आजको माओवादी राजनीति - रुपान्तरण
 २०८२ असार २५, बुधबार    

आजको माओवादी राजनीति

सहयोद्धाहरुलाई खरानी बनाएर राजगर्न चाहने ‘राजनेता’


– किशोर नेपाल

हिजोआज माओवादी पार्टीको सर्वोच्च स्थानमा रहनु भएका अध्यक्ष प्रचण्ड राजनीतिक हिसावले ब्यग्र देखिनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीसंग उहाँको मन मिलेको छैन । दुबै बीचको सम्बन्धमा गहिरो तूष स्पष्ट देखिन्छ । तर, बोलचाल यथावत छ ।

नेपाली कांग्रेसका ‘मध्यमार्गी’ सभापति शेरबहादुर देउवासंग उहाँको सम्बन्ध सौहाद्र्रपूर्ण रहेकोछ । त्यो सौहार्द्रता ‘फलदायी’ छैन । नेपाली कांग्रेसका स्वर्गवासी नेता तथा ‘बृहत्त शान्ति सम्झौता’ मार्फत माओवादीलाई मूलधारको राजनीतिमा स्थापित गराउनुहुने गिरिजाप्रसाद कोइरालासंग पनि अध्यक्ष प्रचण्डको सम्बन्ध सुमधूर रहन सकेको थिएन । गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई अघि सारेर प्रचण्डले आफनो वचनफेर्नु भयोे । कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्न दिनु भएन ।

अध्यक्ष प्रचण्डको राजनीतिक र आन्तरिक चरित्र वाहिरबाट जति ‘भब्य’ र ‘सौम्य’ देखिन्छ बास्तबिकता त्यसको विपरित रहेकोछ । नेपाली राजनीतिका अरु धेरै नेताहरुको भन्दा प्रचण्डको राजनीतिक चरित्र बढी नै चन्चल र अबिश्वसनीय छ । पछिल्लो समयमा, यो कुरा सबैले बुझेकाछन ।

माओवादी पार्टीमा प्रचण्डको नेतृत्व सँधै ‘स्थीर’ रहेको देखिन्छ । उहाँको त्यो स्थीरताले आफनै पार्टीलाई ‘अस्थिर’ बनाएको देखिन्छ । राजनीतिको खेललाई गिजोलेर भद्रगोल अवस्थामा पुर्याउन उहाँ ‘बिलक्षण’ हुनुहुन्छ । आपूmले चाहेजस्तो ‘गोल’ हान्ने गज्जबको स्वभाव छ उहाँको । बल गोलमा नछिरेपनि छिरेको सावितगर्न धुरन्धर हुनुहुन्छ प्रचण्ड । उहाँको बिचारमा यो उहाँको ‘गतिशील राजनीति’ हो । भूमिगत जीवनबाट खुला राजनीतिमा आउनु भएपछि उहाँको गतिशील राजनीति चम्किएकोछ ।
प्रचण्डमा आफनो रुप, आफनो कुरा र आफना सम्बन्धहरु फेरिरहने स्वभाव छ ।

नेपालको इतिहासमा आमूल परिवर्तनगर्ने माओवादी पार्टी, परिवर्तनको दशक नबित्दै पलायनको उकाली–ओराली चढदै र ओर्लिदैछ । पार्टी संविधान सभाका लागि भएको दोस्रो चुनावदेखि नै माओवादी पार्टीको यात्रा ओरालोतिर ‘गतिशील’ रहेकोछ । अध्यक्ष प्रचण्डलाई यो कुराको ज्ञान नभएको होइन । तर, उहाँले आँखा चिम्लिनु भएकोछ । अध्ययनशील प्रचण्डले लेनिन र माओका रचनाहरु नपढनु भएको होइन । तर, उहाँमा न त लेनिनको जस्तो बिलक्षणको बिश्लेषण क्षमता छ, न माओको जस्तो युगान्तकारी परिवर्तनको हुटहुटी ।

राजतन्त्रको समाप्तिसंगै जनयुध्दले बिश्राम लिएपछि प्रचण्डलाई लाग्यो – राजा हटिसके । राजाको ठाउँमा मेरो अवतरण भएकोछ । अब सारा जनता मेरै पछाडि उभिएर मेरो जयजयकार गर्नेछन । परिवर्तनलाई अब कसैले उल्टो धक्कादिन सक्दैन । उहाँले बुझनु भएन – परिवर्तनपछि बिकासको आशामा बाँचेका सीधासाधा जनता लामो समय पर्खिने मनस्थितिमा हुँदैन ।

