- राजेश मिश्र
भेनेजुएलाका अपहरित राष्ट्रपति निकोलस मदुरोका निम्ति नयाँ बर्ष २०२६ एक अप्रत्याशित दूस्वप्नका रुपमा प्रकट भयो। मदूरोका लागि यो अप्रत्याशित भएपनि अमेरिकी भूराजनीतिक रणनीतिकारहरुका निम्ति यो एक लामो अभ्यासको अन्तिम शृंखला मात्रै हो। भेनेजुएला माथिको अपरेशन एब्सोल्यूट रिजल्भू नामक यो सैन्य कारवाहीको योजना डोनाल्ड ट्रम्प दोश्रोपटक राष्ट्रपति निर्वाचित हुनु भन्दा महिनौ अघि देखि बुनिंदै थियो। तर ट्रम्पका निम्ति यो कारवाही अमेरिकाको पारम्परिक मनरो डक्ट्रीन अनुरुप आफ्नो आधिपत्य बिस्तार गर्ने मौका मात्र थिएन।
विश्वका धनाढ्य र शक्तिशाली पाका पुरुषहरुले नाबालिकाहरुको यौन शोषण गरेको कालो कथाले भरिएको जेफरी एप्स्टीनको फ़ाईलमा ट्रम्पको नाम मेटाउनै नमिल्ने गरी मुछिएको छ। यो मुद्दाले अमेरिकाको आन्तरिक राजनीतिलाई प्रभावित गर्ने सम्भावना बढ्दै थियो। ट्रम्पका मागा समर्थकहरु समेत उनीबाट टाढिंदै थिए। उनको दक्षिणपन्थी ईसाई समर्थकहरुको आधारभूमिमा धाँजा फ़ाट्दैथियो। भेनेजुएला आक्रमण पछि अमेरिकीहरुको चिया गफ र बार बैठकमा एप्स्टीन फ़ाईलको मुद्दा ओझेल परेको छ। अमेरिकीहरु यस्तो ध्यानभंगतासंग प्रेम गर्छन। अहिले अमेरिकी समाचार उत्पादन कारखानाको प्राथमिकताबाट एप्स्टीन फाईल विलुप्त छ। चर्चाको शीर्ष स्थानमा भेनेजुएला छ।
अमेरिकी सेनाको डेल्टा फोर्सले भेनेजुएलाको राजधानी काराकास स्थित मदुरोको दरवार कब्जा गर्दा स्थानीय सुरक्षा फौजले प्रतिकार गर्ने औचित्य नै देखेन। मदुरोकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिकी सेनाको टोलीले उनको शयानागारमै नियन्त्रणमा लियो। हरेक तानाशाह स्वार्थी हुन्छन्। मदूरो पनि आफ्नी पत्नीलाई अलपत्र छाडेर आफू एक्लै सुरक्षित बंकरमा प्रवेश गर्नै लागेका थिए। तर केही सेकेन्डको चूकले गर्दा उनी पनि अमेरिकीको कब्जामा परे।
भेनेजुएलाको हवाई सुरक्षा प्रणाली चीनको प्राविधिक सहयोगमा चलेको थियो। एक अमेरिकी सैन्य अधिकृतले दावी गरे, त्यो प्रणाली ध्वस्त पार्न हामीलाई पांच मिनेट पनि लागेन।
जनवरी ३ को त्यो बिहानको ३ बजेको समय मदूरो दरवारको सुरक्षा ब्यस्वस्था पनि अनौठो रुपले नाजूक थियो। उनलाई अमेरिकी सेनाले सबैभन्दा पहिले हत्कडी लगायो। त्यसपछि कालो अपारदर्शी ओपेक चस्माको पालो थियो। ताकि उनी केही देख्न नसकून। अनि उनको कानमा ध्वनी नियन्त्रक ईयर फोन लगाईयो। मदूरो अब सुन्न पनि नसक्ने अवस्थामा पुगे। केही मिनेट अघि सम्म भेनेजुएलाका