नेपाल अब गोरखा हो - रुपान्तरण
 २०८२ कार्तिक २१, शुक्रबार    

नेपाल अब गोरखा हो


– राजेन्द्र बजगाईं

नेपाललाई गोरखा भनेर पनि चिनिने छ।

हरेक देशको इतिहासमा एउटा क्षण आउँछ — जब उसले आफूलाई पुनः मूल्याङ्कन गर्नुपर्छ, आत्मनीरिक्षण गर्नुपर्छ, र साहसपूर्वक नयाँ परिभाषा दिनुपर्छ। नेपालका लागि त्यो क्षण ढिलो भइसकेको छ। अब समय आएको छ— पुरानो जड प्रणाली र भ्रमपूर्ण नाराबाट बाहिर निस्केर, हाम्रो मौलिक साहस, स्वाभिमान र परिश्रमको आत्मालाई पुनः खोज्ने।

अब देशले “नेपाल” होइन — “गोरखा” को रूपमा उठ्नुपर्छ। गोरखा नाम एउटा पुनर्जन्म हो — साहस, अनुशासन र सुधारको प्रतीक। यो नामले हाम्रो पहिचानको पुनः निर्माण गर्छ, हाम्रो आत्मविश्वास जगाउँछ र विश्वलाई सन्देश दिन्छ — हामी परिवर्तनका लागि तयार छौँ।

नाम केवल शब्द होइन, राष्ट्रको आत्मा हो।

“गोरखा” केवल एउटा जिल्ला होइन — यो हाम्रो इतिहासको साहसिक साक्षी हो। पृथ्वीनारायण शाहदेखि लिएर विश्वभरका गोरखा सैनिकहरूसम्म, यो नाम अनुशासन, इमानदारी र शौर्यको पर्याय बनेर रहेको छ। बेलायती, भारतीय, सिंगापुर, र इस्रायली सेनासम्म गोरखा शब्दको अर्थ हुन्छ — निष्ठा र बहादुरी।

त्यसैले “नेपाल” बाट “गोरखा” मा रूपान्तरण कुनै इतिहास मेट्ने काम होइन — यो इतिहास पुनःजागरणको कार्य हो। यो नामले केवल नागरिकमा स्वाभिमान जगाउनेमात्र होइन, विश्वलाई पनि सन्देश दिनेछ — यो राष्ट्र अब सुस्त र मौन होइन, यो अब जाँगरिलो, साहसी र पुनर्जीवित छ।

नयाँ नाम नयाँ आत्मा बोकेर आउनेछ —स्वतन्त्रता, अनुशासन र आत्मसम्मानको । संसारले ती देशहरूलाई आदर गर्छ जो आफ्नो पहिचानमा दृढ हुन्छन्। गोरखा त्यो दृढताको प्रतीक बन्न सक्छ।

राजनीतिक पुनर्जागरणः संस्थागत पुनर्निर्माणको यात्रा

राष्ट्रको पुनर्जन्मको पहिलो कदम राजनीतिक शुद्धीकरण हो। नेपालको ऐतिहासिक लोकतान्त्रिक शक्ति — नेपाली कांग्रेस — ले यस यात्राको नेतृत्व गर्नुपर्छ। तर भावनाले होइन, नवपरिकल्पनाले। कांग्रेसले अब पुरानो शैलीको आडम्बर र अवसरवाद त्याग्नुपर्छ।

नेतृत्व अब वंशज वा समूहको सम्पत्ति होइन — इमानदारी, अनुशासन र दृष्टिकोणद्वारा प्राप्त जिम्मेवारी हुनुपर्छ। पार्टीका कार्यवाहक सभापति, उपसभापति, महामन्त्री र अन्य पदाधिकारीहरूले पद धारण मात्र होइन, उद्देश्य धारण गर्नुपर्छ।

सूचना–राजनीति, गुप्त रिपोर्ट र गुटीय सिफारिसको संस्कार अब अन्त्य हुनुपर्छ। पद हात पारेर देश परिवर्तन हुँदैन। शक्ति र सिद्धान्त बीच अब चयन गर्नुपर्छ। नेपाली कांग्रेसले २०औँ शताब्दीको मानसिकता बोकेर २१औँ शताब्दीमा नेतृत्व गर्न सक्दैन।

