खरानी पर्याप्त छैन, नेपालमा फिनिक्स उड्दैन ! - रुपान्तरण
 २०८२ कार्तिक २१, शुक्रबार    

खरानी पर्याप्त छैन, नेपालमा फिनिक्स उड्दैन !


– राजेश मिश्र

नेपाली सेनाको एउटा बटालियनमा अपरेशनको आकार हेरेर केही सय देखि एक हजार सम्म सैनिक र हतियार हुन्छन् । रास्वपा नामको लोकरंजक अवसरवादी झुण्डका सभापति कीर्ते परिपत्रका आधारमा नख्खुबाट “मुक्त” भएपछि त्यो कारागार त प्रशासनको नियन्त्रणबाट बाहिर पुग्यो नै, मुलुकभरीका बाह्र हजार भन्दा बढी प्रमाणित अपराधीहरु उनलाई पछ्याउँदै फरार भए । जेनजी आन्दोलनको दुरुपयोगको यो एक पराकाष्ठा थियो ।

नख्खु जेलबाट फरार कैदीहरु जेनजी आन्दोलनको आवरणमा राजधानीका प्रहरी चौकीहरु लुट्न जाँदा नेपाली सेना मूक दर्शक हुन रुचायो ! किन ? यो आफैमा अनुसन्धानको बिषय हो । सरकारी आंकडा अनुसार भीडले बाह्र सय नाल हतियार र एक लाख राउण्ड भन्दा बढी गोली लुटेर लागेको छ । ती कहाँ छन ? सरकार अनभिज्ञ छ । यो हतियारको संख्या नेपाली सेनाको एक बटालियनले बोक्ने हतियारको संख्या भन्दा बढी छ । सरकारले एउटा समय सीमा भित्र ती हतियार फिर्ता गर्नेलाई माफी दिने घोषणा गरेको छ । तर ती फिर्ता भएका छैनन् ।

यो अवस्थामा अन्तरीम सरकारका गृह मन्त्रीले भदौ २४ को विध्वंसमा संलग्नहरुलाई पक्राउ नगर्ने आदेश जारी गर्यो । सम्भवतः सरकारले आफै अर्घेलो हुन नचाहेर गौरीबहादुर कार्कीको तीन सदस्यीय आयोगको प्रतिवेदन कुरेर बस्दा आफू सुरक्षित हुने ठानेको छ । गौरीबहादुर कार्की यसअघि सहकारी घोटालाको छानवीन गर्ने आयोगका पनि प्रमुख थिए । उनको प्रतिवेदन सरकारी कार्यालयमा भएको आगजनीमा ढडेर खरानी भयो कि अझै सुरक्षित छ, सरकारले जानकारी दिएको छैन ।

०४६ सालको जन–आन्दोलन पछि गठित मल्लिक आयोग वा रायमाझी आयोगको प्रतिवेदन कहाँ पुग्यो ? जनतालाई थाहा नभएको मात्र होईन, सरोकारवालाहरुले समेत बिर्सिसकेको अवस्था छ । गौरीबहादुर कार्कीको आगामी प्रतिवेदनको नियति के होला ? यस्ता आयोगको ईतिहासका पाना पल्टाउने हो भने यो पनि “आयो गयो” हुनसक्छ । ईतिहासले हामीलाई सिकाएको एउटा प्रमूख पाठ के हो भने, हामी ईतिहासबाट केही पनि सिक्दैनौं ।

आफ्नै पुराना नजीर र धारणा बिर्सेर सुशीला कार्की भद्रकालीमा रहेको सैनिक मुख्यालयको चयनमा अहिले मुलुकको प्रमूख कार्यकारीको आसनमा स्थापित भएकी छिन् । संघीय गणतन्त्र नेपालको संविधानका प्रावधानले उनलाई प्रधानमन्त्रीका रुपमा चिन्दैन । तीन दशक उमेर मुनीका बिद्यार्थीको अभिलाषाको प्रतिनिधित्वगर्दै सरकार प्रमुख भएकी त्रिहत्तर बर्षीया हजूरआमाको सत्तारोहणको आधार सूदन गुरुङ्गले चलाएको “डिस्कर्ड” नामक गेमिंग प्लाट्फर्ममा भएको केही हजार मतदान मात्रै होईन । कार्कीका पूर्ववर्ती प्रधान न्यायाधीश कल्याण श्रेष्ठले सर्वोच्च अदालतमा बिदेशी गैर–सरकारी संस्थाका हालीमुहाली बढाउन उल्लेख्य भूमिका निर्वाह गरेका थिए । तर कार्कीको नाम अचानक कताबाट उच्छिट्टिएर आयो ? कल्याण श्रेष्ठ आफै चकित् होलान ।

