- रुपान्तरण बिशेष संवाददाता
नेपालमा निजी क्षेत्रले संगठित र सुदृढ ढंगले औद्योगिक बिकासमा सक्रिय हुन थालेको लामो समय भएको छैन । पछिल्लो समयमा सामान्य मानिसमा सिमेन्टको आकर्षण बढेकोछ । शहर होस वा गाउँ – सिमेन्ट लगाएर घर बनाउने रहर व्हात्तै बढेको छ । समाज र समयको मांगलाई बुझेका केही व्यवसायीहरु देश बिकासका लागि आधारभूत आवश्यकता जुटाउन लागेका छन ।
२००७ सालको जनक्रान्तिभन्दा अघि बिराटनगर सम्भवतः एकमात्र शहर थियो – जसलाई औद्योगिक शहर भनेर चिनिन्थ्यो । मोरंग जिल्लामा रहेको बिराटनगरमा बिभिन्न ब्यापारिक घरानाले जूटमिल तथा अन्य धेरै कल–कारखानाको सन्चालन गरेका थिए । मोरंग र वरपरका क्षेत्रमा जूट खेती हुने गर्दथ्यो । भारतको कलकत्ता शहरसंग निकट रहेकाले बिराटनगरलाई बजारको सुविधा थियो । बिराटनगरमा औद्योगिक चहल–पहल हुन थाले पछि यसलाई नेपालको औद्योगिक शहर भनिन थाल्यो । यहाँको उद्योगको बिकासमा निजी क्षेत्रका प्रतिष्ठित घराना गोल्छा, दुगड, मदनलाल–चिरन्जीवीलाल लगायत अन्य धेरै ब्यवसायिक घरानाको नाम आउँछ ।
पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्र नेपालगन्जमा पनि उद्योग–व्यवसायको राम्रो चहलपहल थियो । त्यहाँको टण्डन परिवार काष्ठ ब्यापारमा संलग्न थियो । नेपालगन्जमा सलाइ कारखाना, रोजिन–टर्पेन्टाइन कारखाना र आइरन स्टील कारखाना संचालनमा थिए । उत्तर प्रदेश, भारतको राजधानी लखनउ नजीक भएकोले पश्चिम नेपालका दुर्गम क्षेत्रमा नेपालगन्जबाट ब्यापारिक सेवाहरु प्रवाहितहुने गर्दथे ।
उद्योग–ब्यापारको तेस्रो र महत्वपूर्ण केन्द्र थियो – काठमाडौसंग निकट रहेको बीरगन्ज । तत्कालीन समयमा यो शहर नेपालको लाइफ लाइन मानिन्थ्यो । बीरगन्ज भारतबाट आउने र भारततर्फ जाने मूलबाटो (गेट वे) थियो । बीरगन्जमा उद्योग र ब्यापार–ब्यबसाय फस्टाएको थियो । बीरगन्ज नेपालको ब्यवसायिक र राजनीतिको समेत मूल केन्द्र थियो ।
२००७ सालको क्रान्तिपछि नेपालका उद्योगी–ब्यवसायीहरु संगठित हिसावले लाग्न खोजेका हुन । तर, तत्कालीन राजनीतिक परिवेशमा त्यो सम्भव भएन । क्रान्तिको सफलतापछि झण्डै आठबर्ष निरर्थक बित्यो । त्यसपछि संसदका लागि भएको २०१५ सालको चुनावमा बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसलाई नेपाली जनताले अत्यधिक बहुमत प्रदान गरे । सरकारले औद्योगिक बिकासको क्षेत्रमा अलिकति काम शुरुगर्न थालेको थियो ।
