राजनीतिक दल : अलमलमा कि दलदलमा - रुपान्तरण
 २०८२ कार्तिक २१, शुक्रबार    

राजनीतिक दल : अलमलमा कि दलदलमा


– नारायण नेपाल

जेनजी आन्दोलनको एक महिना बितिसक्दा पनि राजनीतिक दलहरू त्यसको ताप र रापबाट मुक्त हुन सकेका छैनन । दलका नेता र उनका प्रेरणादायी सिद्धान्तकारहरूमा आवश्यक उत्साह र उर्जा देखिएको छैन । दलहरू लयमा आउन सकेका छैनन् । काठमाडौँ– त्रिशूली चल्ने पासाङल्हामु यातायातको बसमा २६ वर्षदेखि सहचालकका रुपमा कामगरी रहेका एक युवाले पेसा नै छोडेछन् । उनी भन्दै थिए, ‘कति वर्ष खलासी भएपछि ड्राइभर हुने हो । टुंगो भएन । स्टेरीङ छुने अवसर नै पाइएन । अनि, काम नछाडेर के गर्नु त ?’

दलहरूको समस्या

भनिन्छ, विचारधारा र राजनीतिले नै सबै निर्धारण गर्छ । त्यो विचार र राजनीतिको नेतृत्व लिने राजनीतिक दलले नै हो । आज राजनीतिक दलका जल्दाबल्दा नेताहरुमा किन वितृष्णाको भाव बढदोछ ? नेताहरूको जीवनशैली र उनका सन्तान, आफन्तहरूको शैली पछिल्लो नेपोबेबी अभियानको केन्द्र बनेको थियो । राजनीतिक र सामाजिक जीवनमा लागेका ब्यक्तिहरुको अन्तरविरोधी जीवनशैलीका बारे प्रश्न उठ्न थालेका छन । ब्यक्तिगत समृध्दिको मोहमा सबै राजनीतिक दलका नेता गाँजिएकाछन ।

नेताले जनताको सेवक बन्ने प्रयास गरे समस्या समाधान नहुने होइन । दलहरूलाई गुटगत प्रभावले गाँजेको छ । आलोचनात्मक चेत लगभग सकिएको छ । आलोचनाको स्वतन्त्रताबिना विचारको विकास हुन सक्दैन । विचारबिना राजनीति कसरी अगाडि जान्छ ? एकाथरि कार्यकर्ता चाकरीमा लिप्त छन् । तिनले नेताको सामु सत्यको पहिचान स्थापित हुनै दिँदैनन् । सत्तामा उक्लेका दलहरूले जनतामा परिवर्तनको अनुभूति दिन नसक्नु उनीहरुको ठूलो कमजोरी हो । पछिल्लो समय सार्वजनिक संस्थाहरुमा भएको अति राजनीतिकरण पनि दलहरूप्रतिको वितृष्णाको एउटा कारण हो ।

राजनीतिक दलका सिद्धान्त र विचारलाई कुनै एक नेताले स्वाहा बनाउन पाउँदैन । दल भनेको विचारको अग्रदस्ता हो, एउटा साझा परिवार हो, जसको निर्माण सबैको आँशु, रगत, पसीना, जीवन र जवानी खर्च गरेर भएको हुन्छ । कुनैपनि दलमा विचार, सिद्धान्त र जीवनदर्शन प्रतिविम्बित हुन्छ । तर, यतिबेला विचार बोक्ने दल छैन । सिद्धान्तनिष्ठ राजनीति छैन । हाम्रा नेता ठीक छन् भन्नुभन्दा बाहेक अरु कुनै तर्क कार्यकर्तासँग छैन ।
विधिको अभ्यास, नीतिमा बहस र जनताप्रतिको जिम्मेवारीमा खरो नउत्रिएसम्म परिवर्तन सम्भव हुँदैन । नियमित रुपले समयको पुनरावलोकन नगर्ने हो भने दलहरु प्रभावकारी हुन सक्दैनन ।

राष्ट्रिय दलको मान्यता पाएका दलहरुको अहिलेको अवस्था के छ ?

