आकार पाउन नसकेका सपनाहरु - रुपान्तरण
 २०८२ जेठ ७, मंगलबार    

आकार पाउन नसकेका सपनाहरु


- रुचि श्रेष्ठ

आफुलाई हेर्दा म आफै एउटा अमूर्त चित्र जस्तो लाग्न थालेकोछ । मैले ‘अमूर्त चित्र’ भनेकी छु, ‘चित्रकला’ भनेकी छैन है !

त्यो अमूर्त चित्र जो आफ्नो पूर्णतामा पनि केही खोजिनै रहेको हुन्छ । कुनै नयाँ रंग ? एउटा छुट्टै आकार ? फेरी अमूर्त चित्र शैली नै यस्तो शैली हो जसले अपूर्णतामै आफ्नो अस्तित्व भेट्टाएको हुन्छ । कस्तो बिरोधाभाश !

“हेमलेट” मा शेक्सपियरले “हुनु कि नहुनु” को व्दन्दमा रहेको मानव अस्तित्वको बिरोधाभाशमय प्रश्नलाइ यसरी तेस्र्याइदिए कि, त्यसपछिका यूरोपेली दार्शनिकहरुको चिन्तनको केन्द्र नै “हुनु कि नहुनु” भयो ।

साहित्यको त शुरुवात नै बिरोधाभाशबाट हुन्छ । साहित्यिक रचना र कलामा हामी बिरोधाभाशलाई बुझ्ने कोशिश गर्छौ, त्यसको ब्याख्या गर्छौ । हामी साहित्यमा गणित र बिज्ञानमा जस्तो समस्यालाई हलगर्ने कोशिश गर्दैनौ । त्यहाँ सत्य अनुभूत गरिन्छ, प्रमाणित गरिदैन ।

दार्शनिक, कवि, साहित्यकारहरुले हुनु र नहुनुको ब्याख्यागर्ने कोशिश नगरेका होइनन : भरमग्दुर कोशिश गरेका हुन । तर, मानव अस्तित्व जुन व्दन्दमा अडिएकोछ, त्यो व्दन्दलाइ चल्न दिनु कि सिद्धयाइदिनु ? यो फेरी अर्काे “हुनु कि नहुनु” को प्रश्न हो ।

अमूर्त चित्र त्यो बिरोधाभाशबाट पनि मुक्त हुन चाहन्छ । स्वच्छन्द हुन चाहन्छ । बीशौं शताब्दीले जन्माएको एकमात्र गौरवमय शैली हो अमूर्त चित्रकला । क्यामराको आबिष्कार र बजारीकरण भए सँगै त्यही समाजले अमूर्त कलाशैलीलाई पनि लोकप्रिय बनायो ।

नवीन आयाम खोजिरहने आधुनिक समाजले उत्पन्न गरेको त्यस्तै एउटा नवीन प्रयोग थियो अमूर्त शैली ?

कि कलाकारको कल्पनाशक्ति, साधना र सृजनालाई क्यामेराले चुनौति दिनथाले पछि निस्किएको उपज थियो अमूर्त चित्र ?

कि कलामा साधना र सृजनाको ह्रास हो अमूर्त चित्र ?

जसरी कला के हो भन्नु गहिरो बहसको बिषय हो, त्यस्तै अमूर्त चित्र कति कला हो ? कति अरु नै केही हो ? भन्ने छुट्टै बहसको बिषय हो ।

तर, त्यो चित्र त हो नै । अमूर्त पनि हो । म चाही किन त्यो हो ? अमूर्त चित्र ।
अमूर्त चित्रलाइ कलाशैली भन्दा कला र सृजनाको प्रकृया भन्नुमा मलाइ बढी सुकुन मिल्छ ।

तर, म किन अमूर्त ?
के खोजीरहेछु म ?
एउटा नयाँ रंग ?
कुनै आकार ?
स्वच्छन्द ?
कि मुक्ति ?

कलाकारको कल्पना र साधनाले त बजार र प्रविधिलाई थेग्न सकेन । शताब्दी लामो प्रकृयामा रहेको अमूर्त कलाशैलीबाट कलाकारको सृजना उम्कनै सकेको छैन । म एक्लैले कसरी पाउन सक्छु उन्मुक्ति ?

बिचित्रको कुरो के छ भने, बिज्ञान र प्रविधि मात्र होइन मानव संवेदना, भावना, त्रास र सपना सबै–सबैको ब्यापारीकरण गर्न सक्षम बनमारा झार जस्तो फैलिएको आजको ज्याद्रो बिश्व–अर्थतन्त्र र बिश्वब्यापीकरणको समयमा मैले भने बजार सँग जुध्नु परेको छैन ।

किनभने मैले जुधिरहेका त पात्र पनि अमूर्तछन । ब्यक्तिलाइ भन्यो भने सिस्टम गलत भन्छन । सिस्टम सुधार भन्यो भने भन्छन ‘जुन सिस्टम भएपनि ब्यक्ति सही हुनुपर्छ ।’ यो ‘अण्डा पहिला कि चल्ला पहिला ?’ को खेललाई म एक्लैले कसरी तोडु ?

कर्मचारीले नेता गलत भन्छ, नेताले कर्मचारीको दोष देखाउँछ । एकछिन गहिरिएर सोचौं  त । ती दुइमा व्दन्द भएको भए भ्रष्टाचारका घटनाहरु किन बाहिर आउदैनन ? न्यायालय नागरिकको पक्षमा हुदो हो त अदालतमा पुगेका मुद्धाहरुले किन टुंगो पाउदैन ?