तर, राजा महेन्द्रले २०१७ पुष १ गते नेपाली कांग्रेसको सरकारलाई बिघटन गरेर शासन आफनो हातमा लिए । उनको शासनकालदेखि औद्योगिकीकरणका काममा सरकारले उनकै निर्देशनमा हात हालेको थियो । आर्थिक बिकासको हरेक आयाममा सरकारले अग्रसरता लिदै आएको थियो । औद्योगिक बिकासका लागि राजा महेन्द्रले नेपालका प्रमुख शहरहरुमा औद्योगिक क्षेत्रको स्थापना गराएका थिए । तर, सानो आयतनमा खुम्चिएको औद्योगिक क्षेत्रबाट बढदो जनसंख्याको आकांक्षालाई पूरागर्ने सम्भावना नै थिएन ।
देशको आर्थिक र औद्योगिक बिकासका लागि निजी क्षेत्रको प्रभावकारी सहभागिता अपरिहार्य रहेको सत्य बिश्वभरि नै स्थापित भएपछि नेपालमा पनि उद्योग र ब्यवसायको बिकासमा निजी क्षेत्रको सहभागिता खोजियो । स्वर्गवासी राजा बीरेन्द्रको समयमा उद्योग–ब्यापारको क्षेत्रमा निजी क्षेत्रको सहभागिता खोजिएको थियो । नेपालको आर्थिक सुधारका लागि बिश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रयत्न गरेका थिए । तर, राजनीतिक वातावरण अनुकूल थिएन ।
२०४६ सालको जन–आन्दोलनले राजाको नेतृत्वमा चलेको निर्दलीय पन्चायत ब्यबस्था खारेज गरेर बहुदलीय प्रजातान्त्रिक ब्यबस्थाको स्थापना गरेपछि उद्योगी र ब्यबसायीहरु उद्योग र ब्यवसायको बिकासमा जुर्मुराएर उठे । उद्योग र ब्यवसायमा हातहाल्न चाहने व्यवसायीहरु सक्रिय भए । सरकारी क्षेत्रका उद्योगहरु धराशायी भैसकेको त्यो अवस्थामा उद्योगी–ब्यवसायीहरु बिभिन्न उद्योगको स्थापनातिर लागे ।
मारुति
यसैक्रममा निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो सिमेन्ट उद्योगका रुपमा मारुति सिमेन्ट उद्योगको स्थापना भएको थियो । उद्योगको स्थापनाबाट जनता रमाएका थिए । सरकारी एकरसता टुटेको थियो । जिल्लामा चूनढुंगा खानीको अभाव थिएन ।
कृषि प्रधान सिरहाको गोलबजार नगरपालिकामा रहेको यो उद्योगसंग जोडिएका गाउँ बस्तीका मानिसहरुले उद्योगबाट आफनो पनि उन्नतिहुने आशाराख्नु अस्वाभाविक थिएन । तर, जुनसुकै उद्योग र व्यवसायका आफनै लक्ष्य र सीमा हुन्छन ।
उद्योग स्थापनाहुने बित्तिकै त्यसको प्रतिफल आउने होइन । तर, कतिपय जन–प्रतिनिधि सबै जनताका लागि सुविधाको अपेक्षा गर्दछन । यो अस्वस्थ्यकर प्रबृत्तिलाई सबैथरि राजनीतिक दलका नेताहरुले बढावा दिने काम गरेको स्पष्ट देखियो ।
मारुति सिमेन्ट उद्योगमा हाल १७५ स्थायी र २ सय जना ज्यालादारीसहित ३७५ जनाले प्रत्यक्ष काम पाएका छन । बस्तीको जनसंख्याको ८० प्रतिशत स्थानीय वासिन्दा उद्योगले सिर्जना गरेका बिभिन्न अवसरबाट लाभान्वित भएकाछन । स्थानीय बासिन्दाहरु आफनो गाउँठाउँमा उद्योग स्थापना भएकोमा खुशी छन । तर, एकातिर उद्योगको स्थापनाले खुशी दिएकोछ भने अर्कोतिर कारखानाबाट निस्किने प्रदूषण उद्योग र जनता दुबैको समस्या बनेकोछ ।