एकताका प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (मशाल) का महामन्त्री हुनुहुन्थ्यो । त्यो बेला कम्युनिष्टहरु दाउपेचको राजनीति खेल्दथे । त्यही समयदेखि दाउपेचको राजनीतिमा लाग्नु भएका प्रचण्डले माओवादी केन्द्रको अध्यक्षसम्म आइपुग्दा झण्डै ४० बर्ष पार्टीको मूल नेताको रुपमा कामगर्नु भएकोछ । तै पनि, नेतृत्वमा रहने उहाँको ‘भोक र प्यास’ मेटिएको छैन ।

प्रारम्भमा, प्रचण्डले बंशबादका विरुद्ध समाजबादको झण्डा उठाउनु भएको थियो । नेपालमा उथलपुथलपूर्ण विद्रोहको नेतृत्व गर्नु भएका प्रचण्डसंग सोझा नेपाली जनताको ठूलो अपेक्षा थियो । संविधानसभाको पहिलो ब्यालेटमा अभिव्यक्त भएको जनताको त्यो अपेक्षा पूरा भएन । बदलिँदो समय अनुसार, सामान्य नागरिकले आफ्ना असन्तुष्टिहरुको ‘लेबल’ बढाउँदै लगे । तर, ती आकाँक्षाहरुको संबोधनगर्न प्रचण्ड गम्भीर बन्नु भएन । बिद्यमान बंशबादको बिरोध तुहियो । प्रचण्डले बिस्तारै आफ्नै बंशवादको स्थापना गर्नुभयो र आफन्तजनको ‘माखे सांगलो’ मा बेरिनु भयो । अहिले पनि, उहाँ पूर्वदेखि पश्चिमसम्म, परिवार र आफन्तजनहरुको किल्ला गाडेर, पार्टीलाई बंशवादी संस्थाका रुपमा विकसितगर्ने धूनमा लाग्नु भएकोछ । यो भनाइ मेरो होइन, परिवर्तनको युध्द लडेर आएका माओवादीका चेतनशील कार्यकर्ताहरुको भनाइ हो ।

माओवादी पार्टीभित्र विगतमा भएका भीषण अन्तरसंघर्षले देखाएकोछ – सत्ताको मामिलामा प्रचण्ड निर्मम हुनुहुन्छ । कम्युनिष्ट राजनीतिभित्रका घात–प्रतिघात बुझेका बुध्दिजीवीहरु भन्दछन – मोहन विक्रम सिंह, निर्मल लामा र रुपलाल विश्वकर्माहरु बिरुद्ध निर्णायक प्रहार गरेर उनीहरुको राजनीतिलाई खुम्च्याएपछि प्रचण्डको ख्याति चुलिएको थियो । दोस्रो राउण्डमा, जन–युध्दको मध्यकालतिर, उहाँले मोहन बैद्य, रामबहादुर बादल र बाबुराम भट्टराईलार्ई ‘युद्धका लागि अनुपयुक्त भएको’ सर्कुलर गर्नुभयो । त्यो युध्दकाल थियो । युद्धकालमा युद्धका विरोधीलाई कसैले रुचाउने कुरा हुँदैन । त्यसैले पनि, ती नेताहरु प्रचण्डबाट डामिएर पनि चूपचाप बसे ।
शान्ति प्रक्रिया शुरुभएर टुंगोमा पुग्नेबेलामा प्रचण्डले ती सबैलाई पार्टीबाट बिदा गरिदिनु भयो । त्यही बीचमा, कुनै समय आफैले आफनो ‘संभावित उत्तराधिकारी’ तोक्नु भएका युवा नेता यानप्रसाद गौतम ‘आलोक’ प्रचण्डकै आदेशमा सकिए । रबीन्द्र श्रेष्ठहरुको पत्तासाफ भयो । बिप्लवहरु किनारा लागे ।

यतिबेला प्रचण्ड आफूले ‘नेसेसरी इभिल’ का रुपमा सुरक्षित राख्नु भएका दुइ युवा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र बर्षमान पुनलाई निशाना बनाउन ब्यग्र देखिनु भएकोछ । उहाँका आफ्नै योजना होलान । पहिलो संघर्षमा ज–जसलाई प्रचण्डले कुल्चिनु भएको थियो, त्यसले उहाँको ‘साख’ बढाएको थियोे । दोस्रो पटक कुल्चिएकाहरुबाट प्रचण्डलाई संगठन र राजनीतिमा संख्यात्मक र गुणात्मक दुबै हिसावले निकै ठूलो घाटा भयो । हाल प्रचण्डको तेस्रो प्रहारपछि माओवादी आन्दोलन चरम संकटको बाटोमा लागेकोछ । अब, चौथो प्रहारमा जनार्दन, बर्षमान लगायतका नेताहरु छिमलिएभने प्रचण्डकै नेतृत्वमा माओवादी पार्टी बिसर्जनतिर लाग्नेछ ।

