–किशोर नेपाल
देशका स्वनामधन्य ‘राजनेता’ बुध्दिजीवी, बिश्लेषक र बरिष्ठ पत्रकारहरुले भारतीय जनता पार्टीका विदेश बिभाग प्रमुख डा. विजय चौथाइवालेको हालैको नेपाल भ्रमणलाई नेपालको आन्तरिक ‘राजनीति’ संग जोडेर महत्वदिनु आफैमा उदेकलाग्दो थियो ।
डा.चौथाइवालेको यो भ्रमणको उद्देश्य भारतको जम्मु–काश्मिरको पहलगाँवमा हिन्दु पर्यटकहरुमाथि भएको आतंकवादी आक्रमणका बिरुध्द जनमत तयारगर्न नेपालको सहयोग र समर्थनको खोजी थियो ।
पहलगाँवमा आतंकवादी आक्रमणमा एकजना नेपाली तन्नेरी समेत मारिएका थिए । भारत सरकारको सुरक्षा संयन्त्रले अनुसन्धानपछि पाकिस्तानको इशारा र संकेतमा आतंकवादीहरुले यो क्रूर हत्याकाण्ड रचेको ठहर भएको थियो ।
बिश्वका बहुसंख्यक राष्ट्रहरुले पहलगाँवको यो घटनाको निन्दा गरेका छन । यो भनी राख्नु पर्दैन : पहलगाँव घटनाले दक्षिण एशियामा चर्को तनाव सिर्जना गरेकोछ । यो पृष्ठभूमिमा डा.चौथाइवाले भारतीय जनता पार्टीका तर्फबाट आतंकवादका बिरुध्द नेपालका राजनीतिक नेताहरुसंग सहमति र सहकार्यको वातावरण बनाउन नेपाल आएको स्पष्ट थियो ।
नेपालमा एउटा उखान प्रचलित छ : ‘पशुपतिको जात्रा सिद्राको ब्यापार ।’ डा. चौथाइवालेले पशुपतिनाथको दर्शन गरेपछि नेपाली राजनीतिका नेताहरुसंग भेटेर ‘सिद्राको ब्यापार’ पनि गरि हाले । प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र चेयरम्यान प्रचण्डसंग उनको भेट ‘बिशेष’ भएको अनुमान सबैले गरेका छन ।
अरु ‘महत्वपूर्ण’ नेताहरुले उनीसंग तारे होटलमा भेटे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो कहिले आउला र दिल्ली दर्शनमा कहिले जान पाइएला भन्ने बिचारले ब्याकुल भएका प्रधानमन्त्री ओली, ‘प्राइम मिनिष्टर इन वेटिंग’ सभापति देउवा र सत्ताको नयाँ चक्रब्यूह निर्माणको रणनीति बनाउन ब्यस्त चेयरम्यान प्रचण्डले डा. चौथाईवालेसंग राजकीय वार्ता गरे । भारतीय पाहूनाको भ्रमण सार्थक भयो ।
राजधानी दिल्ली निवासी मेरा एक भारतीय पत्रकार मित्रका अनुसार, भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले डा.चौथाइवालेलाई भारतमाथि भएको आतंकवादी हमलामा नेपालको ऐक्यबध्दता खोज्नका लागि काठमाडौं पठाएका हुन । डा. चौथाइवालेका लागि यो नयाँ अनुभव थियो । नड्डाले चौथाइवालेको यो भ्रमणको संयोजन प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको विदेश बिभागसंग गरेका थिए ।
भाजपाको आग्रहमा डा. चौथाइवालेको भ्रमणलाई भारत सरकारले आधिकारिक बनाएको थियो । काठमाडौस्थित भारतीय राजदूतावासले डा. चौथाइवालेको काठमाडौ कार्यक्रमको संयोजन गरेको थियो । संसारभरि नै सरकार संचालनगर्ने नेताहरुले पार्र्टी संचालनगर्ने नेताहरुसंग हरेक बिषयमा समन्वय कायम गरेका हुन्छन । नेपालका शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको जस्तो मनोगत निर्णय कसैले पनि गर्दैन ।
