–किशोर नेपाल
भदौको अन्तिम सातामा ‘जेन्जी’ पुस्ताको विद्रोहको आडमा भएको नर संहारपछि नेपाली सेनाको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु भएको निर्वाचित संसदको बिघटन र पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरीम सरकारको गठन स्वाभाविक प्रक्रिया थिएन । विद्रोहको दावानलमा राष्ट्रपति पौडेलका लागि ‘लोकतान्त्रिक’ राजनीतिलाई ‘पुरानै लय’मा फर्काउन त्यो भन्दा राम्रो विकल्प पनि थिएन । कार्की नेतृत्वको सरकारले फागुन २१ गते संघीय संसदको निर्वाचन गराउने निर्णय गर्यो ।
त्यसैक्रममा नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र बिश्वप्रकाश शर्माको ‘बिशेष’ अग्रसरतामा नेपाली कांग्रेसको बिशेष ‘महाधिवेशन’ भयो । त्यो महाधिवेशनमा गगन थापा नेपाली कांग्रेसको सभापतिमा चुनिएको घोषणा भयो ।
संसदीय चुनावको मुखमा भएको यो परिवर्तनले कांग्रेस कार्यकर्ता अन्योलमा परेकाछन । कांग्रेसका कतिपय कार्यकर्ताले बिशेष महाधिवेशनको यो निर्णयलाई पचाएका छन भने कतिपय अहिले पनि दोधारमा छन ।
नेपाली कांग्रेसका स्थानीय तहका नेता र कार्यकर्ताले पार्टीको आन्तरिक विवादका ‘खास’ कारण बुझेका छैनन । निश्चय पनि, पार्टीमा परिवर्तन आवश्यक थियो । तर, पार्टीको महामन्त्री जस्तो महत्वपूर्ण पदमा रहेका गगन थापाले बिशेष महाधिवेशनको आडमा जसरी कांग्रेसलाई ‘परिवर्तन–उन्मुख’ गराउन खोजे त्यसलाई कांग्रेसका सामान्य कार्यकर्ताले पचाउन सकेका छैनन । सभापति शेरबहादुर देउवामाथि जेन्जी बिद्रोहको नाममा भएको सांघातिक हमलापछि आफनै कार्य समितिका महामन्त्रीबाट भएको यो राजनीतिक हमलाले पक्कै पनि उनको चित्त दुखेको होला ।
कांग्रेस सभापतिमा गगन थापाको चयन ‘अस्वाभाविक’ थिएन । तर, यो ‘प्रतिस्पध्र्दात्मक’ पनि थिएन । बितेका दुई दशकदेखि लोकतान्त्रिक राजनीतिमा सक्रिय रहेका गगन थापाले कांग्रेस सभापति बन्न छड्के बाटो नरोजेको भए उनको राजनीतिमा थप चमक आउने थियो । बिशेष महाधिवेशन मार्फत भएको उनको ‘चयन’ पछि अहिले पार्टीमा विभिन्न स्वार्थ–समूह देखिन थालेकोछ ।
संसदको चौधौं अधिवेशनको समापन लगत्तै भएकोे ‘जेन्जी’ पुस्ताको आन्दोलन र त्यसैको आडमा भएको बिध्वंशको लहरलाई ध्यानमा राखेर निर्वाचन आयोगले कांग्रेसको बिशेष महाधिवेशनलाई ‘वैधानिक’ मान्यता दिइ सकेपछि सभापतिमा गगनको चयन वहस र विवादको बिषय रहनुपर्ने होइन । तर, कांग्रेस पार्टीभित्र यो विवाद भूसको आगोजस्तै सल्किइ रहेकोछ । अहिले चुनावको समयमा विवाद सतहमा नआएको मात्रै हो ।
त्यसो त कांग्रेसमा यस्तो विवाद नयाँ होइन । २०३३ सालमा बीपी कोइराला निर्वासनबाट स्वदेश फर्किने समयमा बीपीले कृष्णप्रसाद भट्टराईलाई कांग्रेसको कार्यभार सुम्पिनु भएको थियो । बीपी कोइरालाको निधनपछि किशुनजी र गिरिजाबाबुका बीचको व्दन्व्द २०५७ सालसम्म जारी रह्यो । यो समयमा कांग्रेसीहरु गणेशमान सिंह–किशुनजी समूह र गिरिजाप्रसाद समूहमा बाँडिएका थिए । नेताहरु बीचको राजनीतिक सम्बन्ध तिक्त र कटु थियो । नेपाली कांग्रेसले त्यसको मूल्य अहिले सम्म पनि चुकाउँदैछ । अहिलेको विवादले कांग्रेस–कांग्रेस बीच फेरी एक पटक कटुताको बीउ रोपेकोछ । कुरा यतिमात्र हो कि अहिले चुनावको समय भएकोले त्यो कटुता वाहिर देखिएको छैन ।
