– ओम आचार्य, बिराटनगर
संघीय संसदका दुइ ठूला पार्टी – नेपाली कांग्रेस र एमाले – बीचको वर्तमान गठवन्धनलाई दुइ ठूला दलको गठवन्धन नभने पनि हुने भएकोछ । किनभने, संस्थागत हिसावले यो गठवन्धन सरकारको चरित्र, शासन शैली र प्रवृत्ति ब्यक्तिवादी देखिएकोछ । यसलाई काग्रेस र एमाले गठवन्धन भन्नु भन्दा शेरबहादुर देउवा र केपी शर्मा ओली बीचको गठवन्धन भन्नु उपयुक्त हुनेछ ।
यो गठवन्धन सरकारले वहुदलीय राजनीतिक संस्कारको मर्यादा राखेको छैन । सरकारका सदस्यहरुमा दलीय विचार, सिध्दान्त र निष्ठा पटक्कै छैन । गणतन्त्र आएको दुइ दशक पूरा हुन लागि सक्दा पनि सरकारको निर्णायक नेतृत्व लिएर वसेकाहरुमा पुरानै दम्भ, अहंकार र मैं हूँ भन्ने भावना स्पष्ट देखिन्छ । सरकारका सन्चालकहरुमा देखिएको अधिनायकवादी प्रवृत्ति गणतान्त्रिक संस्कारसंग मेल खाँदैन ।
अहिले राजावादीहरु सडक आन्दोलनमा छन । उनीहरु राजतन्त्र पुनर्स्थापनाको मांग चर्काउन हरसम्भव प्रयास गरिरहेका छन । लोकतन्त्रमा सबैलाई आफनो पक्ष र आफनो विचारराख्ने छुट हुन्छ । गणतान्त्रिक ब्यबस्थामा विचार र अभिव्यक्तिको पूर्ण स्वतन्त्रता हुन्छ । मानव अधिकारको स्थान सर्वोच्च रहेकोछ । यसको अर्थ सरकार वा राजाबादी दल वा अन्य कुनै पनि राजनीतिक दलले आन्दोलनका क्रममा उच्छृंख्वल र हिंसात्मक अभिव्यक्ति दिन पाइदैन । देशलाई नै रणभूमिमा परिणतगर्ने प्रयास र प्रोत्साहन गरियो भने त्यो मानव अधिकार विरुध्द हुन्छ । संबिधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता विरुध्द हुन्छ त्यस्तो कार्य ।
हिंसा जन्माउने अभिव्यक्ति
तर, सरकार संचालनको प्रमुख दायित्व बोकेका नेताहरुबाट नै हिंसात्मक अभिव्यक्ति आइरहेकोछ । चाहे प्रचण्ड हुन वा देउवा हुन, चाहे वर्तमान प्रधानमन्त्री केपी ओली नै हुन : उनीहरुको अभिब्यक्तिमा शान्तिका आग्रह छैनन । जेठ १५ गते देखि शुरु भएको राजावादी आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले ‘काठमाडौं एमालेको कब्जामा हुनुपर्छ’ भन्दै कार्यकर्तालाई निर्देशनदिनु उचित होइन । संघीय गणतन्त्र नेपालका प्रधानमन्त्रीका रुपमा उनको भाषा प्रतिशोधात्मक हुनु दुर्भाग्यपूर्ण थियो । राजावादीहरु त राजावादी नै भए । उनीहरुले प्रधानमन्त्री ओलीलाइ भाग्न हेलिकप्टर उपलब्ध गराउने अभिब्यक्तिपनि हिंसा जन्माउने अभिव्यक्ति थियो !
ओलिको सुरक्षा कवच देउवा
गत सोमवार सभापति देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी ओलीले आफना कार्यकर्तालाई जेष्ठ १५ मा दिएको ‘काठमाडौं कब्जागर्ने’ निर्देशनका बिषयमा कुनै प्रसंग नै उठेन ।
तर, गृहमन्त्री रमेश लेखकमाथि लागेको भ्रष्टाचारको आरोपका बारे डा.शशांक कोइरालाले आफनो बिचार राख्दै गृहमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने डा.शेखर कोइरालाको बिचारको आलोचना गर्नुभयो । डा.शेखर कोइरालाले गृहमन्त्री लेखकको राजिनामा सार्वजनिक रुपमा माग्नु भएकोमा शशांकले आक्रोश प्रकटगर्नु भएको थियो ।
यस विषयमा, पूर्व महामन्त्री डा. कोइरालाले पार्टीका बरिष्ठ नेता डा. शेखर कोइराला तथा अन्य दुइजना सांसद डा. सुनील शर्मा र राजेन्द्र बजगाईसंग स्पष्टिकरण सोध्न सभापति देउवासंग मांगगर्नु भयो ।
बैठकमा डा. शशांक कोइरालाको प्रस्तुति उहाँको प्रतिष्ठा सुहाउँदो थिएन । उहाँले डा. शेखर कोइरालाको भनाइसंग असहमतिमात्रै जनाउनु भएको थिएन, उहाँलाई अनुशासनको कारवाही गर्नुपर्ने मांगसम्म गर्नु भएको थियो ।
यो कांग्रेसको पदाधिकारी बैठक थियो कि देउवाको निजी सचिवालयको बैठक ?
कांग्रेस र एमालेको गठवन्धन अहिले ओली र देउवाको गठवन्धन जस्तो भएको छ । केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँबाट यस्तो हिंसात्मक अभिव्यक्ति आउँदा पनि कांग्रेस पदाधिकारी बैठकमा प्रश्न नउठनु आश्चर्यलाग्दो बिषय थियो ।
यसबाट कांग्रेसका कार्यकर्ताहरुमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री केपी ओलीको रक्षा कवचको रुपमा रहनु भएको अनुभूति हुन थालेको छ ।
डा. शशांक कोइराला जस्तो प्रतिष्ठित नेताले उत्तिकै प्रतिष्ठित नेता डा. शेखर कोइरालाको अभिब्यक्तिमाथि अप्रिय टिप्पणीगर्नु अस्वाभाविक बिषय हो । यसबाट प्रधानमन्त्री ओली ‘कांग्रेस भनेकै देउवा र देउवा भनेकै कांग्रेस’ भन्ने भावनामा बहनु भयो होला ।
तर, यथार्थ त्यो होइन ।
कांग्रेसका अधिकांश कार्यकर्ता अहिलेको समीकरणसंग चिढिन थालेका छन । सभापति देउवालाई यसको जानकारी नभएको छैन होला । लोकतन्त्रमा फुटेर वा जुटेर शासन जहाँपनि हुन्छ । भारतमा दक्षिणपन्थी मानिने भारतीय जनता पार्टी विपरित विचारधाराका पार्टीसंग मिलेर केन्द्र र बिभिन्न राज्यमा सरकार संचालन गरिरहेकोछ । भारतको बिहार राज्यमा समाजवादी नेता नीतिश कुमार भाजपासंग मिलेर गठबन्धन सरकार चलाइ रहनु भएकोछ ।
कोशी प्रदेशका राजनीतिज्ञ र बुद्धिजीवीहरुको बिचारमा बैचारिक र मानसिक रुपले एकता नभएसम्म कांग्रेस बलियो हुन सक्दैन । यो कुरालाई सभापति देउवाले बुझनु भएकै हुनुपर्छ । सभापति देउवा र बरिष्ठ नेता शेखर कोइराला बीचको बढदो मतभेद र दूरीले कांग्रेसको भलो गर्दैन । यो कुरा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले समय रहँदै बुझनु पर्दछ ।