कारखानाबाट निस्किने प्रदूषणले कुखुराहरु मरेको बताउँछन स्थानीय किसानहरु । धूलो र धुँवाबाट स्थानीय जनताले भोग्नु परेको समस्याबाट मुक्तहुन स्थानीय बासिन्दाले प्रदूषण नियन्त्रणगर्ने माँगसहित आन्दोलन नगरेका होइनन । उद्योग र स्थानीय बासिन्दाका बीच प्रदूषण नियन्त्रणका लागि सम्झौता पनि भै सकेको छ । तर, बिश्व नै प्रदूषित भइरहेको अहिलेको समयमा स्थानीय वासिन्दा र स्थानीय उद्योगको प्रयासले मात्र प्रदूषण नियन्त्रित हुन सक्दैन ।
निजी क्षेत्रव्दारा सन्चालित देशकै पहिलो सिमेन्ट उद्योग मारुतिका व्यवस्थापक मनोज श्रेष्ठ बताउँछन : मारुति सिमेन्ट उद्योगको स्थापना जानकी वल्लभ मारुले गरेका थिए । २०४६ मा शिलान्यास भएको यो कारखानाले झण्डै ३ वर्षपछि दैनिक पाँचसय टन सिमेन्ट उत्पादनगर्न थालेको थियो । २०६२ सालमा यो उद्योग नन्दकिशोर राठीले खरीदमात्र गरेनन यसको क्षमता पनि विस्तार गरे । उद्योगमा अहिले २००० टन र १६०० टन उत्पादन क्षमता भएका सिमेन्ट उत्पादन प्लान्ट रहेकोछ ।
उद्योगले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार प्रदूषण नियन्त्रणगर्ने काम गरेको बताउँछन उद्योगका मेकानिकल इन्जिनियर सुनिल कुमार सिंह । उनी भन्छन्, ‘हाम्रो उद्योगले यहाँबाट निस्किने धूलो नियन्त्रणको लागि ४३ विक फिल्टर जडान गरेको छ । यसले उद्योगबाट निस्कने धूलोको कणलाई सोस्ने र पुनः तल झार्ने काम गर्छ ।’
मारुती सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टको गुणस्तरको विषयमा बेला बेलामा आवाज उठी रहेका हुन्छन । २०८० साउनमा सप्तरीका एक उपभोक्ताले मारुती सिमेन्ट उद्योगले आफूलाई ‘ठगेको’ भन्दै मुद्दा हालेका थिए । उद्योगले गल्ती स्वीकार गर्यो र क्षतिपूर्तीदिने सहमति भयो । त्यस अघि २०७८ माघमा पनि मारुति सिमेन्ट उद्योग बिरुध्द गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै कार्वाही भएको थियो । यी घटना ‘लोभ’ र ‘लाभ’को आकर्षणमा परेका राजनीतिक नियामकले गराएका थिए । पछि कारबाही रातारात फिर्ता लिइएको थियो ।
मारुति उद्योगले ५३ र ४३ ग्रेड ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । पथलैया देखि काँकडभिट्टासम्मको बजारमा यसको पहूँच रहेको छ । ‘मारुति सिमेन्टको गुणस्तरसंग स्थानीय उपभोक्ताहरुको खासै गुनासो छैन । एक स्थानीय किसान रामभगत यादव बताउँछन, ‘भर्खर भर्खर ‘सानो पैमाना’मा सिमेन्ट प्रयोगगर्ने हामीलाई मारुति सिमेन्ट राम्रोलाग्छ । पहिले पहिले सिमेन्ट लगाएर घर बनाउने रहर लाग्दथ्यो । हातमा पैसा भएपनि सिमेन्ट पाईंदैन थियो । अहिले त्यस्तो छैन । सिमेन्टको बजारमा थरिथरिको सिमेन्ट पाइन्छन । छानी छानी आफूलाई मनपरेको सिमेन्ट किन्न पाइन्छ । यो कुरा त धेरै सिमेन्ट प्रयोगगर्नेलाई सोध्नु होस न ।’
