–रुपान्तरण संवाददाता
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा मधेशका सम्मानित नेता महन्थ ठाकुरले आगामी फागुन २१ गतेका लागि प्रस्तावित संघीय संसदको चुनाव सम्पन्नहुने बारे आफू आशंकित रहेको बताउनु भएकोछ ।
“अहिले एकातिर संघीय संसद पुनर्स्थापनाको संभावना खोजिदैछ भने अर्कोतिर संघीय संसदको चुनावको तयारी भै रहेको पनि सुनिएकोछ । फागुन २१ गते संघीय संसदका लागि प्रस्तावित चुनाव कुन अवस्थामा हुने हो र कस्तो हुने हो ? सबै राजनीतिक दलहरुमा थुप्रै संशयहरु छन । चुनावका बारे म त्यति धेरै आशावादी हुन सकेको छैन” ठाकुरले बताउनु भयो ।
संसद पुनर्स्थापना र फागुन २१ गते हुने भनिएको चुनावका सन्दर्भमा रुपान्तरण संवाददातासंग कुरागर्दै नेता ठाकुरले भन्नु भयो, “सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको एक महिना बितिसकेकोछ । हालै भएको आन्दोलनले पूरै देश आतंकित बनाएको छ । मधेश र पहाडका राजनीतिक कार्यकर्ताहरु अझै घरबाट बाहिर निस्किएर सार्वजनिक जीवनमा सक्रिय हुन सकेका छैनन । कार्य पालिका र न्याय पालिकाका पदाधिकारीहरु पदबाट राजिनामादिने अवस्थामा पुगेका छन । आन्दोलनको उद्देश्य जनताको ‘भलो’गर्ने थियो, तर अहिले समाजमा ‘भय’ फैलिएको छ । सरकारले स्वच्छ र सफा चुनाव गराउने नै हो भने सबभन्दा पहिले जनताको मनमा रहेको भय हटाउन कडा मेहनत गर्नु पर्दछ । ‘हिलिंग’ को त्यो प्रोसेस त शुरु नै भएको छैन ।”
वर्तमान सरकारको गठनमा सेनाले निकै चासो र अग्रसरता देखाएकोले यस्तो अवस्था उत्पन्न भएको त होेइन ?
प्रश्नकोे उत्तरमा नेता ठाकुरले भन्नुभयो : म नेपाली सेनालाई दोष लगाउन चाहन्न । आन्दोलनमा सेनाको हस्तक्षेपपछि काठमाडौ शहरको जन–जीवन अलिकति ब्यबस्थित बनेकोछ । मधेशमा पनि लूटपाट बन्द भएको छ । तर, चोरी–चकारी भने यथावत चलेकैछ । सीमावर्ती क्षेत्रमा आतंक छ । त्यहाँ अराजक घटना बढेकाछन । सेनाले पनि आन्दोलन नियन्त्रण गरेको होइन । तर, सेनाको उपस्थितिले अराजकता रोकिएकोछ । सेनाले प्रत्यक्ष रुपमा शासन आफनो हातमा नलिएपनि यसको ‘हेडक्वाटर’ राजनीतिक मामिलामा सक्रिय रहेको स्पष्ट देखिन्छ । प्रधान सेनापतिका वरिपरि धेरै वदनामी कमाएका मानिसहरुको जमघट बढेको देखिन्छ । त्यस्ता मानिसहरु कसरी र कुन हैसियतले हेडक्वाटरभित्र प्रवेश गरे ? यो कौतुहलपूर्ण बिषय बनेकोछ ।
हालै भएको आन्दोलनका बारे टिप्पणीगर्दै ठाकुरले भन्नुभयो : कुनैपनि आन्दोलनको लक्ष्य र उद्देश्य जनताको भलोगर्ने नै रहेको हुन्छ । तर, यसपटकको आन्दोलन शान्तिपूर्ण हुन सकेन । अराजकतावादीले कमाण्ड समातेपछि आन्दोलन ‘अराजक’ बन्यो । यसले भौतिक बिनासमात्रै गरेन, मानसिक रुपमा जनतालाई आतंकित तुल्यायो । साना ब्यवसायीमाथि आक्रमण भयो । राजनीतिक नेताहरुमाथि आक्रमण भयो । सिंह दरबार र शितल निवास जलाइयो । निर्मल निवासमा त आक्रमण भएन नि ।
“सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएर सबै कुरा ‘फिक्स्ड’ गरिसकेपछि दलहरुलाई छलफलमा बोलाउनुको के अर्थ रहन्छ ?” नेता ठाकुरले प्रश्नगर्नु भयो : अहिले जनतामाथि चुनाव थोपर्न खोजिएकोछ । काठमाडौले जे गर्छ त्यो त सबैले मानिहाल्दछन नि भन्ने मानसिकताका आधारमा काम भएकोछ । यो गलत र संकीर्ण प्रवृत्ति हो । यस्तो प्रबृत्तिले देशको भलो गर्दैन ।