नेपालको गौरव जोगाउने हो भने - रुपान्तरण
 २०८२ असार ८, आईतबार    

नेपालको गौरव जोगाउने हो भने

राष्ट्रिय गौरवको आयोजनाका रुपमा चिनिएको उदयपुर सिमेन्ट उद्योगको ‘गौरव’ जोगाउने हो भने


– रुपान्तरण बिशेष

स्थापनाकाल देखि नै ‘एशियाकै ठूलो र अत्याधुनिक’ तथा ‘नेपालको गौरव’ का रुपमा बहुप्रचारित थियो उदयपुर सिमेन्ट उद्योग । यो उद्योगबाट बिभिन्न थरीका सिमेन्ट उत्पादनगर्ने लक्ष्य राखिएको थियो ।

व्यवसायिक हिसावले २०४९ सालदेखि ५६ ग्रेडको गैंडाछाप पोर्टल्याण्ड सिमेन्ट उत्पादनबाट शुरु भएको यो उद्योगले तत्कालीन अवस्थामा देशभित्र रहेको सिमेन्टको मागको १५ प्रतिशतसम्म पूरागर्ने लक्ष्य राखेको थियो । उद्योगको क्षमता प्रतिदिन ८४० मेट्रिक टन सिमेन्ट उत्पादनगर्ने भनिए पनि विगत ३२ वर्षको अवधिमा कुनैपनि आर्थिक वर्षमा क्षमताको ५० प्रतिशत सिमेन्ट पनि उत्पादन गरेको पाइदैंन ।

उद्योगको मुख्य कच्चा पदार्थ सिन्दालीको चुनढुंगा खानीको प्रयोग १५० वर्षसम्मगर्न सकिने भनिएको थियो । अहिले सिमेन्ट उत्पादन ‘फेज आउट’ हुने समय भै सक्यो । र पनि, खानी रित्तिने अवस्था देखिदैंन । अर्थात उद्योगले चुनढुंगा खानीको उत्पादन क्षमताको उपयोगगर्न सकेकोछैन । नेपाली बजारमा बढदो सिमेन्टको मागको एक प्रतिशत भन्दा कम माग पूरागर्न पनि उद्योग सक्षम छैन ।

जापान सरकारको ऋण–सहयोगमा स्थापित उदयपुर सिमेन्ट उद्योग कुशल व्यवस्थापनको अभावमा रोगाएकोछ । उद्योगको आर्थिक तथा व्यापारिक क्षमता धराशायी भइसकेकोछ । सरकारले यो उद्योगलाई टेवादिनु भनेको ‘सेतो हात्ती’ पाल्ने काम भन्न सकिन्छ ।

‘एक बोरा सिमेन्ट उत्पादनका लागि खर्च कति लाग्छ’ भन्ने सामान्य हिसावसम्म राख्न नसक्ने व्यवस्थापनका कारण यो महत्वाकांक्षी उद्योग राष्ट्रिय बोझका रुपमा स्थापित हुन पुगेकोछ ।

त्यसो त, बेलाबेलामा उद्योगको व्यवस्थापनमा सुधारका लागि प्रयास नभएको होइन । तर, त्यस्ता अध्ययन र प्रयास सार्थक भएनन । अहिले सरकारले यो उद्योगबाट आफनो स्वामित्व झिकेर यसको नीजिकरण गर्नुपर्ने आवाज उठ्न थालेका छन । उद्योगले आफ्नो कमाईबाट साँवा र व्याज तिर्नसक्ने अवस्था छैन । नेपाल सरकारले ऋणमाथि ऋणलिएर उद्योग सञ्चालन भएकोे रमिता देखाएकोछ ।

उद्योग ब्यबस्थापनका कमजोर पक्ष

असक्षम सञ्चालन व्यवस्थापन

कारखानामा जडान भएका मसीनहरुको मेन्टेनेन्स नियमित प्रक्रिया हो । यो काम उद्योगका लागि सबभन्दा महत्वपूर्ण पक्ष हो । तर, ब्यबस्थापनले कहिल्यै यस्तोे तालिका बनाएन । स्थानीय ब्यापारीहरुको अनुभवमा जब जब बजारमा ‘गैडा छाप’ सिमेन्टको माग बढछ तव तव चालु हालतमा रहेको कारखाना बन्द गरेर मेन्टेनेन्सको काम हुने गर्दछ । उत्पादित सिमेन्ट र क्लिङ्करको व्यवस्थापनगर्ने योजनासमेत बन्न सकेको छैन । उद्योग व्यवस्थापन र प्रशासनले उत्पादन वृद्धिका लागि विशेष योजनाहरु बनाएर कार्यान्वयन गरेको पाइँदैन ।