लामो समय जनयुद्धको संचालन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको मुख्य पक्ष बनेको माओवादी पार्टी जेन्जी आन्दोलनपछि अरुभन्दा केही बढी चहलपहलमा देखिन्छ । तर, यो चहल–पहलले माझीको सल्लाहले सात गाउँ डुबेको उखानको सम्झना गराउँछ । नेताहरूको खलबलमात्रले बलिदानको आलोकमा जन्मिएको नयाँ नेपालका रुमानी पात्रहरूलाई जोगाउन सक्दैन । ‘मुसा धेरै भए बिरालो मार्लान् । तर बिराला धेरै भए मुसा मार्दैनन’ भनेजस्तो छ माओवादी केन्द्र ।
जेनजी आन्दोलनको बेला सत्ता ‘सम्हालेको’ दल एमालेका नेताहरुले भर्खरको आन्दोलन सपना थियो कि विपना ? खुट्याउन सकेका छैनन । एमाले सत्ताको मालिक हुँदा नै संसद र सरकार दुर्घटनामा परयो । सचिवालय बैठक र एक–दुई नेताको प्रतिक्रिया सुन्दा युवा कार्यकर्ता भड्किएका छन, तर, नेताको हठ उस्तै छ ।

देशको जेठो दल नेपाली काँग्रेस लोकतान्त्रिकरणको नायक थियो । अहिले आन्तरिक लोकतन्त्रको अभावमा अलमल्ल र असरल्ल देखिन्छ । ज्यान कांग्रेस पार्टीभित्र थन्क्याएर अन्तरव्दन्द खडागर्न स्टण्टबाजहरूलाई उक्साउने पदाधिकारी र नेताहरुका कारण कांग्रेस मिले पनि र जुधे पनि धानिने अवस्थामा रहेको देखिँदैन । यत्रो उत्पात भैै सक्दा पनि अहिलेसम्म काँग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।

जसरी उदायो उसैगरी अस्ताउछ भन्ने अवस्थामा रहेकोछ रास्वपा । पार्टीका सभापतिलाई लागेको सहकारी ठगीको दाग धोएर कहिले मेटिने र चम्किने हो ? ठेगान छैन । नागरिक निरास भएका बेला गलत नियत भएकाहरूले नै फाइदा उठाउन खोज्छन् । ‘मलाई मिडिया कब्जा गर्न देऊ, म जनतालाई भेडाको बथानमा परिणतगर्न सक्छु’ भनेजस्तो राजनीतिक लोकप्रियताको आडमा ठग र अपराधीहरूले कसरी राजनीतिक सत्ता कब्जा गर्छन् भन्ने गतिलो उदारहण यो भन्दा अरु के होला र ?

जादु देखाएर औँठी बेच्ने रत्नपार्कको चटकेजस्तो ठगहरूको चरित्र उजेल्ने हिम्मत आजको प्रेसले गर्न सकेको छैन । जेनजी आन्दोलनका समयमा कारागारबाट बन्दी भागे, दिपक मनाङे कारागार मै बसे । तर, रास्वपाका संस्थापक नेता रवि जेलबाट भागे । कैदीका रुपमा रहेका रविको भगौडा जुलुस र नेताहरूको स्कर्टिङ भिडियो अझै ट्रोल बन्दैछ । मनाङे जतिको पनि बुद्धि नहुने सभापतिले जेलबाट भागेको औचित्य पूरा गर्न सक्नुपर्छ । नसके त्यो दल पनि सति नै जाने खतरा छ ।

दलभन्दा माथि ?

एजेण्डा केही नभएपछि केही ‘युवा’ दलभन्दा माथि उठौँ भन्दैछन । कहाँ हो माथि भनेको ? के हो माथि भनेको ? जमीन छोडेर हावामा उड्ने हो कि पातालतिर पलायन हुने हो ? बहुदलीय व्यवस्थामा दललाई माथि उठाउने हो । दललाई अब्बल बनाउने हो । एक व्यक्तिलाई होइन, संस्था र समूहलाई बलियो बनाउने हो । आफूलाई अब्बल र दललाई खराब भन्ने यो कस्तो उदेकलाग्दो चिन्तन प्रणाली हो ? बिहान बिहान फलानो– ढिस्कानो दाइको दैलोमा चिया खान नगए गयल होइने चिन्ताले झोक्र्याउनेहरूले फूस्रा कुरा धेरै किन गर्ने होला ?

कुस्ती पुस्तासँग कि वर्गसंग ?

पछिल्लो पुस्तान्तरण र हस्तान्तरणको बहसले राजनीतिमा पुस्तापुस्ता बीच झगडा चर्काउन खोजेकोछ । हाम्रो अवस्था पुस्ताको बीचमा होइन वर्गवर्गसंग कुस्ती खेल्नुपर्ने छ । समाज विज्ञानको नियम यही हो । एकथरि वर्ग आकाश छुने भए अर्काथरि वर्ग भुईमान्छे भए । संघर्ष वर्गहरूको बीचमा हुने हो । पुस्ता पुस्ताको बीचमा होइन ।

दल कसले सिध्याउन लाग्यो ?