सतही रुपले हेर्दा राष्ट्रपति रामचन्द्र पौडेलले कार्की नेतृत्वको सरकारलाई दिएको सोझो र एकमात्र कार्यादेश हो, फागून २१ मा चुनाव गराउने । तर के नयाँ चुनाव हुनुमात्र वर्तमान संकटको समाधान हुनसक्छ ? कार्की स्वयं यसमा सशंकित छिन् । तर उनलाई सार्वजनिक खपतका लागि प्रश्न सोध्ने र आफना बिचार राख्ने स्वतन्त्रता र सुविधा छैन । जेनजीको नाममा उदाएका स्वदेशी बिदेशी शक्तिकेन्द्रहरुको रणनीतिलाई समायोजित गर्नुपर्ने बाध्यताको भारले थिचिएकी कार्कीको हात कम्मर पछाडि बाँधिएको छ । बाँधिएको हात लिएर युध्द मैदानमा जानु मूर्खता हो ।

विध्वंसको बादलभित्र लुकेको परिदृश्य अब क्रमशः स्पष्ट हुँदैछ । तर नेपाली सेना प्रमूख अशोक सिग्देलले शुरुमा मुलुकका सार्वभौम संस्थापनहरु भष्म नभएसम्म कुरेर शुरु गरेको “राजनीतिक वार्ता” को अभिष्ट अझै अस्पष्ट नै छ ।

पुरानो सरकारका प्रधानमन्त्री केपी ओलीले राज्यका गुप्तचर निकायहरु आफ्नो प्रत्यक्ष नियन्त्रणमा ल्याएपनि यी संस्थाहरु व्यवसायिक थिएनन् । राजनीतिक भर्तिकेन्द्रमा रुपान्तरित नाकहरुले राष्ट्रिय सुरक्षाका प्रश्नमा उत्पन्न चुनौतिहरु सुँघ्ने क्षमता गुमाईसकेका थिए । उनीहरुले ओलीलाई उनको रुचि अनुसारको सूचना दिएर आफ्नो पदको मर्यादासंगै व्यक्तिगत स्वार्थ सुरक्षितगर्ने गरेका थिए । तर नेपाली सेनाको “डीएमआई“ अर्थात् “डिपार्टमेन्ट अफ मिलिटरी ईण्टेलिजेन्स” ख्याल ख्याल होईन। सेनाका गुप्तचरहरुले अमेरिका र ईजरायल जस्ता मुलुकका कूटिल र निर्मम “स्पाई एजेन्सी” हरुबाट तालीम पाएका छन । नेपाल र भारतका सेना प्रमुखहरु एक अर्काको मानार्थ सेनापति मात्रै होईनन । उनीहरुबीच नियमित रुपले संवेदनशील सूचना आदानप्रदान हुन्छ ।

के नेपाली सेनालाई दुर्गा प्रसाईंको नाममा कुनै बिदेशी शक्तिले संसद भवनमा “मोलोतोभ कक्टेल” भनिने पेट्रोल बम पड्काउन लगाएको सूचना थिएन ? सेनाको गुप्तचर विभागले रास्वपा कार्यकर्ताहरुको हुलमा मिसिएको एउटा आपराधिक समूहले सर्वोच्च अदालतमा आगजनी गरेको पनि थाहा पाएन ? पूर्व राजा ज्ञानेन्द्र शाहको निवास अघिल्तिरको राष्ट्रपति भवन शीतल निवासमा राप्रपाका कार्यकर्ताहरु संगै छिरेको भीडमा अत्याधुनिक “फ्लेम थ्रोअर” समेत रहेको कुरा सेनाले कसरी थाहा पाएन ? किन बाह्र पन्ध्र जनाको सैनिक टुकडी भीडले शीतल निवासको ढोका फोड्नु अघिनै लाखापाखा लागे ? गौरीबहादुर कार्की आयोगले यस्ता मिहीन घटनावलीको बिस्तारमा विश्लेषण गर्ने कुरामा शंका छ । सेनाको चलखेल नेपाली जनताका लागि टुप्पी माथिको संसार हो ।

