स्वतन्त्रताका लागि जेन्जी - रुपान्तरण
 २०८२ मंसिर २९, सोमबार    

स्वतन्त्रताका लागि जेन्जी


–रुचि श्रेष्ठ

बिकसित देशहरुमा जेन्जी भनेर छुट्याइएका तीस बर्ष मुनिका युवा पुस्तालाई कार्यक्षेत्रमा दक्ष, सक्षम र सक्रिय बनाउने चिन्ता र चिन्तन चलिरहेको समयमा हाम्रो देशको जेन्जी पुस्ताले आन्दोलनको हुरी चलाएर मानसिक रुपले असमर्थ भै सकेका ब्यक्तिहरुको खटन–पटनमा चलेको भ्रष्ट राजनीतिक सत्ता उल्ट्याइ दिएकाछन । जेन्जी पुस्ताले एक पटक फेरी देशमा परिवर्तनको आँधी–बेहरी सिर्जना गरेर नेपालको इतिहासमा विद्रोहको नयाँ अध्याय लेखेकाछन । परिवर्तनप्रति नयाँ पुस्ताको बिश्वास स्थापित गरेर जनताको मनमा भरोसा जगाएका छन ।

जहिले पनि र जुनसुकै समाजमा पनि परिवर्तनको संवाहक युवा पुस्ता नै हुन्छ । बिगत साता नेपालमा वृहत आर्थिक र राजनीतिक परिवर्तनको मांगगर्दै आँधीबेहरी ल्याउने युवा नै हुन ।

नेपालका जेन्जी पुस्ता बिकसित देशका जेन्जी पुस्ता भन्दा कति फरक छन ? यिनीहरुमा के समानता छ ? यो बिषयको अध्ययन भविष्यमा अवश्य नै हुनेछ । तर, आज युवा पुस्ताले, नेपाली युवाले, आन्दोलन र सत्ता परिवर्तनको आँधीसँगै देशको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी वरण गरिसकेकाछन । जानी–नजानी युवा पुस्ताले परिवर्तनको आँधीलाइ राज्य निर्माण गर्ने शक्तिमा परिणतगर्ने उत्तरदायित्व बोकी सकेकाछन ।

नेपाली युवाको अहिलेको सबैभन्दा ठूलो चुनौति अरुको बिश्वास जित्नु थिएन । आफूभित्र, आफनै आत्मबिश्वास जगाउनु थियो । उनीहरुले आफूहरुमा चुनौतिको सामनागर्ने क्षमता सावितगर्न विद्रोहको बाटो समातेका थिए ।

हिजोका दिनमा घरमा बेलुका के तरकारी पकाउने, भात खाने कि रोटी खाने जस्ता सामान्य निर्णयसम्म लिन नपाउने संस्कारमा हुर्केका युवा अबका दिनमा सरकार बनाउन र राज्य संचालनका विधिहरुको निर्माणमा जुटनु पर्नेछ । राज्यका प्रत्येक बिषयमा आफ्नो बिचार निर्माण गरेर राज्य संचालनमा हिस्सा लिनु पर्नेछ । बा–आमा, काका–काकी, मामा–माइजु भन्दा फरक आफ्नो बिचारलाई तर्कका साथ स्थापित गर्नुपर्नेछ । देशको आर्थिक र सामाजिक बिकासका लागि राजनीतिको प्रयोगगर्ने शीपको बिकास गर्नुपर्नेछ जेन्जी पुस्ताले ।

बृद्धतन्त्रको जन्जालमा राजनीतिक दल र राज्यप्रणाली मात्र गुजुल्टिएको होइन, नेपाली समाजमा स्थापित भएका परिवार–परिवार बीचका आपसी सम्बन्धहरु नै गुजुल्टिएका छन । युवा पुस्ताले स्वतन्त्रता र स्वच्छन्दताको चाहना राख्नु उनीहरुको नैसर्गिक गुण हो । तर, युवा पुस्ताको चाहनालाई समेटेर, उनीहरुको आत्म–बिश्वास बढाएर, उनीहरुलाई सृजना र शक्तिका रुपमा प्रयोगगर्ने साहस हाम्रो राज्यप्रणाली र त्यसका संचालकका रुपमा रहेका राजनीतिक दलका नेतृत्वले अहिलेसम्म देखाउन सकेका छैनन ।

युवा पुस्ताले बा को जनै र आमाको पच्छ्यौरामा अड्किएको आफ्नो स्वतन्त्रताको साँचो चुडालेर घरबाट त निस्केलान रे । तर, त्यसरी निस्केपछि युवाले आफना लागि अवसरको खोजी कहाँ गर्ने ? पढाइ खर्चको जोहो कसरी गर्ने ? भात कसरी खाने ? राज्यले न पर्याप्त रोजगारको सिर्जना गरेको छ, न आफै रोजगारी सुरुगर्न सहयोग नै दिएकोछ । तै, कसो, बिदेशी रमझमको हावा लागेका बा–आमाले जनैमा अडकाएर राखेको साँचोले ढुकुटी खोलेर छोरा–छोरीलाइ बिदेश जाने खर्च दिन्छन र युवाहरुको एउटा वर्ग विदेशजान पाएकोछ । ती सबै युवा बिश्वबिद्यालयमा उच्चशिक्षा ग्रहणगर्न र संसारभरि नेपालको नाम चिनाउन बिदेश गएका छैनन । तर, युरोप, अमेरिका र अस्ट्रेलिया जादैगरेका प्रत्येक युवाको आँखामा स्वतन्त्रताको चमक देखिन्छ ।

जेन्जी युवा पुस्ताको अर्को जमात यस्तो पनि छ, जो घरमा पकाउन दाल चामल नभएर बिदेशिइरहेका छन । स्वतन्त्रता उनीहरुको लागि पनि यूरोप, अमेरिका र अष्ट्रेलिया जानेहरुका लागि जत्ति नै प्यारो छ । तर, पैसा कमाउन बिदेश जाँदैगर्दा उनीहरुको आँखामा स्वतन्त्रताको चमक देखिदैन ।

अहिलेको परिवर्तनले नेपाली युवा पुस्ताका यी दुबै जमातलाई समान रुपले सम्बोधन गर्न सक्नु पर्दछ । संबिधानमा लेखेर मात्र जनताको सार्वभौम शक्ति र स्वतन्त्रता स्थापित हुन सक्दैन । आजको नेपाली युवाले निर्वाध स्वतन्त्रताको प्रत्याभूति चाहेकोछ ।