नेपालका बरिष्ठ राजनीतिज्ञहरु, बुध्दिजीवी, उद्योगपति र ब्यापारी, संघीय गणतन्त्र अन्तर्गत सरकार संचालनमा निरन्तर रहेका कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी, जातीय र समतावादी भनिने नेताहरुले पहलगाँवमा भएको आतंकवादी हमलालाई कसरी हेरेका छन ? उनीहरुको प्रतिक्रिया कस्तो छ ? डा. चौथाइवालेको मुख्य कार्यसूचि यी प्रश्नमा नै केन्द्रित थियो । तर, दुर्भाग्यवशः उनी पहलगाँव आतंक बाहेक काठमाडौको सत्ता राजनीतिको ‘मीना बजार’ मा पनि रुमल्लिन बाध्य भए ।
राजावादीहरुले भारतीय जनता पार्टीका नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमा राजतन्त्र पुनस्र्थापनाको पक्षमा ‘पहलगर्ने’ हल्ला चलेपछि भारतीय जनता पार्टीले राजतन्त्र पुनस्थापनाको बारेमा नेपालका राजनीतिक नेताहरुको मनस्थितिको अध्ययनगर्न पठाएको हल्ला चलाए ।
यस्तो अनुमानको कारण थियो : उत्तर प्रदेशको मुख्यमन्त्री नेपालको गोरखास्थित गोरखनाथ पीठसंग ‘नाभी’ जोडिएका योगी आदित्यनाथको पुख्र्यौली सम्बन्ध योगी नरहरिनाथसंगपनि रहेको वताइन्छ ।
ज्ञानेन्द्र शाहसंग उनको दोस्ती छ । गण्यमाण्य कहलिएका नेपालका वामपन्थी, मध्यमपन्थी, दक्षिणपन्थी र ‘हाम’पन्थी सबैथरि राजनीतिज्ञहरुसंग ‘दोस्ती’ छ उनको । यतिमात्र नभएर भारतीय जनता पार्टीले योगीलाई भारतका भावी प्रधानमन्त्रीका रुपमा दिल्लीको गद्दी सुम्पिने हल्लापनि उत्तिकै चलेकोछ ।
राजनीतिका ‘धुरन्धर’ ज्ञाताहरु र सरकारको ठूलोठूलो ओहोदाबाट अवकाश पाएर बसेका महानुभावहरु सत्ताबृत्तबाट बाहिरिएपछि साँझ बिहानको आपसी जमघटमा प्रमाण–प्रमेय बिनाका गफगर्न थाल्दछन । ती गफका कतिपय बूंदाहरु तर्कसंगत पनि हुन्छन । तर ती मनोगत तर्कहरु घुम्दैफिर्दै ‘कन्सपिरेसी थ्योरी’ अर्थात ‘षडयन्त्रसूत्र’का रुपमा परिभाषित हुन्छन ।
बास्तवमा, आतंकवाद बिरुध्द नेपालसंग ऐक्यबध्दता खोज्न आएका डा. चौथाइवाले त्यस्ता भाग्यशाली भारतीय राजनीतिज्ञ बनेका छन जसले नेपाली बौध्दिक र राजनीतिक क्षेत्रका ब्यक्तित्वहरुको नीरिह र आत्मकेन्द्रीत चिन्तनसंग परिचितहुने मौका पटक–पटक पाएका छन ।
यसपटकको भ्रमणमा उनले नेपालका सुरक्षा अधिकारीहरुसंग प्राथमिकताका सात ‘फलदायी’ वार्ता गरेको खवर पनि बौध्दिक समाजमा छरिन थालेकोछ ।
देशको होस वा प्रदेशको, राजधानी निवासी नेपालीहरुको आर्थिक, राजनीतिक, भौतिक र बौध्दिक चेतना जस्तो थियो उस्तै छ । त्यसो नभएको भए भारतीय जनता पार्टीका एकजना पदाधिकारी नेपाल आउने बित्तिकै, एकैसाथ, राजावादीहरु भारतले राजतन्त्र स्थापनामा मद्दतगर्ने भो भनेर चहकिने, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यकर्ताहरु भारत र ओली बीचको सम्बन्ध सुमधुर हुनेभयो भनेर ढुक्कहुने, नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु डा.चौथाइवाले कांग्रेस सभापति देउवाकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु देउवाका ‘राखी’ भाइ भएकोे बखानगर्ने थिएनन । नेपाली राजनीतिको हरिबिजोग डा.चौथाइवालेले आफ्नै आँखाले देखेरै गए ।