टुप्पी मुनीको संसार भ्रष्टाचारले आक्रान्त छ । सार्वभौम नेपाली नागरिकका एक तिहाई भन्दा बढी सन्तान बिदेशमा छन् । नेपालमा चुल्हो बलेको छ । नयाँ नेपालमा जनता जन्मेदेखि मरेसम्म ४१ प्रकारका कर तिर्दैछन् । कर तिरेवापत् नागरिकले पाउन लायक सेवा दिन सरकार असफल छ । कर तिरेर मात्र पुग्दैन । आफ्नो फाईल “अगाडि बढाउन” सरोकारवाला कर्मचारीलाई थप दस्तुर तिर्नुपर्ने संस्कार संस्थागत भएको छ । संस्थागत हुन नसकेको एउटा कुरा हो, राजनीतिक स्थीरता । ओली र देउवा मिलेर बनाएको सरकार राजनीतिक स्थीरताको भाष्यमा टेकेर उभिएको थियो । तर त्यो नेपाली जनताको अभिमतको सरकार थिएन । त्यो सरकार ढल्नु थियो । ढल्यो ।

नेपाली राजनीतिमा हरेक कुरा सम्भव छ । यदि संसदको सबैभन्दा ठूलो दल र प्रतिपक्षी दलको सरकार बन्न सक्छ भने बाँकी केही पनि असम्भव छैन । थिएन । यो कुरा बेग्लै हो कि, पुराना प्रधानमन्त्री केपी ओली गुण्डुको सिंहासनमा बसेर आफ्नो घाउ चाट्दै कुईंकुईं गर्न थालिसके । देउवाको लामो सुस्केरा सुन्न बाँकी नै छ । यिनीहरु कुन मुख लिएर चुनावमा जाने हुन् ? यो एक रोचक प्रतीक्षाको बिषय हो ।

तर प्रश्न छ, नेपाली सेनाका सेनापतिको चयनमा परेकी सुशीला कार्कीको सरकारले चुनाव गराउन सक्छ ? संघीयतामा प्रवेश गरेको नेपालले मुलुक भरीका निर्वाचित तीन तहका ४६ हजार नयाँ शासकलाई तलब भत्ता दिन बिदेशी ऋण लिनुपर्ने बाध्यता छ । राष्ट्रिय उत्पादन शून्य छ । गएको जनै पूर्णीमाको दिन नेपालका सम्भ्रान्त खस आर्य तागाधारीले दश करोडको नयाँ जनै फेरे । त्यो जनै धर्म नमान्ने कम्युनिष्ट चीनबाट आयात भयो । दाल–चामल, नून र भुटुनको कुरा नगरौं ।

मुलुक चुनावमा गएको छ । अन्तरीम सरकारका खजाञ्ची तथा पूर्व अर्थ सचिव रामेश्वर खनालको हातमा रित्तो ढुकुटीको साँचोमात्रै छ । उनी टालटुल गरेर खर्च भार चलाउन बाध्य छन् । उनले पुरानो सरकारले छुट्ट्याएको तीन करोड मुनीका खुद्रा परियोजना खारेज गरेर बजेट समायोजन गरेपनि चुनाव गराउन सरकारसंग पैसा छैन । जेन जी आन्दोलनले जन्माएको सार्वभौम राष्ट्र नेपालको ‘भूतो न भविष्यति’ सरकारले आफ्नै देशको चुनाव गराउन विदेशीसंग ऋण सापट नलिने हो भने अर्को कुनै साध्य छैन ।