यतिबेला दलहरू सिध्याउन प्रतिगामी तथा पुनरुत्थानवादी शक्ति लागिरहेको आभाश धेरैलाई भएकोछ । नेपाली राजनीतिक दललाई सिध्याएर लोकतान्त्रिक प्रणाली भत्काउने चाहना कसको होला ? दलहरूलाई के ले सिध्यायो होला ? दलाल पुँजीवादको रुढीले कि बजारवादले ? कि उपभोक्तावादले ? दलका युवा र अगुवा नेताहरुले सोच्नु पर्दछ । उच्च तहमा रहेका ठालु नेताका कारण दलहरु जोखिममा परेका छन । मौरीको घारमा पल्किएको मलसाप्रोले गुलियोको लोभमा मौेरीको चाका नै स्वाहा पारेझैँ दलका उच्च तहका नेताहरूले सत्ता र धनको लोभमा दल र सिद्धान्तलाई स्वाहा पारेका छन् । त्यसैले नेताहरू सुध्रिनु जरुरी छ । दलहरूको रुपान्तरण जरुरी छ । लोकतान्त्रिक राजनीतिमा दल रहेनन भने देशमा लोकतन्त्र नै मर्छ । त्यसैले दलहरू बौरिनु जरुरी छ । लय हराएको लोकतन्त्रलाइ लीकमा ल्याउन जरुरी छ ।

कसरी बाँच्न र मर्न सक्छ दल

लोकतन्त्र प्रायः सेनाको बुट वा अराजक क्रान्तिबाट होइन, लोकतन्त्रका हिमायती भनिने निर्वाचित नेताहरूकै कारण मासिने गरेकोछ । नेताहरु नै विधि–विधान, संस्थागत नियम र मान्यतालाई बिस्तारै कमजोर पारेर नष्टगर्न लागेका हुन्छन । लोकतन्त्रको पतन बिस्तारै हुन्छ, अचानक होइन । संविधानभन्दा पनि संस्कार लोकतन्त्रको महत्वपूर्ण आधार हो । लोकतन्त्र कागजमा लेखिएका नियमहरू भन्दा पनि अलिखित परम्परा र मर्यादामा टिकेको हुन्छ त्यसैले यो मौका पाउना साथ भ्रष्टिकरणमा जान्छ ।

लोकतन्त्र कसरी मर्छ ? बिव्दानहरुले भनेका छन ः आजको युगमा लोकतन्त्रको अन्त्य सैनिक विद्रोह वा रक्तपातबाट होइन, बरू कानुनी र राजनीतिक प्रक्रियाबाट हुन्छ । लोकतन्त्र गोलीले होइन, भोट नपाए मर्छ । प्रारम्भमा, तिनीहरू कानुन र संविधानको सीमाभित्रै रहेर काम गरिरहेका देखिन्छन् । तर विस्तारै उनीहरूले स्वतन्त्र प्रेस, न्यायपालिका र विपक्षी दलहरूलाई कमजोर बनाउँछन् । उनीहरू जनतालाई “देशद्रोही” र “शत्रु”का रूपमा देखाएर राजनीतिक ध्रुवीकरण बढाउँछन् । यो प्रक्रियाका बारेमा जनता अनभिज्ञ हुन्छन ।

लोकतन्त्र केवल संविधान र कानुनमा आधारित हुँदैन । संविधानले नियम बनाउँछ — तर संविधानलाई जोगाउने संस्कार, संयम र सहिष्णुता नभए ती नियमहरू कागजमै सीमित रहन्छन् ।

भनिन्छ, मृत सपनाहरू चिहानबाट उठेर पुनर्जीवन लिन्छन । जीवनका सपनाहरूको कहिल्यै मृत्यु हँुदैन । ग्रीसको एक लोकप्रिय कथामा मिथकीय फिनिक्स चराको नाम निक्कै चर्चामा छ । फिनिक्स एक सुन्दर चरा हो, जो लामो समयसम्म बाँच्छ र उचाइसम्म उड्न सक्छ । उड्दै जाँदा फिनिक्सले आफ्नै पखेटामा आगो लागेको पत्तो पाउँदैन र खरानी हुन्छ । तर, त्यो चराले फेरि त्यही खरानीबाट पुनर्जीवन पाउने वरदान पाएको हुन्छ ।

खरानी भएको देश र राजनीतिमा दलहरूको पुनर्जन्म वा मुर्छित जीवनबाट ब्युँतिने सपनाहरू साकार हुनैपर्छ । लोकतन्त्रको रक्षा र देशको उँधोगतिको यात्रा रोक्नका लागि यो अनिवार्य छ ।