स्थापनाकालमा ‘अत्याधुनिक र उत्कृष्ट’ प्रविधिहरु पुराना भएकाछन । कतिपय मेसिन तथा औजारका पार्टपूर्जा उत्पादनहुन छोडेका छन । पार्टपूर्जाहरु जापान, जर्मनी र भारतलगायतका देशबाट आयात गर्नुपर्छ । त्यस्ता पार्टपूर्जाहरुको उत्पादन बन्द भएको अवस्था छ । त्यस्ता पार्टपूर्जा र उपकरणहरु बदल्ने प्रक्रिया धेरै नैं झन्झटिलो र अत्यधिक आर्थिक भार बेहोर्नुपर्ने अवस्था छ । कतिपय मेसिन उपकरण र त्यस्ता उपकरणका पार्टपूर्जाहरु अर्डर गरेपछि मात्रै उत्पादन र आपूर्ति हुने गरेका छन् । समयमा मेसिन तथा उपकरणका पार्टपूर्जा बनाउन नसकेकाले उद्योग सञ्चालन नभएको अवस्था पनि आइलागेका छन ।

उद्योग स्थापनाको तीसवर्ष बितेपनि उद्योगको आधुनिकीकरणगर्ने प्रयास भएको छैन । सिमेन्ट निर्माणका लागि आगो बाल्दा फर्निश आयल नभएका कारण दाउराको प्रयोगगर्ने र भट्टीमा उच्च गुणस्तरीय ब्रिकहरु प्रयोग गर्नुपर्नेमा कमसल किसिमका ब्रिकहरु प्रयोगगर्दै काम चलाउ ढंगले उत्पादन जारीराख्दा घुम्ने भट्टीलाई पुरै क्षति पुग्ने काम भएकोछ ।

चुनढुङ्गा, बालुवा र रातोमाटो बाहेक सिमेन्ट उत्पादनका लागि चाहिने फलामको धाउ, जिप्सम लगायतका कच्चा पदार्थहरु भारत र भुटान लगायतका देशबाट आयात हुँदै आएको छ । यस्ता कच्चा पदार्थहरु चाहिएको अवस्थामा आयातगर्न नसकेको अवस्था छ । यसले गर्दा उत्पादनको लागत उच्च हुँदै गएको र उत्पादनमा पनि ह्रास हुदै आएको छ ।

कमजोर वित्तिय व्यवस्थापन

सिमेन्ट उत्पादन र बिक्री प्रवध्र्दनका लागि ठोस योजनाहरु बनेका छैनन । आपतकालीन तथा सुरक्षण र जगेडा कोष सबै जसो रित्तिएका छन । ऋणको ब्याजदर उच्चस्तरमा रहेको छ । ऋणतिर्ने तालीका बनाइएको देखिदैन । सिमेन्ट बिक्रीबाट हुने आम्दानीबाट कर्मचारी तथा मजदुरहरुको पारिश्रमिक जुटाउने भन्दा नेपाल सरकारसँग ऋण लिदैं तलव खाने र खुवाउने काममा उद्योगका सञ्चालक समिति र व्यवस्थापन समितिहरु लागिपरेका देखिन्छन् । उत्पादन वृद्धि, बजार र व्यापार विस्तारका काम भएका छैनन् ।

हेटौडा सिमेन्ट उद्योग जस्ता तीनवटा उद्योग स्थापनागर्न सकिने लागतमा उदयपुर सिमेन्ट उद्योगको स्थापना भएको देखिन्छ । उद्योगको ऋण उच्च बिन्दूमा रहेको छ । पछिल्लो चरणमा सन्चालन खर्चका लागि विभिन्न बहानामा ऋण तथा अनुदान लिने, त्यसैबाट कर्मचारी तथा मजदुरहरुलाई तलव बाँड्ने गरिएकोछ ।