यो सत्य हो, कांग्रेसको शिखर नेतृत्वमा गगनले कब्जा जमाएपछि ‘जेन्जी’ कांग्रेस उत्साहित बनेकोछ । अर्कोतिर निरन्तर कांग्रेसमा रहेका नेता–कार्यकर्ता विलखबन्दमा परेका छन । निर्वाचनको मुखमा नेतृत्व विवादमा परेको पार्टीको अवस्था बिग्रिनु अस्वाभाविक होइन । कांग्रेसमा भएका यस्ता विवादले जीवनभर कांग्रेसको सिध्दान्तसंग जोडिएका कतिपय नेता र कार्यकर्ता ‘कुण्ठित’ छन ।
विशेष महाधिवेशनको आयोजना एकता, चुनाव र पार्टीको सुदृढीकरणका लागि आवश्यक थियो । तर, बिशेष महाधिवेशनको प्रयोग महामन्त्री थापालाई ‘सभापति’ घोषित गरेर पार्टी कब्जामा लिने उद्देश्यमा प्रयोग भयो । निर्वाचन सम्पन्न नभएसम्म गगनले पार्टीभित्र ‘एकता र मेलमिलाप’ को नीति लिएको भए कार्यकर्ताहरु संकुचनमा पर्ने थिएनन । यो घटनाले कांग्रेसीहरुको मनको तूष बाक्लिदै गएकोछ । चुनावको मुखमा कांग्रेसीहरु विवादमा अल्झिन चाहँदैनन । तर, चुनावपछि कांग्रेसभित्रको बिष्फोट अवश्यंभावी देखिन्छ ।
कांग्रेस पार्टीका ‘शीर्षस्थ’ मध्येका नेता डा.शेखर कोइरालाले विराटनगरमा आयोजित चुनावी सभाहरुमा ‘युवा पुस्ताको मांग र मुद्दाको सम्वोधन गराउन’ आपूmले जेन्जी विद्रोहभन्दा पहिले देखि नै कुनै ‘कन्जुशी’ नगरेको बताउनु भएकोछ । आपूm ‘सफा राजनीति’को पक्षमा उभिएको बताएपनि डा.कोइरालाले पार्टीभित्र आफनो बिचार स्थापित गराउने वातावरण तयारपार्न सक्नु भएन ।
सिंगापुरबाट ‘तरोताजा’ भएर फर्किएका सभापति देउवाले कांग्रेस पार्टीमा यति ठूलो भुईंचालो जाने त सोचेकै रहेनछन । जेन्जीको मारमा परेको कांग्रेस संरचनाको पुनर्संयोजनगर्ने आवश्यकता न देउवाले देखे, न बरिष्ठ नेताहरुले । अरु नेताहरुको दृष्टिपनि त्यता गएन । उमेरका कारण सभापति देउवाको सक्रियता घट्दो थियो भने पारिवारिक ‘निर्भरता’ बढदो थियो । स्वेच्छाले पद छोड्ने मनस्थितिमा पुगेका सभापति देउवाले उप–सभापति पूर्णबहादुर खड्कालाई ‘मौखिक’ रुपमा कार्यवाहक सभापतिको अभिभारा सुम्पिएका थिए । तर, सिंगापुरबाट फर्किएपछि उनी आफै कांग्रेस सभापतिजस्तो महत्वपूर्ण पदको आकर्षणबाट मुक्तहुन सकेनन । खड्का वा अरु कसैलाई कार्यकारी अधिकार सुम्पिने लोभ संवरण गर्न नसक्नु उनका लागि स्वाभाविक भएन ।
देउवाको यो मनस्थिति गगन थापाका लागि ‘शुभ–संकेत’ बन्यो । गगनले देउवाको मनस्थितिलाई ‘अवसर’ बनाए । गगनका लागि बिशेष अधिवेशन मार्फत कांग्रेस सभापतिका रुपमा आपूmलाई स्थापितगर्ने यो समय अनुकूल रह्यो । आफनो नेतृत्वमा आगामी संसदमा नेपाली कांग्रेसका कति उम्मेदवार निर्वाचित हुनेछन ? त्यो उनले हिसाव–किताव गरेकै बिषय होला । कांग्रेसले एक्लै सरकार बनाउने सम्भावना देखिएको छैन । सरकारको निर्माणमा गगन कति प्रभावकारी होलान ? समयले यो कुरा स्पष्ट गर्नेनैछ ।
