- किशोर नेपाल
आज भदौ ४ गते । नेपाली कांग्रेसमा समाजवादी धारका नेता प्रदीप गिरिको नाममा अचानक चहल–पहल बढेको छ । उहाँ दिवंगत हुनु भएको तेस्रो बर्षमा उहाँको सम्झनामा औपचारिक–अनौपचारिक कार्यक्रमहरुको आयोजना गरिएकोछ । यद्यपि, नेपाली कांग्रेसको केन्द्रीय समितिले गिरिको स्मृति दिवसमा कुनै कार्यक्रम आयोजना गरेको थाह भएन । तर, कांग्रेसी बृत्तमा रहेका सबैमा प्रदीपदाइ प्रति उमडिएको यो ‘श्रध्दा’ देखेर मन उत्पूmल्ल भएकोछ । स्मृति–कार्यक्रमहरुका सबै आयोजकहरुलाई हार्दिक धन्यवाद दिन मन लागेकोछ ।
मलाइ थाह छ : यी स्मृति समारोहहरुमा प्रदीप गिरिका विचार–चिन्तनका बारे खासै चर्चा गरिने सम्भावना निकै कम छ । गिरिको राजनीतिक दीक्षा नेपाली कांग्रेसमा भएपनि, चिन्तन र बिचारका हिसावले, उहाँ पार्टीभित्र सँधै अलगधारमा रहनु भयो । उहाँले समाउनु भएको अलगधारबाट कसैले पनि उहाँलाई हल्लाउन सकेन । उहाँ बीपी कोइरालाका बिचारहरुका सम्यक अनुयायी हुनुहुन्थ्यो । बीपीका बिचारहरुको आलोचनात्मक हिसावले संश्लेषण र बिश्लेषणगर्न उहाँ कहिल्यै चुक्नु भएन । यस्तो साहस प्रदीप गिरिमा मात्रै थियो । त्यसैले पनि, बीपी स्वयं उहाँका प्रशंसक हुनुहुन्थ्यो ।
प्रदीप गिरिको ब्यक्तित्व गतिशील त थियो नै, उहाँ सामाजिक र राजनीतिक शास्त्रको गम्भीर अध्येता हुनुहुन्थ्यो । उहाँको ब्यक्तित्वमा बैचारिक निरन्तरता समेटिएको थियो । उहाँको जीवन अस्तब्यस्त थियो । तर, त्यो अस्तब्यस्त जीवनका बीच उहाँको बिचारयात्रा नदीको संग्लो पानी जस्तो सललल बगेको थियो ।
नेपालको परिवर्तित राजनीतिक बिकासक्रम र उहापोहलाई ध्यानमा राखेर प्रदीप गिरिको मूल्यांकनगर्नु निकै कठिन छ । मानव समुदायमा सामाजिक चेतना बिस्तारको प्रसंगमा उहाँको भनाइ थियो – कुनैपनि ब्यक्ति वा नेता सबैका लागि सम्मानित र स्वीकार्य हुँदैमा लोकतान्त्रिक समाजवादी अवधारणाको प्रतीक हुन सक्दैन । नीति, आचरण र सिध्दान्तको अवधारणामा अडीग रहनसक्ने ब्यक्तित्वले मात्र देशलाई लोकतान्त्रिक समाजवादको बाटोमा अघि बढाउन सक्दछ ।
प्रदीप गिरि भन्नुहुन्थ्यो : राजनीतिगर्ने मानिसहरुमा गतिशील बिचार भएरमात्रै पुग्दैन । गतिशील बिचारको निरन्तरता र बैचारिक प्रयोगका लागि नेता निरन्तर लाग्नु पर्दछ । अहिलेको समयमा संसारमा ‘लिंगोदर’ सभ्यताको आयतन बढेकोछ । संसारका प्राय सबैजसो मानिसहरु आ–आफनो साना स्वार्थमा लिप्त रहेकाछन । तर, यो अवस्था धेरै समयसम्म टिक्दैन । अहिले सत्य छोपिएको छ । तर, त्यो सँधै छोपिएर रहन सक्दैन । इतिहास निर्मम हुन्छ । इतिहासले कसैप्रतिपनि अन्याय गर्दैन । सत्य सम्पूर्ण हुन्छ ।
प्रदीप गिरि मानिसको प्रतिष्ठा र आत्म–सम्मानमा धक्का दिनुहुँदैन भन्ने मान्यतामा सँधै अडीग रहनु भयो । उहाँ आफनो पार्टी नेपाली कांग्रेससंग लामै समयसम्म व्दन्द र विवादको स्थितिमा रहनु भयो । तर, पार्टीप्रतिको उहाँको बिश्वास र आस्था कहिल्यै डगमगाएन ।
मेरो बाल्य जीवनमा नै मलाइ लोकतान्त्रिक समाजवादी बाटोमा हिंडन उत्प्रेरितगर्ने प्रदीप दाइसंग मैले उहाँको महाप्रयाणभन्दा केही समय अघि लिएको अन्तर्र्वार्ताको सानो अंश यहाँ प्रस्तुत गर्दैछु । उहाँको यो विचारले अहिलेका सामाजिक र राजनीतिक समस्याको समाधानमा सहयोग पुर्याउन सक्दछ ।