सञ्चालनको स्पष्ट मार्गचित्र नभएको संस्था बनेकोछ यो उद्योग । सरकारले उद्योग हाँक्न पठाएका ब्यक्तिहरुले उद्योग सञ्चालनका लागि खासै प्रयास गरेनन वा गर्न सकेनन ।
उद्योग सञ्चालनको निम्ति आबश्यक दीर्घकालीन दृष्टिकोण र रणनीतिक तथा कार्यनीतिक योजना नबनेकाले प्रतिकूल अवस्थाको सिर्जना भयो । प्रतिस्पर्धी बजारमा नीजि क्षेत्रको आक्रामक व्यापारिक रणनीतिसंग प्रतिस्पर्धागर्ने क्षमता नभएको व्यवस्थापनका कारण उद्योगको क्षय हुँदै गयो ।

बजारको माग अनुसार गुणस्तरीय सिमेन्ट आपूर्तिगर्न नसक्ने अवस्थामा पुग्यो यो उद्योग । बजारमा उद्योगको हैसियत र हिस्सा घटन थाल्यो । यही कारण हो : उद्योग अहिले जीर्ण अवस्थामा छ ।

डेढसयदेखि दुइसय मजदुर तथा कर्मचारीहरुले सहजै सञ्चालन गर्नसक्ने यो उद्योगमा एकताका आठसयको हाराहारीमा कर्मचारी र मजदुर थिए । राजनीतिक ब्यक्तिहरुको ठाडो हस्तक्षेपमा भर्ना भएका अदक्ष कर्मचारीको ठूलो संख्याका कारण मानव संशाधनको दृष्टिकोणले पनि अत्यन्त कमजोर अवस्था छ । दक्ष श्रमिकहरु जागिर छोेडेर विदेश वा सुविधादिने नीजि सिमेन्ट उद्योगमा काम गर्नजाने क्रम रोकिएको छैन । मजदुर कर्मचारीको नाममा भर्ना गरिएका अदक्ष कामदार थुपार्ने ‘डम्पिङ साइट’ बनेको छ यो उद्योग ।

स्थानीय निर्माण ब्यवसायीहरुका अनुसार, पछिल्लो समयमा गैंडा छाप सिमेन्टको साख गिरेकोछ । नीजि क्षेत्रसंग प्रतिस्पर्धागर्न गाह्रो परेकोछ यो उद्योगलाई ।

राजनीतिक हस्तक्षेप

उद्योगकोे सञ्चालनमा चर्को राजनीतिक हस्तक्षेपहुँदै आएको छ । महाप्रवन्धक हुँदाहुँदै विशेष अधिकृत र कार्यकारी अधिकृतको जस्ता पद सिर्जना गरी जागिर दिने काम भएको छ । केन्द्रमा सरकार फेरिने वित्तिकै उद्योगको सञ्चालक समितिमा परिवर्तन हुने गरेको छ । कुनैपनि विषयमा विज्ञता नभएका यी सञ्चालक अखडामा कुस्तीखेल्ने पहलमानजस्ता हुने गर्दछन ।

किन धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

यो उद्योग अहिलेसम्म ऋणपान गर्दै जसोतसो चल्दै आएको छ । व्यवसायिक उत्पादन थाले यता उद्योग निरन्तर रुपमा घाटामै सञ्चालित छ । उत्पादन लागत बढी हुने र बिक्री मूल्य प्रतिस्पर्धात्मक नहुने भएकाले यस्तो व्यवस्थापन र सञ्चालनले उद्योग कहिले पनि नाफामा जान सक्ने अवस्था रहेको छैन ।

समयानुकूल प्रविधिको अभाव

उद्योगमा जडान भएका उपकरण, मेसिन औजारहरु पुराना भइसकेका छन । त्यसको कार्य क्षमता घटेको छ । यस्ता मेसिनऔजार र उपकरणहरु कुनै बेला पनि काम नलाग्ने हुन सक्दछन । स्पेयर पार्टपूर्जाहरु सहजरुपमा उपलब्ध हुन छोडेका छन । कतिपय पार्टपूर्जाहरु कारखानाभित्रकै कार्यशाला वा बाहिरका यन्त्रशालाहरुमा निर्माणका लागि विशेष अर्डर दिनु पर्ने अवस्था छ । समयानुकुल मेसिनरी औजारहरु जडानहुन नसक्दा उद्योेगको गैंडाछाप सिमेन्टको गुणस्तर र उत्पादकत्व दुवै घटेको छ ।

