– किशोर नेपाल
भोलि जेठ १५ गते । देशमा गणतन्त्र दिवस मनाइदैछ । नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट दल भनेर कहलिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का अध्यक्ष तथा कांग्रेस–कम्युनिष्ट समीकरणमा बनेको वर्तमान सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टी अध्यक्षका हैसियतले आफना कार्यकर्ताहरुलाई संघीय राजधानी शहरका नाका–नाकामा आफनो शक्ति प्रदर्शनगर्न निर्देशन दिइसक्नु भएकोछ ।
अर्कोतिर, देशमा राजतन्त्र पुनस्र्थापनाको सपनादेख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी र राजदरवारको जुठो–पुरोमा बाँचेका भृत्यहरुको समूहले राजतन्त्रको पुनस्र्थापनाको मांगगर्दै संघीय राजधानी शहरमा आक्रामक जुलुस प्रदर्शनको योजना बनाएको सुनिएका छन ।
देशका सामान्य जनता न संघर्षको बारेमा सूचित छन, न शान्तिका बारेमा बिश्वस्तहुन सकेका छन । ‘सामाजिक सन्जाल’ नामको नवीनतम ‘संचार’ उद्योगमाथि आफनो बर्चस्व जमाएर बसेका सूचना उद्योगी र व्यवसायीहरु संघर्ष र शान्तिका बारेमा ग्राहकलाई उक्साउने, जोस्याउने र चिस्याउने काममा ब्यस्त रहेका छन ।
तै पनि, खुशीको कुरा, सही–गलत जस्तो भएपनि सूचनाको प्रवाह जारी छ । खोला सुक्नु हुँदैन । हिलो–मैलो, फोहोर–सफा जस्तो भएपनि खोलामा पानी निरन्तर बहनु पर्दछ ।
कतिले अहिलेको झगडालाई संघीय लोकतान्त्रिक गणतन्त्र र निरंकुश राजतन्त्रबीचको विवादका रुपमा लिएका छन । तर, यो लोकतान्त्रिक गणतन्त्रको विवाद होइन । लोकतन्त्र र निरंकुशतन्त्रका बीच चयन गर्नुपरे मानिसले लोकतन्त्रकै चयन गर्दछ । यो कुनै प्रश्न नै होइन ।
संसारमा साँचो अर्थमा राजतन्त्र एउटै देशमा छ । त्यो हो बेलायत । बेलायतमा पनि राजतन्त्र यस निम्ति टिकाउ छ कि त्यहाँ राजा निरंकुश हुनसक्ने अवस्था पनि छैन । ब्यबस्था नै छैन । बेलायत र त्यसभेगका केही देशमा बाहेक अन्य सबै देशका राजतन्त्रहरु निरंकुश छन । निरंकुश अर्थात छाडा । जे मनमा लाग्यो त्यही गर्ने ।
डच अर्थात नेदरल्याण्डको उपनिवेशका रुपमा रहेको इण्डोनेशियालाई दासताबाट मुक्त गराउने क्रान्तिकारी नेता सुकार्नोलाई इण्डोनेशियाका जनता राष्ट्रपिता मान्दछन । सुकार्नो भन्दथे : बितेका कुरा बिते । अतीतका दुःख र कष्ट सम्झेर तीतो नपोखौं । हाम्रा आँखालाई भविष्यदर्शी बनाऔं ।
सत्तामा पुगेका सुकार्नोले इण्डोनेशियालाई बिश्वका देशहरुको मूल प्रवाहमा ल्याए । असंलग्न परराष्ट्र नीतिका निर्माता थिए उनी । वामपन्थी बिचारप्रति अलिकति ढल्किएका सुकार्नो जीवनको पछिल्लो समयमा अलिकति ‘बिन्दास’ भए । उनलाई उनकै वंशज सुहार्तोले अपदस्थ गरे ।
नियालेर हेर्ने हो भने हाल गणतन्त्र नेपालका प्रवल मानिने नेताहरुमा सबैभन्दा जेठा शेरबहादुर देउवा र समकालीन नेताव्दय खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दहाल ‘प्रचण्ड’ रहेकाछन ।
उनीहरुका बीच कथित ‘बैचारिक’ बाहेक अन्य सबै कुरामा समानता छ । शेरबहादुर देउवाले आफना दुबै ‘बैचारिक’ प्रतिव्दन्व्दी प्रचण्ड र ओलीलाई प्रधानमन्त्री बनाइ सक्नु भएको छ । अहिले पनि प्रधानमन्त्री बनाउने ‘चावी’ उहाँकै हातमा छ ।
