काठमाडौं मेडिकल कलेज - रुपान्तरण
 २०८२ माघ १, बिहीबार    

काठमाडौं मेडिकल कलेज

स्वास्थ्य शिक्षा र जनसेवामा बहुआयामिक


के भन्दछन सेवाग्राही ?

काठमाडौें कपन निवासी मुनिन्द्रप्रसाद दाहाल मुटुका दीर्घरोगी भिनाजु खिलानाथ पोखरेलको उपचारका लागि भदौ १९ गते केएमसी आएका थिए । उनी केएमसीको उपचार सेवाबाट खुशी छन । विगत सात वर्षदेखि भिनाजु खिलानाथको उपचार केएमसीमा हुँदै आएको छ । दाहाललाई तुलनात्मक रूपमा केएमसीको सेवा अलिकति महँगो लागेपनि समग्रमा अस्पतालको व्यवस्थापकीय पक्ष राम्रो भएकोमा उनी खुशी छन । उनी भन्दछन ः समग्रमा अस्पतालको सेवा राम्रो छ । सेवा राम्रो छ र नै मानिसको भीड लाग्ने गरेकोछ । भीडका कारण सामान्य सेवा लिन पनि सिङ्गो दिन बित्छ ।

केएमसीको बीमा काउन्टरमा भेटिएका अर्का सेवाग्राही गणेशराज गिरी कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित मूलपानी नगर अस्पतालबाट रेफर भई केएमसी आएका हुुन । उनको स्थायी घर काभ्रे हो । हाल काठमाडौंको मूलपानीमा बसोबास गर्दै आएका गिरीलाई प्रोस्टेटको समस्या छ । उनी विगतमा केएमसीमा आफन्तको उपचार गराएको र अन्यत्रभन्दा सेवा राम्रो पाएको अनुभवका आधारमा आफ्नो उपचारका लागि केएमसी रोजेको बताउँछन ।

जटिल रोगहरूको सफल उपचार

विश्वमै दुर्लभ मानिने ‘हाइपरम्याङ्गानेसेमिया’ रोगको सफल उपचारगर्ने नेपालको पहिलो अस्पताल केएमसी हो । मालारानी गाउँपालिका–१ अर्घाखाँचीकी २१ महिने बालिका आध्या विक हाइपरम्याङ्गानेसेमियाबाट पीडित थिइन् । प्रारम्भमा सामान्य हिँडडुल गर्ने आध्या एकाएक हिँड्न नसक्ने अवस्थामा पुगिन् । २०८२ जेठमा परिवारले उनलाई केएमसी अस्पताल लिएर आए । केएमसीका चिकित्सकहरूको अथक् प्रयासपछि अन्ततः आध्याको उपचार सफल भयो । अहिले उनी निर्बाध हिँडडुल गर्न सक्ने भएकी छन् ।

हाइपरम्याङ्गानेसेमिया रोगले मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर असरपार्छ । यसको उपचार अत्यन्तै चुनौतीपूर्ण हुन्छ । त्यसैले केएमसीको यस सफलतालाई ऐतिहासिक मानिन्छ ।
यस्तै, अङ्ग प्रत्यारोपणमा पनि केएमसीलाई राम्रो अस्पताल मानिन्छ । कलेजो, मिर्गौला लगायतका अङ्ग प्रत्यारोपणमा केएमसीले केही सफलता हात पारिसकेको छ । यसका अतिरिक्त बाह्य मुलुकहरूमा समेत महँगो मानिने अङ्ग प्रत्यारोपण सेवा केएमसीले धेरै हदसम्म सुलभ शुल्कमा उपलब्ध गराउँदै आएको अस्पताल प्रशासनको भनाइ छ ।

चिकित्सा शिक्षामा केएमसी

केएमसीलाई स्वास्थ्योपचारसँगै मेडिकल शिक्षामा समेत अग्रणी मानिन्छ । यसअन्तर्गत एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, एमएस्सी नर्सिङ, एमडी÷एमएस, एमडीएस, पारामेडिकललगायत स्वास्थ्यसम्बन्धी स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । केएमसीको मेडिकल शिक्षामा स्वदेशी मात्र नभई विदेशी विद्यार्थीहरूको समेत आकर्षण रहने गरेको छ । अस्पतालका जनरल म्यानेजर नारायणप्रसाद दाहालका अनुसार यहाँ भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का लगायत मुलुकहरूबाट समेत मेडिकल शिक्षा अध्ययनका लागि विद्यार्थीहरू आउने गरेका छन् । विद्यार्थीहरूको सुविधाका लागि केएमसीले छात्रावासको समेत व्यवस्था गरेको छ । केएमसीले स्थापनाकालदेखि हालसम्मको अवधिमा करिब चार हजारको हाराहारीमा दक्ष चिकित्सक उत्पादन गरिसकेको बताइएको छ ।

