केपी ओलीको उत्थान र पतन – १ - रुपान्तरण
 २०८२ कार्तिक २१, शुक्रबार    

केपी ओलीको उत्थान र पतन – १


– नारायण नेपाल

नेपालमा भर्खरै भएको जेन जी आन्दोलनले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा ‘बलशाली’ प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारको पतन भयो । यो ओलीको मात्रै पतन थियो कि नेपाली राजनीतिमा कम्युनिस्टहरूको अधोगतिको यात्राको प्रारम्भ थियो ?

राजनीतिमा ओलीको उदय

नेपाली राजनीतिमा खड्गप्रसाद ओलीको उदय झापा विद्रोहबाट शुरु हुन्छ । नेपाल कम्युनिष्ट पार्टीको तुलसीलाल समूहको केन्द्रीय नेतृत्वसँग २०२२ सालमा पूर्व कोशी प्रान्तीय समितिको मतभेद भयो । २०२५ सालमा मनमोहन अधिकारी जेलमुक्त हुनु भएपछि विवाद चर्कियो । झापा जिल्ला समितिले वर्गशत्रु नष्टगर्न गुरिल्ला संघर्ष चलाउने निर्णय गरेसंगै २०२८ साल जेठ २ गते पहिलो संघर्ष शुरु भयो । संघर्षमा कर्णबहादुर गौतमसहित ९ जनाको हत्या भएको थियो ।

नेपालको कम्युनिस्ट राजनीतिमा झापाली युवा कम्युनिस्टहरूमा विद्रोह र वर्गशत्रु खत्तमपार्ने जोश पैदा भएको थियो । यसको कारण थियो : तत्कालीन नेकपाभित्र मौलाएको दक्षिणपन्थी नीति, चीनियाँ सांस्कृतिक क्रान्ति तथा छिमेकी भारतको नक्सलवाडीमा भएको विद्रोह र पञ्चायती ब्यबस्थाको शोषण र प्रशासनिक दमन ।

झापा विद्रोहका क्रममा ५०० जना गिरफ्तार भएका थिए । ७ जनाको हत्या भएको थियो । १५ जनालाई जन्मकैदको सजाय दिइएको थियो भने १० जनालाई ५ बर्षको जेल सजाय । ९७ जनालाई ३ वर्षदेखि ५ वर्षसम्म जेलमा राखिएको थियो । त्यो विद्रोहका क्रममा व्यक्तिहत्याको आरोपमा २०२८ देखी २०४४ सम्म १४ वर्ष जेल बसेका थिए ओली ।

उनी २०४८ देखि हालसम्म निर्वाचन र राजनीतिको मैदानमा छन् । गणतान्त्रिक आन्दोलन २०६२/६३ पछि अन्तरिम सरकारको परराष्ट्रमन्त्री भएका ओली तीन पटक नेपालका प्रधानमन्त्री बने । तर, अन्त्यमा नेपाली सेनाका सिपाहीलाई राजीनामा बुझाएर प्रधानमन्त्री निवास बालुवाटारबाट सेनाको ब्यारेकमा शरणार्थी हुन जाने प्रधानमन्त्री बने ओली ।

ओलीले के गर्न सक्थे, के गरेनन् ?

२०५१ मंसिर १४ गते गठन भएको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री थिए ओली । त्यो सरकारको लोकप्रिय नारा थियो : वृद्धभत्ता र आफ्नो गाउँ आफैँ बनाऊँ । २०६२/६३ को आन्दोलनपछि अन्तरिम सरकारका परराष्ट्रमन्त्री भएका थिए ओली ।

२०७२ सालमा बनेको दश महिने सरकारले प्रचार गरेको थियो– हावाबाट बिजुली, घरघरमा ग्याँस पाइप, पानीजहाजको संचालन, रेलको संजाल इत्यादि । भ्यु टावर निर्माणको अभियान चलाउनेहरूको गिदी नभएपछि देखाउने भनेको त २२ सय मिटर अग्लो पहाडको टाकुरामा १२०० फिट अग्लो सिमेन्टको पिलर नै थियो । ओलीले आफ्नो लोकप्रियताको लागि शहरका बिजुलीका पोलहरूमा आफनो फोटो टाँग्न लगाए, देशका प्रमुख अखबारका पहिलो पृष्ठहरूमा ‘सुखी नेपाली समृद्ध नेपाल’ जस्ता नारा उनको तस्बीरसँगै छापिन थाले । त्योभन्दा माथि उठेर डिजिटल प्लेटफर्ममा ‘आइ एम विथ केपी ओली’, ‘आइ लव यु बा’, ‘म झोले’ जस्ता अभियानहरू निरन्तर चले ।