नेपाली कांग्रेसमा ‘उत्तराधिकार’ को परम्परा छैन । २०१७ सालमा राजा महेन्द्रले बीपी कोइरालाको सरकार अपदस्थ गरेर उहाँलाई जेलमा हालेपछि सुवर्ण शमशेर पार्टीको सभापति बन्नुभयो । निर्वासनमा रहनु भएका सुवर्णजीले बीपीको रिहाइपछि कांग्रेस सभापतिको पद बीपीलाई नै फर्काउनु भयो । २०३३ साल पौषमा बीपीले सभापति पद कृष्णप्रसाद भट्टराईलाई सुम्पिनु भयो । किशुनजीले कांग्रेस सभापतिका रुपमा सर्वाधिक लामो समय कामगर्नु भयो । उहाँ सन १९८८ मा कांग्रेसका निर्वाचित सभापति बन्नु भयो । त्यसपछि गिरिजाप्रसाद कोइराला र त्यसपछि सुशील कोइराला आफनै पुरुषार्थले सभापति हुनु भएको थियो । गिरिजाप्रसाद कोइराला पार्टीका तार र तरंगहरु तोड्दै र जोड्दै प्रधानमन्त्री बन्नु भएको थियो भने सुशील कोइरालाकोे सत्तारोहण ‘उत्तराधिकार’ संग जोडिएको थिएन ।
सुशील कोइराला पछि सभापति चुनिनु भएका शेरबहादुर देउवाले सभापति गिरिजाप्रसाद कोइरालासंगको ‘टक्कर’ मा ‘प्रजातान्त्रिक’ कांग्रेस नबनाउनु भएको भए राजनीतिक परिस्थिति भिन्न हुन सक्ने थियो । पछिल्लो समयमा नेपाली कांग्रेसको मौलिक चरित्र लोपोन्मुख छ । अहिलेका घटनाहरु त्यसैका संकेत हुन ।
नेपाली कांग्रेसको भविष्य पार्टीभित्रका सबै पक्षबीचको एकतामा मात्रै सुरक्षित रहन्छ । कांग्रेस जस्तो पुराना र नयाँ मान्यताका बीच समन्वय राखेर चलेको लोकतान्त्रिक पार्टीमा ‘सर्वपक्षीय एकता’ अपरिहार्य हुन्छ । मध्यमार्गी पार्टीका रुपमा स्थापित कांग्रेस पार्टीले आर्थिक र औद्योगिक वर्गलाई सन्तुष्ट बनाउने होइन, देशका सामान्य जनताको उत्थानमा लाग्ने समय हो यो । तर, कांग्रेसमा अहिले आर्थिक र औद्योगिक वर्गकोे स्वार्थ बढी नै गाँसिन थालेको देखिन्छ । निर्वाचनपछि सरकारको नेतृत्वमा जो पुगे पनि देशको आर्थिक अवस्थाको सही मूल्यांकन र त्यसमा आमूल परिवर्तन अपरिहार्य छ ।
देशको विपन्न अवस्थाले समाजमा आपसी कटुता बढेकोछ । जुनसुकै पार्टीका हुन : सरकारका संचालक रहेका पार्टीका नेताहरुप्रति सर्वसाधारण जनताको ब्यवहार अत्यन्त कटु र प्रतिकूलहुन थालेकोछ । लोकतन्त्रका लागि यो भयावह अवस्था हो । देशको आर्थिक बिकासमा सफलहुन चाहने कुनैपनि नेताले विपन्नताका कारण जनताको सामाजिक मानसिकतामा पर्न थालेको नकारात्मक प्रभाव र विचलन रोक्न सक्नुपर्दछ ।
चुनावको हकमा कांग्रेस, एमाले र ‘नेपाली’ कम्युनिष्ट पार्टीमा समेटिएको माओवादी पार्टी र मधेश केन्द्रित पार्टीहरुको अवस्था यथास्थितिमा रहला भन्न सकिने आधार छैन । राजनीतिक दलहरुको ‘मिलिजुली’ सरकारको प्रयोग हाम्रो जस्तो देशका लागि सुहाउँदो हुन सकेन । राजनीति बुझेका सामान्य नेपालीले पनि अहिलेको चुनाव दलहरुका लागि भन्दापनि ‘अरुलाई’ नै चाहिएको आभाश पाइ नै सकेका छन । विद्रोहपछि गठन भएका सरकारहरुले कतै पनि सुशासन दिन सकेका छैनन । त्यसो त, हामीकहाँ फागुन २१ मा हुने चुनावकै बारेमा संशय उत्पन्न हुन थालेकोछ । यो समयको ‘सत्य’ यही नै हो ।