सामाजिक उत्तरदायित्वमा केएमसी

केएमसीले आफूलाई व्यावसायिक अस्पतालमा मात्रै सीमित गरेको छैन, सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिएको छ । यसअन्तर्गत अस्पतालले विपन्न वर्गलाई उपचार सेवामा विशेष छूट दिने गरेको छ । यसका अतिरिक्त, दूरदराजमा अस्पतालको सेवा पु¥याउने प्रयोजनार्थ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दुर्गम गाउँ–बस्तीहरूसम्म विषेशज्ञ चिकित्सकको टोलीसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी हजारौंलाई लाभान्वित गराइसकेको जनरल म्यानेजर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस्ता शिविरमा स्वास्थ्य परीक्षण गरी शल्यक्रिया गर्नुपर्ने देखिएका जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई केएमसीमा ल्याएर औषधिबाहेक अन्य सबै सेवा निःशुल्क उपलब्ध गराउने गरिएको छ ।

विपन्नको सेवामा केएमसी

आर्थिक अभावमा उपचार नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने बिडम्बनापूर्ण स्थितिहरूमा समेत केएमसी सहारा बन्दै आएको छ । निजी क्षेत्रबाट सञ्चालित भएर पनि केएमसी जीवन–मरणको दोसाँधमा रहेका कतिपय विपन्न बिरामीको जीवनदायिनी बनेको छ । हालसालै एक जना यस्तै बिरामीलाई केएमसीले नयाँ जीवन दिएको छ । मोरङको बेलबारी नगरपालिका–३ निवासी ३८ वर्षीय जापानसिंह लिम्बू तीन वर्षदेखि मिर्गौला फेल भएर पीडामा हुनुहुन्थ्यो । कमजोर आर्थिक अवस्थाका कारण उहाँले आवश्यक उपचार पाइरहनुभएको थिएन । जसै यो खबर अस्पतालका नेतृत्वकर्ता सांसद डा. सुनिल शर्माको कानमा प¥यो, उहाँले आफ्नो मानवीय उदारतालाई खुलेर प्रकट गर्नुभयो । डा. शर्माले लिम्बूको घरमै पुगेर अवस्थाको जानकारी लिनुभयो र तत्काल केएमसी अस्पतालमा आवश्यक सबै उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइदिनुभयो । जापानसिंहलाई उहाँका ६० वर्षीय पिता धनप्रसाद लिम्बूले मिर्गौला दान गर्नुभयो । सफल शल्यक्रिया र मिर्गौला प्रत्यारोपणपछि अहिले लिम्बूलाई नवजीवन पाएझैं भएको छ ।

केएमसीमा उत्पन्न विवाद र तिनको निरूपण

केएमसी अस्पतालमा स्वास्थ्य उपचारका क्रममा बेलाबखत विभिन्न विवादहरू सिर्जना भएको देखिन्छ । केही उपचारमा अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै बिरामीका आफन्तले विरोध प्रदर्शनदेखि चिकित्सकमाथि भौतिक आक्रमणसम्म गरेका घटनाहरू छन् । तथ्य र प्रमाणहरूले ती घटनामा बिरामीका आफन्तले दाबी गरे जस्तो लापरबाही अस्पतालले नगरेको स्पष्ट गरेका थिए ।

अस्पताल प्रशासनले आफूमाथि लागेका आरोपहरू चिर्दै आफूलाई एक उत्कृष्ट निजी अस्पतालका रूपमा उभ्याउन सफल रहँदै आएको छ । केएमसीमा उपचारार्थ दैनिक लाग्ने सेवाग्राहीको बाक्लो भीड नै यस तथ्यलाई पुष्टि गर्ने एक मजबुत आधार हो ।