– राजेश मिश्र
एकजना छन् रिटायर्ड जर्साब ! अरुणा लामाले गाएको “पोहोर साल खुशी फाट्दा, जतन गरी मनले टालें” भन्ने गीत हामी सानै हुँदा रेडियोबाट खुब बज्थ्यो। सात आठ क्लासमा पढ्न थालेपछि यस्तो मर्मस्पर्शी शब्दका रचनाकार राजेन्द्र थापा नेपाली सेनाका बन्दूके पनि हुन् भन्ने थाहा पाउँदा म तीन चकित परेको थिएँ।
सन् १९९५ तिर यंग एशिया टेलिभिजनका लागि वृत्तचित्र बनाउने क्रममा कलाकार लव शर्माको सौजन्यता स्वरुप उनीसंग भेट भएको थियो। उनले आफ्नो नयाँ गीत सुनाए, “भीरमा उनिनु त एउटा कुरा, पीरमा उनिनु त्यो अर्कै कुरा, नबग्ने आँखा त कसको छ र? त्यो झर्नु नझर्नु त अर्कै कुरा” वा यस्तै यस्तै।
माओवादी सशस्त्र संघर्ष उत्कर्षमा हुँदा राजेन्द्र थापा सम्भवतः तत्कालीन राजाको सेनाका सूदूर पश्चिम कमान्डर थिए। कैलालीको पाण्डौन भन्ने ठाउँको जंगलमा हुनुपर्छ। अप्रील १४, २००५ मा भएको त्यो युद्दमा थापाको एउटा प्लाटूनले झण्डै पचास माओवादीको एकैरातमा संहार गरेको थियो। सेना भीर मुनी थियो, माओवादी माथि। बन्दूकबाजीमा माथि हुने पक्ष बढी सुविधाजनक र सुरक्षित हुन्छ। तर, तल परेको शाही नेपाली सेनाले त्यो मोर्चा जित्यो।
सेनाले आफ्नो हेलिकप्टरमा एक हूल पत्रकारलाई कैलाली पुर्यायो। त्यहाँ राजेन्द्र थापाले सगर्व सुनाए, “संसारमा भीर मुनीको सानो समूहले भीरमाथिको ठूलो शक्तिलाई यसरी तहसनहस पारेको आजसम्म कुनै उदाहरण छैन। यो सैन्य रणनीतिकारहरुका लागि एक अध्ययनको बिषय हो।”
शायद राजेन्द्र थापालाई “एस पी डी” वा “एम पी डी” हुनुपर्छ। एस पी डी अर्थात् “स्प्लीट पर्सनालिटी डिसअर्डर”। एम पी डीको अर्थ “मल्टिपल पर्सनालिटी डीसअर्डर”। शब्द जे भएपनि अर्थको सारांश एउटै हो। एउटै व्यक्ति, एक क्षणमा धेरै मान्छे मारेकोमा गर्व गर्छ, अर्को क्षण मानवीय संवेदनाको गहीरो समुद्रमा गोता लगाएर गीत लेख्छ ! गीत लेख्नु राजेन्द्र थापा जर्साबको शोख होला। तर मौका परे आफ्नै देशको नागरिक मारेर यसको गुणगान गाउनु के हो? व्यवसायिकता?
यतिसम्म त ठीकै थियो।
तर, गत भदौ २४ को विध्वंश पछि चूरोकुरो नामक एक पडकास्टमा उमेश सुवेदीलाई अन्तर्वार्ता दिंदै उनले ठोकुवा गरिदिए, “नेपालको वर्तमान संविधानले राष्ट्रपतिलाई सेनाको परमाधिपतिका रुपमा चिन्दैन !” थापाका अनुसार नेपालका राष्ट्रपतिसँग संकटकालमा सेनालाई आदेश दिने अधिकार नै छैन।
नेपाली सेनाका वर्तमान चीफ अफ स्टाफ अशोक सिग्देलको बुझाई पनि यस्तै हो भने, यो खतरनाक संकेत हो। तर सिग्देलले मधूर मुस्कान सहित राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा मागेपनि संविधानद्वारा स्थापित राष्ट्रपतिलाई चिन्दै नचिनेको नाटक गर्ने धृष्टता गरेनन्। यो एक सुखद संकेत हो।
नेपालमा भदौ २४ को रात सेनाले चाहेको भए “जे पनि गर्न सक्थ्यो” भन्ने सोच र भावका धनी मूढमतिहरुको बिगबिगी छ। तर हातमा बन्दूक छ भन्दैमा “ट्रीगर” थिचिहाल्न त्यति सजिलो हुँदैन।
जोसेफ स्टालीनका झड्केला सन्तान, नेकपा एमालेका सर्वशक्तिमान केपी ओलीले राज्यका सबै खुफिया संयन्त्रको लगाम आफ्नो हातमा लिएपनि, सेनाको “ईण्टेलिजेन्स” सम्म उनको कहिल्यै पहुँच भएन। सन् २००४ मा मैले नेपाल छाड्नु अघि भारतीय दुतावासका एक अधिकारीसंगको डीनर वार्तामा उनले भनेको कुरा मलाई खुब सम्झना आउछ।