निर्विवाद शासक दम्पत्तिलाई नजिकै तैरिएको युद्द पोतमा स्थानातरित गरियो। रातारात अमेरिकी सैन्य बिमान अमेरिका तिर उड्यो। अमेरिकी हवाई क्षेत्रमा त्यो बिमान प्रवेश गर्नु अघिनै न्यू योर्कको आकाशलाई नो फ्लाई जोनू घोषित गरियो। मदूरो चढेको बिमान निकै कम उचाईंबाट संयुक्त राष्ट्र संघको मुख्यालय हुँदै अमेरिकाको विख्यात स्टाच्यू अफ लिबर्टी लाई देब्रे पारेर उनलाई थुन्न तयार राखिएको डिटेन्सन सेन्टरमा अवतरित भयो।
मदूरो प्रजातन्त्रका पुजारी होईनन्
प्रश्न हो, मदूरोका सेना र अङ्गरक्षकले किन प्रतिकार गरेनन् ? उनी निश्चित रुपले प्रजातन्त्रका पुजारी थिएनन्। उनका पूर्ववर्ती नेता ह्युगो चावेज यूगको अन्त्यपछि सन् २०१३ मा सत्तामा आएका निकोलस मदूरोले सन् २०२५ सम्म राज्यका न्यायपालिका, कार्यपालिका, र व्यवस्थापिकामा कठोर नियन्त्रण कायम गरे। राज्यको अर्थतन्त्र निजी क्षेत्रको सहभागिता भन्दा राज्य नियन्त्रित नीति निर्माताहरुको नियन्त्रणमा थियो। अहिले एक अमेरिकी डलर बराबर भेनेजुएलाको मुद्रा बोलिभार को औकात शुन्य दशमलव शुन्य शुन्य तीन तीन ०.००३३ छ।
प्रीयतावादलाई भजाएर सेनाको भरमा गरिने शासन संधै क्षणभंगुर हुन्छ। भेनेजुएलाको डीप स्टेट वा भूमिगत शासकहरुको गिरोहले मदूरोलाई एक्स्पेण्डेबल वा ब्यययोग्य ठानिसकेको अवस्थाका बारेमा बिश्व जनमत सूचित थिएन भन्नु हास्यासपद हो। मदूरो पछि आकार लिने नयाँ शक्ति सन्तुलनको तराजूमा आफ्नो वजन थप्ने समूह भेनेजुएलामा बर्षौंदेखि सकृय थियो। र, त्यो शक्ति अमेरिकी बिदेशी जासुसी संस्थासंग मिलेको थियो।
जनमानसको चरित्र नै हरेक अप्रत्याशित घटनामा आश्चर्यचकित हुनु हो। तर घटनाको पृष्ठभूमि जनमानसको सोच भन्दा बिस्तृत हुन्छ। अमेरिकाले मदूरोलाई आसपास वा तेलकासा खेलेर मात्रै नियन्त्रणमा लिएको होईन।
शक्तिको अद्भूत प्रदर्शन
अमेरिकी राष्ट्रपति सेतो घरको सिचुएसन रूममा मदूरोको अपहरण त्यसरी नै प्रत्यक्ष हेर्दैथिए, जसरी तत्कालीन राष्ट्रपति बाराक ओबामा सन् २०११ को मे महिनाको दुई तारिकमा ओसामा बीन लादेनको गैर न्यायिक हत्याको साक्षी बसेका थिए।
मदूरोलाई अमेरिकी डेल्टा फोर्सले कब्जामा लिने बित्तिकै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा लेखे, अद्भूत कारवाही। यसको लगत्तै उपराष्ट्रपति जेडी भान्सले बोले, एउटा कम्युनिष्ट हाम्रो प्रभावक्षेत्रको गोलार्द्दमा हाम्रै संशाधन चोर्दैछ, हामी टुलुटुलु हेरेर बस्ने ? हामी शक्ति राष्ट्र हौँ र यो हाम्रो चरित्र होईन।
