एउटा असल मानिसको सम्झना - रुपान्तरण
 २०८२ कार्तिक २१, शुक्रबार    

एउटा असल मानिसको सम्झना

वीपी जयन्ती बिशेष


-किशोर नेपाल  

‘रोमान्टिक रेभोलुशनरी’ सन पचासको दशकका एशिया र युरोपका बुध्दिजीवीहरु वीपीलाई यसरी नै चिन्दथे । त्यतिवेला उहाँ स्वतन्त्रताको साधना गर्नुहुन्थ्यो । जन–जनको मनमा क्रान्तिको चेतना जगाउनु हुन्थ्यो ।

एशियामा अभूतपूर्व परिवर्तनको लहर चलेको त्यो समयमा एशियाका ठूला–साना सबै राष्ट्रका जनता लोकतान्त्रिक समाज, लोकतान्त्रिक समाजवाद र ब्यक्तिको सार्वभौम र स्वतन्त्र अस्तित्वको खोजीमा थिए । ‘इण्डिया’ देखि इण्डोनेशियासम्म, बर्मादेखि चीनसम्म स्वतन्त्रताको नारा समवेत स्वरमा गुँजिइ रहेको थियो । नेपालमा स्वतन्त्रताको त्यो आवाज अत्यन्त प्रभावशाली ढंगले घन्काउने नेता हुनुहुन्थ्यो – वीपी कोइराला ।

वीपी २००७ सालको क्रान्तिका निर्विवाद र सफल रचनाकार हुनुहुन्थ्यो जसले नेपालमा जनतालाई लोकतन्त्रको महत्व बुझाउनुमात्र भएन – विदेशी जनमतका बीचमा समेत नेपालमा लोकतन्त्रको आवश्यकतालाई स्थापित गर्नुभयो । सातसालको क्रान्तिले नेपालमा प्रजातान्त्रिक शासन ब्यबस्थाको स्थापना त भयो, तर त्यसको प्रयोग छोटो समयका लागि मात्रै भयो । सातसालको क्रान्तिपछिको अर्को सातबर्ष नेपाल अस्थिरताको भुमरीमा फस्यो । २००७ सालको क्रान्तिको परिणाम २०१५ सालमा मात्रै देखियो जव राजा महेन्द्रले संसदका लागि चुनाव गराउन बाध्य भए । चुनावमा वीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले पूर्ण वहुमत प्राप्त गर्यो । तर, राजा महेन्द्रले त्यसपछि बनेको नेपाली कांग्रेसको सरकारलाई २०१७ साल पुस एकगते अठार महिनामा नै बिघटन गरे ।

तर, लोकतन्त्रका लागि संघर्ष रोकिएन । विद्रोहका अनेक प्रयोगहरु भए – हिंसात्मक, अहिंसात्मक, बौध्दिक, सांस्कृतिक र कलात्मक । बढदो जन–दवावलाई थेग्न राजा बीरेन्द्रले २०३६ सालमा सुधारिएको पन्चायत ब्यबस्था र बहुदलीय प्रजातन्त्र बीच कुनै एक शासन ब्यबस्था रोज्न जनमत संग्रहको घोषणा गरे । वीपीले बहुदलीय पक्षको नेतृत्व गर्नुभयो । चुनावमा झीनो मतले वहुदलीय पक्षको पराजय भयो ।

यसपछिको समयमा वीपी बिरामी हुनुभयो । उहाँको राजनीतिक सक्रियता रहन सकेन । २०३८ सालमा एउटा असल मानिसको निधन भयो ।

देहावशानपछि पनि वीपीले शुरुगर्नु भएको संघर्षमा कतै विराम लागेन । लोकतन्त्र स्थापनाको लक्ष कतै टुटेन । वीपीको निधनको आठबर्ष पुग्दा नपुग्दै अन्ततः २०४६ सालको बृहत्त जन–आन्दोलनले राजाको एकाधिकार तोड्यो । देशमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो ।

त्यसपछिका घटनाक्रमहरु त हाम्रा अगाडि सावूत नै छन ।
देश गणतन्त्रमा प्रवेश गरेको पनि दुइ दशक बिति सकेकोछ । तर, अहिले पनि, वीपीको सिध्दान्त र जीवन–दर्शनको सान्दर्भिकता उत्तिकै रहेकोछ !