डा.चौथाइवाले भारतमा भएको आतंकवादी आक्रमणका बिरुध्द नेपालको समर्थन र सहमति जुटाउन सफल भएका होलान । यतिबेला, भारतीय सरकारको ध्यान नेपाली राजनीतिको सट्टाबजारमा केन्द्रित छैन । आतंकवादी आक्रमणको मारमा परेको भारतको ध्यान आतंकवादलाई निमिट्यान्नपार्न लागेको देखिन्छ ।
यतिबेला संसार स्वाभाविक रुपले भारत र पाकिस्तानको समर्थनमा बाँडिएको देखिन्छ । अन्तर्राष्ट्रिय प्रेस जगतका प्रतिक्रिया र टिप्पणीहरुका आधारमा यति अनुमान लगाउन सकिन्छ : यो पटक भारतका प्रति अन्तर्राष्ट्रिय समुदाय बढी सहानूभूतिशील देखिएकोछ ।
रह्यो कुरा नेपालको । नेपालको शासन जसले गरेपनि भारतलाई केही फरक पर्दैन । उसलाई नेपाली राजनीतिक चरित्रको राम्रो ज्ञान छ । सन्तुलित बिदेश नीति भनेपनि पटक–पटक सन्तुलन गुमाउन नछोड्ने नेपाली आचरणको ज्ञान भारतलाई नभएको होइन ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘राष्ट्रवादी’ नीतिका कारण अहिले पूरै संसारको आर्थिक अवस्था लथालिंग छ । अमेरिका र चीनका बीच ब्यापार युध्द शुरु भै सकेकोछ । रुस र भारतबीचको परम्परागत सम्बन्धमा पुनर्ताजगी आएकोछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्यक्तित्व अन्तर्राष्ट्रिय आकर्षणको प्रमुख बिन्दू बनेको छ । उनले अमेरिका, चीन र रुससंग भारतको सम्बन्धको पुनसंंयोजन भारतका लागि अनुकूलहुने हिसावले गरेका छन ।
भारत र चीनका बीच वैरभावको सम्बन्धमा परिवर्तन आइ सकेको छ । चीनका राष्ट्रपति सी जीन पिंगसंग भारतीय प्रधानमन्त्री मोदीको ब्यक्तिगत सम्बन्ध सौहार्दपूर्ण रहेको देखिन्छ ।
बिश्वका प्रायः सबै नेताहरु भारत–पाकिस्तानका बीच युध्द नहोस भन्ने चाहना राख्दछन । युध्दले सबैका लागि सर्वनाश निम्त्याउँछ ।
नेपालको राजनीति भारतको इशारामा चल्दै आएको अनुमानगर्ने धेरै छन । राष्ट्रवादको मकुण्डो पहिरेको देखाएर ब्यक्तिगत लाभलिने दलहरुको त कुरै नगरे भयो । ज्ञानेन्द्र शाह स्वयं नै भारतीय नेताहरुले आफ्ना हजुरबालाई जस्तै आफूलाई पनि काँधमा बोकेर नेपालको राजगद्दीमा राखिदिन्छन कि भनेर लालायित रहेको अवस्थामा अरुको के कुरागर्नु ?
यत्ति हो कि काश्मिरको पहलगाँवमा आतंकवादी हमलापछि भारत र पाकिस्तान मूठभेडको अवस्था रहेको समयमा भएको बेला भएको डा.चौथाइवालेको भ्रमणलाई नेपालका बुध्दिजीवी तथा पत्रकारहरु ‘स्थानीय राजनीति’संग जोड्न हतारिनु अस्वाभाविक मात्रै होइन, असान्दर्भिक पनि हो । नेपालका नेताहरुसंग उनको भलाकुसारी अस्वभाविक थिएन । डा. चौथाइवाले भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख हुन । उनले भारत सरकारका महत्वपूर्ण नेताहरुलाई फिडब्याक दिए होलान । कुनैपनि महत्वपूर्ण भारतीय नेताको भ्रमण नेपाली सत्ता संरचनामा फेरबदलका लागि भएको हुँदैन ।