को आयो पोखरामा? मुश्कील छ पोखरामा! - रुपान्तरण
 २०८३ जेठ ९, शनिबार    

को आयो पोखरामा? मुश्कील छ पोखरामा!


– राजेश मिश्र

अर्बौंको भ्रष्टाचार काण्डले कुख्यात, चिनियाँ ऋणको भारले थिचिएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल व्यवहारिक रुपले अन्तर्राष्ट्रिय हुन बाँकी छ । तर, गत जनवरीको अन्तिम बिहिबार अन्तर्राष्ट्रिय उडानको एक निजी बिमान त्यहाँ ओर्लियो । चार दिन बसेर फेब्रुअरीको पहिलो आईतबार उड्यो । नेपाली जासुसी एजेन्सीहरुलाई यसको अत्तोपत्तो थियो कि थिएन ? थाहा छैन । एउटा भारतीय संचार माध्यमले भने यसलाई ब्रेकिङ् न्यूज बनायो ।

आफूलाई भारतको अन्तर्राष्ट्रिय गुप्तचर संस्था रअको पूर्व एजेण्ट दावी गर्ने लक्की बिष्ट नामका एक व्यक्ति भारतका पडकास्टमा “हटकेक” बनेको लामो समय भयो । उनले गत बर्ष दावी गरेका थिए, “हेर्दै जानुस, अबको एक महिनामा नेपालको ओली सरकार अप्रत्याशित रुपले सत्ताच्यूत हुनेछ ।”

उनको भविष्यबाणी साकार हुन आठ महिना लाग्यो । तर भयो ।

पोखरा बिमानस्थलमा अवतरित त्यो निजी विमानको बारेमा खुलासा गर्ने व्यक्ति यीनै लक्की बिष्ट हुन । त्यसपछि नेपाली अनलाईन नेपालन्यूजले फेब्रुअरी २ मा आफ्नो अंग्रेजी संस्करणमा यसलाई “ब्रेकींग न्यूज” बनायो । नेपाली मूलधारका संचार माध्यम र अन्य अनलाईनहरुमा यो समाचारको खासै चर्चा भएन । तर, भारतको नवभारत टाईम्सको अनलाईन संस्करणले यसलाई खुब उचाल्यो । यसपछि अन्य भारतीय पडकास्टरहरु यो प्रकरणलाई आकाशमा पुर्याउन लामबद्द भए ।

भूमध्य सागरको द्वीप समूह मध्येको एउटा द्वीप–राज्य माल्टाबाट सिंगापुर हुँदै पोखरामा अवतरित निजी बिमान चढेर आउने त्यो रहस्यमयी व्यक्ति को थियो ?

नेपाली संचार माध्यममा किन यसबारेमा कुनै चर्चा भएन ?

यो भ्रमण नेपालमा भन्दा भारतमा किन चाखको बिषय बन्यो ?

षड्यन्त्रको सिद्दान्त आफ्नो ठाउँमा होला । तर, “बटरफ्लाई ईफेक्ट” भौतिकशास्त्रले प्रमाणित गरेको अवधारणा हो । मौसमविद् एडवार्ड लोर्नेजले सन १९६० मा अघि सारेको यो अवधारणाले दावी गर्छ, “ब्राजीलमा हल्लिएको पुतलीको प्वाँखले कालान्तरमा अमेरिकाको टेक्ससमा आँधी ल्याउन सक्छ ।”

को आएको थियो पोखरामा ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अभिलेख अनुसार त्यो निजी जहाजमा आएको व्यक्तिको नाम हो, माईकल एन्थोनी एस्क्रोफ्ट । उनी लर्ड एस्क्रोफ्टका नामले बढी परिचित छन । बेलायती सरकारले उनलाई “नाईट” को उपाधी दिएका कारण उनको नामको अगाडी “लर्ड” आएको हो । उनी “ईण्टनेशनल डेमोक्रेसी युनियन” नामको एक छद्मभेषी संस्थाका मानार्थ अध्यक्ष हुन । यो संस्थाको जरो बेलायती अन्तर्राष्ट्रिय गुप्तचर संस्था “एम आई सिक्स”को जगमा गाडिएको छ ।

बेलायतका “लर्ड” हुँदाहुँदै उनले बेलीज नामको अर्को देशको पनि नागरिकता लिएका छन । मध्य–अमेरिकाको पूर्वी तटमा अवस्थित यो मुलुकको उत्तरमा मेक्सिको र ग्वाटेमाला अनि पूर्वमा क्यारेबियन सागर छ । यो राज्य आफ्नो प्राकृतिक सुन्दरताका निम्ति जति प्रख्यात छ, सामाजिक अपराध, लागूपदार्थ र सम्पत्ति शुद्दीकरणको सवालमा त्यतिनै कुख्यात छ ।

उनले बेलीजमा सन ८० को दशक देखिनै लगानी गर्न थालेका हुन । घाटामा गएका ब्यापार किनेर त्यसलाई नाफामा लैजाने उनको चातुर्यको रहस्य र उनको लगानी श्रोत खुलेको छैन । तर, बेलीजको बैंकिंग क्षेत्रमा उनले गरेको लगानी उल्लेख्य मात्र होईन, आश्चर्यजनक नै देखिन्छ । बेलीजको स्थानीय राजनीतिमा उनको सहभागिता त्यो भन्दा आश्चर्यजनक छ । त्यहाँको तत्कालीन बिपक्षी दल “पिपुल्स युनाईटेड पार्टी” सत्तामा आएपछि त्यो दलले एस्क्रोफ्टलाई बेलीजको नागरिकता मात्र दिएन, उनलाई सन १९९८ देखि सन २००० सम्मका लागी संयुक्त राष्ट्र संघमा बेलीजको राजदूतमा नियुक्त गरिदियो ।