प्रचण्डका पछिल्ला प्रहारहरु आफना ब्यक्तिगत आकांक्षामा हुने अवरोधको आशंकाले निम्त्याएका नकारात्मक निर्णय हुन् । आफूभित्र अनावश्यक त्राश, आशंका र काल्पनिक असुरक्षाको छायाँ खडा गरेर पार्टीका गतिशील नेता र कार्यकर्तामाथि जाइलाग्ने कुरा स्वयं प्रचण्ड, माओवादी पार्टी, आम कार्यकर्ता र शुभचिन्तक– सबैका लागि दुर्भाग्यपूर्ण हो ।

आजीवन पार्टी नेतृत्वमा रहिरहने प्रचण्डको प्यास र मूल नेतृत्वको सोपानमा आफुलाई पनि प्रस्तुतगर्न खोज्ने जुझारु माओवादीहरुका बीच विगतमा पनि डरलाग्दा टकरावहरु नभएका होइनन । आफ्नो युवा उमेरमा मोहनविक्रम सिंहलाई पछारेर मोहन बैद्यको शिबिरमा पुग्नु भएका प्रचण्डले ‘सेक्टर’ काण्ड देखाएर मोहन बैद्यलाई नरम हिसावले किनारा लगाइ दिनुुभएको थियो । एकता केन्द्र र मशालहुँदै माओवादी पार्टी गठन गर्नु भएका प्रचण्डले पार्टीमा मूल नेतृत्वको आकाँक्षा राख्ने डा.बाबुराम भट्टराईको टाउकोमा युद्धकालभरी ‘सुधारबादी’ भएको बैचारिक आरोपमात्र लगाउनु भएन, उहाँको घाँटीमा ‘भारतपरस्त’ को ‘ट्याग’ समेत झुण्ड्याइदिनु भयो । प्रचण्डको त्यही रणनीतिक चलाखीलाई शुरुबाटै चिर्न नसक्दा माओवादी आन्दोलनको हस्ती हुँदा हुँदै पनि डा. भट्टराई सधैंभरी सन्देह र संशयको घेरामा रहनु परयो । गएको चुनावमा डा. भट्टराईले प्रचण्डलाई गोरखाको आफनो निर्वाचन क्षेत्र अर्पण गर्नुभयो । तैपनि, डा. भट्टराई माओवादी पार्टीको संस्थापन बन्न नसकेरै बाहिरिनु भयो ।

‘जडसूत्रबादी, परम्परावादी र राजनीतिक गतिशीलता बुझ्न नसक्ने’ आरोप लगाएर बैद्यलाई बिस्तारै निरुत्साहित तुल्याउनु भयो प्रचण्डले । कस्तो प्रहारले बैद्य पार्टीबाट बाहिरिनेछन् भन्ने बुझ्नु भएका प्रचण्डले बैद्यको सैद्धान्तिक समझको बिरोधमा सांगठनिक शक्तिको प्रयोग गर्नुभयो । कालान्तरमा बैद्य प्रचण्डको नेतृत्वबाट वाहिरिनु भयो । युद्धकालभरी पटक पटक आपूmमाथि लागेको ‘लिन प्याओ’ को आरोप पचाएर पार्टीमा बस्न बाध्य भएका रामबहादुर बादल प्रचण्डकै रक्षामन्त्री भएपछि पनि ‘व्यवहार नमिल्दा’ प्रचण्डबाट अलग हुनुभयो । युद्धकालदेखि नै सी.पी. गजुरेललाई किनारा लगाउँदै आउनु भएका प्रचण्डले शान्ति प्रकृयापछि सत्ताको ‘न्यायपूर्ण भागवण्डा’ गर्ने कुरै थिएन । प्रचण्डको लगातार पेलाईमा परेर आजित गजुरेल प्रचण्डबाट अलग्गिनु भयो ।