शौर्यको कथा
सिरहाको कर्जन्हा नगरपालिकामा अवस्थित शौर्य सिमेन्ट उद्योगको उत्पादन क्षमता ३५०० मेट्रिक टन रहेकोछ । बजारमा चलेको मन्दीका कारण उद्योगले क्षमता अनुसार उत्पादनगर्न सकेको छैन । उदयपुरको ग्वालटारमा शौर्यको आफनै चून ढुंगा खानीछ । उद्योगले भारतका सिमेन्ट उद्योगहरुलाई समेत क्लिंकर बिक्रीगर्ने गरेकोछ । क्षमता देशैभरि सिमेन्टको आपूतिगर्न सक्ने भएपनि बजारमा चलेको मन्दीका कारण अहिले यसको बजार कोशी र मधेश प्रदेशमा खुम्चिएकोछ ।
स्थापना हुनुअघि जग्गा कारोबारीहरुले उद्योगलाई जमिन बिक्री गर्ने प्रत्येक किसान परिवारका एक जनालाई रोजगारी दिने, बाटोे, विद्यालय र मठ मन्दिर बनाइदिने जस्ता आश्वासन दिएका थिए । उद्योग चल्न थाल्यो । तर, ती आश्वासन पूरा भएनन ।
कारखानाको निर्माणकार्य शुरु भएपछि बाहिरबाट ‘मजदूर’ आउन थाले । आफ्ना सन्तानले रोजगारी पाउने आशा गरेका स्थानीय किसान अकमक्क परे । सिमेन्ट कारखाना निर्माणका क्रममा बाहिरका दक्ष मजदूर ल्याउनु उद्योगको बाध्यता थियो होला । तर, उद्योग चल्न थालेपछि न सहमति बमोजिम स्थानीय जनताले रोजगारी पाए, न त विद्यालय, मठ मन्दिर नै बन्यो ।
मिर्चैया नगरपालिकाका शम्भु श्रेष्ठ भन्छन : राम्रो रोजगारी पाउने आशामा मैले पनि जमिन बेचेको थिएँ । उद्योग निर्माणको क्रममा स्थानीय कामदारलाई त काम दिइएन नै, उद्योग संचालन भएपछि पनि हामीले काम पाएनौं ।
सिमेन्ट उद्योग रहेको ठाउँमा प्रदूषणको मार रहनु अस्वाभाविक होइन । श्रेष्ठले उद्योगलाई बेचेको बाहेक अझै पाँच बिघा क्षेत्रफलमा रहेको आँपको बगैंचामा औद्योगिक प्रदूषणले फल लाग्न छाडेको उनको भनाइ थियो । उनको भनाइ थियो : एक त प्रदूषणका कारण बोटमा फललाग्न कमी भएकोछ । फलेका थोरै आँप पनि धूलो धुँवाको कारण मैलो देखिन्छ । व्यवसायीले पनि किन्नै मान्दैनन ।
सामुदायिक वन उपभोक्ता महासंघ सिरहाका अध्यक्ष चन्द्रेश्वर साह सिमेन्टदेखि उत्तरतर्फ कर्जन्हामा रहेको मठादेवी सामुदायिक वन उपभोक्ता समूहका सचिव समेत हुन् । समूहले २५८ हेक्टर वन क्षेत्रमा रोपेको आँप, अम्बा, अमला जस्ता फलफूलका बोटमा फल लाग्न छाडेको उनले सुनाए । ‘बगैंचामा मञ्जरी खेल्ने समयमै पात र मुनाहरुमा उद्योगबाट निस्किने धुँवासहितको धूलोको कण टाँसिदा मुना कम पलाउने, मञ्जरी नसप्रिने हुँदा फल नलाग्ने भएको हो ।’
