालिकाको कार्यपालिका बैठक बस्न सकिरहेको छैन । यसको प्रमुख कारण काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन शाह र प्रशासकीय अधिकृत बीच काठमाडौमा निर्माणाधीन ‘भ्यू टावर’ द्वन्द रहेको छ ।

महानगर प्रशासन संचालनका लागि प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले नियमित पाउनुपर्ने तलव पाएका थिएनन । यसले अर्को समस्या खडा भएको थियो । केन्द्रीय सरकारले खटाएका महानगरका प्रशासकलाई ढोका फोडेर कार्यकक्षमा छिराउनु पर्ने अवस्था सिर्जनाभयो ।

समस्याको समाधानको खोजीमा उपप्रमुख सुनीता डंगोलको प्रयत्नमा महानगरमा प्रमुख प्रशासकीय अधिकृत ल्याएपछि वातावरण संगलिन खोजेकोछ । तर, जरो गाडेर रहेका अन्य विभिन्न समस्या भने ज्यूँका त्यूँ रहेका छन ।

कानूनतः स्थानीय तहले ४५ दिन नकटाई कार्यपालिका बैठक बोलाउनुपर्ने प्रावधान रहेपनि काठमाडौँ महानगरपालिकामा यो प्रावधान लागुहुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकारीलाई काम गर्नदिने र नदिने विवादमा नगर प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोल आरोप प्रत्यारोपमा लागेकाछन ।

हालै एक कार्यक्रममा नगर प्रमुख बालेनतर्फ औला उठाउँदै उपप्रमुख डंगोलले प्रश्न गरेकी थिइन, “अरूलाई गाली गरेर, नानाथरि स्टन्ट गरेर देश बन्छ ?” उनले देश विकास गर्ने युवाको चाहना छ भन्दै गरेको भाषणले यतिबेला चर्चा पाइरहेको छ ।

गत चैत १० गते काठमाडौँ महानगरपालिकामा निर्वाचित नेपाली कांग्रेसका वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले विभिन्न माग सहित कार्यपालिका बैठक बोलाउने, प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कार्वाहीको विवरण सार्वजनिकगर्ने जस्ता माग सहित प्रवक्ता नवीन मानन्धर सहितको उपस्थितिमा प्रमुख बालेन शाहलाई हस्ताक्षरसहितको विज्ञप्ति बुझाएका थिए ।

“त्यसपछि प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षहरू बीच भेट नभएको” काठमाडौँ महानगरपालिका वडा ८ का अध्यक्ष आशामान संगतले बताउनुभयो ।

वडा अध्यक्ष आशमानले चैत १० गते विज्ञप्ति बुझाए पछि महानगरमा जे हुनु पर्ने हो त्यो नभएको बताउनुभयो । महानगरमा वडाअध्यक्षहरूको हालको माग भनेको, कार्यपालिका बैठक डाकेर समस्या समाधान गर्नु रहेको बताउनुभयो ।

हामीले चाहेको भनेको कार्यपालिका बैठक हो । महानगरभित्र जे–जे समस्या छन्, तिनिहरूलाई कार्यपालिका बैठकमा ल्याएर समाधानको बाटोमा अग्रसर हुन आवश्यक छ । कार्यपालिका बैठक नै नबोलाउनुमा प्रमुख शाह माथि केही दोषहरू छन् कि भन्ने कुराहरू हो, संगतले बताउनुभयो ।

“प्रमुखले उपप्रमुख तथा वडाअध्यक्षहरू सँग छलफल नै नगर्ने अवस्था हो भने त कसरी अगाडि बढ्ने ? यो त झन् समस्यालाई अग्रसरता तर्फ धकेल्ने कुरा भयो ।” प्रमुख र उपप्रमुखको खटपटले महानगरलाई नै अस्तव्यस्त बनाउनु न्यायोचित नभएको वडाअध्यक्ष संगतले बताउनुभयो ।

“खासगरी महानगरमा चर्चामा रहेको कुरा ५ करोडको अफरको पनि हो । त्यहाँ १८ सेकेन्ड भिडियो मात्र छ हामी १८ सेकेन्ड कुरा गर्न त पक्कै प्रमुख कहाँ गएनौँ होला ? मेयरको सचिवालयले सम्पूर्ण भिडियो सार्वजनिक गर्न आवश्यक छ । क्लिप काटेर भ्रम फैलाउने काममा उहाँहरूको अग्रसरता देखिन्छ । होइन भने त वडाअध्यक्षलाई ५ करोड अफर गर्नेले प्रमुखलाई कति अफर गर्याे होला ?” यो पनि प्रमुख विषय भएको संगले बताउनुभयो ।

“मासिक रूपमा ४५ दिनभित्र कार्यपालिका बैठक बोलाउनु पर्ने प्रवाधान रहेको र त्यहाँ समस्या वा अप्ठ्यारोका रूपमा रहेका विषयवस्तुहरूलाई छलफलको माध्यमबाट दिशा निर्देश गर्नुपर्ने अवस्थामा कार्यपालिका बैठकको टुंगो नहुनु आफैमा द्वेषपूर्ण कुुरा देखिन्छ” काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनुभयो ।

अनेकन समस्या देखाउने तर, समाधान तर्फ अग्रसर नहुने हो भने समस्या झन् थपिदैँ जाने मानन्धर बताउनुहुन्छ ।

वडाअध्यक्ष तथा कर्मचारीहरूको प्रमुखसँग भेट नहुने र प्रमुखको स्टाटस पढेर बस्नु पर्ने अवस्था आएको प्रबक्ताको दावी छ । यी अनेकन समस्याहरूका बीच महानगरको कार्यपालिका बैठक बस्ने बाटो कसरी निर्माण हुन्छ भन्ने नै प्रमुख रहेको छ । प्रमुखले नबोलाई आफुहरू सहकार्यका लागि नजाने वडाअध्यक्षहरूको अडान रहेको छ ।

महानगरको समस्या समाधानमा ब्यस्त रहनुपर्ने महानगरपालिका आफ्नै समस्याले अस्तब्यस्त भएकोछ ।