– किशोर नेपाल
नेपाली कांग्रेसमा ‘स्टार पोलिटिसियन’ को हैसियत राख्नुहुने कांग्रेसका महासचिव तथा सांसद गगनकुमार थापा र अर्का महासचिव तथा सांसद विश्वप्रकाश शर्मा यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ । उहाँहरुले जेन्जी बिद्रोहको राप र तापले नराम्रोसंग झुल्सिएका कांग्रेस सभापति शेरबहादुर देउवासंग ‘नियमित महाधिवेशन’ गराउन नसक्ने हो भने विशेष अधिवेशन बोलाएर साथीहरुसंगको छलफलपछि मात्र ‘चुनावमा भाग लिनुपर्ने’ प्रस्ताव राख्नु भएकोछ । तर, सभापति देउवालाई यो प्रस्ताव मन परेको छैन । सभापति देउवाले आफनो अधिकार उपसभापति पूर्णबहादुर खड्कालाई प्रत्यायोजित गरिसक्नु भएकोछ । तर, अधिकारको प्रत्यायोजन वैधानिक आधारमा नभएकोले खड्काको हैसियत खुम्चिएकोछ । देउवाको निर्णय छ : चुनावपछि मात्र पार्टीको नियमित अधिवेशन हुनेछ ।
कांग्रेसका सभापति किन महाधिवेशन गराउन उत्सुक हुनुहुन्न ? यो बुझन गाह्रो छैन । संघीय गणतन्त्र नेपालको संविधान जारी भएदेखि नै कांग्रेस चुनावी जीतको लहरमा पछि परेकोछ । तै पनि, कांग्रेसले सरकारमा आफनो भाग छोडेको छैन । कांग्रेसका सांसदहरु कहिले माओवादी नेतृत्वको छहारीमा सुस्ताएर त कहिले एमालेको नेतृत्वको छहारीमा ओत लागेर ‘मोजमज्जाको’ राजनीतिमा चुर्लुम्म डुबेका छन । कांगे्रसको हविगत माओवादीसंग भएको शान्ति–सम्झौताको समय देखि नै खस्किन थालेको हो । त्यसपछिको समयमा संगठनात्मक हिसावले चुनावी दौडमा कांग्रेस लडखडाउन थालेको हो ।
कांगे्रसका सभापति देउवालाई पार्टीको सुसंचालनमा त्यति रुचि छैन । पार्टी केन्द्रीय कार्यालयका सचिवको हातमा प्रशासनिक हालीमुहाली सुम्पिएर ढुक्क हुनुहुन्छ उहाँ । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालापछि कांग्रेस सभापति हुनुभएका देउवा नेपाली राजनीतिमा एक ‘टिपिकल’ चरित्र हो । देउवामा मूसो, बिरालो, भ्यागुतो र सर्पलाई मिलाएर सत्ता समायोजनगर्ने खुवी छ । भन्छन नि : ‘पावर करप्टस्, एब्स्योल्युट पावर करप्टस् एब्स्योल्युटली !’
अहिले सभापति देउवा र उहाँको नेतृत्वको नेपाली कांगे्रस पार्टी नियमित अधिवेशन गराउन नसक्ने अवस्थामा छैन । तै पनि, सभापति देउवा किन नियमित अधिवेशन गराउन चाहनुहुन्न ? यो कसैले नबुझेको छैन । नियमित अधिवेशनको माध्यमबाट कार्यकर्ताहरुको मनोवल बढाएर चुनावमा जाँदा कांग्रेसलाई फाइदा नै हुने थियो ।
यो त सभापति देउवाको कथा भयो । यो कथामा महामन्त्री गगन थापाको कथा नजोडेसम्म कथा पूरा हुँदैन । गगन थापाको भडकिलो र दह्रो ब्यक्तित्व त्यत्तिकै बनेको होइन । ६२/६३ को आन्दोलनबाट सोझै कांगे्रस राजनीतिमा जगमगाएका थापा यतिबेला आफूलाई नेपाली राजनीतिको रंगमन्चमा मुख्य अभिनेताका रुपमा स्थापितगर्न प्रयत्नशील छन ।
देश लगभग संकटकालीन अवस्थामा सेनाको नियन्त्रणमा रहेको बेला कांगे्रसमा बिशेष अधिवेशनको सान्दर्भिकता कसरी सावित हुन्छ ? यो सत्य हो, आगामी बिशेष अधिवेशनले कांग्रेसका सामान्य कार्यकर्तालाई अनावश्यक भ्रममा पार्ने पक्कैछ । बिशेष अधिवेशन किन चाहियो ? भन्ने प्रश्नमा महामन्त्री गगन थापाले के जवाफ दिनेछन ? ‘नियमित नभए बिशेष’ अधिवेशनको नारा लगाउने कार्यकर्ताले घेरिएर स्मीत मुस्कान सहित बिशेष अधिवेशनहुने सभाकक्षको ढोकामा ‘अतिथिहरु’को स्वागतगर्नेमा पक्कैपनि गगन हुनेछन । तर, मुस्कान पनि त थरिथरिका हुन्छन । बिशेष अधिवेशनका परिणाम दूरगामी प्रभावपार्ने खालका हुन्छन कि के हुन्छ ?
कांग्रेसमा यसै हुन्छ भन्न सकिदैन ।
बी पी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल प्रवेश गर्नुअघि भारतीय राज्य विहारको पटनामा कांग्रेसको सम्मेलन भएको थियो । त्यही सम्मेलनमा बी पी कोइरालाले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति तोक्नु भएको थियो । त्यसपछि किशुनजीले तीन दशकसम्म कांग्रेस सभापतिका रुपमा काम गर्नु भयो । किशुनजीको नेतृत्वमा कांग्रेसले २०४६ सालको आन्दोलन गर्यो, वहुदलीय प्रजातन्त्रको पुनस्र्थापना गर्यो र त्यसपछि भएको पहिलो
संसदीय निर्वाचनमा कांग्रेसले वहुमत ल्यायो । निर्वाचनमा किशुनजी पराजित हुनुभयो ।
चुनाव सकिएपछि एक छुट्टै प्रसंगमा किशुनजीलाई मैले सोधेको थिएँ : किशुनजी, कांगे्रसमा किन यतिविधि झगडा हुन्छ ?
मन्द–मुस्कान सहित किशुनजीले अर्थपूर्ण जवाफ दिनुभएको थियो : कांग्रेसमा झगडा होइन, रगडा छ । रगडा झगडाभन्दा खतरनाक हुन्छ ।
यो कुरा सबै कांग्रेसीले राम्ररी नै बुझेको हुनुपर्छ ।