२०७४ को आमनिर्वाचन पछि एमाले र माओवादीको दुई बलशाली धारलाई एकीकरण गरेर नेपाली समाजको प्रगतिशील रुपान्तरणको नायक बन्ने अवसर थियो ओलीलाई । २०७४ को संघ र प्रदेश निर्वाचनपछि त्यो अभिमतले जनअनुमोदनसमेत पाएको थियो । तर उनले संसद विघटन गरेर अधिनायकवादी बाटोमा लागे ।

२०७९ को निर्वाचनपछि बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राजनीतिमा केही धमाका दिएको थियो । भीआइपी भनिएका पूर्वमन्त्री र कर्मचारीलाई भ्रष्टाचार मुद्दामा जेल हाल्ने अभियान, बिचौलिया बेचन झा हुँदै नक्कली भुटानी शरणार्थी काण्डसम्म पुग्दा जनसर्मथन प्राप्त भएको थियो । प्रचण्ड प्रधानमन्त्रीबाट हटेर नेतृत्वमा ओलीको आगमनपछि देशमा सरकार भएर पनि सरकारविहीन अवस्थाको सिर्जना भयो ।

एमालेको गोदावरी सम्मेलनमा जाने क्रममा कोशी प्रदेश सरकारका मन्त्रीको गाडीले एक बालिकालाई ठक्कर दिएर भागेपछि ओलीले घटना सामान्य भएको हलुका टिप्पणी गरे । त्यही गोदावरी सम्मेलनमा उनले एमालेको विधान संशोधनगर्दै उमेरहद हटाउने निर्णय गरेर एमालेभित्र आफ्नो वर्चश्व कायमगर्न खोजे ।

मदन भण्डारी दासढुंगा घटनाका सन्दर्भमा २०५० साल असार १० गते खड्गप्रसाद ओली संयोजक रहेको आयोगले १३ बुँदाको निष्कर्ष निकालेको थियो । मदन हत्याको रहस्यको व्यापार गरेर राजनीतिक लाभ उठाउँदै आएको एमालेका अध्यक्ष ओलीले पछिल्लो समयमा मदन भण्डारीको चरित्रमाथि कटाक्ष गर्दै विद्या भण्डारीको राजनीतिक यात्रामा अवरोध उत्पन्नगर्दै हिंडे ।

ओली सरकारका गतिविधिको आलोचना चर्किन थालेपछि मिडिया काउन्सिल विधेयक संसदमा अड्काएर दर्ता नगरेको भन्दै सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने हतारको निर्णय किन गरे ?

कसले सिकायो ओलीलाई यस्तो काम गर्न ?

जनआक्रोश चुलिएर यो अवस्था आउनसक्छ भन्ने सूचना पाएका थिए कि थिएनन् होला ओलीले ?

उनको हातमा सरकारका सबै कार्यकारी निकायका प्रमुखहरूको लगाम थियो, सबै उनकै मातहतमा थिए । तर उनी किन र कसरी अज्ञात भए ?

ओलीलाई भगवान शिव ‘चाम्लिङ’ भएको थाहा थियो, उनले राम ठोरीमा जन्मेको ठोकुवा गरेका थिए । तर आफना शासकीय–प्रशासकीय निकाय निकम्मा भएको किन थाहा पाउन सकेनन ?

समाजको पिँधमा रहेका जनताको दैनिकी बदल्ने कम्युनिस्टहरूको मूल उद्देश्य हो । जनमनमा भएका असन्तोषलाई उनको ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराले किन छुन सकेन ?

रुसी क्रान्तिका नायक लेनिन हुन् वा चीनका माओ– दुबैले तल्लो तहका जनताको पक्षमा दिनरात काम गरेर देश निर्माण गरेका थिए ।

ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल बसेको कुरा उनको धक्कु थियो । के जेल बस्नु नै राजनीतिक नेताको योग्यता हो ?

देश चलाउने नेतामा राजनीतिक, प्रशासनिक कुटनीतिक ज्ञान चाहिँदैन ?

नेतृत्वको विरोधमा आवाज उठाउने पार्टीका दुई नेतृ विन्दा पाण्डे र उषा किरणकोे विद्रोह कुल्चिए । यथार्थमा उनी अलोकप्रिय बनेका थिए । उनी अधिनायकवादको घोडामा सवार थिए ।

केपी ओलीलाई २०७९ असार २९ गते बालकोट निवासमा काठमाडौ महानगरका मेयर बालेनले तबला उपहार दिएका थिए । तर, बालेनले उनको टाउकोमा जेन–जी आन्दोलनको तबला बजाए । ओलीले त्यसको सुईंको नै पाएनन । भदौ २३ गते आन्दोलनकारीहरुको उग्रदमन हुँदा, २३ गते बेलुकाको निर्णय बमोजिम २४ गते बिहान सुरक्षा संयन्त्रले काम नगरेको उनले थाहा पाए कि पाएनन् होेला ?

रोम जल्दा बाँसुरी बजाउने नीरो झैँ त्यतिबेला ओली कता सारंगी बजाउँदै थिए होलान ?