मानिसको आशा यति पातलिदै गइसकेको छ कि वर्तमान बिसंगतिबाट मुक्तिका लागि उनीहरु ‘भात स्वतन्त्रता कि वाक स्वतन्त्रता’ जस्ता अर्थ न बर्थका कुतर्कहरुमा अल्झिएका छन । भात स्वतन्त्रता र वाक स्वतन्त्रता एक अर्काको बिकल्प हुनै सक्दैनन । कसैले ती दुइलाई बिकल्पको रुपमा प्रस्तुत गर्छ भने उसले भय र त्रासको ‘राजनीति’ खेलिरहेकोछ ।

सैद्धान्तिक र ब्यवहारिक दुबै रुपमा पत्रकारिता र वाक स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो । लोकतन्त्रमा वाक स्वतन्त्रता नागरिकको अपरिहार्य लोकतान्त्रिक अधिकार हो, पत्रकारको मात्र होइन । वाक स्वतन्त्रताको सक्रिय अभ्यास गरेर जनताको हितमा लोकतन्त्र र गणतन्त्र सशक्त बनाउनुपर्नेमा ‘लोकतन्त्रले वाक स्वतन्त्रताको रक्षागर्नु पर्यो’ भनेर गुहार माग्छन पत्रकारहरु ।

दरबारको कडा दबदबा भएको समयमा साहित्य, कला र गीतहरुमा ब्यक्तिका दुःख र पीडाको जिम्मेवार सँधै कि समाज, कि भाग्यहुने गर्दथ्यो । समाज र भाग्यलाई दोष देखाइ दिएपछि राज्य ब्यवस्था र शासकका दोष र प्रवृत्ति फेरी अमूर्त चित्रमै अदृश्य हुन पाउने भए ।

हिजोआज मानिसले समाजलाइ दोष लगाएको सुनिदैन । अचेल समाजका सबै बिसंगतिको जिम्मेवार राज्यब्यवस्था नै हो भन्ने कथन सामान्य बन्दै गएकोछ ।

के यो स्वतन्त्र ब्यवस्थाले नागरिकमा फैलाएको राजनीतिक चेतना हो ? समाजप्रति नागरिक नै उदासीन बन्दै गएका हुन, कि भर्चुअल रियालिटीमा मग्न भएर समाजप्रति निरपेक्ष देखिएका हुन ?

किन हाम्रो समाजले अहिलेसम्म कुनै आकार ठम्याउन सकेको छैन ? किन यहाँ भएका राजनीतिक परिवर्तनहरु राजनीतिक ब्यबस्था र समाजको ब्यवहारमा प्रतिबिम्बित हुन सकेका छैनन ? किन नेपालीले पुस्ता–दरपुस्ता बितिसक्दा पनि जुका जस्तै टाँसिएको ‘गरीब–समाज’ र ‘गरीब–मुलुक’ को परिचयलाई लत्याउन सकेका छैनन ?

बिगतका बर्षहरुमा म बारम्बार घोत्लिइ रहने अमूर्त प्रश्नहरु । यी अमूर्त प्रश्नहरुलाइ मैले न सूत्रबद्ध गर्न सकेकोछु, न समाधानको कुनै सूत्र नै फेला पार्न सकेकोछु ।

आफ्नो अपूर्ण र अमूर्त चित्रले म आफैलाई जति उत्सुक बनाएको छ, त्यो भन्दा बढी यो समाजको धमिलिदै गएको आकृतिले उकुस मुकुस पारेको छ ।

मलाइ लाग्छ अचेल मानिसले यो समाजलाई आकारदिने सपना नै देख्न छाडिसके । समाजबाट अपेक्षागर्न पनि छाडिसके । मानिसका आकांक्षाहरु छन, अनेकौ छन । तर, तिनलाई यो समाजले पूरागर्न सक्दैन । आज यो समाज उहिलेको जस्तो दमनकारी र अत्याचारी त छैन तर, नीरिह भएको छ ।

पछिल्लो समयमा, अरुलाई सुनाउन नसकेकैले होला, चिया चिन्तनमा उठेका नयाँ प्रश्नहरु मेरो मस्तिष्कमा प्रतिध्वनित हुन थालेका छन ।

के हामीमा परिवर्तन ल्याउने ‘जुनून’ र ‘जज्बा’ नभएकै हो त ? के साच्चै हामी सपनादेख्न नसक्ने भएका हौं ? के हामी समस्याको चक्रव्यूहमा टुप्पो र पुच्छर फेलापार्नै नसकिने गरि गुजुल्टिएका हौं ? के हाम्रो समाज पतनोन्मुख सभ्यताको शिकार भएकै हो त ?

यी प्रश्नहरुले मेरो गुलियो चियालाई पनि अमीलो बनाइदिन्छ ।

यो ‘किन’ बाट शुरु भएको प्रश्न देखि ‘के’ बाट शुरु भएको प्रश्नसम्म आइपुग्दा मेरा चिन्ता र चिन्तनले आपसमा निकै कुश्ती खेलिसकेका छन । अचेल मेरो चियालाई चिन्ताले अमिलो बनाएको छ कि चिन्तनले ?
ठम्याउन मुस्किल भएकोछ !