जेडी भान्सले बोलेका कुरामा आपत्ति गर्ने आधार होलान्। तर अमेरिकाले एक शक्ति राष्ट्रका रुपमा विश्वमा खेलेको भूमिकाका बारेमा भान्सलाई गलत भन्न मिल्दैन। अब एकपटक ईतिहासलाई फर्केर हेरौं।
सन् १९०१ मा फिलिपिन्सका नेता एम्मिल्लॊ अगुनाल्डोलाई पनि अमेरिकी सेनाले मदूरो शैलीमै गिरफ्तार गरेका थिए। फिलिपिन्समा अमेरिकाले त्यो कालखण्डमा जमाएको प्रभुत्व बिरुद्द उनले आफ्ना जनतालाई जागरुक तुल्याउन चाहेको मूल्य उनले पनि मदूरो शैलीमै चुकाएका हुन्। यो कुरा बेग्लै हो कि, अमेरिकी सत्तासंग आत्मसमर्पण गरेपछि उनलाई सम्मानजनक जीवन बाँचेर ९५ बर्षको उमेरमा शान्तिपूर्वक मर्ने सुविधा प्राप्त भयो।
सन् १९९० मा पानामाका राष्ट्रपति म्यानुएल नोरिएगालाई पनि अहिले मदूरोलाई लगाईएकै नार्को टेरोरिज्मको आरोपमा पानामाबाट कब्जा गरेर अमेरिकामा ल्याएर मुद्दा चलाईएको हो। उनलाई अपहरण गरेर अमेरिका ल्याएपछि ४० बर्ष कैदगर्ने फैसला सुनाईयो। पछि तीस बर्षमा झारियो। उनले अमेरिकी कारागारमा सत्र बर्ष बिताए।
अमेरिकी मिडियाले एक सार्वभौम राष्ट्रमाथि यो तहको अतिक्रमण उचित थियो वा थिएन भन्ने बहस शुरु गर्न रुचाएन। बरु नोरिएगालाई पाईनाप्ल फेस भन्ने नाम दियो। नोरिएगाको अनुहारमा बिफरको जस्तै दाग थियो। अमेरिकी मिडियाले उसको अर्कै पहिचान बनाइदियो।सन् २०१० मा उनलाई अर्को मुद्दा खेप्न फ्रान्स पठाईयो। एक वर्ष पछि पनामाले उनलाई फ्रान्सबाट फिर्ता मागेर मानवअधिकार बिरोधी कृत्यका आधारमा बीस बर्षको कैद ठोकिदियो।
सन् २०१७ मा रुग्ण र थकित नोरिएगाको ८३ बर्षको उमेरमा निधन भयो।
रोचक कुरा, नोरिएगा अमेरिकी गुप्तचर संस्था सी आई ए का एक कारिन्दा थिए। उनलाई सत्तामा पुर्याउन सी आई ए ले निकै कसरत गरेको थियो। शीतयुद्द ताका अमेरिकालाई क्यारेबियन क्षेत्रमा सोभियत संघले गरेको चलखेलको सूचना दिने मान्छेमा नोरिएगा अग्रपंक्तिमा थिए। न अमेरिका कसैको हो, न कोही अमेरिकाको हो । आफ्नो परिवर्तित भूराजनीतिक स्वार्थका आधारमा अमेरिका आफ्नो शत्रु र मित्रको जोखना हेर्ने एक बनियाँ, धूर्त र शक्तिशाली मुलुक हो।
सन् २००३ मा अमेरिकाले ईराकमा आक्रमण गर्यो। कारण देखाईयो, सद्दाम हुसैनसंग आणविक हतियारको भण्डार छ। सद्दामलाई झुण्ड्याएर मारियो। तर आणविक हतियार फेला परेन। तर, सद्दामको पतन पछि ईराकमा आईसीसको उदय भयो। ईराकमा भत्किएका संरचनाको पुनर्निर्माण गर्न तत्कालीन उपराष्ट्रपति, जो हालै मरे, आफ्नो ह्यालिबुर्टन नामको कम्पनीलाई ठेक्का दिन सफल भए। ईराकमा रहेका अमेरिकीहरुको सुरक्षाका लागि "ब्ल्याक वाट" नामको निजी सुरक्षा कम्पनीलाई ठेक्का दिइयो। यो कम्पनी डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालकी शिक्षा मन्त्री न्यान्सी देभोसका भाई एरिक प्रिन्सको थियो।