व्यवस्थापकीय कमीकमजोरी र राजनीतिक हस्तक्षेप

जुनसुकै सरकारले व्यवस्थापनमा ठाडो राजनीतिक हस्तक्षेपगर्दै आएको छ । पेशागत नेतृत्वको अभावले दक्षता, पारदर्शिता र जवाफदेहीता देखिदैंन । निजी क्षेत्रका आधुनिक, दक्ष र प्रतिस्पर्धात्मक सिमेन्ट उद्योगहरुसंग प्रतिस्पर्धागर्ने क्षमता उद्योगको व्यवस्थापनमा देखिएको छैन । उद्योगको ‘प्राइम’ ब्राण्ड गैंडाछाप सिमेन्टको मांग खस्कदों छ ।

आवश्यकभन्दा बढी कर्मचारी र मजदुरको भर्ती सबभन्दा ठूलो समस्या हो उद्योगको । व्यवस्थापनमा नेतृत्व फेरबदल हुने वित्तिक्कै राजनीतिक दलका अदक्ष र काम नलाग्ने कार्यकर्तालाई दिनुपर्ने तलब र सेवा सुविधा लगायतका कार्यमा निकै ठूलो धनराशी खर्च हुँदै आएको छ । राजनीतिक आन्दोलन र व्यापारिक रणनीतिमा देखिएका कमजोरीले उत्पादनमा सधैं प्रतिकुल प्रभावपार्दै आएको छ । यो उद्योग सरकारका लागि बोझिलो बनेको छ ।

नकारात्मक सामाजिक दृष्टिकोण

उद्योग सञ्चालनका समयमा उत्पन्नहुने प्रदूषण न्यूनीकरणका लागि उद्योगको मेसिनमा जडिएका फिल्टर व्यागहरु झिकिएकोले वरपरको वातावरण प्रतिकूल भएपछि आसपासका वस्तीहरुमा उद्योगप्रतिको सकारात्मक धारणा घटेको छ ।
प्रारम्भमा वातावरण शुल्क उपलब्ध गराउँदै आएको उद्योगले आफ्नो मेसिन प्रयोगगरी गाउँघरमा बाटोघाटो, पुलपुलेसा बनाएर सामाजिक दायित्व निभाउँदै आएको थियो । यसले उद्योगप्रति सकारात्मक धारणा बनाउन सहयोग पुगेको पनि थियो । अहिले यस्ता सामाजिक दायित्व पूरागर्न उद्योग सक्षम रहेन । यो कारणले पनि जनतामा असन्तुष्टि बढ्दो छ ।

नयाँ बिचार नयाँ बिकल्प

आजको दुनियाँमा सरकारले उद्योग संचालनगर्ने नीति र काम बहिष्कृत भै सकेकोछ । स्थानीय सरोकारवालाहरु र जन–प्रतिनिधिहरुले अहिलेसम्म सरकारले गरेको लगानी ‘जनताको लगानी’ का रुपमा यथावत राख्दै उद्योगको पूर्ण व्यवसायिक सञ्चालनका लागि नीजि क्षेत्रलाई सुम्पिने रणनीति अपनाउन सरकारलाई सुझाव दिएकाछन । उनीहरुको बिचारमा सरकारले सुधारका लागि जतिसुकै प्रयास गरेपनि अहिलेको राजनीतिक अवस्थामा त्यो सफलहुन सक्दैन ।
उद्योगलाई पूरै देशका लागि फलदायी बनाउने हो भने यसमा नीजि क्षेत्रको सहभागिता अपरिहार्यछ । नीजि क्षेत्रले अत्याधुनिक प्रविधिगत विकासका पक्षमा आधुनिक मेशिन, स्वचालित प्रणाली र ऊर्जाको वैकल्पिक प्रयोगगर्दै उत्पादन लागत घटाउने उपायहरु अवलम्वन गर्नसक्छ । तर सरकारले त्यसोगर्न सक्दैन ।

उदयपुर सिमेन्ट उद्योग धरासायीबन्नु भनेको सरकारको असफलता हो । यो उद्योगको नाममा रहेका चल अचल सम्पति र मेसिन–औजार, उपकरण, खानीजस्ता स्रोतहरुको व्यवस्थापन र संचालनको जिम्मा नीजि क्षेत्रलाई दिएर यसलाई नाफामूलक उद्योगका रुपमा संचालनगर्न सकिने विकल्प नै अहिलेका लागि एकमात्र उत्तम बिकल्प हुनेछ । सरकारले नीजि क्षेत्रको क्षमता र दक्षतामाथि बिश्वासगर्नुको अर्को बिकल्प देखिदैन ।