उता, ‘भारतसंग सुरुंग युद्धगर्ने’ नारा सहित रोल्पा फर्किएका प्रचण्डको ब्यवस्थापनमा खटन–पटनगर्ने विप्लवले रबीन्द्र श्रेष्ठसंगको हिमचिमकै कारण २०६४ मा चुनाब क्षेत्र पाएनन् नै, पार्टी संगठनको जिम्मेवारीमा पनि आधार–इलाकाबाट सुदुरपश्चिमतिर लखेटिए । बिप्लव प्रचण्ड विरुद्ध कडा रुपमा प्रस्तुत भए । अन्ततः प्रचण्डले पेलेका बैद्य, बादल र बिप्लवसंगै पार्टीको ठूलो हिस्सा चोइटियो । प्रचण्डका पुराना कार्यालय प्रमुख प्रशान्त, कुनै समयका ‘स्टाफ’ धर्मेन्द्र बाँस्तोला, इन्द्र मोहन सिग्देल लगायत थिए । उनका केही सहयोगी फर्किए पनि अधिकाँश सहयोद्धाहरु संभवतः कहिल्यै नफर्किने मन बनाएर बसेका छन् ।

के माओवादी पार्टी प्रचण्डको मात्रै हो ? कुनै पनि निःस्वार्थ माओवादीले यो पार्टी एक व्यक्ति, एक परिवार, एक गुट र एक शक्ति वा एक उन्मादको जिम्मा लगाउन सक्दैन । लामो संघर्षमा होमिएका नेता र कार्यकर्ताहरु माओवादीलाई राजनीतिक संस्थाका रुपमा मान्दछन । कुनै कर्पोरेट घरानाको आर्थिक लगानी रहेको वा कुनै बिलक्षण प्रतिभाको ‘माइन्ड गेम’ ले बनेको ‘साम्राज्य’ होइन ।

यो पार्टीको निर्माणमा एकै घरबाट आधा दर्जन मानिसहरुले बलिदान दिएका बग्रेल्ती रेकर्डहरु छन् । अहिले तन्नेरी उमेरबाट बुढेशकालमा प्रवेशगर्न लागेका माओवादीहरु प्रश्नसोध्न थालेका छन – के यो पार्टी ती शहीद परिवारको होइन ? जसले तोते बोली नफुट्दै आफ्ना बा आमा गुमाएका थिए, के यो पार्टी ती शहीद सन्ततिहरुको होइन ? यो पार्टीको निर्माणमा दूधे बालकदेखि बयोवृद्धसम्मले बलिदान दिएका छन् । के यो पार्टी उनीहरुको बिचार र आदर्शको सीमा बाहिर जान सक्छ ? अनगिन्ती कार्यकर्ताले जेल–नेल, यातना, प्रताडनाको सामना गरे । कतिपय अहिले पनि गुमनाम छन् । के उनीहरुको मौनता उनीहरुको पराजय हो ? घाइते र अपांगहरु एक प्रकारले ‘रिंग आउट’ जस्तै छन् । के उनीहरुको बिचारको मूल्य र महत्व छैन ? माओवादी नेतृत्वमाथि यी यक्ष प्रश्न खडा भएकाछन् । कुनैपनि व्यक्तिले प्राइभेट लिमिटेड कम्पनी खोलेर आफ्नो आर्थिक साम्राज्य खडा गर्नसक्छ । तर, राजनीतिक पार्टी संगठन र सामाजिक आन्दोलनहरु सामूहिक नेतृत्व, त्याग, बलिदान, समर्पण तथा शत्रुपक्षमाथि भीषण र निर्णायक प्रहारको जगमा खडा भएको हुन्छ । यसर्थ पार्टी कुनै एक व्यक्तिको ठेक्का हुन सक्दैन ।

बेलाबेलामा अध्यक्ष प्रचण्ड प्रत्येक नेतालाई आपूmले ‘बनाएको’ दाबी गर्नुहुन्छ । तर प्रचण्डलाई ‘प्रचण्ड’ बनाउन उनीहरुले गरेको त्यागलाई बिर्सिनुहुन्छ । ‘चालीस बर्षसम्म नेतृत्वमा प्रचण्ड अनवरत रहने र अरुले व्यक्तिवादी र महत्वकाँक्षीको आरोप खेप्नुपर्ने ! गण्डकी प्रदेशका एकजना माओवादीले ‘नाम उल्लेख नगरी दिनुहोस है’ भन्दै बताए : ‘बडो बिचित्रको भाष्य खडागर्ने चलन छ हाम्रो पार्टीमा । बलिदानको कोटा चुक्तागर्ने, बर्ग संघर्षमा शत्रुमाथि निर्णायक प्रहारगर्ने र पराजयहरुलाई बिजयमा बदल्ने नेता कार्यकर्ताको अपमानगर्ने काम आफ्नै संस्थाको प्रमुखबाट हुने । सहयोद्धाहरुलाई खरानी बनाएर राजगर्ने चाहने ‘राजनेता’
यो कस्तो बिडम्वना भोग्दै छौं हामी !’