“मानिसको सबभन्दा प्रिय वस्तु भनेको उसको ज्यान हो । मानिस मात्रै होइन, प्राणी मात्रको । सामान्य भोक, तृष्णा त कुकुर, बिरालो सबैको उही हो । प्राणीहरू ज्यान बचाउन जुनसुकै संघर्ष र प्रतिकारगर्न पनि तयार हुन्छन् । हो, उनीहरूमा चेतनाको अभाव हुन सक्छ । राज्य र सञ्चार–माध्यमले मानिसलाई चेतना र ज्ञान दिने हो । चेतनाको प्रसार नगरी जनताको ज्यू धनको जिम्मा लिनु राज्यले चालेको हास्यास्पद कदम हो । वास्तविकता यही हो यतिबेला, न कुनै वामदेव, न कुनै रामदेवले अहिले देशको प्रमुख समस्या बुझ्न सकेका छन । एउटा क्रान्ति भयो । ठीक छ । संसदीय लोकतन्त्र आयो । त्यतिले पुगेन र गणतन्त्र पनि आयो । तैपनि आजसम्म राज्यको संरचनामा कुनै रूपान्तरण भएको छैन । चलन–चल्तीको शब्दमा भन्ने हो भने राज्यसत्ताको हस्तान्तरण त भयो, राज्यको रूपान्तरण भएको छैन । बारम्बार संघर्ष, क्रान्ति, विद्रोह भइसक्दा पनि किन हुन सकेको छैन राज्यको रूपान्तरण ?
सत्रौ–अठारौ शताब्दीमा बेलायत र फ्रान्सबाट शुरु भएका कतिपय राजनीतिक विचारधारा तेस्रो विश्वका लागि बिलकुलै उपयुक्त छैनन् । अहिलेसम्म पनि हामी ती विचारधाराबाट अगाडि बढ्न सकेका छैनौँ । एशियाली परिस्थितिलाई साँचो अर्थमा बुझेर मौलिक परिवर्तनगर्न खोजेका थिए महात्मा गान्धीले ।
कार्ल माक्र्सले संसदीय व्यवस्थाको कडा आलोचना गरेका छन् । तर, त्योभन्दा पनि गम्भीर भाषामा गान्धीले आलोचना गरेका छन् । गान्धीले भनेका छन् : राज्यको सम्पूर्ण शक्ति जनतालाई दिनुपर्छ । शक्ति गाउँपालिकामा जानुपर्छ । केन्द्रले गाउँलाई सत्ता दिने कुरै छैन । सत्ता त गाउँको हो । गाउँलेले नै त्यो सत्ता केन्द्रमा दिने हो ।
मुख्य कुरो के हो भने पाँच वर्षमा एकपटक चुनाव भएर ल सरकार बनाऊ भने । चुनाव पनि कस्तो त भने कि फलानो फाल कि फलानो साथ राख — बिकल्प यी दुइटा मात्रै छन् । यो पूँजीवादी व्यवस्थाको सबभन्दा ठूलो परिचय हो ।
बजारमा सीमित उपभोग्य सामग्री छन् । जसरी उपभोक्ता ती सामग्री किन्न बाध्य छ, त्यसरी नै हामी पनि राजनीतिक स्वतन्त्रताको नाममा दुइटा वा तीनवटा पार्टीमध्ये एउटालाई रोज्न अभिशप्त छौं । बेलायतमा पनि यही देखिएको छ । त्यहाँ कि लेबर छन् कि कन्जरभेटिभ छन् । अमेरिकामा पनि यस्तै छ । संसारका सबै मुलुकमा बेलाबेलामा झिनो स्वरमा आवाज उठ्ने गरेको छ : जनप्रतिनिधिलाई फिर्ता बोलाउन दिइनुपर्छ ।
तर, जनप्रतिनिधिलाई फिर्ता बोलाउने अभिक्रम कहीँ शुरु भएको छैन ।
नेपालले अहिले जनप्रतिनिधिलाई फिर्ता बोलाउने प्रस्ताव संविधानमा राख्ने हो भने विश्वका लागि नै यो एउटा सबक हुनेछ । मुख्य कुरा, राजनीतिमा लागेका मानिसले जनता भनेको बर्षेनी नागपञ्चमीको दिनमा पूजा गरिने सर्प होइनन् भन्ने बुझ्नुप¥यो ।
वर्षमा एक पटक हिन्दूहरूले कुकुर, बिरालो, काग र सर्प सबैको पूजा गर्छन् । पाँच बर्षमा एकपटक नेताले पनि जनताको पूजा गर्दछन । अब, जनताले पनि यो कुरा बुझनु पर्यो : त्यसरी पाँचबर्षमा एकपटक पूजा गरेकै भरमा जनताले चित्त बुझाउनु जनताको कमजोरी हो ।”