मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित गोहीहोली खोलामा निर्माणहुन लागेको पुलको एक विशेष समारोहबीच शिलान्यास गरिएपछि यहाँका जनता खुशी भएका छन । स्थानीय वासिन्दाका लागि मुख्य आवश्यकता मानिँदै आएको पुलको शिलान्यास पूर्व सांसद तथां नेपाली कांग्रेसका युवा नेता डा.सुनील शर्माले गर्नु भएको थियो ।
शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद मानवबहादुर लिम्बू, पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्वापो, उपमेयर, वडाध्यक्ष तथा अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । गोहिहोली खोलामा पुल नहुँदा यहाँको जनजीवन लामो समयदेखि प्रभावितहुँदै आएको थियो । खोलामा पुल नहुँदा वर्षायाममा जनताको आवत–जावत जोखिमपूर्ण त बनेकै थियो, स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय र दैनिक क्रियाकलापमा समेत बाधा पारेको थियो । जनताले लामो समयदेखि पुल निर्माणको मांगराख्दै आएका थिए । पुल निर्माणकार्य सुरु भएपछि जनताले आफनो सपना पूरा भएकोमा खुशी ब्यक्त गरेका छन ।
पिपलचोक बस्तीलाई किरातीचोक बस्तीसँग जोड्ने गोहीहोली पुल निर्माणको लागत ७ करोड ८३ लाख ७५ हजार रुपैयाँ छ । पुलको निर्माणपछि यस भेगका हजारौँ जनताका लागि दैनिक आवत–जावत सहज हुनेछ । यसबाहेक, यो पुलको निर्माणपछि किसानहरुका लागि कृषिजन्य वस्तुको बजारसम्म पहुँच बढ्नेछ ।
सांसदका रुपमा डा. शर्मा पछिल्ला वर्षमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिमा अत्यन्त सक्रिय रहनु भएकोछ । आफनो क्षेत्रको बिकास–निर्माणमा उहाँले देखाउनु भएको अभिरुचि र सक्रियताका कारण देशभर नै लोकप्रिय युवा नेताका रूपमा उहाँको सम्मान बढेकोछ ।
राजनीतिमा जनविश्वास घट्दै गएको अहिलेको समयमा भ्रष्टाचारविरुद्ध डा.शर्माले उठाउँदै आउनु भएको स्पष्ट आवाज, व्यवहारिक नेतृत्वशैली र सेवा–धर्ममा आधारित कार्यशैलीले शर्माप्रति स्थानीय जनताको भरोसा गहिरिँदै गएकोछ ।
शिलान्यास कार्यक्रममा मेयर मोहन तुम्वापोले नगरपालिकाले समन्वय, सहयोग र आपसी निगरानी गरेर निर्माणकार्यलाई प्राथमिकतामा राख्ने बताएका थिए भने प्रदेश सांसद गीता तिम्सिनाले पुल निर्माणले स्थानीय विकासको क्षेत्रमा नयाँ अध्याय शुरु भएको बताएकी थिइन । बहुप्रतीक्षित संरचना निर्माणको शुरुवात आफ्नै आँखा अगाडि देख्न पाएका स्थानीय जनता निकै हौसिएका थिए ।