देउवा अहिले ‘प्रतीक्षारत’ प्रधानमन्त्री हुनुहुन्छ र पनि, उहाँ ‘डेन्जर जोन’ मा हुनुहुन्छ । कथम्, ओली र प्रचण्डको अन्तरात्मामा माक्र्सवादी–माओवादी आत्मा हावी भयो भने उहाँ प्रधानमन्त्री बन्नुहुने सम्भावना रहँदैन ।
नेपाली कांग्रेसका नेता तथा विचारक सी.के. प्रसाई भन्नुहुन्थ्यो : राजनीतिमा कोही कसैको स्थायी मित्र र स्थायी शत्रु हुँदैन । देउवा, ओली र प्रचण्ड पनि एकअर्काका स्थायी शत्रु होइनन । तर, सत्ता स्वार्थका मामिलामा त्यसो नहोला ।
प्रधानमन्त्री ओलीले देउवालाई खुरुक्क प्रधानमन्त्रीको आसन सुम्पिएलान । तर, हालका दिनहरुमा सत्ता हस्तान्तरण देउवाले सोचे जति सहज हुन नसक्ने संकेत पनि आइ रहेकाछन ।
डा. गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन लाग्नु भएका देउवाका लागि डा. बिश्व पौडेलको नियुक्ति बाध्यता थियो । बजेट निर्माणमा अर्थमन्त्री बिष्णु पौडेललाई ‘प्रोफेसनल’ हैसियतले सघाइ रहनु भएका पौडेल असामान्य स्थितिमा गभर्नरमा नियुक्तहुनु भएको हो । यो असामान्य स्थितिलाई देउवाले कसरी सहज बनाउनु हुनेछ ? उहाँका लागि सजिलो छैन ।
यो गजबको संयोग हो – देउवा–ओली–प्रचण्ड, राजनीतिका यी तीनवटै ‘खेलाडी’ अहिले एकअर्काका संपूरक बन्नु भएको देखिन्छ । देउवालाई प्रधानमन्त्री बनाउने खेलमा प्रचण्ड सामेल हुनुभयो भने अहिलेको समीकरण बदलिन्छ । तर, सभापति देउवा एक्लैले गृहमन्त्री रमेश लेखकलाई ‘भिजिट भिसा’ मा लागेको चलखेलको ‘वात’बाट मोचनगर्नु त्यति सहज देखिदैन ।
एमालेका नेताहरुको आपसी कुराकानीबाट पनि यो थाह पाइन्छ – देउवाले नेपालको नोटमा एकजना महिलालाई हस्ताक्षरगर्ने अवसर दिनु भएको भए यतिबेला भिजिट भिसाको लफडा बाहिर आउने नै थिएन । ‘राजनीतिमा यस्तो त भइ रहन्छ’ भनेर चित्त बुझाउने हो भने कुरा अर्कै हो । होइन भने, देउवाको आन्तरिक राजनीतिक ब्यूहका धेरै धाँजा फाटी सकेका छन ।
कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइराला नैतिकताको आधारमा गृहमन्त्री लेखकले राजिनामा दिनुपर्ने पक्षमा हुनुहुन्छ । डा. शेखरका बिरुध्द अर्का सांसद तथा कोइराला परिवारका सदस्य डा.शशांक कोइराला देउवाको पक्षमा तमाशा देखाउन उभिनु भएकोछ । कोइराला परिवार–बिघटनको पछिल्लो उदाहरण हो यो ।
अहिलेको संयोग कस्तो छ भने – राजनीतिक रुपले देउवा, ओली र प्रचण्ड तीनैजना ‘सर्वोच्च’ नेतासंग उनीहरुका पार्टीका प्रमुख नेता र कार्यकर्ताहरु खुशी छैनन भन्ने पटक पटक सावित भै सकेकोछ । बाहिरी आवरणमा निकै सुदृढ देखिएपनि सांगठनिक हिसावले यी तीनैजना नेता भित्रभित्रै खोक्रिइ सकेका छन । ‘जसोतसो’ आपूmलाई सर्वोच्च पदमा टिकाइ रहेका देउवा आपूm प्रधानमन्त्री भएपछि निर्वाचन र त्यसपछि मात्र कांग्रेस महाधिवेशन गराउने पक्षमा रहेको बताइन्छ ।
अध्यक्ष ओलीको पार्टीमा कार्यकर्ताहरु सर्वोच्च नेताको प्रत्यक्ष आलोचना गर्दैनन । तर, उहाँको बिरोधमा पार्टीभित्र ‘कैंची काट’ अभियान तिव्र रहेका संकेतहरु प्रसस्त भेटिन थालेकाछन ।