“नेपालको आर्मीले तिम्रो देशका निर्वाचित सरकारलाई आफूले पाएको सूचना दिंदैन। तिमीहरुले चुनेको सरकारले गुप्तचर एजेन्सीलाई राजनीतिक भर्तीकेन्द्र बनाएको छ। त्यहाँ राजनीतिक दलका कार्यकर्ताहरु जागीर मात्रै खान्छन्। नेपालको राष्ट्रिय सुरक्षामा हुनसक्ने खतराका बारेमा नेपाल सरकारका कुनैपनि प्रधानमन्त्री सजग छैनन्। हामीले आफ्नो “ईण्ट्रेस्ट” हेरेर सूचना बाँड्नुपर्ने अवस्था छ। नेपालको अनुसन्धानका मान्छेसँग हामीले दिएको सूचना “कन्फर्म” गर्ने क्षमता समेत छैन।”
मलाई यसो भन्ने मान्छे अहिले भारतीय विदेश सेवाबाट “रिटायर” भएर मंगलुरुमा आफ्नो छोराको आईटी कम्पनीको खजाञ्ची भएर बसेको छ। तर कूट्नीतिज्ञ, गुप्तचर र पत्रकार रिटायर हुँदैनन्। भदौ चौबीसको विध्वंस पछि उ संग कुरा हुँदा उसले भनेको कुराले म भित्रको त्रिभूवन हल्लियो।
“भारतमा पनि पश्चिम निर्देशित आन्दोलनका निम्ति पर्याप्त “फल्टलाईन” थिए। नेपालको काण्ड पछि लद्दाखमा यस्तै गर्न खोजियो। सोनाम वाङ्ग्चुक असल मान्छे हुँदाहुँदैपनि भारत बिरोधी शक्तिको घेरामा छन्। हामीले त्यो झिल्को बेलैमा निभाएको हो। तिमीहरुको देश जल्यो। किनभने नेपाल ‘सफ्ट टार्गेट’ थियो। नेपाली र भारतीय सेना बीच यस्ता सूचनाको नियमित आदानप्रदान हुने गरेको छ। तर तिम्रो सेनाले आफ्नो प्रधानमन्त्रीलाई बेलैमा किन भनेन ?”
नेपालमा गणतन्त्रकाल सुरुवातपछिका नेताहरु आफ्नो सत्ताको सिमेन्ट जमाउन जसरी भारत जाने गरेका थिए, त्यो नेपाली र भारतीय सेनालाई थाहा छ। भारतमा जुन व्यवसायिक र संविधानपरस्त सेना छ, त्यो अमेरिकामा मात्रै थियो। यद्दपी, डोनाल्ड ट्रम्पको जंगली राजको उदय पछि अमेरिकी सेना समेत नसुनिनेगरी स्वास फेर्ने अवस्थामा पुगेको छ। केपी ओलीको अघिल्लो कार्यकालमा नेपाल कोभीड–१९ को प्रकोपले ग्रस्त थियो। ओलीका तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल चीनसंग मिलेर खोपको नाममा भारतले “अवाञ्छित” ठानेको अन्य कुरा आयात गर्न सहमत भए। कुरा भारतीय खुफियाहरुको कानमा पुग्यो। उनीहरुले सिधै ओलीलाई सम्पर्क गरेनन्। यो कुरा नेपाली सेनाको मुखबाट ओलीको कानमा पुग्यो। चौबीस घण्टा भित्र ओलीको रक्षा मन्त्रीको पद गयो। उनी ओलीको सचिवालय हेर्ने उप प्रधानमन्त्रीका रुपमा घटुवा भए। जेन–जी नामको सडकको ज्वालाले यो बुझ्दैन। न यो ज्वालाले उज्यालो पारेको सुशीला कार्कीको सरकारलाई यसको आभाष छ।
नेपाली सेनाले एक महिना लगाएर गरेको “प्रश्नोत्तर कार्यक्रम”मा प्रवक्ताको साटो युद्धकार्य विभागका जर्साब प्रकट भए। यो आफैमा अभूतपूर्व कुरा हो। उनले दिएको एक दर्जन प्रश्नको जवाफमा थप प्रश्न गर्ने ठाउँ थिए। तर कसैले आँट गरेनन्। नेपालका जेन–जी र पत्रकारको बौद्धिक स्तर एउटै हुनु नेपालको अर्को दुर्भाग्य हो। नेपालका बहुसंख्यक पत्रकारहरुको भूमिका संस्थापनको 'रफ़ूगर' मा संकुचित हुँदैछ। यो दुखद छ। 'रफ़ूगर' ले उध्रिएको ठीक पार्छ, भ्वांग टाल्न सक्दैन।