समूहले जङ्गल बिस्तारसँगै पर्यटकीय गन्तव्यको रुपमा विकासगर्न सकिने र फलफूल बिक्रीगरी आम्दानी गर्न सकिने उद्देश्यले बिरुवा रोपेर हुर्काएको भएपनि अहिले आम्दानी दिने बेलामा फल नलाग्ने भएको उनले बताए ।
अध्यक्ष साहले शौर्य उद्योग बिरुध्द आरोप लगाउँदै भने, ‘उद्योगले हाम्रो एरियामा कुनै सुविधा दिएको छैन । केहिदिन अघि वन कर्मचारीहरुलाई वन देखाउन गएको थिएँ, उद्योगले बनाइ दिएको बाटोको ठाउँ ठाउँमा खाल्डाखुल्डी र माटो बगेर जान सक्ने अवस्था रहेपछि हिंडेरै जानु पर्यो ।’
स्थानीय किसानका अनुसार, प्रदुषणले कर्जन्हा १० र मिर्चैया १, २, ४ र ५ वडाका जनता बढी प्रभावित रहेका छन् । उद्योगबाट निष्काशित धुलो धुँवाले अन्न बाली, फलफूल, पशुपंक्षीसँगै माछापालन समेत प्रभावित भएको स्थानीय किसान बताउँछन् । उद्योगबाट निस्केको धुलो पोखरीमा पर्ने हुँदा माछा ढिलो बढ्ने र पानीमा अक्सिजनको कमी भएर मर्नेसम्म हुन थालेको किसानको गुनासो छ ।
स्थानीय नागरिकको दैनिकी प्रभावित हुनेगरी चलिरहेको शौर्य सिमेन्ट उद्योगको उत्पादनको विषयमा पनि आवाज उठ्ने गरेको छ । महोत्तरीको रातु खोलाको पुल निर्माणमा प्रयोग भएको शौर्य सिमेन्ट गुणस्तरहीन भएको भन्दै ठेकेदारको भुक्तानी नै रोकिएको घटनाको विवरण पुल निर्माण कम्पनी विकास एण्ड ब्रदर्श/रामजानकी जेभीका प्रोपराइटर दिवाकर साहले जानकारी दिए । पुलका साइट इञ्जिनियर बीरेन्द्र साहले पुल निर्माण गर्दा कम्प्रेसिभ स्ट्रेन्थ पूरा नभएको सिमेन्टको प्रयोग भएको बताएका थिए ।
नेपालमा औद्योगिक संस्कृतिको निर्माण हुन सकेको छैन । जनताको मनमा परेको छ, उद्योगले थुप्रै धन कमाएका छन । जनताको लागि त्यो धनको उपयोग हुन सकेको छैन । सिमेन्ट जस्तो जटील उद्योगमा लागेका उद्यमीहरुले बेहोर्नुपर्ने झण्झटको कल्पना पनि गर्न सकेका हुँदैनन जनताले । अर्कोतिर, राजनीतिकर्मीहरुको अनाबश्यक दवाव र प्रशासनिक झमेलाबाट पार पाउनु त्यति सजिलो छैन जति सोचिएको हुन्छ । यो सबैको मूल कारण परिष्कृत हुन नसकेको राजनीतिक प्रणाली र त्यसले जन्माएका बिकृतिहरु नै हुन ।
औद्योगिक बिकासको बाटोमा लागेका देशहरुमा प्रायः जनता र ब्यवसायीका बीच कचिंगल चलि नै रहेको हुन्छ । नेपाल त्यसको अपवाद होइन । जबसम्म जनता र उद्योगी–ब्यवसायीका बीच सम्बन्ध सुध्रिदैन तवसम्म देशको बिकास सम्भव हुँदैन । सरकार, ब्यबसायी र जनताका बीच जबसम्म सामन्जस्य स्थापित हुँदैन तवसम्म आर्थिक बिकासको राजमार्गमा देशले छलांगमार्न सक्दैन ।