आर्थिक क्रान्तिः नयाँ संरचना निर्माण

नेपालको अर्थतन्त्र सुधार होइन — क्रान्तिको मागमा छ। अब निर्भरता होइन, उत्पादन र सिर्जना गर्छ। नेतृत्व गर्छ।

पहिचानका पाँच स्तम्भ — पर्यटन, जलविद्युत्, कृषि, सञ्चार र सूचना प्रविधि — नयाँ गोरखाको मेरुदण्ड बन्न सक्छन्। तर यी क्षेत्रहरू चलाउन आधुनिक वित्तीय संरचना अपरिहार्य छ। त्यसका लागि विदेशी निजी बैंकहरूलाई प्रवेश दिनु आवश्यक छ, जसले लगानीकर्तामा विश्वास जगाउँछ। बैंक बिना पूँजी आउँदैन, पूँजी बिना औद्योगिकता बढ्दैन।

सुरक्षा र सुशासन नै यसको आधार हुनुपर्छ। इस्रायलले आफ्नो अर्थतन्त्र जोगाउन जस्तो अभेद्य सुरक्षा प्रणाली बनायो, त्यस्तै गोरखाले पनि आफ्ना स्रोत, सीप र सीमालाई जोगाउने आधुनिक सुरक्षा संरचना निर्माण गर्नुपर्छ। सुरक्षा र विकास अब सँगसँगै अघि बढ्नुपर्छ।

मानव बसोबासको पुनर्कल्पना

विकासको अर्थ केवल सडक होइन — मानव जीवनको पुनव्र्यवस्था हो। नेपालको विखण्डित बस्ती र अनियोजित शहर व्यवस्थाले सेवाको दक्षता नष्ट गरेको छ। अब गोरखाले “पकेट–आधारित मानव आवास मोडल” अपनाउनुपर्छ — जहाँ दुर्गम बस्तीहरूलाई स्वेच्छाले आधुनिक सेवायुक्त क्षेत्रमा सारिन्छ।

यी बस्तीहरूमा शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल पहुँच सबै उपलब्ध हुनेछ। यसका लागि कतार र दुबईले जस्तै सयौँ अन्तर्राष्ट्रिय परामर्शदाता र आर्किटेक्टहरू भाडामा लिएर योजनाबद्ध विकास आरम्भ गर्नुपर्छ। साथसाथै, अनुसन्धान–आधारित विश्वविद्यालयहरू स्थापना गरी आफ्नै देशका विकास–विशेषज्ञ तयार गर्नुपर्छ।

रणनीतिक नीतिमा निर्णायक मोड

दशकौँदेखि नेपालले “गुटनिरपेक्ष” नीतिलाई आफ्नो पहिचान बनाएको छ, तर व्यवहारमा यो नीति अनिर्णयको प्रतीक रहँदै आएकोछ । अब निर्णय लिनुपर्छ — गोरखाले अब रणनीतिक गठबन्धन नीति अपनाउनेछ, जसमा राष्ट्रिय हित नै पहिलो प्राथमिकता हुनेछ।

भारतलाई स्वाभाविक साझेदारको रूपमा स्वीकार गर्नुपर्छ — प्रतिद्वन्द्वी होइन, साझा समृद्धिको सहयात्रीको रूपमा। नेपालका १० मध्ये ६ वटा तीव्रमार्गीय पूर्वाधार भारततिर जोडिनुपर्छ। यसरी व्यापार, लगानी र औद्योगिक सहकार्य सहज हुनेछ।

त्यस्तै, पश्चिमी लोकतान्त्रिक देशहरूलाई विकास–साझेदारको रूपमा सम्बद्ध गर्नुपर्छ। गोरखाले लोकतान्त्रिक सिद्धान्तका पक्षमा स्पष्ट उभिनुपर्छ — स्वतन्त्रता, जवाफदेहिता र प्रगतिका साथ। नारा अब एकै हुनुपर्छ — “पहिले राष्ट्र, पछि अरू सबै।”
नेताको जन्म राजनीतिबाट होइन, दृष्टिबाट हुन्छ।