बेलायती राजनीतिमा उनको अदृश्य शक्तिको सबै कायल छन । तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले द्वैध नागरिकताको आधारमा उनलाई कर छुट दिन अस्वीकार गरेपछि क्यामरुनको सरकार एक महिनामा ढल्यो । बेलायती राजनीतिज्ञहरु एस्क्रोफ्टसँग निहुँ खोज्दैनन । एस्क्रोफ्टको शक्ति संचयको अभिलाषा केवल व्यक्तिगत नहुन पनि सक्छ । अन्यथा सम्पत्ति शुद्धीकरण मात्र होईन, बेलाबखत लागूपदार्थ तस्करीमा समेत उनको नाम आउने गरेको छ । उनको साम्राज्यमा जे चल्छ, त्यो चल्छ । लागूपदार्थ तस्करीको आरोपमा भेनेजुएलाका राष्ट्राध्यक्षलाई कोपरेर निकाल्ने अमेरिका समेत लर्ड एस्क्रोफ्टको दशकौं लामो चलखेलमा मौन छ । यसको अर्थ केही त पक्कै छ ।

यीनै एस्क्रोफ्टको एडीटी नामको एउटा सुरक्षा कम्पनी छ । अमेरिकामा मात्रै यसका दशौं लाख ग्राहक छन । मान्छे घरमा नभएको बेला कसैले कैफियत गर्यो भने त्यसको सूचना घर धनीलाई मात्र होईन, स्थानीय प्रहरीलाई समेत तत्काल पुग्छ । सबैकुरा प्रविधिमा आधारित छ । जसले घरमा अनधिकृत रुपले प्रवेश गर्नेको सूचना लिन सक्छ, घर घनीको सूचना संकलन गर्नु कुन ठूलो कुरा ?

मुश्कील छ पोखरामा !

प्रमोद खरेलले गाएको गीत जस्तै मुस्कील थियो पोखरामा १ चुनाव अघि यी लर्ड एस्क्रोफ्ट किन आए पोखरामा ?

चार दिनका लागि आएका एस्क्रोफ्टले आफ्नो सामाजिक संजालमा केवल यत्ति लेखेका छन, “गूड मर्निङ्ग फ्रम नेपाल ।” उनले हालेको तस्वीरमा पोखरा, माछापुछ«े हिमाल आदि ईत्यादिको तस्वीर पनि सुन्दर छ । तर, चुनावको मुखमा के उनी नेपालको प्राकृतिक छटाको आनन्द लिन मात्र आईपुगेका हुन ? चार दिन लामो समय हो ।

लर्ड एस्क्रोफ्ट जेम्स बण्ड होईनन । तर, उनको “एम आई सिक्स” सँगको सहकार्यबारे संसारका सबै गुप्तचर संस्थाहरु जानकार छन । किन आए उनी यो संबेदनशील अवस्थामा नेपाल ? उनी माछापुछ«े र अन्नपूर्ण हिमालको तस्वीर खिच्न मात्रै त पक्कै आएका थिएनन । त्यसका निम्ति चार दिन लामो समय हो । बिशेष “टाईमिंग” मा फोटो खिच्न उनले नेशनल जोग्राफीको काम गरेका हुन भने त्यो अर्कै कुरा हो ।

“एम आई सिक्स” बेलायतको यस्तो जासूसी संस्था हो, जो आफू कहिल्यै अघि पर्दैन । उसको स्वार्थ पूर्तिका लागि कि “सी आई ए” कि मोसाद अघि हुन्छ । तर, कुनै समयमा संसारबाट सूर्य नअस्ताउने साम्राज्यको मालिक बेलायतको गुप्तचर संस्थाको पर्यटक प्रतिनिधि लर्ड एस्क्रोफ्टको गुपचुप भ्रमण केवल पर्यटकीय महत्वको मात्रै छैन ।

पश्चिमले आफ्नो स्वार्थपूर्ति गरिसकेका वा गर्न नसक्ने पुराना दाना केलाएर फालिसक्यो । अब ठेट्ना भुट्ने प्रयासमा छ । यो बडो ‘अ’कूटनीतिक भाषा लाग्न सक्छ । तर, जे हो, त्यो हो । मुश्कील पोखरामा होईन, नेपालमा छ । बालेन साह नामको पुतलीको प्वाँख त मे २६, २०२२ मा फरफर गरेको मात्र हो । यसको आँधी यतिबेला देखिंदैछ भने यसैबेला लर्ड एस्क्रोफ्टको गोप्य नेपाल भ्रमणको पनि अर्थ छ । नेपालमा जुन–जुन सरकारले प्रति–जासूसी निकाय स्थापना गर्न खोज्यो, त्यो ‘आन्तरिक’ कारणले ढलेको ईतिहास छ ।

चीन बोलेको छैन । भारत हत्प्रभ छ, चाहेर पनि केही गर्न सकेको छैन । पश्चिमले ताली बजाउनु स्वाभाविक हो । नाच्ने हामी छदैछौं ।