कांग्रेसलाई इमान्दार र दूरदर्शी नेतृत्व चाहिएकोछ - रुपान्तरण
 २०८२ कार्तिक २१, शुक्रबार    

कांग्रेसलाई इमान्दार र दूरदर्शी नेतृत्व चाहिएकोछ


- रुपान्तरण

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद डा. सुनिल शर्माले पार्टीका सबै नेताहरूलाई अबको दिशा स्पष्ट पार्न आव्हान गर्नु भएकोछ । सामाजिक सञ्जालमार्फत आफनो बिचार सार्वजनिकगर्दै उहाँले ‘वरमेको गुणी पुत्रो न त मूर्खशतो पि वा’ भन्ने उक्ति उद्धृत गर्दै, नेपाली कांग्रेसलाई सयौँ स्वार्थी र दिशाहीन नेताको भीडभन्दा एकजना इमानदार, दूरदर्शी र राष्ट्रप्रेमी नेतृत्वको आवश्यकता औँल्याउनु भएको छ ।

डा. शर्माको बिचारमा पार्टीभित्रको बेथिति, गुटबन्दी, भ्रष्टाचार र नेतृत्वको अकर्मण्यताले लोकतान्त्रिक शक्तिलाई कमजोर बनाएको छ । पार्टीका प्रभावशाली नेताहरुको आलोचनाहुनु र उनीहरुमाथि प्रश्न उठ्नु भनेको केवल व्यक्ति विशेषको आलोचना होइन । यो कांग्रेसभित्रको मौन पीडाको अभिव्यक्ति हो । यो पीडाले दललाई राष्ट्रको दिशा निर्देशक बनाउने अवसर गुमाइरहेको छ, डा. शर्माको भनाइ छ ।

डा. शर्माले पार्टीका समस्त पदाधिकारीसंग स्पष्ट शब्दमा आग्रहगर्नु भएकोछ, “न कसैको आँखा चिम्लेर समर्थन गरौँ, न अन्ध विरोधमा नै रमाऔँ । विगत सम्झौं, वर्तमानको मूल्याङ्कन गरौं र भविष्यप्रति प्रतिबद्ध बनौं । बैचारिक इमानदारीलाई आधार मानेर कामगर्ने हो भने नेपाली कांग्रेस सशक्त बन्न समय लाग्ने छैन ।”

पार्टीको आन्तरिक संरचना, विशेषगरी नेविसंघ र तरुण दलमा देखिएको ‘हुक्का र ठेक्काको राजनीति’प्रति कटाक्ष गर्दै वहाँले सवाल गर्नुभएको छ – “यी संस्थामा महामन्त्रीहरूको हस्तक्षेप किन देखिँदैन ?”

साथै, वहाँले पार्टीलाई ‘असल कार्यकर्ताको खानी’ बनाउने संकल्प गर्न नेतृत्वलाई खुला चुनौती दिनुभएकोछ । “दस–बीस जना अघि–पछि लगाएर, भाषण गरेर वा गुटकेन्द्रित राजनीति गरेर नेतृत्व जन्मिँदैन । अबको समयमा खुलेर भन्नुस – हामी देश निर्माणमा लाग्छौ ।”

डा. शर्माले कांग्रेसले फेरि बी.पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता इमानदार र आदर्श नेताको बाटो समात्नुपर्ने आवश्यकता औंल्याउनु भएकोछ । “देशलाई अब ठूला भाषण होइन, सत्य, निष्ठा र प्रतिबद्धतामा अडिन सक्ने नेताको खाँचो छ,” उहाँको भनाइ छ ।

प्रतिनिधि सभा सदस्य रहँदा डा. शर्मा तलब-भत्ताकोे सुविधा नलिने एक मात्र सांसद हुनुहुन्छ । उहाँ सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय हुनुहुन्छ । गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविरको संचालन, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उहाँको पहिचान बनेको छ ।