त्यही हालतमा हुनुहुन्छ माओवादी अध्यक्ष प्रचण्ड । उहाँले पूर्व उप–राष्ट्रपति नन्दकिशोर पुनलाई आपूmपछिको नेतामा भर्ती गरेपछि माओवादी केन्द्र एकताको बाटोमा होइन, अनेकताको ओरालोतिर लागेकोछ । पार्टीका कतिपय संघर्षशील नेताहरु आपूmहरुसंग नेतृत्वले अपमानजनक ब्यबहार गरेको गुनासो गर्न थालेका छन ।
सभापति देउवाको स्थिति अध्यक्ष ओली र अध्यक्ष प्रचण्डको भन्दा खराव देखिन्छ । लामो समयदेखि उहाँलाई निःशर्त सहयोगगर्दै आएका कांग्रेसी कार्यकर्ताहरु उहाँबाट उपेक्षित महसूसगर्न थालेका छन । अहिले समर्थकहरुको निकै सानो घेरामा सीमित हुनु भएका देउवामाथि पारिवारिक स्वार्थमा लागेको आरोप लगाउनेहरु पनि थुप्रै छन ।
देउवा ‘डल’ हुँदै गएपछि कांग्रेसका अधिकांश कार्यकर्ता डा. शेखर कोइरालातिर लहसिन थालेका छन । अप्ठ्यारो अवस्थामा साथदिएका र देउवाका मित्रका रुपमा रहेका पुराना नेताहरु पनि देउवाबाट टाढिन थालेका छन । आपूm प्रधानमन्त्री नभएसम्म कांग्रेसको अधिवेशन नगराउने देउवाको सोचको पार्टीभित्र तीखो आलोचना हुन थालेकोछ ।
यो गणतन्त्र दिवसपछि तीनवटै प्रमुख पार्टीका नेताहरुका बिरुध्द कार्यकर्ताहरु एकत्रितहुने सम्भावना बलियो देखिन्छ । माओवादी पार्टीमा दिनहूँ नयाँ समीकरणको चर्चा भइरहेको छ । एमालेका नेता र कार्यकर्ताहरु ओलीतन्त्रको उच्चाटलाग्दो ब्यबहारबाट उक्ताउन थालेका छन । देउवाको ‘प्यासिभ’ नेतृत्वबाट कांग्रेसका अधिकांश नेतामा निराशा छाउन थालेकोछ ।
यी तीनैजना नेतामा वर्तमान समयको कुनै चेतना देखिदैन । उनीहरु बिचारको पुरानै बृत्तमा खेली रहेका छन । यिनीहरु न त बिद्या र बुध्दिका हिसावले बलिया छन, न त राजनीतिक नेतृत्वका लागि चाहिने कौशल नै छ यिनीहरुमा । न ब्यक्तित्वमा कुनै ओज छ, न आकर्षण । बैंकको मुद्दती खाताको ब्याजले जीवन चलाउने वर्गका मानिसहरुले जस्तै यी नेताहरु आफनो कथित ‘राजनीतिक योगदान’ को ब्याज खाइ रहेकाछन । यिनीहरुकै कारण देशले अग्रगामी फड्को मार्न सकेको छैन ।
स्पष्ट शब्दमा भन्ने हो भने, नेपालमा संघीय गणतन्त्रलाई प्रभावकारी बनाउन यी नेताहरुले माखोमार्ने कामसम्म गरेका छैनन ।
वैदेशिक रोजगारीमा जाने नेपालीले कमाएको पैसा गनेकै भरमा देशको बिकासहुने भए अहिलेसम्म धेरै बिकास भै सक्ने थियो । संघीय संसदमा अहिलेसम्म देशको बढदो आवश्यकताका बारे एकदिनपनि गम्भीर वहस भएको छैन ।
सत्ताको रमझममा रमाउने यी नेताहरुका लागि संघीय संसद ‘जुवाको अखडा’ बनेकोछ ।
सत्ता संचालनको गहनतम भूमिका बोक्ने पार्टीबाट बृध्द नेताहरुलाई अभिभावकको भूमिकामा थन्क्याएर सक्रिय राजनीतिबाट सम्मानपूर्वक ‘विदाइ’ नगरेसम्म नयाँ नेपाल निर्माणको सपना सपना मै सीमित रहनेछ ।
समुन्नत नेपालको निर्माणका लागि संघीय गणतन्त्रको बिकल्प छैन । तर, नयाँ जमाना र नयाँ जीवन नबुझेका नेताहरुको रजगज रहेसम्म परिवर्तन सम्भव छैन । हामी खुम्चिने कि फक्रिने ? मतदाताका बीच प्रभावशाली रहेका पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुले सोच्ने समय यही नै हो ।