ईराकका राष्ट्रपति सद्दाम हुसैनले ईरानसंग आठ वर्ष लामो युद्द गर्दा सद्दाम अमेरिकाका एक भरपर्दा मित्र थिए ।
संगमरमरको सेतो हात्ती
अमेरिकाले भेनेजुएलाको सार्वभौमसत्ता माथि गरेको बलात्कार देखेर विश्व हत्प्रभ छ। ब्राजील, चिली, कोलम्बिया, मेक्सिको, क्यूबा र निकारागुवाहरु खुलेरै प्रतिकार गर्दैछन्। चीन, रूस र उत्तर कोरिया जस्ता आणविक शस्त्रले सज्जित मुलुकहरु अझ बढी मुखर रुपले बिरोधमा उत्रिएका छन्। फ्रान्स, दक्षिण अफ्रिका र स्पेनहरु जीब्रो चपाएर बिरोधको भाषा बोल्दैछन्। तर ईजरेल, पेरु र सोमालील्याण्डहरु अमेरिकाको समर्थनमा खुला रुपले उत्रिएका छन्।
संयुक्त राष्ट्र संघ के गर्दैछ ? संयुक्त राष्ट्र संघका वर्तमान नेता एण्टोनियो गुटेरेसले मसिनो स्वरमा बिरोध त गरे। तर, अमेरिकाको आर्थिक सहयोग बिना उनको हात खुट्टा बांधिने कुरा पक्का छ। संयुक्त राष्ट्र संघको कूल बजेटको पच्चीस प्रतिशत अंशभार अमेरिकाले बेहोरेको छ। डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई भाटा हान्ने उद्घोष गरेपछि गुटेरेस डराउनु स्वाभाविक हो। अमेरिकाले पैसा दिन बन्द गरेको दिनको भोलिपल्ट संयुक्त राष्ट्र संघको आधा काम अलपत्र पर्छ। तर विश्वलाई नैतिक मूल्य र मान्यताका आधारमा शासन गर्न अभिप्रेरित गर्न बनेको यो संस्था लाचार छ।
संयुक्त राष्ट्र संघको धारा १९ अनुसार कुनै सदस्य राष्ट्रले दुई पटक सम्म आफ्नो कबुलनामा अनुसारको शुल्क नबुझाएको अवस्थामा त्यो सदस्य राष्ट्रको साधारण सभामा मतदान गर्ने अधिकार निलम्बित हुन्छ। अमेरिकालाई यसले फरक पार्दैन। किनभने, त्यही धारा १९ को अघिल्लो दफाले भनेको छ, आणविक अस्त्रधारी सुरक्षा परिषदका सदस्य राष्ट्रहरुका निम्ति यो नियम लागू हुने छैन। अमेरिकाले आफ्नो भागको रकम नबुझाएपनि, सुरक्षा परिषदमा उसले पाउने भीटोको अधिकार भने कायम रहनेछ। संसार बलिया बांगाहरुको हो।
यस अवस्थामा अहिलेको संयुक्त राष्ट्र संघ सेतो संगमरमरले बनेको विश्वभरी उपलब्ध जवाहरात जडीत सेतो हाती मात्रै हो। अमेरिकाका ४३ औं राष्ट्रपति जर्ज बुशले पानामा आक्रमण गर्दा सोभियत संघ भर्खर अन्तरबिष्फोट हुँदैथियो। संसार एकलध्रुवीय पुँजीवादी प्रणालीमा जाने लक्षण थियो। फ्रान्सीस फुकियामाहरु सभ्यताको अन्त्यको अनौठो व्याख्या गर्न थालेका थिए। तर, बौद्धिकको मगजमा कचल्टिने बायूकै आधारमा संसारको जीवनले स्वास फेर्दैन।