देश परिवर्तन राजनीतिले होइन, नेतृत्वले गर्छ। नेपालमा मानिसको कमी छैन, उद्देश्यको कमी छ। अब यस्तो पुस्ता चाहिन्छ जसले पुराना गल्तीहरू दोहोर्याउँदैन, तर नयाँ सोच र इमानदारीले नेतृत्व गर्छ।

तर सावधानी पनि आवश्यक छ — नयाँ पुस्तामा पनि नयाँ दुष्टता जन्मिन सक्छ। त्यसैले संस्थाहरू व्यक्ति भन्दा बलिया हुनुपर्छ। नेतृत्व सिद्धान्तले निर्देशित हुनुपर्छ — लोकप्रियताले होइन; दृष्टिले, न कि प्रदर्शनले।

विश्वका उदाहरणहरूबाट सिकौँ

सिंगापुर ले अनुशासन र दक्ष प्रशासनद्वारा आफूलाई पुनर्जन्म दियो। इस्रायलले सुरक्षालाई आर्थिक विकाससँग जोडेर अभावलाई शक्तिमा रूपान्तरण ग¥यो। न्यूयोर्क सिटी ले दिवालिया अवस्थाबाट आर्थिक पुनर्संरचना र नागरिक सहकार्यद्वारा पुनः उभार ल्यायो।

गोरखा यी सबैबाट सिक्न सक्छ — सिंगापुरको अनुशासन, इस्रायलको सुरक्षा दृष्टि, र न्यूयोर्कको आर्थिक धैर्य। हिमालयको गर्भमा जन्मिएको राष्ट्रले दक्षिण र मध्य एशियाबीचको पुल बन्न सक्छ, यदि शासन र पूर्वाधारमा विश्वस्तरीय सोंच लागू ग¥यो भने।

मानसिक र नैतिक पुनर्जागरण

गोरखामा रूपान्तरण केवल प्रशासनिक परिवर्तन होइन — यो मनोवैज्ञानिक क्रान्ति हो। यसले हामीलाई आत्म–दया र निर्भर संस्कारबाट मुक्त गराउँछ। यसले हाम्रो कथालाई नयाँ गर्वका साथ पुनर्लेखन गर्छ।

अब नागरिकहरूले आफूलाई भ्रष्टाचारका पीडित होइन, साहसका संरक्षकका रूपमा हेर्नुपर्छ। नयाँ पुस्ता — विशेषतः — जेन–जी पुस्ताले बुझ्नुपर्छ, उनीहरूले टुटेको देश होइन, पुनर्जन्मको अवसर पाएका छन्। देशभक्तिको अर्थ नारामा होइन, व्यवहारमा देखिनुपर्छ।

चेतावनी र जागरण

हालै एक विश्वसनीय विदेशी पत्रकार ले नेपालमा सम्भावित अस्थिरताको चेतावनी दिएको थियो — उनले सेप्टेम्बर ७ अघि नै आक्रमणको योजनाबारे सूचित गरेका थिए। त्यही योजनाबारे अर्धसैनिक निकायका उच्च अधिकारीहरूले पनि गोप्य रूपमा जानकारी पाएका थिए, तर कार्यान्वयन ढिलो भयो। यस्तो ढिलाइ अब गोरखामा सह्य हुनेछैन। अब सुरक्षा संयन्त्रहरू बुद्धिमान, सक्रिय र समन्वित हुनुपर्छ।

नयाँ नाम, नयाँ राष्ट्र

नेपाललाई “गोरखा” नाम दिनु केवल नाम परिवर्तन होइन — यो आत्माको पुनःपरिभाषा हो। यसले इतिहासको सम्मान गर्छ, र भविष्यलाई साहसका साथ स्वागत गर्छ।