वर्तमान संविधानमै टेकेर गरिने अर्को चुनाव नेपालको संकटमोचक हुन सक्छ ? पचहत्तर युवाको बलिदान भयो । अन्य सयौं अस्पतालमा छन् । यी मध्ये थप पच्चीसको ज्यान कुनैपनि बेला जान सक्छ । के यो अपूरणीय क्षति केवल अर्को चुनावका लागि हो ? जेन जी अभियन्ता आफै अन्यौलमा छन् । एकथरी भन्छन्, गणतन्त्र र संघीयताको बिकल्प छैन । अर्काथरीको माग छ, निर्वाचित कार्यकारी प्रमूख हाम्रो “बटम लाईन” हो । तर, “आपत्कालीन अवस्थाबाट देश जोगाउनका लागि” राष्ट्रपति रामचन्द्र पौडेलबाट सेनापति अशोक सिग्देलको सिफारिशमा नियुक्त भएकी प्रधानमन्त्री कार्कीले पनि निर्वाचित कार्यकारीको चुनाव गर्न मिल्ने अवस्था छैन ।

साविक संबिधान मुताविक चुनाव भैहालेको अवस्थामा अहिले प्रहरीबाट लुटिएका हतियारको दुरुपयोगको अनुपात के हुनेछ ? कसले लुकाएको छ यो हतियार ? अझ गम्भीर प्रश्न हो, कसले जानीजानी लुटायो ती हतियार ?

अहिले जेन जी आन्दोलनको लप्का उठेको ईण्डोनेशिया देखि माडागास्कर सम्म सबैतिर निर्वाचित कार्यकारी प्रमुख नै सत्तामा थिए । तैपनि आन्दोलन भयो । नेपालमा निर्वाचित कार्यकारी प्रमुखका रुपमा मुलुकलाई डोर्याउने नेता को हो ? बालेन साह ? कि सूदन गुरुङ? मिराज ढुङ्गाना ? हर्क साम्पांग ?

नेपालमा हुने भनिएको चुनाव भयो भने कसको हितमा हुने भन्ने प्रश्न नेपालीका लागि पक्कै महत्वपूर्ण छ । तर नेपाली राजनीतिक चहलपहलका साझेदार नेपाली मात्रै होईनन् । सुशीला कार्कीको हातमा देखिने गरी राष्ट्रपति रामचन्द्र पौडेलले दिएको चुनाव गराउने कार्यादेश मात्र छैन । ड्रागन कोल्टे फेर्दैछ । हात्ती झापा बाहुनडांगीमा जस्तै कुनैपनि बेला खेतबारी अतिक्रमण गर्न तयार छ । चील आकाशमा फनफनी घुम्दैछ भने त्यो घुम्दैछ । अहिले आकाशमै उसको स्वामित्व छ ।

संयुक्त राष्ट्र संघले बिज्ञप्ति जारी गरेर आफू “सहयोग गर्न तयार रहेको” भनेको छ । यो गम्भीर छ । छयालीस साल पछिका क्रान्तिकारी नेताहरुले नेपाली जनताको साटो बिदेशी शक्तिकेन्द्रको अनुमोदन लिने चलन चलाएको परिणाम जेन एक्स, वाई हुँदै जेन जीले भोगेका छन् । जेन जीको प्रतिनिधित्व गर्ने अहिलेको सरकार पनि बिदेशी त्रिखुट्टीमा आफ्नो सन्तुलन मिलाउने प्रयासमा आफ्नो दिन गन्दैछ ।

न जादूगरले हावामा निकालेको तासको पत्ताजस्तै सत्तामा पुगेकी हजूरआमाको दिन सुनिश्चित छ, न नाती पुस्ताको भविष्य सुखकर । खरानीको थुप्रोबाट उदाएको पूर्वी किन्वदंतीको फिनिक्स नामको त्यो तिलस्मी चरो उड्न पनि यथेष्ट खरानी आवश्यक हुन्छ । नेपालमा पर्याप्त खरानीको थुप्रोलाग्न बाँकी नै छ ।