कांग्रेसमा शेखरको आकर्षण - रुपान्तरण
 २०८२ असार ८, आईतबार    

कांग्रेसमा शेखरको आकर्षण


–ओम आचार्य, विराटनगर
नेपाली कांग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा विधानतः सभापतिमा उम्मेदवार हुन नपाउने भएपछि कांग्रेस भित्र सभापतिका थुप्रै आकांक्षी देखिएकाछन !

विशेष गरेर संस्थापन र संस्थापन इतर पक्षबाट सभापतिका सम्भावित उम्मेदवारका नामहरु चर्चामा आउन थालेकाछन । नेपाली काग्रेस भित्र दुई कार्यकाल सभापति भइसकेका शेरबहादुर देउवा अहिले पार्टीभित्र बलिया देखिन्छन । काग्रेसमा उनको दवदवा छ । तर, पन्ध्रौं महाअधिवेशनपछि कांग्रेसमा भिन्न परिवेशको निर्माणहुन पनि सक्छ ।

देउवामा कांग्रेस सभापतिबाट बहिर्गमन हुदै गर्दा पनि आफ्नो दवाव र प्रभाव निरन्तर होस भन्ने चाहना रहनु स्वाभाबिक हो । यो आकांक्षा र अभिष्ट पूरागर्न देउवाले आफ्नी धर्म पत्नी डा. आरजु राणालाइ काग्रेसभित्र स्थापित गराउने आधार तयार गर्दै आएका छन ।

देउवाले परराष्ट्र मन्त्री वनाएर आरजु राणाको राजनीतिक उँचाइ त बढाएका छन, तर, यत्तिकैमा देउवाको अभिष्ट पूरा हुन सक्दैन । उनी सभापतिबाट बहिर्गमन हुदैगर्दा आफनो समूहबाट विश्वासिलो र भरपर्दो उत्तराधिकारीको खोजीमा लागेकाछन ।
अहिले बिमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु सभापतिका आकांक्षी देखिएका छन । यो समूहमा गगन थापाको नामपनि सभापतिको चर्चामा छ । तर, अहिले संस्थापन समूहभित्रबाट गगनको नाम हराउन थालेको छ । उनले सभापति पदमा निर्वाचन लडने आकांक्षा भने त्यागेका छैनन !

संस्थापन इतरबाट डा. शेखर कोइराला एकल उम्मेदवारको रुपमा चर्चाको शिखरमा छन । गगन थापा संस्थापन इतरबाट उम्मेदवार हुने हुन कि संस्थापन पक्षबाट ? पछिल्लो रणनीतिले उनको राजनीतिक कित्ता प्रस्ट गरेको छैन । वर्तमान अवस्थामा राजनीति अलिक धमिलिएको हुँदा उनको प्रष्ट छवि देखिन नसकेको होला । उनका कार्यकर्ता पनि अहिले द्विविधाग्रस्त मनस्थितिमा छन ।

डा. शेखर कोइराला सुरु देखिनै संस्थापन इतरको नेतृत्व गर्दै आएका छन । पछिल्लो पटक कोइराला अझ प्रखर र कडा हुदै आएकाछन । पार्टी भित्रको विसंगति र विकृति होस या कांग्रेस सम्मिलित गठवन्धन सरकारको संचालनमा देखिएको निराशाजनक शैलि होस, डा.कोइरालाले सबैभन्दा पहिला औला ठड्याउने गरेकाछन ।

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा लपेटिएकोमा होस कि प्रधानमन्त्री केपी ओलीले जेष्ठ १५ गते राजावादीहरुको कार्यक्रमलाई लक्षित गरेर व्यक्त गरेको भाषणहोस, या सरकारलाइ असफल हुने छुट छैन भन्दै ललकारेकोमा होस शेखर कोइरालाको प्रतिक्रिया सधै तीखो रहने गरेको छ ।

‘धर्मको विषयमा जनमत संग्रह गराउन म सक्छु’ भन्दै कमान्ड लिन सक्ने खालको अभिव्यक्ति दिएकाछन शेखरले । कांग्रेस भित्रका अरु नेताहरु कसैले पनि यस्तो स्पष्ट विचार राख्न सकेको देखिएको छैन ।
कांग्रेसभित्र डा.शेखरको उँचाइ एकाएक बढन थालेको छ । अहिले संस्थापनभित्र सभापतिका आकांक्षीहरु सभापतिका अगाडि आफ्नो हातका छाला खुइलिनेगरी मोल्दै छन ।

पछिल्लो समय डा. शेखरको राजनीतिक व्यक्तित्व कांग्रेसभित्रै भारीपर्न थालेको सभापति देउवा समेतमा अनुभुति हुदै आएको छ । देउवा अहिले नै संस्थापनपक्षको सभापतिको उम्मेदवार घोषणा गर्नसक्ने अवस्थामा छैनन । देउवाले भोली डा. शेखर कोइरालालाइ नै कांग्रेसको बागडोर जिम्मा लगाउने मनस्थिति वनाएको पनि हुन सक्छ । यस्तो अनुमान र अडकल स्वयं संस्थापन भित्रकै केही सभापतिका आंकाक्षीहरु समेतले लगाउन थालेका छन !

काग्रेस सभापतिका आकांक्षीहरुमा छिमेकी मित्रराष्ट्रहरुको प्रभाव र दवाब त पर्ला नै, तर त्यो भन्दा बढी प्रभाव नेपाल भित्रकै राजनीतिक दल र त्यस दलका नेता र कार्यकर्ताको पर्नेछ । नेपालभित्र र बाहिरपनि कांग्रेसलाई लोकतन्त्रको रक्षकको रुपमा लिने गरिन्छ । कांग्रेसबाट नै लोकतन्त्रको सुरक्षा हुन सक्छ भन्ने नेपाल भित्रकै अन्य राजनीतिक दलहरुको पनि ठहर छ ।