झण्डा उही रहन्छ, आस्था उही रहन्छ, तर सोच परिवर्तन हुन्छ। हामी अब विकासका लागि याचना गर्दैनौ — हामी विकास डिजाइन गर्छौ। हामी अब स्वीकृति खोज्दैनौ — हामी सम्मान कमाउँछौ।

“गोरखा” नाम विश्वका आँखामा एउटा सानो हिमाली राष्ट्र होइन, एक आत्मनिर्भर, रणनीतिक र गौरवशाली देशको रूपमा देखा पर्छ। त्यो केवल सपना होइन — त्यो हाम्रो नियति हो, जुन पूरा गर्न अब केवल साहस चाहिन्छ।

देशहरूको नाम परिवर्तन कुनै सामान्य प्रक्रिया होइन — यो प्रायः राष्ट्रिय आत्मसम्मान, ऐतिहासिक पुनर्जागरण, र पहिचान पुनःस्थापनाको प्रतीक हो।
कसैले उपनिवेशवादको छायाबाट मुक्त हुन नाम फेर्छन्, कसैले नयाँ राजनीतिक युग घोषणा गर्न, त कसैले आफ्नै भाषा र संस्कृतिलाई अग्रता दिन।

उदाहरणहरुः

बर्मा– म्यानमार– विविध जातीय समूहहरुको प्रतिनिधित्व र राष्ट्रिय एकताको संकेत।
सिलोन– श्रीलंका– औपनिवेशिक नामको अन्त्य र स्थानीय पहिचानको पुनस्र्थापना। परसिया– इरान– आफ्नै ऐतिहासिक र भाषिक जरा फर्काउने निर्णय।
सयाम– थाइल्याण्ड– “स्वतन्त्रताको भूमि” भन्ने अर्थमा स्वतन्त्र पहिचानको घोषणा। स्वाजील्याण्ड– एस्वतीनी– युरोपेली नाम हटाएर आफ्नै स्थानीय अर्थपूर्ण नाम स्विकार।
जाईरा– डेमोक्रेटिक रिपब्लिक अफ कंगो– अधिनायकवादी अतीतको अन्त्य र लोकतान्त्रिक पुनर्जन्मको संकेत।

अब प्रश्न उठ्छ – “नेपाल र गोरखामा के भिन्नता छ?”

उत्तर ऐतिहासिक र नैतिक दुवै छेउबाट स्पष्ट छ। नेपालको एकीकरण गोरखाले गरेको हो। यो भूमि “नेपाल” कहलिनु अघि, यसको आत्मा “गोरखा” थियो। गोरखाबाटै यो देशको मुटु बनेको हो– साहस, अनुशासन, र स्वाभिमानको मुटु। विश्वमा जहाँ–जहाँ नेपाली उपस्थित छन्, त्यहाँ “गोरखा” शब्दले स्वतः सम्मान र वीरताको छवि बोक्छ। फकल्याण्ड युद्धमा जसरी गोरखाले साहसको कथा लेखे, त्यस्तै वीरता यहाँ प्रत्येक जात, धर्म, र वर्गका नेपालीले देखाएका छन्।

त्यसैले गोरखा कुनै जात होइन– यो चरित्र हो, यो साहस हो, यो सबै जात–धर्मको साझा नाम हो। नेपाललाई “गोरखा अधिराज्य” भनिने प्रस्ताव स्वाभाविक रूपमा आउन सक्छ। यो नामले हाम्रो इतिहासलाई मात्र होइन, हाम्रो असल पहिचानलाई पुनर्जागृत गर्छ। गोरखा भन्नु भनेको “हामी सबै” भन्नु हो — जहाँ कुनै जात, वर्ग, भाषा, धर्मको भेद छैन; जहाँ वीरता, अनुशासन र देशप्रेम नै राष्ट्रिय धर्म हो। गोरखा भनेको नेपालको आत्मा हो।

त्यसैले देशको नामफेर्ने कुरा कुनै राजनीतिक नारा होइन– यो आत्मपहिचान पुनः प्राप्त गर्ने राष्ट्रको आह्वान हो।