नेपाल चूप हुनुमै कल्याण छ
नेपालमा छत्तीस सालको आन्दोलन हुँदा म पांच कक्षाको बिद्यार्थी थिएँ। त्यो बेला आफ्नो झोलाको किताब घर छेउको पसलमा थन्क्याएर आन्दोलनकारी पर्चा बोकेर अस्कल र त्रिचन्द्र कलेजमा संघर्षरत दाईहरुसम्म ती पर्चा पुर्याउनुको रोमाञ्चले मेरो रौँ अझै ठाडो पार्छ। त्यो बेला पुलीसको पोशाकको रंग नीलो होईन, खैरो पंहेलो थियो। उनीहरुलाई ढुङ्गा हान्दा मलाई डण्डीबियो खेलेको जस्तै रमाईलो हुन्थ्यो।
जसरी म छत्तीस सालमा लहै लहैमा लागेर छयालीस सालको आन्दोलनमा कुरा बुझ्ने भएँ, अहिले जेन-जी नामले उफ़्रिएकाहरुलाई देख्दा मलाई छत्तीस सालको सम्झना हुन्छ।
हिजो एउटा पुरानो साथी तर, राजावादी पत्रकारले मलाई मेसेंजरमा सोध्यो, छयालीस सालको उपलब्धि के भयो त ? पछुतो लाग्दैन ?
मैले उसलाई जवाफ दिएको छैन, तर अहिले भन्छु, पछुतो छैन। हामीले छयालीस सालमा जे गर्यौं, त्यो नगरेको भए अहिलेको जेन-जी आन्दोलन यसरी जागृत हुनेथिएन। आन्दोलनलाई कसले कसरी अपहरण गर्यो, त्यो अनुसन्धानको अर्को बिषय हो। तर यो लोकरंजनको उभारमा सत्ताशयलका अभिलाषीहरु कुनै दिन जेलिन्स्की र मदूरोको परिणति भोग्न श्रापित छन्। यसमा मलाई द्विविद्दा छैन। अहिलेका फुल्के नेताहरु जनताको आक्रोशको घोडा चढेर परेडको मैदान धुलिसात गर्दैछन्।
तर, समाजमा प्रेमील हावा पनि बग्छ। अहिलेको धुलो संधैका लागि होइन । नेपाली समाजलाई एकजूट राख्ने त्यो प्रेम यो धूलोलाई पन्छाएर एकदिन प्रकट हुनेछ। स्वास फेर्न सोच्नुपर्ने अवस्थाको अन्त्य हुनेछ।
भेनेजुएला प्रकरणमा बामपन्थी बिद्यार्थीहरुले अमेरिका बिरुद्ध जुलुश प्रदर्शन गरेर आफ्नो कर्मकाण्ड पुरा गरे। तर, बेला न कुबेला भेनेजुएला काण्डका नायक पुष्पकमल दाहाल मौन छन्। बरु उनी भारत पुगेर आएका छन् । आरजू देउवा पनि उतै छिन। भेनेजुएला प्रकरणका बारेमा नेपाली कांग्रेस मात्र होईन, नयाँ गठबन्धन सहित युद्ध मोर्चामा जान तम्तमाएको रास्वपा पनि मौन छ। जेन-जी आन्दोलनको आवरणमा बालेन्द्र साह, रबि लामिछाने र कुलमान घिसिंगलाई राष्ट्रिय स्वार्थले मिलाएको होईन। अदृश्य शक्ति बाजा बजाऊँदै छ, हामी नाचेका छौं।
नेपाली राजनीतिक उद्यमीहरुले चिन्ता गर्नुपर्दैन। तिमीहरुको वजन चीलले उठाउने मुसोको जस्तो भैसकेको छैन।