– नारायण नेपाल
संघीय राजधानीसंग जोडिएको नुवाकोट जिल्लाका पहिलो जननिर्वाचित बामपन्थी जनप्रतिनिधि(सांसद) गणेश पण्डितलाई अमेरिका भ्रमणमा गएको एउटा आरोप लाग्यो । के उहाँ अमेरिका जानू अपराध थियो र ? उहाँले के गल्ती गर्नु भयो र उहाँ अपराधी बनाइनु भयो ? अहिलेसम्म एमालेका दस्तावेजहरुमा सत्य–तथ्य खुल्न सकेको छैन र तदनुरुप राजनीतिक निरुपण भएको छैन ।
उनको बिस्थापनपछि निर्वाचन राजनीतिमा नुवाकोटका बौध्दिक नेता डा.रामशरण महतको उदय भयो । तर, यो पटक डा.महतलाई पोखरा विमान स्थल बिस्तारका लागि संचालित बीआरआई परियोजनाको भ्रष्टाचार अभियोगमा तानियो । उहाँको स्वास्थ नाजुक अवस्थामा छ । उहाँ बोल्न सक्नुहुन्न, स्मरण शक्ति अत्यन्त क्षीण हुदैगएको छ ।
बजार अर्थशास्त्रका ज्ञाता र दुनियाँले पत्याएका डा.महतको बौद्धिक ब्यक्तित्वका बिरुध्द नेपालका शासकीय बर्गबाट किन यो अभियोग लाग्दैछ ?
केही दिन पहिले विदुर पुगेर पत्रकार सम्मेलन गर्दै अर्जुन नरसिंंह केसीले भन्नु भएछ : अब म चुनाव लडदिन ।
यो समाचार सबै सञ्चार माध्यमको हेडलाईन बन्यो । केही दिनपछि ‘गगन थापाको ससुराको नाम’ नेपाली कांग्रेसको समानुपातिक सूचिमा रहेको खवर आयो : सामाजिक संजाल र समाचार माध्यमहरुमा । केसी आफैले त्यसको खण्डन गर्नु भयो ।
नुवाकोटका दुबै महत्वपूर्ण नेता माओवादीका पोस्टबहादुर बोगटी र कांग्रेसका डा.रामशरण महतलाई भ्रष्टाचारको आरोप लाग्यो । तर, उहाँहरु दुवैबाट आफुमाथि लागेको आरोपको खण्डन गर्नु सम्भव छैन । बोगटी काल–कवलित हुनुभएको एक दशक बितिसकेको छ भने बिस्मृतिले गाँज्दै लगेको डा.महतले आफनो प्रतिरक्षा गर्नु सम्भव छैन । उहाँहरुको राजनीतिको पुच्छर समातेर तरमार्नेहरु यतिवेला रहस्यमय ढंगले मौन छन । तर, संचार माध्यममा अर्जुनदाइ आफैले आफनो नाम समानुपातिक सूचिमा नरहेको भन्दै समाचारको खण्डन गरेको देखियो । धन्न ! आफैंले खण्डन गर्नु भएछ ।
लोकप्रियतावादको लिस्नो लगाएर आफनो राजनीति चम्काउन खोज्दा कांग्रेसले जेन–जीको थप्पड खाएको विलापको समीक्षा पक्कै गरियो होला । अर्जुनदाईले अब समानुपातिकबाट आफ्नो नाम फिर्ता लिनुपर्छ । नुवाकोटका महत र केसी – नेपाली कांग्रेसका यी दुवै ब्यक्तित्व नेपालका प्रधानमन्त्री हुन सक्थे । किन सकेनन होला ? इतिहासले यसको समीक्षा गर्र्दै गर्ला । अहिलेसम्म के गर्न सकियो र अव के गर्न सकिएला ? छलफल समयमा नै गरौं । कहाँ न्याय भयो ? कहाँ अन्याय ? लेखाजोखा गरौं । राजनीति सिक्न खोज्ने युवालाई अर्जुनदाईहरुले धेरै सिकाउन बाँकीछ । सिंहदरबार खरानी पारेर त्यही खरानीको थुप्रोमा बसेर शासनगर्न खोज्नेहरुलाई अवसरको नयाँ बाटो देखाइ दिनुहोस । उनीहरुलाई राजनीति सिकाउनु छ । नेपालमा जेन–जीको हुरी किन आयो ? अब अर्को भूमरी कस्तो आउने हो ? छलफल त्यता मोडनु होस ।
आफुले राजनीति थाल्दा नजन्मिएका भाइ–भतिजा र ज्वाइँ–भान्जाको नाम जोडेर ‘आक्षेप लाग्यो’ भनेर अर्जुनदाइले के स्पष्टीकरण दिनु ? हातको चुरालाई कस्तो ऐना देखाउनु ?
हामी त यसैपनि बर्षौदेखि भू–राजनीतिको दबाबमा छौ । भू–अर्थनीतिको प्रभावमा छौ । विश्व राजनीतिमा आएको बदलाबको बाछिटा भनेको यही त होला !